भ्रष्ट सोच र पहुँच : विवेकी र शिक्षित वर्गले दोष जति अरूलाई दिएर आफू पन्छिन  मिल्छ र ?
भदौ २८, २०७७

वर्तमान युगमा सूचना तीव्र गतिमा फैलिएको छ। पहिलो पटक मानिसलाई चन्द्रमा पुर्‍याउने अन्तरिक्ष यानमा जडित कम्प्युटर भन्दा कैयौँ गुना शक्तिशाली कम्प्युटर मानिसहरुका गोजी गोजीमा छ। त्यो कम्प्युटरबाट मानिसहरू एक अर्कालाई हेर्दै कुरा गर्न, गोलो पृथ्वीको एउटा कुनाबाट अर्को कुनामा वर्तमानमा भइरहेका कुरा अहिले नै हेर्न सक्छन् । प्रविधि फेरियो। तर प्रवृत्ति फेरिएन। सायद, मानिस हुनुको श्राप नै  हो कि ! हामीले थाहा पाएका कुराहरू सजिलैसँग नजरअन्दाज गर्न सक्छौँ या भनौँ बिर्सिन सक्छौँ। धेरै खाए मोटाउँछौँ भन्ने थाहा हुँदा पनि धेरै खान्छौँ, अनि मोटो भयौँ भनेर हीनताबोध गर्छौँ। राती ढिलो सुते बिहान छिटो उठ्न सकिन्न, निन्द्रा र आराम पुग्दैन भन्ने पनि थाहा छ तर समयमा सुत्दैनौं र हाम्रो पूरा बिहान खराब हुन्छ। 

ज्ञान र दर्शनका कुरा पढ्न र सुन्न सक्छौँ, तर सारा समय सामाजिक सञ्जालमा वाहियात कुरा र शीर्षकमा किबोर्डबाट झगडा गर्छौँ। हाम्रो सूचना खपत गर्ने बानी र खाना खाने बानी उस्तै खराब हुँदै छ। सूचना पनि एकोहोरो एउटै स्रोतबाट लिने र आलु मन पर्छ भन्दैमा आलु मात्रै खाने ! जिब्रोलाई मन पर्ने कुरामात्र खायो भने शारीरिक स्वास्थ्य खत्तम हुन्छ, कानलाई मात्र मन पर्ने सूचना लियौंभने मानसिक स्वास्थ्य ध्वस्त हुँदैन र ? अहिले यस्तै परिपाटी बसेको छ। सबै सूचना हातमा भए पनि मान्छेले आलु आलु जस्तो सूचना खपत गर्दै छ। त्यसैले अहिले हाम्रो समाजलाई मधुमेह भएको छ। मधुमेहले मानिसको ज्यान सुकाए जसरी अहिले मानिसको सोच्ने क्षमता सुक्दै गएको छ। यो रोगबाट प्रविधि भनेको अनुहार हेर्दै कुरा गर्ने फोन हो भनेर बुझ्ने बुढापाका भन्दा गुगल र फेसबुक चलाउने युवा-पुस्ता धेरै ग्रसित हुन थालेका छन्। सायद, यही सूचना रुपी पोषणको अभावले अहिलेको युवा पुस्तामा बिर्सने रोग बढी नै देखिने गरेको छ। बाको जन्मदिन फेसबुकले याद गराउँछ। गणतन्त्र दिवस पत्रिकाले याद गराउँछ, बुद्ध वाणी मोबाइलको भित्ते पत्र वा वाल पेपरले याद दिलाउँछ। मनले र दिमागमा मनन गर्न नै पर्दैन। 

दिनभर सामाजिक सञ्जालमा विभिन्न कुरामा बहस गर्ने लाखौँ नेपाली मध्ये कति प्रतिशतले नेपालको संविधान पढेका होलान !? सामाजिक न्यायका बारेमा दिनभर एक अर्कासँग मुख छाडेर वाद-प्रतिवादमा उत्रिनेहरू ती घटना बारम्बार किन घट्छन् भनेर सोच्न र तार्किक विमर्श समेत गर्न सक्दैनन्। हामी आफ्नो जीवन, आफ्नो परिवार, आफ्नो देश बिग्रिनुमा आफ्नो बाहेक अरु सबैको दोष देख्छौँ। पहिला पञ्चायतमा राजाले देश बिगार्‍यो भन्यौँ, त्यसपछि बहुदलमा काँग्रेस र एमालेले देश बिगार्‍यो भन्यौँ, गणतन्त्र पछि माओवादीले देश बिगार्‍यो भन्यौँ, अहिले नेकपाले देश बिगार्‍यो भन्दैछौं। 

