नेपाली साहित्यको सुन्दुकमा एक प्रशंसनीय खजाना : ‘डायस्पोरा सिद्धान्त: रचना र समालोचना’

नेपाली साहित्यको सुन्दुकमा एक प्रशंसनीय खजाना : ‘डायस्पोरा सिद्धान्त: रचना र समालोचना’

सुरेश हाचेकाली  |  साहित्य  |  भदौ २७, २०७७

वर्तमान परिप्रेक्ष्यमा आप्रवासमा नेपालीहरुको संख्यात्मक बढोत्तरी मात्र भइरहेको छैन; साहित्य, बन्दव्यापार लगायत अन्य विविध क्षेत्रमा उनीहरुको सघन उपस्थिति भइरहेको छ । यो निश्चय पनि हाम्रो राष्ट्रियताका लागि गौरवको विषय पनि हो । नेपाली आप्रवासको दायरा दिनानुदिन फैलदो छ । आप्रवासको दायरा विस्तारसँगै नेपाली साहित्यको प्रवद्र्धन आप्रवासको माटोबाट पनि घना रुपमा भइरहेको छ । 

आप्रवासका कतिपय लोकेसनबाट नेपाली साहित्यकारहरुले साहित्यिक आन्दोलन र अभियानसमेत सञ्चालन गर्दै आएका छन् । उदाहरणका लागि हङकङवाट भयवाद, रेखासाहित्य लेखन, समुच्च विचार जस्ता अभियानहरु अस्तित्वमा आएका छन् भने बेलायतबाट नवचेतना ग्रह, डायस्पोरा सिद्धान्त र युद्ध साहित्य जस्ता वैचारिक चिन्तनहरु उदय भइरहेका छन् । यी र यस्तै चिन्तन तथा अभियानले निश्चय पनि अन्ततोगत्वा नेपाली भाषा साहित्यकै गत्यात्मकतालाई बढाउँछन् ।

यसै सिलसिलामा ब्रिटिस गोर्खा सेनामा सेवा गरेका तथा साहित्यसेवामा पनि समर्पित दुई जना लेखकहरु रक्ष राई र मिजास तेम्बेले बेलायती भूमिबाट नेपाली साहित्यमा डायस्पोरा सिद्धान्त विकास गर्दै वि.सं. २०७२ मा ‘डायस्पोरा सिद्धान्त: रचना र समालोचना’ भन्ने पुस्तक प्रकाशनमा ल्याउनु भएको छ ।  उनीहरुको यो बौद्धिक जागरण अवश्य पनि नेपाली साहित्यको सुन्दुकमा एक प्रशंसनीय खजाना हो ।

यो पुस्तकमा रक्ष र मिजासले एउटा सुन्दर र अप्ठेरो प्रयोग गरेका छन् । त्यो के भने पुस्तकको प्रारम्भिक खण्डमा उनीहरुले ‘डायस्पोरा’ भन्ने अवधारणाको सौद्धान्तिकरण गरेका छन् । यसका निम्ति उनीहरुले ‘ग्लोबल’ (ग्लोवल प्लस लोकल) ‘रिफरेन्स’ तथा पद्दतिको चिरफार गरेको पाइन्छ । डायस्पोरा निर्माणको ऐतिहासिक पृष्ठभूमि, डायस्पोरा मनोविज्ञान तथा देशघरको निम्ति डायस्पोराबाट हुने र हुनसक्ने योगदानको चर्चा पुस्तकमा पाइन्छ ।

काठमाडौँमा जन्मेहुर्केकी एक हुनेखाने परिवारकी विवाहित महिला दुव्र्यसनी लोग्ने, असहयोगी परिवार र छिछिदुर गर्ने माइतीका कारण सानो छोरालाई नेपालमै छोडेर दलाल मार्फत शरणार्थीको रुपमा हङकङ पुगेपछि विभिन्न प्रतिकूलताका कारण आत्महत्या गर्न पुगेकी महिलाको विषयवस्तु यो कथामा समेटिएको छ । 

त्यसैगरी दोस्रो खण्डमा आप्रवासी विषयवस्तुसँग सम्बन्धित विभिन्न लोकेसनका विभिन्न नेपाली लेखकहरुको रचनाहरु राखिएको छ । यी रचनाहरु अन्तर्गत पाँच वटा कथा, पाँच वटा यात्रासंस्मरण र पाँचवटा कविता समाविष्ट छन् । ती रचनाहरुको सामान्य परिचयात्मक जानकारी यहाँ प्रस्तुत गरिएको छ ।

