भारतमा काँग्रेसको ४४ सिट आउन पनि मुस्किल !

भारतमा काँग्रेसको ४४ सिट आउन पनि मुस्किल !

ज्ञानमित्र  |  दृष्टिकोण  |  चैत्र १४, २०७५

भारतमा चुनाव नजिकिदैं जाँदा दिल्लीको कुर्सी कसले पाउने चर्चा भारतमा मात्र होइन देश विदेशमै हुन थालेको छ । भारतमा चुनावी चर्चाका क्रममा भएका तमाम चुनावी सर्वेक्षणले नरेन्द्र मोदीको अगुवाइमा भाजपालाई सबैभन्दा ठुलो पार्टी बन्नेदेखि बहुमतसम्म पुग्ने निष्कर्ष देखाएका छन् । 

यसै बिच भारतमा एउटा अर्को चर्चाले पनि चुनावी माहौललाई नयाँ मोड दिएको छ । के अध्यक्ष राहुल गान्धीको नेतृत्वमा काँग्रेसले गत २०१४ को निर्वाचनमा देश भरी जितेको ४४ सिटको आँकडा हुनसक्छ वा अर्को इतिहास बन्छ । 

भारतमा सन् १९५२ मा भएको पहिलो निर्वाचन देखि २०१४ मा भएको १६ औँ निर्वाचनसम्म आउँदा इतिहास मै सबैभन्दा थोरै सिटमा समेटिन पुग्यो काँग्रेस राहुल गान्धीको नेतृत्वमा । 

 १९९५ को निर्वाचनमा देशभरिबाट ४५ प्रतिशत मत पाएर काँग्रेसले ३६४ सिटमा विजय प्राप्त गरेको थियो । १९५७ को दोस्रो आमचुनावमा ४७.८ मत प्रतिशतका साथ काँग्रेसले ३७१ सिट प्राप्त गर्‍यो । 

नेहरु युगको अन्तिम तथा तेस्रो आम निर्वाचनमा ४४.७ प्रतिशत मत पाएर काँग्रेसले ३६१ सिटमा विजय हासिल गरेर नेहरु बाचुन्जेल स्वतन्त्र भारतका प्रधानमन्त्री बन्ने सौभाग्यशाली बने ।  

नेहरुले १६ वर्ष २८६ दिन प्रधानमन्त्रीका रूपमा काम गरे । नेहरुको अवसान पछि केही दिनका लागि सत्ताको बागडोर नेहरु–गान्धी परिवारबाट बाहिर गए पनि लाल बहादुर शास्त्रीको आकस्मिक निधनले काँग्रेस र भारतको सत्ता पुनः गान्धी परिवारमा आयो । इन्दिरा गान्धी प्रधानमन्त्री बनिन् । 

इन्दिराको नेतृत्वमा काँग्रेसले १९६७ को चौथों आम निर्वाचनमा ४०.८ प्रतिशत मतका साथ लोकसभाका २८३ सिटमा विजय प्राप्त गरेर बहुमत ल्यायो । बंगलादेश युद्धले इन्दिरा गान्धीको लोकप्रियता बढेका कारण १९७१ मा भएको पाचौ निर्वाचनमा ४३।७ प्रतिशत मत ल्याएर सिट संख्या ३५२ पुग्यो । 

इन्दिरा पिता नेहरु झै देश र काँग्रेस भित्र निर्विकल्प बनिन । 

तर यस कार्यकालमा छोरा संजय, नसवन्दी र आपातकालले गर्दा १९७७ मा भएको छैठौं आम निर्वाचनमा काँग्रेसले पहिलो पटक सत्ता गुमाउनु पर्‍यो । देश भरी इन्दिरा विरोधी लहर चल्योे । भारतका तमाम दल इन्दिराको विरोधमा गोलबद्ध भए । यस चुनावमा काँग्रेसले ३४.५ प्रतिशत मत ल्याएर १५४ सिटमा चित्त बुझाउनु पर्यढो । देशमा पहिलो पटक सत्ताको बागडोर काँग्रेसको हातबाट अन्यत्र गयो । 

