बाहुन बारीमा आएपछि तरकारी किन नदिनू ! सहायक प्राध्यापकको नियुक्ति च्यातेर स्कुलको शिक्षकमा !!

फर्कलान् र ती दिनहरू

बाहुन बारीमा आएपछि तरकारी किन नदिनू ! सहायक प्राध्यापकको नियुक्ति च्यातेर स्कुलको शिक्षकमा !!

हरिविनोद अधिकारी  |  साहित्य  |  आश्विन ३, २०७७

छस्का, छमो र छर्का

जब काठमाडौँमा पढ्न आइयो, अनि पो थाहा पाइयो, नेपाल भाषामा ट र त को आवाज एउटै रहेछ जस्तो कि अङ्ग्रेजीमा छ । टलाई त र तँ लाई ट भन्नुको कारण त्यहाँ त्यसको लागि बेग्लै बोलीको चलन देखिएन । करिब ४५ वर्षदेखि काठमाडौँमा रहँदा पनि नेपाल भाषा फररर बोल्न सकिएन मात्र होइन एकसरो पनि बुझ्न सकिएन । त्यसको कारण हो नेपाली भाषी भइयो एकातिर भने हामी नेपाली मातृ भाषीभन्दा राम्रो नेपाली बोल्न र लेख्न यहाँका रैथाने नेवारहरू खप्पिस हुनुहुन्छ । मैले काठमाडौँमा पढाएको स्कुल र क्याम्पस गरी ४२ वर्ष भयो तर कुनै पनि नेपाल भाषीले ट र त मा अलमल्ल परेको पाइन । तर हाम्रो गाउँमा आउने  भाँडा बनाएर सेवा गर्ने कुमाले अर्थात् प्रजापतिहरूले भने नेपाली बोल्न गाह्रो गरी बोल्ने, त र ट मा फरक नगर्ने । अनि ट को उच्चारणलाई त भन्ने, त को उच्चारणलाई ट भन्ने गरेको पाइन्थ्यो ।

त्यस बेलाको प्रवेशिका परीक्षामा फरक छुट्याउने शब्दहरू र वाक्यमा प्रयोग गर्ने शब्दहरूमा टोप र तोपको शब्द राखिएको हुन्थ्यो । त्यसो गर्नु हुन्थेन तर गरिन्थ्यो । मैले सानो ठिमी क्याम्पसमा पढ्दा मनोहराको फाँटमा तरकारी बारी थियो र अहिले पनि छँदै छ । हामी रमाइलोका लागि त्यो बस स्टपलाई मनोहरा क्याम्पस भन्थ्यौँ किनभने सानोठिमी क्याम्पसमा कृषिको प्रमाणपत्र तह र स्नातक तहसम्मको पढाइ हुन्थ्यो । पछि मात्र स्नातक तहलाई रामपुरमा गाभेर लगियो र सानोठिमीमा कृषिका प्रमाणपत्र तह मात्र राखियो । अर्थात् पूर्व व्यावसायिक विषयको रुपमा सानोठिमीम चार ओटा विषयको पढाइ हुन्थ्यो - व्यवसाय शिक्षा अर्थात् बिजनेस एजुकेसन, गृह विज्ञान शिक्षा अर्थात् होम साइन्स एजुकेसन, कृषि शिक्षा अर्थात् एग्रिकल्चर एजुकेसन र औद्योगिक शिक्षा अर्थात् ट्रेड एन्ड इन्डस्ट्री एजुकेसन । 

सानोठिमी व्यावसायिक शिक्षाको शिक्षक प्रशिक्षण थियो २०२८सालमा खुलेको अमेरिकी सरकारको सहयोगमा । सानोठिमीमै जनक शिक्षा सामग्री केन्द्र, व्यावसायिक शिक्षा प्रशिक्षण केन्द्र तथा त्यो क्याम्पसको सहयोगका लागि अर्थात् प्रयोगका लागि 'डेमोन्स्ट्रेसन' स्कुलको स्थापना भएको  थियो जसलाई डीएमपीएस भनिन्थ्यो । एउटै संरचनामा शिक्षा गाउँको रुपमा विकसित गरिएको रहेछ । संरचना त अहिले पनि छ तर क्याम्पस त्रिभुवन विश्व विद्यालय अन्तर्गत छ, जनक शिक्षा सामग्री केन्द्र शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यपुस्तक मुद्रण गर्ने संस्थाको रुपमा छ र 'डेमोस्ट्रेसन' स्कुल आदर्श विद्यालयको रुपमा शिक्षा मन्त्रालय भनौँ कि मध्यपुर ठिमी नगरपालिकाको मातहतमा छ ।