महेशविक्रम शाहको कथा ‘ज्याक्सन हाइट’ ले अमेरिकको मानव महासागरमा कतिपय नेपाली आप्रवासीहरुको पीडामय अन्तर्कथालाई वेजोड तरिकाले प्रस्तुत गरेको छ । अमेरिकाको व्यापारिक राजधानी न्युयोर्कको एक कुनामा रहेको ज्याक्सन हाइटमा नेपाली लगायत अन्य एसियाली गहुँगोरा प्रशस्त भेटिएका तथा डलर कमाउने मोहमा फसेर विजोगमा परेका कतिपय नेपालीको कारुणिक कथा छ । अमेरिकामा रहेका सम्पूर्ण नेपाली आप्रवासीहरुको त नभनौँ तर एउटा निश्चित संख्याको समूहको अवस्था भने यो कथाले झसङ्ग हुने गरी चित्रित गर्दछ ।

यसै गरी टंक वनेमको कथा ‘उम नूर’ मा कथावाचक एक नेपाली आप्रवासीले बेलायतको भूमिमा भेटिएकी एक इराकी आप्रवासीको युद्धपीडालाई अति सुक्ष्मतापूर्वक अभिव्यक्त गरेको पाइन्छ । इराकमा सद्दाम हुसेनको पराजयपछि फैलिएको सुन्नी र सियाबीचको साम्प्रदायिक हिंसाको पृष्ठभूमिमा यो कथा रचिएको छ । फतिमा उर्फ उम नूर यो कथाकी बकन्ते हुन् । उनले आफ्नो कथा भनेकी छिन् । इस्लाम धर्मभित्र दुई भिन्न सम्प्रदायका भए पनि अब्दुल जारा र फतिमा उर्पm उम नूरको जोडी थियो । अब्दुल सिया थिए भने फतिमा सुन्नी थिइन् । इराकमाथि अमेरिकी आक्रमणको बेला भड्काइएको सिया र सुन्नीबीचको साम्प्रदायिक युद्धको चपेटामा फतिमाले आफ्नो श्रीमान, छोराहरु र थुपै्र आफन्त गुमाएको अभिघातको प्रस्तुति यो कथामा पाइन्छ । उनी भने धेरै कष्टका बाबजुद जिवित अवस्थामै बेलायत पुग्छिन् । कथाकार वनेमले कसरी यति नजिक पुगेर युद्धको त्रासदी चित्रण गर्न सके होलान भनेर निकै अनौठो लाग्दछ । 

जया राईको ‘क्रिसमस डे’ यो संकलनमा समाविष्ट तेस्रो कथा हो । यो कथामा कथावाचकको साथी श्रीमान मेन्सा अफ्रिकी डास्पोरा हो । ऊ अफ्रिकाली जीवनका पूर्वस्मृतिहरु व्यक्त गर्दछ । हुन पनि आप्रवासीहरु नवभूमिमा आफ्नो जन्मभूमिका यादहरुलाई सांस्कृतिक सम्पत्तिको रुपमा स्मरण गर्दछन् । श्रीमान् मेन्सा पोलिटिकल साइन्समा मास्टर्स हो । गाउँमा उसको पिताको कोडो खेती थियो । नोभेम्बरदेखि मार्चसम्म हुने अफ्रिकी ड्राइ सिजनमा सहारा मरुभूमिबाट तातो हावा चल्छ । त्यसै बेला उसको पिताको सयौँ एकडको कोडो खेतीमा आगलागी हुन्छ । परिणामस्वरुप आर्थिक बेहाल भएपछि उनका पिताले आत्महत्याको असफल प्रयास गर्दछन् । क्रिसमसको बेलामा कोठामा बसेर मदिरापान गर्दै श्रीमान मेन्साले आफ्नो कथाव्यथा सुनाउँदै गर्दा बकन्ते श्रीमान मेन्साबाट गर्भवती हुन्छिन् । ओरियन्टल गर्भाशयमा एक अफ्रिकन भ्रुणको विजारोपण भएको उपलक्ष्यमा गर्ववोध गर्दै उनी आफूभित्रको अफ्रिकी भ्रुणलाई सगर्व स्वीकार्छिन् ।

यसरी यो कथाले नेपाली डायस्पोराको फैलदो बैश्विक आयतनलाई रोमाञ्चकारी शैलीमा प्रस्तुत गरिएको छ । चौथो कथाको रुपमा लारा राईको ‘एउटा मृत्युको बयान’ रहेको छ । लाराले यो कथामा एउटा आकर्षक र सम्वेदनशील विषयवस्तु उठाएकी छिन् । काठमाडौँमा जन्मेहुर्केकी एक हुनेखाने परिवारकी विवाहित महिला दुव्र्यसनी लोग्ने, असहयोगी परिवार र छिछिदुर गर्ने माइतीका कारण सानो छोरालाई नेपालमै छोडेर दलाल मार्फत शरणार्थीको रुपमा हङकङ पुगेपछि विभिन्न प्रतिकूलताका कारण आत्महत्या गर्न पुगेकी महिलाको विषयवस्तु यो कथामा समेटिएको छ । 

