सीपीएलमा सन्दीप आबद्ध जमैकाको पाँचौं हार

सीपीएलमा सन्दीप आबद्ध जमैकाको पाँचौं हार

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २१, २०७७

क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्ध रहेको जमैका तालाबाजले पाँचौं हार भोगेको छ । 

गएराति भएको खेलमा जमैका तालाबाज बार्बाडोस ट्राइडेण्ट्ससँग ७ विकेटले पराजित भएको हो । 

सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १ विकेट लिन सफल भएपनि उनको क्लब जमैकाले जीत निकाल्न सकेन । जमैकाले दिएको १ सय ६२ रनको लक्ष्य बार्बाडोसले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो । 

बार्बाडोसको जितमा कप्तान जसन होल्डरले ६९ रन बनाए । उच्च योगफलतर्फ अघि बढेका होल्डरलाई सन्दीपले बोल्ड आउट गरेका थिए । 

यस्तै जोनाथन कार्टर ४२ र मिचेल स्याटनर ३५ रनमा अविजित रहे । सन्दीपले ४ ओभरमा २६ रन खर्चिएर १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

ओपनर चमेली ब्ल्याकउडले ७४ रन बनाउँदै जमैकालाई उत्कृष्ट सुरुवात दिलाएका थिए । आन्द्रे रसेलले ५४ रनको अर्धसतकीय ईनिङ्स खेल्दै जमैकालाई उच्च योगतर्फ अघि बढाएका थिए । तर अन्य ब्याट्सम्यान चल्न नसकेपछि जमैका मध्यम स्कोरमा सीमित भयो । 

अब जमैकाले लिग चरणमा एक खेल खेल्न बाँकी छ । यसअघिनै सेमिफाईनलमा पुगेको जमैका समूह चरणमा चौथो स्थानमा रहेको छ । उसको ९ खेलबाट ७ अंक रहेको छ । जमैकाले अब सेमिफाइनलमा शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।