मैले उनको विश्वासको हत्या गरे ! उनको आस्थालाई धूल धूसरित बनाए !!
आश्विन २, २०७७

(म मूलतः विज्ञान एवं अध्यात्म विषयमा कलम चलाउने गर्छु।  केही फरक लेख्ने क्रममा विगत  ८ सातासम्म यात्रा संस्मरण लेखें। फरक लेख्ने क्रममै जीवन यात्रामा भेटिएका व्यक्तिबारे लेख्ने कोशिश गरेको हुँ। थाहा छैन , पाठकहरुले यसलाई कुन ढंगले ग्रहण गर्नु  हुन्छ ? सन्यासी जीवनमा नाना प्रवृतिका विभिन्न महानुभावलाई भेटेको छु ,संगत  गरेको छु ती मध्ये केहीबारे लेख्ने मूडमा छु।)  

के म त्यो पुस्तक हेर्न सक्छु ?
‘स्योर, व्हाई नट’ मैले उनका हातमा पुस्तक दिदैं भने ।

हरिद्धारमा  कनखल क्षेत्रको बढो महत्व छ । किम्बदन्ती अनुसार दक्ष प्रजापतिको यज्ञ, सतीदेवीको दहन यहीं भएको थियो ।

दक्ष मन्दिरसँगै जोडिएर शीतला देवी मन्दिर एवम् घाट रहेका छन् ।

यसै शीतला मन्दिरका सामु माँ आनन्दमयीको विशाल आश्रम रहेको छ । आनन्दमयी माँ तिनै हुन जसको उल्लेख योगानन्दले ‘अटोवायोग्राफी अफ अ योगी’ पुस्तकमा उल्लेख गरेका छन् ।

आनन्दमयी आश्रममा थुप्रै विदेशीहरु ध्यान साधना हेतु लामै प्रवासका लागि आउने गर्छन । आश्रमभित्र रहेको मन्दिरको वातावरण साच्चै नै दिव्य छ । हरिद्वारमा हुँदा यदा कदा म यस मन्दिरभित्र पस्ने / बस्ने गर्छु ।

माँ आश्रममा विदेशीहरुको आवागमन भइ राख्नाले आश्रमको सामुन्ने  अर्थात शीतला मन्दिरको मूलगेट कै छेउमा एउटा ‘कफी शप’ थियो । सम्पूर्ण कनखल क्षेत्रमा यही एकमात्र 'कफी शप' थियो ।

म यस ‘कफी शप’ देखि झण्डै एक किमी पर जगतजीतपुर स्थित पाईलटबाबा आश्रममा बस्थें । कफी पिउने लतले म एक किमी टाढा दक्षमन्दिरसम्म आउने गर्थे ।

नियमितको ग्राहक भएकाले पसलेले मलाई चिन्नुका साथै हेर्नसाथ ओम नमो नारायण महाराजजी भन्दै मेरा लागि कुर्सी तेर्स्याउने  गर्थे  ।

त्यहाँ प्रायः कुनै न कुनै विदेशीसँग अध्यात्म विषयक चर्चा पनि हुन्थ्यो जसले गर्दा उनको व्यापार पनि फस्टाएको थियो ।

उपरोक्त पुस्तक प्रसंग यसै ‘कफी शप’मा घटित भएको थियो ।

अपरिचितले पुस्तक सरसर्ती हेरेर सोधे — तपाईं ओशोलाई पढ्नु हुन्छ ?

मैले हाँस्दै  भने- पहिला त खुबै पढ्ने गर्थे अहिले भने मेरा लागि पढ्नु भनेको ‘टाइम पास’गर्नु हो ।

उनले यस किसिमको जबाफ  आउने अपेक्षा गरेका थिएनन् । स्वरलाई अलिक गम्भीर बनाउँदै  उनले भने - त्यसो भए तपाईंको लागि पढ्नु भनेको ‘टाइम पास’ गर्नु हो ?
'पढ्नु मात्रै होइन, मेरा लागि जिउनु नै 'टाइमपास' गर्नु हो'  मैले पुनः विनोदपूर्वक भने ।

उनले प्रसंग फेर्दै भने, कुनै बेला म पनि ओशोलाई पढ्ने गर्थे, ‘बट नाउ आइ क्यान  नट अफोर्ड  बुक कास्ट’ ।

