तुरुप र च्याँखेका रुपमा बामदेवको व्यवस्थापन: अन्य नेताहरूलाई चुनौती कि अवसर !?
भदौ ३०, २०७७

नेकपामा बामदेवको प्रभाव स्तर

अन्ततः कमरेड बामदेव गौतम राष्ट्रिय सभामा आउने नै हुनुभयो । हिजो साँझ मन्त्रीपरिषद्को बैठकले निर्णय गरेसँगै बामदेवको माथिल्लो सभाको सांसद पद पक्का भएको हो । नेपाल राजनीतिले बामदेवको लागि धरै समय र सामर्थ्य खर्च गरेको छ । बामदेवको नाममा कम्युनिस्ट पार्टीको राजनीति र कार्यकर्ताले मात्र होइन मुलुकले नै धरै पटक नसोचेको ‘मूल्य चुकाउन’ परेको छ । सिङ्गो राजनीति एकातिर रहिरहँदाको अवस्थामा समेत राजनीतिका महारथी तथा एका थरी पण्डितहरू बामदेवको पछाडि लागी नै रहेका हुन्छन् ।

गौतम पार्टीमा कुन कित्तामा खडा भए भन्ने कुराले मात्र नभएर निर्वाचन हार्नु वा जित्नुले समेत चुलिँदो चर्चा पाउने गरेको छ ।  यसको मुख्य कारण भनेको बामदेवको राजनीतिक लचकता र सहकार्यको खुबी नै मान्न सकिन्छ ।  अधिकांश पार्टीका नेताले बामदेवलाई जुनसुकै बेला पनि आफ्नो विरुद्ध बज्रन सक्ने बज्रपातको रुपमा  बुझेका हुन्छन् अर्कोतिर आफू सङ्कटमा रहेको अवस्थामा ‘वैतरणी तार्न’ सक्ने भरोसा समेत बामदेव प्रति राखेका हुन्छन् ।

 वर्तमान नेकपामा मात्र हैन समग्र वामपन्थी राजनीतिमा बामदेवलाई आफू भन्दा टाढा पनि जान नदिने र धेरै नजिक राखेर भरोसा पनि गर्न नहुने पात्रको रुपमा बुझ्ने गरिएको छ । अधिक महत्त्वाकाङ्क्षी रुपमा बुझिए ता पनि आफ्नो योगदान अनुरूपको जिम्मेवारी र अवसर भने बामदेवले नपाएको बामदेवपन्थीहरुको चित्त दुखाइ रहँदै आएको छ । 

नेपालको राजनीतिमा बामदेवको अपरिहार्यताको बारेमा धेरै चर्चा गरिरहनु पर्दैन । मदन भण्डारी कालमा नेतृत्वको मियो बनेर खासगरी पश्चिममा पार्टी बिस्तारको जिम्मेवारी पुरा गर्ने बामदेव मदनको देहावसान पश्चात् माधव नेपाललाई बलियो साथ दिई जबजको मुख्य हिमायतीको रुपमा स्थापित हुनु भएको हो । ०५४ सालमा भएको स्थानीय निर्वाचनमा पार्टीको पक्षमा ७० प्रतिशत भन्दा बढी सिट जिताउने श्रेय पाएका बामदेवको चुलिँदो ख्यातिले महासचिव बन्ने महत्त्वाकाङ्क्षा जन्मायो भने सोही महत्वकांक्षालाई सिरानी हालेर पार्टी भित्रको केपी ओली लगायतका मोर्चाले गौतमलाई माधव नेपालको सामीप्यबाट हटाउन सफल भएका थिए ।

उपमहासचिव बनिसकेको अवस्थामा गौतमको अबको यात्रा पार्टी प्रमुखको निम्ति हुनु पनि अस्वाभाविक थिएन ०५० को दशकमा । तर बामदेवले आफ्नो महत्वकांक्षालाई व्यवस्थापन गर्न नसक्दा र पार्टीका शक्ति सङ्घर्षले निम्त्याउन सक्ने भयावह स्थितिको आङ्कलन माधव नेपाल पक्षले गर्न नसक्दा ०५४ सालमा पार्टी विभाजन हुनु पुग्यो । बामदेवले सिङ्गो नेपाली राजनीतिलाई नै तलमाथि पारिदिनुभयो  ।

