कामचोर 'कर्मचारी'को स्वार्थ ! सिडिओ मार्फत 'निषेधाज्ञा' को गोलीद्वारा सर्वसाधारणको सिकार !!

कामचोर 'कर्मचारी'को स्वार्थ !  सिडिओ मार्फत 'निषेधाज्ञा' को गोलीद्वारा  सर्वसाधारणको सिकार !!

बसन्त कुमार उपाध्याय  |  समाचार  |  भदौ २३, २०७७

उपत्यकामा अहिले ३ सिडिओको काँधमा बन्दुक राखेर 'निषेधाज्ञा'को गोली चलाउँदै छ सरकार । महामारीबाट जोगाउने बहानामा सरकार निषेधाज्ञाको गोलीले  गरिब र निमुखा सर्वसाधारणको सिकार गरी भोक भोकै थला पार्न थालिएको  छ।  निषेधाज्ञाको गोलीले घाइते छन् नागरिक । घाइतेहरू कहाँ कतिबेला मर्छन् सरकारलाई वास्ता छैन । मरिहाले भने कोभिड-१९ सङ्क्रमण परीक्षण गरेर सङ्क्रमित मरेको घोषणा गर्ने र कर्तव्य पुरा गर्दैछ सरकार ! अनि शवलाई सलामी दिएर महामारीको झ्याली पिटाउँदैछ ।

उपत्यकाका यी ३ पात्रहरू अर्थात् जनकराज दाहाल,नारायण प्रसाद भट्ट र हुमकला पाण्डे उनीहरूका नामबाट जारी हुने 'आदेश वा निषेधाज्ञा'ले जनजीवन तहसनहस हुँदै गइरहेको छ । ( यो क्रम अन्य थुप्रै जिल्लामा पनि अवस्था पनि करिब करिब यस्तै छ ।)

यी तिन नामले अहिले उपत्यका कब्जामा छ । कुनै बेला लाल कमरेडको साङ्लो जुलुसले घेरिएको चक्रपथ अहिले त्यो भन्दा ठुलो परिधिभित्र यी ३ महाशयको नियन्त्रणमा छ । नाम हो 'निषेधाज्ञा' । यी ३ प्रशासकका पछाडि को को होलान् ? हामी सहज अनुमान लगाउन सक्छौँ। (यो समयमा त्यसतर्फ  नलागौँ)  तर राज्य वा सरकार कहाँबाट निर्देशित भएर नागरिकका पेटमा लात मारिरहेको छ भन्ने कुरा आम सर्वसाधारणका लागि बुझी नसक्नु !

उपत्यकामा कुनै बेला हक थियो भने मञ्जु श्री कै एकाधिकार थियो होला । तर उनीले पनि यहाँको प्रचुर सम्भावनालाई आत्मसाथ गर्दै मानव वस्ति बसाल्ने मनसाय राखेका थिए रे !!  किम्बदन्ती नै किन नहोस् । अहिलेका शासक वा प्रशासकले त बसेका वस्तिलाई उजाड्दै पो छन् कि झैँ लाग्छ  !  ऐन कानुनका धारा र उपधारा अनि दफाको दुहाई दिँदै महामारीको बहानामा नागरिकको बाँच्न पाउने अधिकारमाथि उपत्यकाका प्रशासकहरूले खेलबाड गरिरहेको महसुस हुन्छ । होइन भने सत्ताको रापमा उपत्यकाको 'फाईन क्ले'मा बसेर  यहाँका शासकहरूले उपत्यका माथि निषेधाज्ञाको नाममा गरेको नियन्त्रण कहिले सम्म ???

देशमा गरिब, मजदुरको अवस्था कस्तो छ भनेर ? सडकमा लालबत्तिको साइरन बजाउँदै हिँड्ने भिभिआइपीहरू हो यी नै नागरिकले तिरेको करबाट आज तिमीहरू शानका साथ हिंडन पाएका छौ । सडक पेटीमा एक छाक खाना पर्खेर बसेका नागरिकलाई हेर्न नसकेर गाडीमा कालो सिसा माथि गर्नेहरू हो निषेधाज्ञाको चस्मा खोल !