नेता त फगत हाम्रा प्रतिनिधि हुन्। प्रतिनिधिको अर्थ राम्रोसँग बुझौँ। उनीहरू हामी जनताको ऐना हुन्, जस्तो हामी उस्तै उनीहरू। केही ठिक नेता होलान्, केही खराब नेता होलान्। तर रोज्ने हामी नै हौँ। अन्तमा एउटा कथा सुनौँ। श्रीमान् र श्रीमतीको सधैँ खाने कुरामा झगडा हुँदो रहेछ। श्रीमतीले जे तरकारी ल्याए पनि श्रीमानलाई मन पर्दो रहेनछ। अनि श्रीमानले भनेछ तिमीले कहिले पनि केही कुरा गतिलो छान्न जानेनौ। तिम्रा रोजाई जति सब खराब छन्। श्रीमतीले लामो सास लिएर भनिछन् 'तिमीलाई पनि मैले नै रोजेको हो ।'

खासमा यो देश अनपढ, अशिक्षित, गरिब वर्गले होइन, लेख पढ गर्न जान्ने, शैक्षिक प्रमाणपत्रधारीले नै बिगार्दैछन। यो देशले धेरै विडम्बनाका घटना देख्यो र भाेगेको छ । न गरिब मजदुर, निम्नवर्गलाई अधिकार देऊ भनेर हप्तौँसम्म नेपाल बन्द घोषणा गरेको देख्यौं, न भारतले नेपालको सीमा अतिक्रमण गरेको विरोधका रूपमा नेपाल बन्दको घोषणा गरेको देख्यौं। तर तीनै गरिब-मजदुरको हकहितका लागि लड्ने मजदुर नेता करोडपति भएको देख्यौं। निकै सहजताका साथ 'धेरै त होइन ५ हजारको जिम्मा म लिन्छु' भन्ने व्यक्ति आफ्नो छोरा मर्दा ईश्वर कपाउने गरी रोएको देख्न बाध्य भयौं । पद नहुँदा एक व्यक्ति एक पदको नारा लिएर पार्टीभित्र चर्को भाषण गर्ने व्यक्ति पद पाएपछि एकाएक निरङ्कुश तानासाह भएको देख्यौं।

मेरा सन्तान छैनन्, भ्रष्टाचार गर्दिन, अरूले गरेको पनि सहन्न भन्ने व्यक्तिले आफ्ना सयौँ धर्म पुत्र-पुत्रीलाई सात पुस्ता पुग्ने कमाइदिएको देख्यौं। कोरोना विरुद्ध सरकारले प्रभावकारी काम गरेन भन्नेहरू नै भिड बनाएर आन्दोलन गरेको देख्यौं । महामारीकै बेलामा सत्ता ढाल्न पाइँदैन भनेर सत्तापक्षीय मानिसहरूले आन्दोलन गरेको  समेत  देख्यौं। र यी सब घटना हेर्ने र बिर्सने मूर्ख जनतालाई देख्यौं। खासमा यो देश नेताले बिगार्‍यो, कर्मचारीले बिगार्‍यो, ठेकदारले बिगार्‍यो, पत्रकारले बिगार्‍यो, वकिल र न्यायधिसले बिगार्‍यो, पुलिसले बिगार्‍यो, व्यापारीले बिगार्‍यो भनेर एक छिन कुर्लने र पछि बिर्सने जनताले बिगार्‍यो ? सबै जनाले दोष जति अरूलाई दिएर आफू पन्छिन  मिल्छ र ? नेता पनि यही समाजबाट आउने हो, अरु सबै माथि उल्लेख पेसाहरूमा कार्यरत मानिसहरू पनि जनताबाटै आउने हो।

