भारतमा एकैदिनमा ८६ हजार सङ्क्रमित थपिए

भारतमा एकैदिनमा ८६ हजार सङ्क्रमित थपिए

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २०, २०७७

कोरोना भाइरसबाट धेरै प्रभावितहरुको मुलुकमध्ये रहेको भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । 

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । 

योसँगै भारतमा कोरोना भाइरस सङ्क्रमितहरुको संख्या ४० लाखभन्दा बढी पुगेको अधिकारीहरुको भनाई छ । 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरी कुल ४० लाख २३ हजार १७९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ । 

त्यसैगरी भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु भएकाहरुको संख्या ६९ हजार ५६१ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्रै १ हजार ८९ जनाको मृत्यु भएको छ । 

भारतमा कोरोना भाइरसबाट कुल सङ्क्रमित भएकाहरु मध्ये ३१ लाख सात हजार २२३ जना अहिले सङ्क्रमणमुक्त भइसकेका छन् । 

त्यसैगरी अरु आठ लाख ८६ हजार ३९५ जना भने अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । 

भारतमा अहिलेसम्म देशभरी चार करोड ७७ लाख जनाको कोरोना परीक्षण गरिएको छ भने परीक्षणको क्रम अझै पनि जारी नै रहेको छ ।