यी ३ प्रश्न वाचक चिन्ह तीन जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) मार्फत तेर्साउँदै काम गरेर खान पाउनेहरूको बाँच्न पाउने हक किन छिन्नुभएको हो सोध्न चाहन्छु सरकालाई ! लोकतन्त्रमा जबाफदेहिता पनि शासन गर्नेहरूले ख्याल गर्नु पर्ला कि ? अधिकारको प्रयोग सँगै ।

गोपाल, महिषपाल, आभीर, किरात, सोमवंशी, लिच्छवि आदि वंसहरूले शासन गरेको यो उपत्यकामा कैयौं महामारी आए, मानिस मरे, पनि र महामारी गए पनि यो खालको नियण्त्रण कुनै पनि शासकले गरेको इतिहास रहेको पाईदैन् ।

युरेसियन र इन्डियन प्लेटको घर्षणले दक्षिणतिर महाभारत पर्वतशृंखलामा आएको परिवर्तनसँगै यो उपत्यकाले आफ्नो प्राकृतिक रुपफेर्दै आइरहेको छ । उपत्यकाले प्राकृतिक रुपमा आफ्नो मुहार फेर्दै गर्दा  अनेकन् महामारी, प्रकोप र व्यवधान पन्छ्याउँदै आयो,  तर यसबिचमा उपत्यकामा शासन गर्नेहरूले कृत्रिम रुपमा आफ्नो अनुहार पनि फेरेका छन् । 

त्यही अकर्मण्यताको अनुहार फेराइको बाटोमा त छैन अहिलेको सरकार !?

लगभग पुरै देश सिडिओहरूको 'जारी आदेश'बाट अहिले आहत छ । उपत्यकाका (ललितपुर) सिडिओ नारायण प्रसाद भट्टले दसैँसम्म नै निषेधाज्ञा लगाउने भनेर फलाकेको सुनिदैछ ।  दंशैको अर्थ नै भुल्नु भए छ महाशयले ! म उहाँलाई सोध्न चाहन्छु एक पटक आँफुलाई मजदुर भएको ठाउँमा राखेर त सोच्नुस् सिडिओ साप ! नभए त्यति तल झर्न चाहनुहुन्न भने कल्पना मात्रै सम्म गरेर त हेर्नुस् महाशय !  तपाईँको 'निषेधाज्ञा'ले गरिब, मजदुर र काम गरेर जीवन निर्वाह गर्नेहरूको के हालत भएको छ ?

देख्नु भएको छ भोकले थाल कचौरा पकडेर दुधे बालक काखीमा च्याप्दै बाटोमा कसैले खाना दिन आउँछ कि भनेर पर्खिएको विचरी आमालाई ?  त्यही थाल कचौरा समेत बेचेर खाली हात बाटोमा खाना मागी रहेकाहरूको आँखामा एक पटक नजर जुधाएर भन त ए शासक र प्रशासक हो ! कहिलेसम्म यो  निषेधाज्ञा ?

पिठ्युँमा नाम्लोले भारी बोकेर साँझ बिहानको जोहो गर्नेहरूको अवस्था तपाईँको लाल बत्तिमा हुइँकिने नजरले कसरी देख्ला र सिडीओसाप ! तपाईँहरूलाई त के छ र !? सरकारले तलब भत्ता दिएकै छ, मनलागी खर्च गर्न पाउने व्यवस्था छ,  आपतकालिन खर्चका लागी बनेका संयन्त्र  काफी होलान्, त्यसैमाथि दाता र चन्दा मार्फत आउने सहयोग त छँदैछ । शासक र प्रशासकहरूका लागि त कोभिड-१९ सँगैको लकडाउन अनि निषेधाज्ञा त फलिफाप पो छ त !  केही खालका सरकारी कर्मचारी काम नै नगरी तलब बुझ्न पाइरहेका छन्,  उनीहरूलाई महामारीका नाममा  निषेधाज्ञा अवसर झैँ छ । स्वास्थ्य सामाग्री खरिद, क्वारेनटिन व्यवस्थापन यस्तै यस्तै विभिन्न शीर्षकमा रकम खर्च गर्दा 'हातो मार्न' पाएकै छन् । अनि किन निषेधाज्ञा फलिफाप नहोस् त !! महामारी नियन्त्रणको नाममा भएका भ्रष्टाचारका कुरा छिपेका छैनन् । 