हठात ०४१-०४२ सालको सम्झना आयो । त्यसबेला ४०० देखि ५०० पृष्ठको पुस्तक म एकै दिनमा पढेर सक्थे । तर २-३ वर्षसम्म पुस्तक किन्ने मेरो हैसियत  भएन। बिराटनगरको देवकोटा चौकमा एउटा  लाइब्रेरी थियो, तर त्यहाँ मेरो रुचि अनुसारका पुस्ततक अति थोरै थिए । २-३ महिनामै ती पढेर भ्याँए।  त्यस पश्चात त्यहाँ जाने कुनै प्रासंगिकता  नै रहेन ।

स्मृतिबाट मात्रै होइन विनोदप्रियताबाट पनि बाहिरिदैं मैले भने -‘यू क्यान कीप दिस बुक विद यू’।  आइ ह्याब अदर बुक्स, आइ विल प्ले  विद देम' ।

'धन्यवाद, तर यसको पनि कुनै औचित्य छैन' ।
' किन र, के तपाईंलाई यो किताब अथवा यसको विषय वस्तु मन परेन' ?

होइन, होइन । यो कुरा होइन । मेरो आफ्नै बाध्यता छ । नभए मलाई ओशोले बोल्ने 'टपिक' भन्दा पनि उनको शैली, प्रस्तुति तर्क र व्याख्याले प्रभाव पार्छन । उनको जुनसुकै 'टपिक'को पुस्तक पनि मेरा लागि पठनीय   नै हुन्छन्  ।

'के तपाईं आफ्नो बाध्यताबारे केही भन्नु हुन्छ' ?

'मेरो आँखा कमजोर छन् । केही दिन पहिला मेरो चश्मा टुट्यो।  मसँग नयाँ चश्मा लिने पैसा  छैन र   चश्मा नभएसम्म म पढ्न सक्दिन' ।

अभावको गीत, संगीत, मर्म, विरह, वेदना र सन्ताप जीवनमा कहिल्यै अभाव नझेलेको मानिसले बयान त गर्न सक्छ तर अभावबाट सिर्जित संवेदना र मनोउद्धेगबाट  उ शून्य नै हुन्छ ।आफ्नो जीवनमा प्रभूको धेरै अनुकम्पा रह्यो, पटक-पटक अभावसँग साक्षतकार हुने अवसर प्राप्त भए । धेरै पटक मेरा अभाव परिपूर्ति गर्न कोहि न कोहि आई पुग्यो । मैले आफ्नो जीवनमा धेरै पटक आएका धेरैजना मध्ये उनका लागि त्यस्तै कोहि एक बन्ने निधो गरे । उनको स्वाभिमानमा ठेस नपुर्याइ उनलाई मद्दत गर्ने सोच बनाए,मैले  ।

 'तपाईंले एउटा शर्त पूरा गर्नु हुन्छ भने तपाईंको यो अभाव भोलि नै मेटिन सक्छ, के तपाईंलाई स्वीकार छ' ?

‘म जसलाई सिद्ध पुरुष - 'इन्लाइटेन्ड' - ब्रह्म सम्झिन्थे उ चन्द्रा स्वामीको चरणमा लम्पसार ! अहा !! मेरो मूर्खता !!!’ अब यो जीवन बाँच्नुको कुनै सार छैन, भन्नुस अब म के गरौं ? 'तपाईंलाई बल्ल आफ्नो हिसाबले जीवन बाँच्ने अवसर प्राप्त भएको छ । तपाईंको जीवनको सबैभन्दा ठूलो ग्रन्थि मेटिएको छ, तपाईं निग्रन्थ हुनुभएको छ । यस खुशीको अवसरमा मलाई एउटा चुरोट त खुवाउनुस' ।

‘शीतला घाट छाडेर अन्य कतै जाने गरीको शर्त हुन्न भने म प्रयास  गर्छु’ ।

'मेरो शर्त पुरा गर्न तपाईंले कतै जानुको सट्टा, कुनै स्थानमा बस्नुपर्ने हुन्छ । मेरो शर्त के हो भने ओशोको यो पुस्तक पढे पश्चात तपाईंले उनको व्याख्या बारे मसँग वादविवाद गर्नुपर्छ । यदि तपाईंलाई स्वीकार छ भने, म भोलि बिहान तपाईंसँग गएर तपाईंको आँखा परीक्षण गराइ चश्मा किनी दिनेछु '।

'तपाईंको तरिका मलाई मन पर्‍यो, मद्दत लिनेको अहंकारमा ठेस नपुगोस भन्ने भावले शर्त हुल्नु भयो' ।