अर्को एउटा प्रमुख समस्या भनेको हामीले नीति नियम बुझ्दैनौँ। नेपालको कानुनको बारेमा हामी अनभिज्ञ छौँ, बुझ्ने चासो पनि लिँदैनौँ। अलिकति जाँगर र इच्छा भए अध्ययन गर्न सक्छौँ। तर हामीलाई फुर्सद छैन। आफ्नो इस्ट पार्टीको भन्दा अरु कोही जननिर्वाचित प्रतिनिधिहरूको हरेक काममा हामी नकारात्मक कुरा खोज्छौँ। खुइल्याउन खोज्छौँ। एउटा ठेकदारले कैंयौं ठेक्का लिन्छ तर समयमा काम कहिले सक्दैन। उसको काम भनेकै त्यहाँ राम्रोसँग पनि काम गर्न नपुग्ने गरी सस्तोमा ठेक्का कबुल्ने तर ठेक्का समयमा नसकाउने हुन्छ। अनि उसले विभिन्न बहाना देखाउँदै समयमा काम हुन नसक्ने देखाउँछ, आयोजनाको म्याद लम्ब्याउँछ र लागत बढी पर्‍यो भनेर फेरी सरकारबाट पैसा लिन्छ। उसले २ वर्षमा सक्नु पर्ने काम ८ वर्ष लगाउँछ तर पनि काम गर्दैन। उसका यस्तै सयौँ ठेक्का अलपत्र हुन्छन्, बेवारिसे हुन्छन्, आयोजना नसकिएकाले जनताले दुःख र सास्ती पाउँछन्। तर त्यो सम्बन्धित मन्त्रालयले त्यस ठेकदारलाई कहिल्यै कारबाही गर्दैन। झन् नयाँ ठेक्का दिएर पुरस्कृत गर्छ। कानुनमा एउटा भनाइ छ, 'दोष साबित नहुँदा सम्म निर्दोष भन्ने।'

केही समय पछि उसले अर्को ठेक्का लिन्छ अर्को मन्त्रालयबाट। उसको पारा त्यही पुरानो हुन्छ। निकै कममा ठेक्का बोल्ने, काम अलपत्र बनाउने र समय लम्ब्याउन खोज्ने । तर यसपालि उ कारबाहीमा पर्छ। त्यस ठेकदारको इतिहास राम्रो थिएन भन्ने जान्दा जान्दै, किन ठेक्का दिइस् भनेर जुन मन्त्रीले कारबाही गर्‍यो, जनता उसै माथि झन् उग्र र तथानाम गाली गरेर उत्रन्छन्। जनतालाई थाहा छ ठेकदार खराब छ, सबैलाई थाहा छ ठेकदारको नियत ठिक छैन। तर पुरानो मन्त्रालयले केही कारबाही गरेन। अदालत या मन्त्रालयले कालोसूची या कुनै कारबाही नगरेकाले कानुनका नजरमा उ निर्दोष नागरिक हो । फेरी कुरा त्यही आउँछ 'दोष साबित नहुँदा सम्म निर्दोष'।

अहिलेसम्म कसैले नगरेको काम कारबाही यो पाली देखि भएको छ। नजिर बसेको छ। अब त्यो 'ठगदार'लाई सजाय हुँदै छ। यदि कम बोल्नेलाई ठेक्का नदिएर बढी बोल्नेलाई ठेक्का दिएको भए त्यो सरासर भ्रष्टाचार हुन्थ्यो। यस्ता छिद्रद्वारा हुँदै केही मानिसहरूले राज्य स्रोतलाई निरन्तर दोहन गरी आफ्नो कमाई खाने भाँडो बनाएका थिए । अब यस पालीदेखि त्यस्ता 'ठगदार' कारबाहीमा परेका छन्। यस्ता द्वार न्यायालय र अरु मन्त्रालयले पहिले नै बन्द गरेको भए यो समस्या आउने नै थिएन। तर विडम्बना उनीहरूलाई पनि हाम्रै समाजका मानिसहरुलेर माननीयहरूले कारबाही गरेनन्। यसपालि भएको छ। एउटा छिद्र सधैँका लागि टालिने प्रक्रिया सुरु भएकाे छ । अर्को पालिदेखि अब त्यसरी अरूले राज्य स्रोत दोहन गर्ने हिम्मत नगर्ला, गरे यसै गरी सजायको भागिदार बन्ला। ठेकदारहरूले प्रयोग गर्ने गरेका अरु अनेक छिद्र पनि होलान्। ती छिद्र पनि यसै गरी टाल्ने हो अरु उपाय छैन।

एउटा प्रसङ्गमा भनेको भिडियो अलिकति काटेर अर्थको अनर्थ लाग्ने गरी सानो क्लिप बनाएर भ्रम छर्न खोज्नेहरूले आम नेपाली जनताको आलोचनात्मक चेतको खुलेआम मजाक गर्दैछन्। जनता अलिकति पनि सोच्ने, विचार मन्थन गर्ने कष्ट गर्दैनन्। दुर्भाग्यले यस्ता कुराले हाम्रा युवा र शिक्षित वर्गलाई विवेकहीन र जिम्मेवारहीन देखाएको छ। यसरी हाम्रो विवेक माथि निरन्तर प्रहार हुँदै आएको छ ।  साँच्चिकै हामीलाई भेडा बनाइँदै छ र अवचेतन रुपमा हामी त्यसलाई सहर्ष स्वीकार गर्दै आएका छौँ। हामीले हाम्रो लागि सोच्ने कार्य अरु कसैलाई सुम्पिदियौँ। उत्तेजक समाचारको शीर्षक मात्र पढेर उत्तेजनामा आउने जनता पनि प्रगतिका बाधक हुन्छन् ।ती जनता झापामा रेल आउँछ भनेर मक्ख पर्छन्, तर झापामा रेलको औचित्य के छ ? कसैले जान्न, बुझ्न खोज्दैन। मेरो ठाउँमा विकास आए बाल मतलब भन्ने हामी जनताको सोचले पनि यो देशलाई हानी गरेको छ।