रक्ष राईद्वारा लिखित ‘अष्ट्रियाकी फूल’ यो सङ्कलनको अर्काे कथा हो । अष्ट्रियाबाट शैक्षिक भ्रमणमा आएकी एक केटीसँग कथावाचकको भेट हुन्छ । ऊ त्यो केटीमा आफ्नी भाउजुकी बहिनीको चित्र देख्छ । नियात्राको झलक दिने यो कथामा अष्ट्रियाकी केटी सिसिलिया र कथावाचकको लण्डन घुमाइलाई केन्द्रमा राखेर लण्डनका विभिन्न ‘एमेनिटिज’ स्थानहरुको चर्चा गरिएको छ । साथै, सैनिक जीवनका विभिन्न पक्ष पनि यहाँ समेटिएको भेटिन्छ । यसका अतिरिक्त त्यो अष्ट्रियाकी केटी सिसिलिया र नेपालको गाउँमा रहेकी भाउजुकी बहिनीको बिचमा रहेर कथावाचकले एक प्रकारको मानसिक सयर गरेका छन् ।

यसै प्रकारले यो पुस्तकको दोस्रो खण्डमा पाँच यात्रा संस्मरण समेत समाविष्ट छन् । मात्र ३७ वर्षको कलिलो उमेरमा दिवङ्गत भएका महान फ्रान्सेली चित्रकार भ्यानगगको सम्झनामा लैनसिंह बाङ्देलको संस्मरण ‘भ्यान गगको चिहान’ लगायत हरि थापाको ‘भृकुटीको घरमा केही क्षण’ पनि पुस्तकमा समेटिएको छ ।

दयाकृष्ण राईको संस्मरण ‘कामको खोजी र आफूले गरेको काम’मा उनले सात वर्ष जापानमा श्रम गर्ने सिलसिलामा सुँगुरको लिदी सोहोरेको अनुभव लेखेका छन् । डायस्पोरामा कतिपय नेपालीले कतिपय अवस्थामा भोगेका र भोग्नुपर्ने केही अप्ठ्यारा कामको लेखक राईले इमान्दारितापूर्वक उल्लेख गरेका छन् ।

‘एथेन्सको झरी’मा केदार सङ्केतले ग्रिसको एथेन्सस्थीत एक्रोपोलिसको थुम्को जाँदाको अनुभवलाई मिठासपूर्ण तरिकाले लेखेका छन् । भूमिराज राईले ‘टावर ध्वस्त पार्न जाँदा’ शीर्षकको संस्मरणमा आफगानिस्तानको हेलमण्ड प्रोभिन्समा गठबन्धन सेनाको तर्फबाट बिद्रोहीहरुसँग युद्ध गर्दाको अनुभवलाई आङै जिरिङ्ग हुने गरी युद्धभूमिको वर्णन गरेका छन् ।

कथा र संस्मरणको अलावा यो पुस्तकमा शैलेन्द्र साकार, रुपक श्रेष्ठ, भगवान चाम्लिङ, टंक सम्बाहाम्फे र टंक वनेमका एक एक वटा गरी जम्मा ५ वटा कविताहरु समावेश गरिएका छन् । यी कविताहरुमा पनि आप्रवासी जीवनका विभिन्न आयामहरुको पटाक्षेप गरेको पाइन्छ । 

यो पुस्तकको खण्ड तीनमा लेखक रक्ष र मिाजसले पुस्तकमा समाविष्ट रचनाहरुको समीक्षात्मक टिपोट प्रस्तुत गरिएकाे छ । तथापी पुस्तकको नाम भने डायस्पोरा सिद्धान्त, रचना र समालोचना राखिएको छ । यसलाई उनीहरुले नेपाली डायस्पोराको एउटा छुट्टै मानक समालोचकीय पद्धतिको निर्माण नभइसकेको अवस्थामा यसले डायस्पोरिक समालोचना पद्धतिका लागि सहायकको काम गर्न सक्ने अपेक्षा राखिएको छ । 

समग्रमा, विदेशी भूमिमा बसेर नेपाली साहित्यको विकासमा चिन्तन र सृजनाको एउटा नयाँ चौतारी निर्माण गर्ने दिशामा क्रियाशील भएका यी दुई सर्जक रक्ष र मिजासको प्रयत्न सबै सृजनशील व्यक्ति र संस्थाको निम्ति अनुकरणीय छ ।