पहिलो भेट, पहिलो परिचय यसरी नै भएको थियो अशोकजीसँग । भोलिपल्ट उनका लागि चश्मा किन्दा मलाई जुन आनन्द र सन्तुष्टि प्राप्त भयो त्यसको वर्णन गर्न सम्भव नै छैन ।विस्तारै उनीसँग भेट्ने क्रम बाक्लिदैं गयो उनका बारेमा धेरै कुरा थाहा हुँदै गए ।

अविभाजित बिहार राज्यको बंगालसँग सीमाना जोडिने कुनै  स्थानको मध्मवर्गीय परिवारमा उनको जन्म भएको थियो । स्नातकसम्म अध्ययन गरे पश्चात अध्यात्मिक रूचिका कारण काम धन्धातिर नलागेर कुनै गुरुको (नाम गोप्य राखे) आश्रममा पुगे । पढे लेखेको होनाहार युवकलाई पाएर गुरु र आश्रम व्यवस्थापनले उनलाई भरपुर स्वागत गर्‍यो । उनी धरबार छाडी आश्रममै बसेर ध्यान साधाना र आश्रमका गतिविधिमा सहयोग गर्न थाले ।

मैले उनलाई सन् २००४ मा भेट्दा उनको उमेर झण्डै ५५ थियो होला । २५ वर्षको उमेरमा स्नातक गरेको मान्ने हो भने ३० वर्ष पहिला (२००४ भन्दा)झण्डै १९७५- ७६ तिर उनी गुरु आश्रम पुगेको अनुमान गर्न सकिन्छ ।

आफ्नो अध्ययन र लगनले उनी आश्रममा स्थापित हुँदै गए । मैथिली, बंगाली, हिन्दी र अँग्रेजी  चारवटै भाषामा उनी संवाद एवम् लेखन गर्न सक्थे । गुरुप्रति उनको निष्ठा अटुट् थियो । उनका लागि गुरु साक्षात ब्रह्म थिए । भारतमा स्पयम्भू  ब्रह्महरुको अभाव कहिल्यै भएन र उनलाई ब्रह्म मानीदिने २०-३० हजार मानिसको के नै खाँचो !

उनी जुनबेला गुरु आश्रम पुगेका थिए, मेरो उमेर त्यसबेला ९-१० को हाराहारीमा रहेको थियो । उनका गुरुको चर्चा त्यो बेला मैले नसुने पनि भगवान रजनीश (पछिका ओशो), इन्दिराजी गुरु धीरेन्द्र ब्रह्मचारी, महर्षि महेश योगी र सतपाजीका  भाई बाल योगेश्वर (अहिलेका प्रेम रावत ) लगायत अन्य पचासौं जना त्यसबेलाका चर्चित ब्रह्ममूर्ति थिए ।

तत्कालीन उत्तर प्रदेशको म बसेको क्षेत्रमा  बाल योगेश्वरर, पुट्टपुर्तीवाला साइबाबाको भरपूर प्रभाव एवम् बजार थियो ।

आश्रममा १५-१६ वर्ष पछि अशोकजीसँग एउटा दुर्घटना घट्यो । गुरुले आफ्नो आफन्तलाई आश्रमको सर्वेसर्वा  बनाउने हेतुले अशोकजीलाई देश विदेशमा गई आफ्नो र आफ्नो मतको प्रचार गर्ने  जिम्मेबारी ‘अफर’ गरे ।

अशोकजीले, ‘म आफ्नो अध्यात्मिक उन्नतिका लागि तपाईंको शिष्य बनेको हुँ मलाई अरु केही चाहिदैन नाम, पद, पैसाको आकाक्षां छैन । मलाई  आश्रममै  बसेर साधना  गर्न दिनुस’ भने ।

प्रचार नभएसम्म, भीड नजुटेसम्म आश्रमको खर्च कसरी चल्छ ? तिमीमा बोल्ने क्षमता छ, मानिसलाई आकर्षित गर्न सक्छौ । तिमीले यो काम नगरी हुन्न, गुरुले आदेशात्मक पाराले भने ।

‘म आश्रमका लागि धन कमाउन, भीड जुटाउन तपाईंको शिष्य बनेको होईन, मलाई क्षमा गर्नुस म प्रचारकको काम गर्न सक्दिन’ ।

‘त्यसो भए तिमी आश्रम छाडेर जान सक्छौ’ गुरुले आवेशमा भने ।

अशोकजीले त्यै दिन आश्रम छाड्नु भयो र पुग्नु भयो हरिद्धार ।

'हरिद्वार आएर एक-दुई वर्ष यता उति भट्के । विगत दस वर्षदेखि शीतलाघाटको गंगा किनार स्थित सिमलको रुखमुनि झुपडी बनाएर बसी रहेको छु । मन्दिर छेउमा बिहान विभिन्न व्यक्तिले आएर भण्डारा गर्छन त्यही एक छाक भोजन पाउछु । ५-१०  रुपैयाँ दक्षिणा पनि पाईन्छ । साँझको भोजनको टुंगो हुँदैन । भेटे खाइदिन्छु नभए गंगाजल जिन्दावाद' !