तपाईका हजुरबुआ पंडित नेहरुले १६ वर्ष २४७ दिन शासन गरे । तपाईकी हजुरमुआ इन्दिरा गाँधीले १५ वर्ष ३५० दिन शासन गरिन । तपाईका बुआ राजीव गान्धीले ५ साल ३२ दिन शासन गरे । स्वतन्त्र भारतको इतिहासमा तपाईको परिवारले ३७ वर्ष ३०३ दिन शासन गर्यो । कांग्रेसको शासनमा गान्धी परिवार बाहेक अन्यले पनि शासन सत्ता चलाए । पी वी नरसिंहरावले ४ वर्ष ३३० दिन शासन गरे । डा. मनमोहन सिंहले १० वर्ष ४ दिन शासन गरे । लाल बहादुर शास्त्रीले १ वर्ष २१२ दिन शासन गरे । गान्धी परिवार वाहेक कांग्रेसले १६ वर्ष १८१ दिन शासन गर्यो । स्वतन्त्र भारतको इतिहासमा कांग्रेसले ३७ वर्ष ३०३ दिन ‍+१६ वर्ष १८१ दिन गरी ५४ वर्ष ११९ दिन शासन गर्‍यो ।

तर इन्दिराको सत्ताबाट निर्वासन लामो भएन । पहिलो पटक बहुमत पाएका विपक्षीहरुले आपसी कलहले सत्ता संचालन लामो हुन सकेन । देशमा पहिलो पटक मध्यावधि चुनाव भयो । यस ७ औँ आम निर्वाचनमा काँग्रेस ४२.७ प्रतिशत मत ल्याएर ३५३ सिटका साथ पुनः सत्तासिन बन्यो । 

सानो समयका लागि सत्ताबाट च्युत हुँदा, आफैले रोपेको विषवृक्ष ले इन्दिरा गांधी मारिहन । इन्दिराको हत्या पछि छोरा राजीव प्रधानमन्त्री बने । सत्ता नेहरु गाँधी खानदान मै हस्तान्तरित भयो इन्दिराको हत्या सम्वेदना लहरले १९८४ को आठौं आम निर्वाचनमा काँग्रेसले प्रचण्ड बहुमत प्राप्त गर्‍यो । देशभरीबाट सर्वाधिक ४८.१ प्रतिशत मत ल्याएर काँग्रेसले पहिलो पटक दुई तिहाई बहुमत प्राप्त गर्‍यो । काग्रेसले ४१५ सिटमा विजय प्राप्त गर्‍यो । 

राजीवमाथि भ्रष्टाचारको आरोप लाग्यो । काँग्रेस कै नेता विपी सिंहले विद्रोह गरे । १९८९ को नवौं आमनिर्वाचनमा काँग्रेस पराजित भयो । राजीव गान्धी हजुरबुबा नेहरु र आमा इन्दिरा जस्तो कुशल राजनीतिज्ञ सावित हुन सकेनन् । एक कार्यकालमै उनको सत्ताभोग सकियो । १९८९ को निर्वाचनमा ३९.५ प्रतिशत मत ल्याएर उनको नेतृत्वमा काँग्रेस १९७ सिटमा सिमित हुन पुग्यो । प्रधानमन्त्री वीपी सिंह भए । तर गठबन्धनमा रहेका तमाम सत्तालोलुपहरुले गर्दा उनले शासन चलाउन सकेनन । देश पुनः मध्यावधि चुनावमा गयो । दुई वर्षमा पुनः निर्वाचन भयो । 

चुनाव हुनु भन्दा पहिला राजीव गान्धीको हत्या भयो । श्रीलंकाको जातिय विद्रोहको ज्वालामा राजीव पर्न गए । 

