स्पेनको प्रभावशाली जीतका फातीको कीर्तिमानी गोल

स्पेनको प्रभावशाली जीतका फातीको कीर्तिमानी गोल

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २२, २०७७

युईएफए नेसन्स लिग फुटबलमा स्पेनले युक्रेनमाथि ४–० को प्रभावशाली जीत निकालेको छ । स्पेनको जीतमा किशोर खेलाडी अंशु फातीले कीर्तिमानी गोल गरे । 

गएराति भएको खेलमा फातीले ९५ वर्ष पुरानो कीर्तिमान तोड्दै स्पेनका लागि सबैभन्दा कम उमेरमा सिनियर राष्ट्रिय टिमबाट गोल गर्ने खेलाडी बने । 

उनले १७ वर्ष ३ सय ११ दिनको कम उमेरमा स्पेनका लागि सिनियर राष्ट्रिय टिमबाट गोल गरेका हुन् । फाती च्याम्पियन्स लिग, इतिहास र स्पेनिस ला लिगामा समेत सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी हुन् ।

गिनी बिसाउमा जन्मिएका फाती ५ बर्षको उमेरमा परिवारसहित स्पेन आएका हुन् ।

पहिलो रोजाइमा मैदानमा उत्रिएका फाती नेसन्स लिगमा प्लेइङ सेटमा रहेर खेलको सुरुवात गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन् ।

स्पेनको जीतमा सर्जियो रामोसले २ गोल गरे भने थप एक गोल फेरान टोरेसले गरे । तेस्रो मिनेटमा पेनाल्टीमा गोल गर्दै स्पेनका लागि रामोसले पहिलो गोल गरे भने २९ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे । 

रामोसले पछिल्ला १५ खेलमा स्पेनका लागि १० गोल गरेका छन् ।