दुइचार पटकको भेटमा अशोकजीले आफ्नो सारा रामकाहानी सुनाए ।

‘तपाईं कुनै आश्रममा किन बस्नु हुन्न। तपाईं ईच्छा गर्नुहुन्छ भने म प्रबन्ध मिलाई दिन्छु ’ ।

‘आश्रम र आश्रमको वातावरण सम्झेर नै मलाई वान्ता आउँछ  । पृथ्वीमा स्वर्ग कश्मीर छ भने नर्क यिनै आश्रम भनाउँदा ठाँउहरु हुन’ उनले  बेवाक पाराले भने ।

भारतमा जुन अधिकांश स्वयम्भू  गुरुहरु  हुन्छन् ती अधिकांश श्वेत वस्त्रधारी हुन्छन् उनले गैरिक वस्त्र लाउँदैनन् । अशोकजी पनि श्वेत वस्त्रधारी थिए ।
एकदिन मैले उनलाई पाईलट बाबा आश्रममा भोजनको लागि बोलाए ।

आश्रम प्रबन्धक डा. दुष्यन्त चौहानलाई मैले रात्रिमै अशोकजीका लागि दुइ जोर श्वेत वस्त्रको प्रबन्ध गर्नका साथै ५०० रुपैयाँ दक्षिणा दिने व्यवस्था गर्न लगाए ।
 अझै छन् पाइलट बाबाको अरिद्धार आश्रममा डा. दुष्यन्त । २००७  सम्म उनी  आश्रममा सुपर  पाइलट बाबा जस्तै थिए।  उनी पाइलट  

बाबाका कुनै पनि साधु सन्यासीलाई झिंगाको टाउको जति पनि गन्ने गर्थेनन् । तर मसँग किन हो उनी बडो आत्मीय व्यवहार गर्थे । उनले मलाई सम्बोधन नै ओशो महाराजजी (त्यसबेला म म्यारुन रंगकोे गाउन लगाउथे ) भनेर गर्ने गर्थे ।

साँझमा घाटमा घुम्दै अशोकजीले  भने, हेर्नुस हरिद्धार बसेको पुग नपुग १२ वर्ष हुन लागी सक्यो । यहाँका आश्रमले साधु-सन्यासीसँग गर्ने व्यवहारबारे मलाई घाँटीसम्म थाहा छ । आज बिहान पाईलट बाबाको आश्रमले गरेको सबै व्यवहारको सुत्रधार तपाईं नै हो ।

तपाईंको भनाई ठीक छ, मैले यो गरेको  कारण पनि छ ।  हेर्नुस म सधैं हरिद्धार बस्दिन, म यहाँ नभएको बेलामा यदि तपाईंलाई केही आवश्यक पर्‍यो भने मैले फोनमा डाक्टरलाई भनिदिँदा तपाईंको आवश्यकता पूर्ति हुन सक्छ । त्यसैले मैले तपाईंलाई आश्रममा बोलाएर परिचित गराएको हुँ ।

अशोकजीसँग प्रायः आध्यात्मिक चर्चा भइ राख्थे । उनीसँग हुने गरेको चर्चामा मैले एउटा कुरा पाए - गुरु र गुरुआश्रम छाँडे पनि उनको मनमा गुरुप्रति असीम विश्वास थियो ।

उनी भन्थे ,पारिवारिक कारणले गर्दा गुरु ममाथि त्यो व्यवहार गर्न बाध्य हुनु भयो । मलाई उहाँको गुरुतामा कुनै शंका छैन। उहाँ सिद्ध  पुरुष - 'इन्लाइटेन्ड' व्यक्ति नै हो ।

अशोकजी, आशाराम, नित्यानन्द, साइबाबा, नारायाणदत्त श्रीमाली, महेश योगी, रविशंकर, कृपालुजी सबैका चेला चापडले आ-आफ्नो गुरुलाई ब्रह्म तुल्य नै मान्छन् । यसै हरिद्धारमा रहेका हजारौं आश्रमका गुरु पनि २-४ हजार जनाका लागि साक्षात  ईश्वर तुल्य  नै हुन् । हिन्दुस्तानको आधीभन्दा बढी जनसंख्याले कसै न कसैलाई तपाईं जस्तै ईश्वर तुल्य भएको दाबी गर्छ । तपाईंको अभिव्यक्ति  साँचो र करोडौं भारतीयको अभिव्यक्ति झुठा भन्ने कुनै आधार हुन सक्दैन ।