हामी सस्तो, खुद्रा र क्षुद्र कुरामा आकर्षित हुन्छौँ, उत्तेजित हुन्छौँ। ७० करोड हाकाहाकी माग्ने नेतालाई अझै पनि विभिन्न कार्यक्रममा वक्ताको रुपमा निम्त्याउँछौँ। बालुवाटारको सरकारी जग्गा अतिक्रमण गर्ने नेतालाई सजिलैसँग माफ गरिदिन्छौ ।तर एउटा सेतो नम्बर प्लेटको सरकारी मोटरसाइकलले एउटी महिलालाई पछाडि बसाएको कुरालाई हामी राष्ट्रिय समाचार बनाउँछौँ, ४-५ दिन सम्म सामाजिक सञ्जाल तताउँछौँ। फलानो अभिनेता महानायक हो कि होइन भनेर हाम्रो सामाजिक सञ्जालमा १ महिना भन्दा बढी चर्चा र वादविवाद समय खर्च गर्छौ‌ । यति लामो समयसम्म एमसी सीको विषयमा छलफल भयो ? अब छिटै एमसीसी पास हुन्छ, अनि फेरी जनता २ दिन कुर्लन्छन् अनि बिर्सन्छन्। हामी जनताकै प्रवृत्ति यस्तो छ त, हामीले जिताएका नेता कस्ता हुन्छन् ? 'मिम' र 'ट्रेल'मा भुलिरहेका हामीलाई बौद्धिक बहस निकै बोझिलो लाग्छ। 'फक पोलिटिक्स' भन्यो, अर्को 'मिम' हेर्‍यो। अहिले हामी भारतीय मिडियालाई खिसिट्युरी गर्छौँ, उडाउँछौँ। त्यहाँ राम सम्बन्धी समाचारको खपत बढी छ, मुस्लिम विरोधी समाचारको खपत बढी छ, त्यही देखाउँछन्। हाम्रो समाजले कस्तो समाचार खपत गर्छ भन्ने जान्नको लागि युट्युबको 'ट्रेन्डिङ' भिडियो हेर्दा पुग्छ। हाम्रो चेतनाको स्तर यसरी नै थाहा हुन्छ। 

एकै छिन गणितबाट कुरा गरौँ। यदि औसतमा हजार जना मानिसमा १ जना हत्यारा हुन्छ भने ३ करोड जनतामध्ये औसतमा तीस हजार हत्यारा हुन सक्छन्। त्यसै गरी हेर्ने हो भने अहिलेका संसद्मा इमानदार र निष्ठा भएका, भ्रष्टाचार नगरेका कति जना नेता होलान ? गत निर्वाचनमा नेपालमा कुल मतदाताको सङ्ख्या १ करोड ५५ लाख जति थियो। त्यसबाट हामीले छान्ने भनेको २७५ जना सांसद हो। यदि हामी ५० जना गतिलो सांसद जिताएको भए २८ लाख जति मात्र राम्रो नेता छान्ने व्यक्ति रहेछौँ । २० जना मात्र गतिलो नेता छानेको भए नेपालमा राजनीति बुझ्ने ११ लाख जति जनता रहेछन्। ५ जना मात्र छानेको भए जम्मा १ लाख असि हजार मात्र समझदार मतदाता हुने रहेछ। अब २७५ जना निर्वाचित सांसदको नाम हेरौँ । हामीले इमानदार र योग्य भनेर कति जना सांसदलाई भन्न सक्छौं ? यो निकै गम्भीर प्रश्न हो। मैले म त ठिक छु, योग्य उम्मेदवारलाई भोट हालेँ भनुँला, हजुरहरू आफूले ठिक हालेँ भन्नुहोला। आखिरमा गलत नेता कसरी छानियो त ? 