२०५६ सालको संसदीय निर्वाचनको परिणाम र तत्कालीन युद्धरत माओवादीको शक्ति सन्तुलनले यसलाई पुष्टि गर्दछ । आफूले पुनर्गठन गरेको र निर्वाचनमा विशाल मत ल्याएको पार्टीलाई व्यवस्थापन गर्न नसक्दा बामदेवको अधोगति सुरु भयो र गौतम आफ्नो पुरानो स्थानभन्दा धेरै तल झरेर बस्न समेत राजी भई नेकपा एमाले ‘प्रवेश’ गर्नुभयो २०५८ सालमा । छौटौं महाधिवेशनमा माधव नेपालसँग प्रतिस्पर्धा गरिसकेको भएता पनि ४ वर्षको अन्तरालमा बामदेवले खाली गरेर गएको महासचिव माधव नेपाल पश्चात् दोस्रो दर्जाको नेतृत्वमा केपी ओली स्थापित भई सक्नु भएको थियो ।  

हाललाई प्रधानमन्त्रीको हठबाट पछि हटेकै हो भने अन्य नेताहरूकै शक्ति सङ्घर्षको बिचबाट वहाँले महाधिवेशनबाट अध्यक्ष बन्ने योजना समेत बुनेको हुन सक्छन् । प्रधानमन्त्री केपी ओलीसँग भित्री रुपमा के सहमति भएको छ भन्ने आधारमा यी कुराहरू तय हुनेछन् । महाधिवेशनमा आफू अध्यक्ष नहुने सम्भावना देखिएमा बामदेवलाई च्याँखेको रुपमा सार्न सक्ने सभावना केपी ओली मात्र नभएर प्रचण्डको समेत हुन सक्दछ ।

आर.के., सि.पी., बामदेव भन्दा पनि पछाडिको ‘प्रोटोकल’मा रहनुभएका केपी ओली अब माधव नेपालको प्रतिश्पर्धिको रुपमा अगाडी आई सकेका थिए भने आफ्ना प्रमुख सहयात्रीहरू सिपी मैनालीलाई मालेमै छाडेर ‘निहुरिएको शिर’ सहित हारेको सेना समान आफ्ना मुठ्ठीभर महारथीहरू लिएर बामदेव एमाले ‘प्रवेश’ गरेको भएता पनि त्यहाँको अपमान र असहिष्णुता सहन गर्न नसकेर आर.के., देवी ओझा लगायत नेताहरू शाही कालमा राजाको सरकारमा सामेल भई अर्को विद्रोह गर्न बाध्य भए वा बनाइयो । यसबाट पुनः बामदेव कमजोर हुने क्रम जारी रह्यो ।  परिणामतः बामदेवलाई माधव र ओली समूहले बेला बेलामा आ–आफ्नो खेलको तुरुपको रुपमा प्रयोग गर्न थाले, जुन अहिलेसम्म पनि जारी छ । 

माले–एमाले पार्टी एकता पश्चात् सातौँ महाधिवेशनमा केपी आोलीलाई साथ दिएका बामदेवले ०६२ को राजनीतिक परिवर्तन पश्चात् आठौँ महाधिवेशनमा झालनाथ खनाललाई साथ दिन पुग्नु भयो । पुनः झलनाथबाट आफ्नो अभीष्ट पुरा नहुने छाँट देखेपछि नवौँमा पुनः केपी आोलीलाई पार्टी प्रमुखमा स्थापित गराउन महत्पूर्ण भूमिका रह्यो  । यसले पार्टीमा आफू कति निर्णायक छु भनी स्पष्ट गर्ने मौका पटक पटका गौतमलाई प्राप्त भयो । तर नवौँ महाधिवेशनबाट निर्वाचित शक्तिशाली उपाध्यक्ष अशोक राई र के.स. राजेन्द्र श्रेष्ठहरूले छाडेर गएपछि बचेखुचेका सेना सहित बामदेव करिब झन्डै एक्लो महारथी समान उभिँदा उभिँदै  पनि गौतम सबैलाई उत्तिकै चुनौती सावित गर्दै आउनुभएको छ । 

पार्टी एकतामा बामदेवको भूमिका

२०५८ सालको प्रतिगम पश्चात् महासचिव माधव नेपालको निर्देशनमा रोल्पादेखि दिल्लीसम्मको यात्रा तय गरी कमरेड प्रचण्ड र नेकाका नेता गिरिजा प्रसाद कोइरालालाई भेट गराउने कार्यमा पनि बामदेवको महत्त्वपूर्ण भूमिका रहेको जगजाहेर छ । राजविरुद्ध सबै लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा ल्याई माओवादी जनयुद्धको शान्तिपूर्ण रूपान्तरण गर्ने कार्यका साथै बामपन्थीहरुलाई एक ठाउँमा ल्याउने कार्यमा समेत बामदेवको प्रमुख योगदान रहेकोमा दुई मत नरहला !