२००७ मा उनले भने - शीतला घाटको गंगा  किनारमा बस्ने मेरो १२ वर्षे संकल्प पुरा भयो । अब म यहाँबाट कतै अन्त जान्छु ,तर हरिद्धार बाहिर होईन ।

हरिद्धारको पाइलटबाबा आश्रममा डाक्टर दुष्यन्तको जगजगी समाप्त भइसकेको थियो । बाबाका भान्जा प्रदीप आश्रम व्यवस्थापनमा आईसकेका थिए । उनको टिममा रहेका भोला, भानू, अनिल लगायत  सबैले मलाई सम्मान गर्थे । प्रदीप पछि गएर सन्यासी बने, स्वामी प्रेमानन्द भएर उनी पाइलटबाबा आश्रममै जीवन बिताइ रहेका छन् ।

अशोकजी केही दिन हरिद्धारको नीलधारा स्थित गंगा फाँटमा बस्नु भयो । हरिद्धारका केही भूमीमाफियाले नदी किनारको जमीन ओगट्न उनलाई त्यहाँ लगेर राखे । भू माफियाको आशय बुझे पछि उनले त्यो स्थान छाडिदिए ।

अब उनको आश्रय स्थल बन्यो पाइलटबाबा आश्रम कै सामु रहेको एउटा आँपको बगैचा । बगैँचा कुनै स्थानीय व्यक्तिको थियो, उसले बगैँचामा रहेको एउटा कोठामा अशोकजीलाई लगेर राख्यो ।

हरिद्धार पुग्दा म प्रत्येक पटक अशोकजी भेट्ने गर्थे । प्रदीप (प्रेमानन्द) ले पनि अशोकजीको सम्मान गर्थे र बेला मौका मद्दत पनि गर्थे ।

अशोकजीको जीवनमा सबै कुरा ठीक ठाक चलीरहेका थिए । सन् २००९ मा पछि मेरो पुणेको बसाई र जर्मन 'स्पान्सरशिप' समाप्त भयो । म नेपाल फर्की सकेको थिए । बेला मौका मात्रै हरिद्धार पुगिन्थ्यो ।

यस्तैमा सन् २०१० आयो, हरिद्धारमा महाकुम्भ हुने वर्ष ।  नेपालका केही मित्रहरुको कारणले म कुम्भमा पाइलटबाबाको आश्रममा बसिन   ।

२०१० को शिवरात्रिका अवसरमा  भारतका अति चर्चित, विवादित तन्त्र गुरु चन्द्रा स्वामी काठमाडौं आउनु भएको थियो । २००७ को प्रयागराज कुम्भमा मेरो स्वामीजीसँग भेट भएको थियो । काठमाडौंमा भेट्न जाँदा उहाँले हरिद्धार कुम्भमा आफ्नो शिविरमा बस्ने निम्ता दिनु भयो ।

म चन्द्र स्वामीको महाकुम्भ शिविरमा बसे । एक दिन स्वामीजीलाई भेट्न श्वेत वस्त्रधारी महात्मा आउनुभयो । महाराजज्यूको साथमा झण्डै एक सयजना भक्तहरु रहेका थिए, सबैका हात भलीभाँति 'प्याक' गरिएका फल, मेवा, मिष्ठान्नका 'ट्रे'  रहेका थिए । एकजनाको हातको भार दुई किलो भन्दा बढी रहेको थियो ।

मैले महात्माजीलाई स्वागत गरेर बसाए र शयनकक्षमा गएर चन्द्रा स्वामीलाई खबर गरी फर्के ।

चन्द्रास्वामी बाहिर आए पछि आउनु भएका महात्माले बडो श्रद्धापूर्वक उहाँको आरती पूजन गर्नुभयो । ल्याएका मेवा मिष्ठान्न अर्पित गर्नु भयो ।

मलाई थाहा छैन कुन प्रेरणाले मैले यो सबैको आफ्नो मोबाईलबाट भीडियो बनाए । दुबै महाराजहरुमा केहीबेर गोप्य संवाद भयो । महात्माजीको प्रस्थान भए पछि मैले चन्द्रा स्वामीसँग आउने महात्माको बारेमा सोधेँ ?