सामाजिक सञ्जालमा सामाजिक न्यायको चर्को वकालत गर्ने युवाहरूको फेसबुके भित्तो हेर्ने हो भने ऐँठन लाग्ने खालको देखिन्छ । उ आफ्नो इष्ट पार्टीको तमाम नालायकी लाचारीपूर्वक हेर्छ, कोही कोहि अझ लाज पचाएरै बचाउ गर्छ। अर्को पार्टीलाई थाङ्नामा पुर्‍याउने गरी गाली गर्छ। र गर्वपूर्वक भन्छ सत्य बोल्नेले ठाडो र छाडा शब्द प्रयोग  गरिरहेको हुन्छ ।  वर्तमान सरकारको यति धेरै नालायकी छन् कि भनेर साध्य छैन। प्रतिपक्ष कहाँ छ ? केही घोटाला आउने बित्तिकै केही साथीहरू फेसबुकमा फेरी हाम्रो समाजलाई अपाच्य हुने शब्दहरू प्रयोग गरी रिस पोख्छन्। आखिरमा धेरै घोटाला उनीहरूको पार्टी प्रमुखसँग जोडिन पुग्छ र चुप लाग्छन्। सुडान घोटाला, वाइड बडी, लोकमान नियुक्ति, खिलराज नियुक्ति, २ पटक संविधान सभाको चुनाव, औद्योगिक छेत्रलाई बिजुली बेचेर नेपाललाई १८ घण्टा अन्धकार बनाउनेहरू यिनै प्रमुखहरू होइनन् ? तर अझै पनि यी नेताका गुणगान गाउने जनता  हामी धेरै छौं ।

खासमा हामी आफैँमा भ्रष्ट छौँ। हामीमा नश्लीय सोच हाबी छ। आफ्नो पार्टीको भए ठिक छ, आफ्नो जातीको भए ठिक छ, आफ्नो भूगोललाई भए ठिक छ, हामी आफैलाई भए झन् ठिक छ । हामी जुत्ता ४०० मा किनेर ४००० मा बेच्छौँ, नेताहरू ५० लाखको सामान २ करोडमा किन्छन्। हाम्रो धेरै पहुँच छैन, सानो घोटाला गर्छौँ। नेताको पहुँच ठुलो छ, ठुलो घोटाला गर्छन्। गर्न सक्ने आँट भए हामी आफैले घोटाला गर्ने थियौँ ! दार्शनिक नित्सेले भनेका छन् 'मानिसले आफ्नो डरपोक पन र नालायकीलाई आदर्शको खोलले ढाक्छन्'। धेरै शारीरिक रुपमा कमजोर व्यक्ति अहिंसाको पक्षधर हुन्छन्। धन कमाउन नसक्ने धेरै व्यक्तिहरू 'पैसा ठुलो कुरो होइन, साग र सिस्नु खाएको बेस आनन्दी मनले' भन्छन्। तर जेफ बेजोस, बिल गेट्स, वारेन बफेट, बिनोद चौधरीले भनेको सुनेको छैन। असली बहादुर गौतम बुद्ध जस्ता हुन्छन् जसले राज पाठ पनि त्यागेर हिँडे । महान् वैज्ञानिक अल्बेर्ट आइन्स्टायिनलाई सन् १९५२ मा इजरायलको राष्ट्रपति हुन प्रस्ताव गरिएको थियो जुन उनले विनम्रता पूर्वक अस्वीकार गरे। यस्ता उदाहरण हाम्रो समाजमा छन् तरु गम्भीर शल्यक्रियामा जाँदाखेरि पनि राष्ट्रप्रमुखले कार्यवाहक नदिने देशको जनता हामी नै हौँ।

नेता त फगत हाम्रा प्रतिनिधि हुन्। प्रतिनिधिको अर्थ राम्रोसँग बुझौँ। उनीहरू हामी जनताको ऐना हुन्, जस्तो हामी उस्तै उनीहरू। केही ठिक नेता होलान्, केही खराब नेता होलान्। तर रोज्ने हामी नै हौँ। अन्तमा एउटा कथा सुनौँ। श्रीमान् र श्रीमतीको सधैँ खाने कुरामा झगडा हुँदो रहेछ। श्रीमतीले जे तरकारी ल्याए पनि श्रीमानलाई मन पर्दो रहेनछ। अनि श्रीमानले भनेछ तिमीले कहिले पनि केही कुरा गतिलो छान्न जानेनौ। तिम्रा रोजाई जति सब खराब छन्। श्रीमतीले लामो सास लिएर भनिछन् 'तिमीलाई पनि मैले नै रोजेको हो ।'

 


भूसाल, चीनकाे छाङ्सा स्थित हुनान विश्वविद्यालयमा अध्यनरत हुनुहुन्छ ।