काँग्रेसले १९९१ को चुनावमा बहुमत ल्याउन सकेन । देशभरिबाट ३६.४ प्रतिशत मत ल्याएर सबैभन्दा ठुलो पार्टी बन्दै २४४ सिटमा विजय हासिल गर्‍यो । काँग्रेसको अगुवाइमा सरकारको नेतृत्व गान्धी परिवारबाट नरसिम्हा रावमा आयो । भारतमा भएको आर्थिक सुधारको श्रेय रावलाई नै प्राप्त छ । अल्पमतको भए पनि यो सरकार पाँच वर्ष टिक्यो ।     

१९९६ को ११ औँ आम निर्वाचनमा काँग्रेस २८.८ प्रतिशत मत ल्याएर १४० सिटमा विजयी बन्यो । देश पुनः मध्यावधि चुनावमा गयो । १९९८ मा सम्पन्न १२ औँ लोकसभाको चुनावमा काँग्रेसले २५.८ प्रतिशत मत ल्याएर १४१ सिट प्राप्त गर्‍यो । 

१ वर्ष मै पुनः देश निर्वाचनमा होम्मिन पुग्यो । १९९९ मा भएको १३ औँ आम निर्वाचनमा काँग्रेस २८.३ प्रतिशत मतका साथ ११४ सिटमा खुम्चिन पुग्यो । अटल विहारी बाजपेईको नेतृत्वमा पहिलो पटक काँग्रेस विरोधी सरकारले पाँच वर्षे शासनकाल पुरा गर्‍यो । २७.५ प्रतिशत मत प्राप्त गरेर १४५ सिट जित्यो । २००४ भएको निर्वाचनमा २७.५ प्रतिशत मत प्राप्त गरेर काँग्रेसले  १४५ सिट जित्यो । काँग्रेसको नेतृत्वमा सरकार बन्यो, तर प्रधानमन्त्री पदमा गान्धी परिवारको कुनै सदस्य नभएर डा. मनमोहन सिंह बन्न पुगे । उनले पाँच वर्षे कार्यकाल पुरा गरे । 

२००९ को निर्वाचनमा मनमोहनको नेतृत्वमा काँग्रेसले आफ्नो प्रदर्शनमा सुधार गर्योे । यस १५ औँ निर्वाचनमा २८.७ प्रतिशत मतका साथ काँग्रेसले २०६ सिटमा विजय प्राप्त गर्‍यो । मनमोहन सिंह दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बने । 

२०१४ को आम निर्वाचनमा काँग्रेसले इतिहासकै सबैभन्दा नराम्रो प्रदर्शन गर्‍यो । भाजपा नेता नरेन्द्र मोदीका अगाडि राहुल गान्धी बच्चा साबित भए । काँग्रेसले १६ औँ आम निर्वाचनमा १९.५ प्रतिशत मत पाएर जम्मा ४४ सिटमा सीमित हुन पुग्यो । 

नरेन्द्र मोदीले सशक्त रूपमा सरकार संचालन गरेर पाँच वर्षे कार्यकाल पुरा गरे । 

२०१९ मा हुन गईरहेको १७ औँ आम निर्वाचनमा  राहुलले नेतृत्व गरेको काँग्रेसको अवस्था झनै दयनीय बनेको छ । कांग्रेससँग चुनावी मुद्दा नै छैनन् । गरिबी, किसान समस्या, बेरोजगारी आदिको कुरा गर्दा मतदाता उल्टै राहुल र कांग्रेससँग प्रश्न गर्छ । तपाईको परिवार र पार्टीले नै देशमा सर्वाधिक शासन गरेको हो अनि यी समस्याको असली जिम्मेवार को ? 