'अरे अच्युतानन्द आप इन्हे नही जानते ! आप प्रयागराजके  प्रसिद्ध (नाम गोप्य) महाराज है ।

'अरबौं  होईन खरबौं भोल्टको बिजुली सञ्चारित भयो मेरो मस्तिष्कमा' ।

'अहा ! प्रकृतिको सारा  'प्लानिंग' छर्लङ्ग भयो । अशोकजीका लागि मलाई निमित्त बनाउन यत्रो नाटक' !

 हरिद्वारको कुम्भभन्दा दुई महिना पहिला  म काठमाडौ हुँदा इन्दौर की  सुनिता माता पहिलो पटक काठमाडौं आउनु, अन्नपूर्णा पोस्टका तत्कालीन कामदार-पत्रकार कुसुम भट्टराईले  सुनीता मातालाई मसँग हेर्नु, उनको इन्टरभ्यू लिनु, इन्टरभ्यूले पाइलटबाबाको नेपाली ग्रुपमा खैलाबैला मच्चिनु, नेपाली समितिका अध्यक्ष डाक्टर अनिल मिश्र मेरा विरुद्ध खनिनु,  आदि यावत कारणले मैले कुम्भमा पाइलटबाबा शिविर छाडी चन्द्रा स्वामीको शिविरमा बस्नु र प्रयागराजका प्रसिद्ध महात्मा मेरै उपस्थितीमा आउनु ! दुइ  महिना अघि देखि घटिरहेका सबै घटनाका तार छरपस्ट भैसकेका थिए मेरो मन मस्तिष्कमा ।

डा.अनिल मिश्रसँग पछि सम्बन्ध सुध्रियो, उनले  मेरा कतिपय मित्रलाई 'मान्छे त गलत होइन रहेछ त्यो बेला त्यस्तै भयो' भनी उद्गार व्यक्त गरेको पनि सुने । डाक्टर अनिलले यो लेख पढ्दै हुनुहुन्छ भने बुभ्नुस, त्यो सब प्रकृतिको लीला थियो । प्रकृतिले मेरा मित्र अशोकजीको मनमा निहित आस्था, गुरु भक्ति सबै सबै ‘डिलीट’गरी  उनलाई आजाद  बनाउनु थियो । यसका लागि प्रकृतिले मलाई रोजेको थियो, तपाईंलाई रोजेको थियो । तपाईंले त्यो सब नगरेको भए म चन्द्रा  स्वामीजीको  क्याम्पसमा गएर बस्ने थिइन ।

मैले चन्द्रा स्वामीसँग भने, यी प्रयागराजवाला माहात्माका एकजना शिष्य मेरा मित्र हुन, उनले तपाईंलाई चढाएको भोग प्रसादी  म उनलाई दिन चहान्छु, उनलाई भेट्न जान चाहान्छु ।

हाँ हाँ अच्युतानन्द जरुर जाइए भन्दै उहाँले ५-६ वटा ‘ट्रे’ आफ्नै हातले 'साइड' लाउदै,  'यह सब ले जाइए’ भन्दै ड्राइभरलाई मसँग जाने इशारा गर्नु भयो ।

अशोकजी बसेको बगैंचामा पुगेर, 'मलाई यहाँ केही  समय लाग्छ भनेर' मैले ड्राइभरलाई फर्काइदिए ।

यो सब के हो ? तपाईंले मलाई भेट्न आउँदा यत्रो तामझाम गर्नु पर्छ ? अशोकजीले झरकिदै  भने ‘कौन से अपने बाप के पैसे से खरीदा है, एक मूर्खले आया था मै आपके लिए उठा लाया’ ।

'तिवारीजी देखो तो कौन आया है चाय नही पिलायेगें' ?

तिवारी रोड छेउमा ठेलागाडामा चिया बेच्ने व्यक्ति थिए । केही  मिनेटमा  उनी चिया लिएर आइपुगे ।

 अशोकजी एउटा 'ट्रे' राख्दै अन्य सबै 'ट्रे' तिवारीलाई लैजान भने, ‘देखिए स्वामीजी यहाँ सब क्या उठा लाए, ले जाइए और बच्चो मे बाँट दीजिए’ ।

अशोकजी र मैले चियासँग मिठाइ खाए पछि मैले भने - तपाईंका लागि  एउटा अर्को पनि ‘गिफ्ट’ छ ।

‘मेरे लिए तो आपका आना ही  ‘गिफ्ट’ है आपसे बेहतर  'गिफ्ट' तो कुछ हो ही नही सक्ता ’ ।