यहाँ स्मरणीय कुरा के छ भने, २०५८ सालमा एक पटक बामदेव गौतमलाई सबै कामरेडहरुलाई सडकमा छाडेर पार्टी एकता गर्नुको औचित्य के रह्यो र भनी यस पङ्क्तिकारले प्रश्न गर्दा माले एमाले मात्र होइन सबै बामपन्थीहरुलाई एक गर्ने हो, तपाईँहरू पनि त्यसतर्फ लाग्नुहोस् भनी गौतमले भनिरहँदा ‘गजडीको गफ’ जस्तो लाग्थ्यो, जुन कालान्तरमा सम्भव भयो, त्यो पनि बामदेवको प्रमुख सक्रियतामा । यद्यपि पार्टी एकता पश्चात् यसको फल भने विगतमा एमाले–माओवादी एकताको विरोध गर्ने र सकभर एकता नै गर्न हुन्न भन्ने समूहले चाखिरहेको र बामदेव रिङ बाहिर प्रतीक्षामा रहेको त देखिएकै विषय हो ।

नेकपा बनाउने अभियानका मुख्य सारथि बामदेव र नारायणकाजीलाई संसदीय निर्वाचन हराउनै पर्ने बाध्यता समेत एक थरी नेतृत्वको लागी अपरिहार्य थियो, किनकि एमाले माओवादी एकतापश्चात् यी दुईको ख्यातिलाई संसद् निर्वाचन जितेर आइसकेपछि विकल्पको रुपमा उदाउन सक्ने र आफ्नो विरासत हल्लिन सक्ने सम्भावना को रुपमा प्रतिश्पर्धीहरुले आङ्कलन गर्न थालिसकेका थिए । यस्तो अवस्थामा निर्वाचन नै हराइसकेपछि ‘टन्टै साफ’ हुने सोची निर्वाचन नै हार्न वातावरण तयार गरिएको थियो ।

यद्यपि संसद् बाहिरै बसेर समेत बामदेव सबैलाई भारी पर्ने प्रस्तुति रहिरहयो । फलतः बामदेवको व्यवस्थापन गर्ने बाध्यकारी परिस्थिति सिर्जना भएको अनुमान गर्न सकिन्छ । बामदेवको व्यवस्थापन विना अन्य एजेन्डामा प्रवेश गर्नै नसकिने अवस्था सिर्जना भइसकेको थियो र मुलुक कै लागि समेत यो समस्याको हल अनिवार्य जस्तो बन्यो । 

बामदेवको पुनरागमन र यसको असर

बामदेवको पुनरागमनले नेकपाको राजनीतिमा ठ्याक्कै के असर पर्छ भनेर अनुमान गर्न नसकिएता पनि शक्ति सन्तुलनमा बामदेव अब संसद् भित्रै पनि निर्णायक हुनेमा भने दुई मत छैन । बामदेवलाई संसद् बाहिर राखेर प्रयोग गर्ने क्रममा रातारात समीकरणहरू यता उता हुने गरेको र बामदेव विना कुनै पनि समूह पूर्ण नहुने अवस्था सिर्जना भएकै कारणले पनि बामदेवको माग बमोजिम हालको व्यवस्थापन बाध्यकारी भएको हो ।

बामदेवको राष्ट्रिय सभाको यात्रा कुनै शिशुको जन्म दिन आमालाई हुने प्रशव वेदना भन्दा कम रहेन । हिजो दिउँसो मन्त्रिपरिषद्को बैठक बस्नुपुर्व पनि बामदेव राष्ट्रियसभामा आउने एजेन्डाले मूर्त रूप पाउने पक्का थिएन । बामदेव गौतम जस्तो  नेताको लागि राष्ट्रिय सभा धेरै ठुलो कुरा नभएता पनि गौतमको आगमनले पार्ने राजनीतिक असर र भूमिका प्रति सत्तापक्ष ढुक्क हुन नसक्नाले विलम्ब भएको कुरामा दुई मत हुन सक्दैन । 

