आइपिएल : चेन्नईको लगातार दोस्रो जित, दिल्ली घरेलु मैदानमै पराजित
चैत्र १३, २०७५
बल प्रहार गरेपछि चेन्नई सुपर किंग्सका ओपनर ब्याट्सम्यान सेन वाट्सन (पहेलो जर्सीमा) र, विकेटकिपिङ गर्ने प्रयासमा दिल्ली क्यापिटलका रिसभ पन्त । तस्बिर : क्रिकइन्फो डट कम ।

काठमाडौं । ओपनर ब्याट्सम्यान शेन वाट्सनको ब्याटिङ तथा अलराउन्डर ड्वेन ब्राबोको बलिङ प्रेरित चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल)मा लगातार दोस्रो जित दर्ता गरेको छ । मंगलबार राति दिल्लीको फिरोजशाह कोटला मैदानमा उसले दिल्ली क्यापिटललाई ६ विकेटले हराएको हो । 

टस जितेर ब्याटिङ थालेको दिल्लीले ६ विकेट गुमाएर १४७ रनको मध्यम स्कोर बनायो । उसका लागि शिखर धवनले सर्वाधिक ५१ रनको पारी खेलेका थिए । तर, डेथ ओभरमा ड्वेन ब्राबोले कसिलो बलिङ गरेपछि चेन्नईले दिल्लीलाई कम स्कोरमै रोकेको थियो । ब्राबोले शिखर धवन, रिसभ पन्त र कोलिन इन्ग्रामको विकेट लिए । 

चेन्नईले १४८ रनको लक्ष्य १९.४ ओभरमै पूरा गर्यो । उसका लागि म्यान अफ दि म्याच शेन वाट्सनले २६ बलमा ४४ रनको पारी खेले । यस्तै, सुरेश रैनाले १६ बलमा ३० रन जोडे । 

दिल्लीका अमित मिश्राले दुई, कागिसो रवाडा र इशान्त शर्माले समान एक विकेट लिए । 

– एजेन्सीको सहयोगमा