‘नही अशोकजी, मेरे पास जो 'गिफ्ट' है वह बहुत खास है आपकी जान भी जा सक्ती है’।

'तपाईं नै जीवन समाप्त हुने निमित्त बन्नुहुन्छ भने यो मेरो परम सौभाग्य नै हुनेछ' ।

मैले केही नभनी उनका छेउ गएर मोबाइलमा भीडियो चलाए । अशोकजी भीडियो हेर्दै थिए म उनको भावदशा । दुई मिनेट मै उनको अनुहार सेतो भयो, उनका गुरुले चन्द्रास्वामीलाई ढोगेको, हातको सहाराले सोफाबाट उठाउँदै गरेको हेर्नासाथ उनले 'अच्युतजी हो गया, भीडियो बन्द कर दीजिये' भने ।

म के बुझौं अच्युतजी ! सारा प्रकृति तपाईंकै अनु्सार सञ्चालित हुन्छ । तपाईं मेरो गुरुमोह भंग गराउन चाहानुुहुन्थ्यो, म यस मोह र भ्रमका साथ बाँच्न चाहान्थे तर प्रकृतिले तपाईं कै पक्षपोषण गर्‍याे । मेरो आस्था, विश्वास, श्रद्धा सबै भ्रम रहेछ, व्यर्थको मोह  रहेछ । म भ्रममा बाँची रहेको रहेछु । मेरो भ्रम भंग गर्न प्रकृतिले तपाईंलाई नै रोज्यो ।

‘म जसलाई सिद्ध पुरुष - 'इन्लाइटेन्ड' - ब्रह्म सम्झिन्थे उ चन्द्रा स्वामीको चरणमा लम्पसार ! अहा !! मेरो मूर्खता !!!’ अब यो जीवन बाँच्नुको कुनै सार छैन, भन्नुस अब म के गरौं ?
'तपाईंलाई बल्ल आफ्नो हिसाबले जीवन बाँच्ने अवसर प्राप्त भएको छ । तपाईंको जीवनको सबैभन्दा ठूलो ग्रन्थि मेटिएको छ, तपाईं निग्रन्थ हुनुभएको छ । यस खुशीको अवसरमा मलाई एउटा चुरोट त खुवाउनुस' ।

अशोकजीले तिवारीलाई आवाज लाएनन् आफै उठेर चुराेट लिन गए ।

चुरुटको धुवाँ छाड्दै मैले भने - तपाईं अब यो श्वेत वस्त्र त्यागेर गैरिक वस्त्र  धारण गर्नुस, सन्यासी बन्नुस । तपाईंसँग अब सन्यासी बन्ने योग्यता छ ।
 'तपाईंको भनाई पालन गर्ने बाहेक अब मेरा तुणीरमा कुनै अस्त्र छैनन्' । मसँग उनका लागि गैरिक वस्त्र किन्ने पैसा थिएन । प्रेमानन्दलाई फोन गरी बोलाए । उनीसँग गैरिक वस्त्र उपलब्ध गराइे दिने प्रस्ताव  गरे ।
प्रेमानन्दले आधी घण्टामै ५ जोर गैरिक वस्त्र  ल्याईदिए । अशोकजी त्यै दिनदेखि गैरिक वस्त्रधारी बने ।

२०१७ को गुरु पूर्णिमामा पाइलेट बाबाका नेपाली भक्तगणको टोलीका साथ हरिद्धार पुगेको थिए । प्रेमानन्दलाई सोधें, अशोकजी कहाँ छन् ?

'उनले यता आउन छाडेका छन् । भोपतवालामा कतै बस्छन्, मलाई उनी बसेको ठाँउ थाहा छैन । उनलाई भेट्ने एउटा मात्रै उपाय  छ । साँझको भोजनका लागि उनी गीता कुटी  जान्छन् । त्यहीं उनीसँग भेट हुन सक्छ'' प्रेमानन्दले भने  ।

गुरुपुर्णिमाको भीडभाडले  गर्दा प्रेमानन्द व्यस्त थिए, तसर्थ मैले दिल्लीबाट आएका आशुतोष अरोरालाई गाडी निकाल्न भने । हिड्ने बेलामा प्रेमानन्द र  काठमाडौँबाट गएका शैलेन्द्रजी पनि सम्मिलित भए ।

गीता कुटीले साँझमा साधु सन्यासीलाई भोजन गराउँछ । वरिपरिका हजारौं साधु त्यही भोजन पाउँछन् ।

हामी बाटोमा उभिएर गीता कुटीबाट निस्केको साधु लश्करमा अशोकजीको खोजी गरीरहेका थियौं ।

अशोकजी देखा परे,प्रेमानन्दले आवाज दिएर उनलाई बोलाए ।

उनले मलाई हेर्नसाथ अँगालो हाल्दै भने, ‘धेरै दिन पछि दर्शन दिनुभयो’ ।

‘कस्तो चलीरहेछ जीवन, अशोकजी’ मैले सोधें ?