समग्रमा भन्नु पर्दा बामदेव पार्टी भित्र ब्रम्हाश्त्र हुन्, जुन चलाई सकेपछि व्यवस्थापन नगरे त्यसले विनाश सिवाय केही निम्त्याउँदैन । पार्टीको शक्ति सङ्घर्षमा दुवै पक्षले चलाउन खोजेको ब्रम्हाश्त्र एउटै भएको हुनाले समेत बामदेवको व्यवस्थापन अपरिहार्य भएको हो । खास गरी केपी ओली समूहले माधव नेपाल समूह प्रति हाबी हुनुको प्रमुख कारण नै बामदेव रहेको प्रस्ट छ ।  पार्टी विभाजनसम्मको स्थिति नल्याउनको लागी गौतमले प्रधानमन्त्री केपी ओलीलाई राहत हुने गरी ल्याएको ६ बुँदे सहमतिको एजेन्डाका कारण पनि बामदेवको पुनरागमनको स्थिति सुनिश्चित भएको हो । 

हाल कमरेड बामदेव गौतम केपी ओली र प्रचण्ड बिच एकताको मियोको रुपमा रही आफ्नो गुमेको शक्ति आर्जन गर्ने विन्दुमा रहेको देखिन्छ । यद्यपि यो गौतमको स्थायी पोजिशन भने होइन । किन कि चलायमान र अस्थिर प्रकृतिको स्वभावकै कारण बामदेव कति खेर कता जान्छन् र कसलाई समर्थन गर्छन् भन्ने यकिन साथ भन्न सकिन्न । बामदेवको दिमागमा के खेलि रहेको भन्ने बारेमा समेत धेरै नेताहरुले अनभिज्ञता प्रकट गर्ने गर्छन् ।

बामदेवको राष्ट्रिय सभाको यात्राले मात्र गौतमको राजनीतिक अभीष्ट पुरा हुँदैन । गौतमले आफ्नो थप योजना र महत्त्वाकाङ्क्षा पुरा गर्न राष्ट्रिय सभालाई प्रयोग गर्दै सत्ता आरोहण गर्ने र थप शक्ति आर्जन गर्दै अर्को फोड्न मार्ने योजना हुन सक्नेमा अड्कल काट्न सकिन्छ । अहिले केपी प्रचण्डलाई एक गराई एक खुड्किलो माथि उक्लन सफल बामदेव कमरेड यो भन्दा माथि जान यो समूह बाधक भए पुनः माधव नेपाल समूहलाई साथ दिन पनि पछि नपर्ने पात्रको पहिचान बनिसको छ ।

यसले पुनः नेकपाको शक्ति समीकरणलाई हल्लाउनेमा कुनै शङ्का छैन । तर विगतमा पार्टी विभाजनको स्वाद लिई सकेको र हालको नेकपा निर्माणमा निर्णायक भूमिका रहेकोले विवादको कारण पार्टी एकतामा आँच आउने परिस्थिति आई परेमा तत्काल ब्याक हुन सक्ने क्षमता समेत बामदेवमा देखिएको  छ । 

माधव नेपाल समूह अहिले ‘पर्ख र हेर’को स्थितिमै बसेर केपी ओलीसँग बामदेवको असन्तुष्टिको पर्खाइमा बस्ने बाहेक विकल्प पनि छैन । आफू स्थिर रुपमा कार्यकारी अध्यक्ष पदमा टिकी रहन बामदेवको स्थिरता प्रचण्डको लागि समेत हानिकारक छ । यस्तो अवस्थामा बामदेवको राजनीतिक स्थिरता चाहनेमा केपी ओली समूह मात्र देखिन्छ । यद्यपि यो समूहको अपेक्षा बामदेवको चरित्र विपरीत छ । 

नेकपाको शक्ति सङ्घर्षको उत्कर्षमा सबै नेताहरूलाई आपत् परिसकेको अवस्थामा कमरेड बामदेवले ६ बुँदे सहमतिको दस्ताबेज बाहिर ल्याई दिएर राहत महसुस गराएकै हुन् ।