तपाईका हजुरबुआ पंडित नेहरुले १६ वर्ष २४७ दिन शासन गरे । 

तपाईकी हजुरमुआ इन्दिरा गाँधीले १५ वर्ष ३५० दिन शासन गरिन । 

तपाईका बुआ राजीव गान्धीले ५ साल ३२ दिन शासन गरे । 

स्वतन्त्र भारतको इतिहासमा तपाईको परिवारले ३७ वर्ष ३०३ दिन शासन गर्‍यो ।

काँग्रेसको शासनमा गान्धी परिवार बाहेक अन्यले पनि शासन सत्ता चलाए ।

पी वी नरसिंहरावले ४ वर्ष ३३० दिन शासन गरे ।

डा. मनमोहन सिंहले १० वर्ष ४ दिन शासन गरे । 

लाल बहादुर शास्त्रीले १ वर्ष २१२ दिन शासन गरे । 

गान्धी परिवार वाहेक काँग्रेसले १६ वर्ष १८१ दिन शासन गर्‍यो । 

स्वतन्त्र भारतको इतिहासमा काँग्रेसले ३७ वर्ष ३०३ दिन +१६ वर्ष १८१ दिन गरी ५४ वर्ष ११९ दिन शासन गर्‍यो । 

काँग्रेसले यति लामो शासन गरेपछि देशमा व्याप्त वेथितिको जिम्मेवार को ? यस प्रश्नको राहुलसँग कुनै जवाफ छैन । गत वर्ष सम्पन्न तीन राज्यको चुनावमा काँग्रेसले विजय हासिल गरेको थियो । तर लोकसभाको निर्वाचनमा छत्तिस गढ वाहेक मध्यप्रदेश र राजस्थानमा काँग्रेसको स्थितीमा कुनै सुधार आउने लक्षण देखिएको छैन । उत्तर प्रदेशमा गठबन्धनको जति प्रयास गरे पनि मायावती र अखिलेशले कांग्रेसलाई कुनै महत्व दिएनन । २०१४ मा यहाँ पाएका दुई सिट पनि जोगाउने संघर्षमा छ काँग्रेस । विहारमा उसले जम्मा ९ सिटमा चुनाव लड्दै छ । उडिसामा काँग्रेस प्रतिस्पर्धा मै छैन । आन्ध्र प्रदेशमा २०१४ मा काँग्रेसले कुनै सिट जितेको थिएन, यस पटक पनि सम्भावना २०१४ कै छ । आसाममा ३ सिट रहेको कांग्रेसलाई यो संख्या दोहर्‍याउन मुस्किल छ । दिल्लीमा काँग्रेसको खाता यसपटक पनि खुल्ने संभावना को किरण देखा परेको छैन । गुजरात नरेन्द मोदीको गृहराज्य नै हो । यहाँ पनि काँग्रेसको प्रदर्शनमा सुधार हुने संकेत देखिएको छैनन । हरियाणामा २०१४ को एक सिट कायम रह्यो भने पनि कांग्रसले राहतको श्वास फेर्छ । हिमाचल, जम्मु काश्मिर, उत्तराखण्डमा प्रतिस्पर्धा गरेपनि कांग्रेसका लागि कुनै सुखद समाचार आउने छाटकाट छैन ।

झारखण्डमा १–२ सिट ल्याउन राहुललाई भाग्यले साथ दिनुपर्ने हुन्छ । 

कर्नाटकमा २०१४ मा ९ सिट जितेको काँग्रेसले क्षेत्रिय दलसँग मिलेर चुनावी लडिरहेको छ । ९ को आकँडा दोहोर्‍याउन नै मुस्किल छ । केरलमा ८ सिट जितेको काँग्रेसले यसपटक ५–६ सिटमै सिमित हुने सर्वेक्षणले देखाएका छन् । मध्य प्रदेश, राजस्थान, महारष्ट्र, पंजाव, वंगालमा काँग्रेसले पाँच पाँच सिट जित्न नसकेको खण्डमा काँग्रेसले गत निर्वाचनमा पाएको ४४ सिटको आँकडा छुन पनि गाह्रो देखिन्छ । 

  २०१९ को निर्वाचनमा राहुलले नेतृत्व गरेको काँग्रेस ३७–३८ सिटमै सीमित हुन गयो भने पनि राजनीतिक विश्लेषकहरुले कुनै अचम्म मान्ने छैनन ।  

याे पनि
के मोदीले फेरि ‘मनकी बात’ गर्न पाउँलान् ?