'मैले त्यै दिनदेखि यसबारे चिन्ता गर्न छाड़ी सके, तपाईले सन्यासी बनाएको दिन।  तपाईले चिनेको अशोक त त्यै दिन मरेको थियो'।  

हामी गंगाकिनारको  सप्त सरोवर रोडमा धेरैबेर घुम्यौं । एउटा घाटमा बसेर चिया खायौं ।

प्रेमानन्दले अशोकजीसँग सोधे, सबै ठीक त छ ? केही कुरा आवश्यक भए भन्नुस ।

अब मेरो कुनै आवश्यक्ता अथवा ‘डिमान्ड’ नै छैन । गीताकुटीले भोजन, वस्त्र, दक्षिणा दिन्छ । प्राप्त भएको दक्षिणाले कोठाभाडा तिर्न पुग्छ । म जस्तो सुखी मान्छे संसार भरी कोही  छैन होला, यो सबै यिनै नेपाली महाराजको कृपा हो । म प्राप्तिको चक्करबाट मुक्त भएको छु ।

‘भोलि गुरुपूर्णिमा छ आश्रमतिर आएहुन्छ नि’ प्रेमानन्दले आग्रह गरे ।

‘अब म कुनै झन्झटमा फस्न सक्दिन’ उनले भने, सबै भाग दौड केही पाउनलाई हुन, मेरो प्राप्तिको आकाँक्षा मरिसकेको छ ।

अशोकजी शायद अब यो हाम्रो अन्तिम भेट हो । मसँग अब यात्रा गर्ने पैसा  हुँदैन । प्रायः काठमाडौँमै बस्छु  । यसपटक नेपाली साथीहरुले खर्च हालेर हरिद्धार आएको हुँ । थाहा छैन अब कहिले हरिद्धार आइन्छ ?

हाँ ! शायद तपाई  ठिक भन्दै हुनुहुन्छ । मेरो  जिन्दगीको पनि के भरोसा !  ७२-७३ पुगी सके।  मलाई बाँच्ने ईच्छा पनि त छैन, उनले मसिनी स्वरले भने ।

'अशोकजी यह आशुतोष है।  इसने जीवन में गुरु बहुत देखे है किसी सन्यासीको पहली बार देख रहा है इससे कुछ सेवा लेकर इसे कृतार्थ करते तो आपकी अनुकम्पा होती'।

'अब भी आप मेरे साथ खुराफात करना नहीं छोड़ेंगे ? आपके किसी वाक्य को मै काट भी नहीं सकता'।

'कोई आवश्यकता हो तो बोलिये' ?

'कुछ महिने पहले किसी ने वस्त्र दिया था ,मैंने सिलने के लिए दिया था।  पैसा नहीं होने की वजह से लेने नहीं जा सका। इनसे कहिए वही वस्त्र की सिलाई का भुगतान कर दे'।

अशोकजीलाई गाड़ीमा राखेर हामी टेलरको पसल गयौ।  आशुतोषले सिलाईको भुगतान गरेर वस्त्र लिइ दिए।   अशोकजीलाई पुनः गंगा घाटमा पुर्‍याई हामी फरकियौ।  बाटोमा शैलेन्द्रजी र आशुतोष भन्दै थिए -अझै हरिद्वारमा यस्ता साधु सन्यासी पनि छन !

प्रेमानन्दले आशुतोषलाई झपार्दै भने - चुप बेब्कुफ़  ।  तुम लोंगो ने देखा ही क्या है ? किसी एक नौंटंकीबाज गुरु के फेर में पड़कर सोचते हो बड़ा काम कर लिया। तुम जैसे लोग किसी सच्चे सन्यासी के पास पहुँचो तो वह अपना रास्ता बदल ले। यह नेपाली महाराज नहीं होते तो क्या अशोकजी तुमसे बात भी करते ?

लाग्छ अशोकजीको जीवन ‘मोमेन्टम’ शुन्य ‘एन्ट्रापी’मा पुगेको छ । शायद त्यसैले उनकाबारेमा लेख्ने प्रेरणा आयो । वास्तविकता त हरिद्वार पुगे पछि नै थाहा होला। 


म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।