जतिसुकै पार्टी फुटाउने धम्की दिएपनी अन्ततः फुटाउन सकिँदैन भन्ने केपी ओली समूहलाई थाहा नै थियो भने केपीलाई अध्यक्ष र प्रधानमन्त्री पद दुबैबाट हटाउने भनिएपनी सो सम्भव नभएकोमा माधव प्रचण्ड सहमत नै थियो । यस्तो अवस्थामा आफ्नो आन्दोलनलाई अलपत्र हुन नदिन प्रचण्ड समूह र आफ्नो प्रमुख शक्ति कायम राखी केही पदहरूमा सहकार्य गर्न ओली समूह राजी भएको देखिन्छ । आन्दोलनको विसर्जनको विन्दु के हो भनी अन्यौलता रहेको माधव नेपाल समूह समेत युद्दविराम र सहमति कै प्रतीक्षामा थियो । केपी प्रचण्ड र बामदेव बिच सहमति भएपछि माधव समहुसँग अन्य विकल्प पनि बाँकी थिएन ।

फलतः केपी ओलीलाई अलि लच्काउँदै विवाद मत्थर बनाउने तिर नै यो समूहको मौन सहमति देखिन्छ । केपी, प्रचण्ड दुवैलाई पन्छाएर शक्तिमा पुग्न सक्ने सम्भावना कमरेड माधव नेपालको तत्काल नरहेकोले यो बाहेक अन्य उत्तम विकल्प हुन पनि सक्दैनथ्यो ।

प्रचण्ड बामदेवसँग सम दुरी कायम राख्दै समस्याको समाधान नै माधव नेपाल समूहको छनौट भएकोमा कुनै विवाद छैन । प्रचण्ड–बामदेवको केपी ओलीसँगको भएको सहमति स्थायी नभई अस्थायी मात्र भएकोमा माधव समूह ‘कन्भिन्स’ नै देखिन्छ । यस्तोमा बामदेव कमरेडको ६ बुँदे प्रस्ताव आफ्नो पक्षमा नभए पनि आलोचनात्मक सहमतिमा माधव समूह उभिएको प्रस्ट देखिँदै छ  ।  

बामदेव कमरेडमा हाल उपप्रधान सहित शक्तिशाली मन्त्रालयमा आरोहण गर्ने सम्मको मात्र इच्छा रहे पनि वहाँ त्यसमा सन्तुष्ट भई रहने सम्भावना कम छ । संविधान संशोधन गरी उपप्रधान वा  प्रधानमन्त्री हुने योजनामा हाललाई तुसारापात लागे पनि सो नभए अन्य उपायबाट प्रधानमन्त्री हुन सकिने बाटो सल्लाहकारहरूले बामदेवलाई दिइनै रहने छन् ।

हाललाई प्रधानमन्त्रीको हठबाट पछि हटेकै हो भने अन्य नेताहरूकै शक्ति सङ्घर्षको बिचबाट वहाँले महाधिवेशनबाट अध्यक्ष बन्ने योजना समेत बुनेको हुन सक्छन् । प्रधानमन्त्री केपी ओलीसँग भित्री रुपमा के सहमति भएको छ भन्ने आधारमा यी कुराहरू तय हुनेछन् । महाधिवेशनमा आफू अध्यक्ष नहुने सम्भावना देखिएमा बामदेवलाई च्याँखेको रुपमा सार्न सक्ने सभावना केपी ओली मात्र नभएर प्रचण्डको समेत हुन सक्दछ ।

केपी प्रचण्ड र बामदेवको बिचमा भएको एकल सहमति के हो भन्ने कुरा बाहिर नआई यो बारेमा यसै हो भन्न कठिनै भए पनि भोलिका दिनमा बामदेव सबै नेताहरूको लागी ‘अवसर र चुनौती’ दुवै  हुने सहज आकलन गर्न सकिन्छ । समग्र नेकपाको राजनीतिमा बामदेव असरदार नेता भएको भन्नेमा कुनै शङ्का छैन ।

यद्यपि यस अघिका आलेखहरूमा कामना गरिए झैँ कमरेड बामदेवलाई हुकुमको एक्का बन्न भने अझै धेरै पापड बेल्नु पर्नेमा दुई मत छैन । यद्यपि शिखरतर्फको यात्राको लागी शुभकामना ।  


वसन्त बस्नेत अधिवक्ता हुनुहुन्छ ।