कतिपय अवस्थामा अदालतको समेत आदेश नमान्ने सरकार तर त्यही सरकारका सिडिओले गरेको आदेश मान्नु पर्ने हामी नागरिक ।आखिर कहिले सम्म !! त्यो पनि कामै नगरी तलब खान पाएका 'कर्मचरीहरु' को स्वार्थमा !? 

महामारीबाट जनता बचाउने नाममा भइरहेको लगातारको निषेधाज्ञाबाट के साँच्चिकै महामारी टर्दै गएको हो त !?

भोक भोकै बस्नु पर्ने अवस्थाको अन्त्यका लागी निषेधाज्ञा हट्नै पर्छ । सबैलाई आ-आफ्नो ज्यानको माया छ नि हो !!  के यो लगातारको निषेधाज्ञा जनतालाई बचाउनैका लागि हो त ? यो प्रश्नमाथि गम्भीर आशङ्का थपिएका छन् ।

सरकारले अब भन्नु पर्छ तथ्य र प्रमाणका साथ कि कुन कुन देशमा निषेधाज्ञाले महामारी नियन्त्रणमा आयो ?

काठमाडौँका सिडिओ जनकराज दाहाल र भक्तपुरका सिडिओ हुमकला पाण्डेको जारी आदेश र ललितपुरका सिडिओ नारायण प्रसाद भट्ट निषेधाज्ञाका लागि सरकारका मोहोरा बनेका छन् । यी ३ पात्र जस्तै देशभरिका सिडिओहरू एक पटक आम नागरिक भएर सोच्ने चेष्टा त गर्नुहोस् ।

सरकारलाई थाह छैन र देशमा गरिब, मजदुरको अवस्था कस्तो छ भनेर ? सडकमा लालबत्तिको साइरन बजाउँदै हिँड्ने भिभिआइपीहरू हो यी नै नागरिकले तिरेको करबाट आज तिमीहरू शानका साथ हिंडन पाएका छौ । सडक पेटीमा एक छाक खाना पर्खेर बसेका नागरिकलाई हेर्न नसकेर गाडीमा कालो सिसा माथि गर्नेहरू हो निषेधाज्ञाको चस्मा खोल !

थाह छ यति लेख्नु व्यर्थ हो । बरु उल्टै ऐन कानुनको उल्लङ्घन गरेको आरोपमा मेरो खोजी गर्ने आदेश जारी पनि हुन सक्छ । यदि त्यसो हुन्छ भने पनि होस तर अर्थ हिन निषेधाज्ञाले निम्त्याएको भोको पेटबाट मानिसको जिन्दगी चल्न सक्दै सिडिओ सापहरू !! आखिर यहाँहरुस्थायी सकार जो पर्नुभयो । 

नागरिकलाई आँफु बाँच्न पाउने अधिकार कुनै सकारले वा कुनै व्यवस्थाले दिएको होइन त्यसैले रोक्न पनि पाउँदैनन् । सबैभन्दा ठुलो नियम भनेको प्राकृतिक नियम हो । अब बाँच्नका लागी पेट भर्नु पर्ने व्यवस्थामाथि निषेधाज्ञा लगाएर बन्देज गर्नु थप स्वीकार्य छैन । यी यावत प्रश्नको  चित्तबुझ्दा जवाफ दिन नसक्ने हो भने अब नागरिकको धर्यताकाे बाँध टुट्न सक्छ । समयमा नै चेतना आओस् ।