जनक शिक्षा सामग्री केन्द्र पहिले एक प्रकारले स्वायत्त जस्तै रहेछ र दूर शिक्षाको प्रबन्ध उसैले गरेको रहेछ । त्यति मात्र होइन, ६० मिटरको सर्टवेभ व्यान्डमार्फत् शैक्षिक कार्यक्रम सिधै सानोठिमीबाट प्रसारण गरिने रहेछ  । अर्थात् रेडियो नेपालको ६० मिटर ब्यान्डको व्यवस्था शैक्षिक कार्यक्रम अनवरत चलाउनका लागि गरिएको भए पनि त्यस्तो सायद भएन । अहिले दूर शिक्षाको कार्यक्रम शिक्षा मन्त्रालयको मानव श्रोत विकास विभागले गरेको छ क्यारे ! किनभने केही पहिलेसम्म दूर शिक्षा स्वायत्त पनि थियो अनि शैक्षिक जनशक्ति विकास केन्द्रमा गाभिएको थियो । अहिले एउटै संस्था बनाउँदा मानव श्रोत विकास केन्द्रमा गाभिएको रहेछ । रेडियो नेपालबाट शैक्षिक कार्यक्रम अहिले पनि दूर शिक्षा केन्द्रले तयार गरेर प्रसारण गरिन्छ क्या रे !

पछि तत्कालीन डिनले मलाई तीन महिनाको नियुक्ति अनि पछि पास गर्नेलाई छ महिनाको नियुक्ति दिएपछि मैले करिब ३ महिना पढाएको क्याम्पसमा नियुक्ति विद्या दिदीलाई नै फर्काएँ । अर्थात् नराम्रो भाषामा भनौँ, ममाथि विभेद भएकाले त्यो नियुक्ति च्यातेँ र भनेँ-दिदी, तपाईँबाट विभेद हुने मैले सोचेको थिइन, तपाईँको नियुक्ति तपाईँलाई नै । च्यातेँ झोकमा ! उहाँ र म मात्र थियौँ उहाँको अफिसमा !! 

मसहित मेरो भाइ हिमालय, भानिज बाका छोराहरू वासुदेव पोखरेल, जनार्दन पोखरेल डिल्ली बजारदेखि जान्थ्यौँ । हामीसँगै जानेमा बोहोरेटारका सीताराम आचार्य पनि हुनुहुन्थ्यो । उहाँ सुरुमा उहाँहरूको चौथो सेमेस्टर र हाम्रो पहिलो सेमेस्टर सँगै हुँदा एउटै क्लासमा थियौँ तर पछि चौथो सेमेस्टर सिद्धिए पनि उहाँ र गोपाल भण्डारीजी त्यहीँ पढाउन थाल्नु भयो सचिवालय विज्ञान । खासगरी सचिवालय विज्ञानमा  'सर्ट ह्यान्ड 'र 'टाइपिङ' र व्यवसाय शिक्षाका विषयहरू हुन्थे । 

नेपालमा व्यावसायिक विषयमा स्नातकोत्तर नभएकाले त्यो बेलामा स्नातक तह पास गर्नेलाई पनि स्नातक र प्रमाणपत्र तहमा पढाउन राख्ने चलन थियो प्रशिक्षक र सहायक प्राध्यापकको रुपमा पनि । पहिले  पनि र  अहिले पनि बागबजारको रत्नपार्क तिर जाने ठाउँमा बस पार्क छ र त्यो बेलामा अर्थात् २०३२-३४ तिर पनि त्यहीँबाट सानोठिमीका लागि बस चढ्थ्यौँ । 

सानोठिमी एउटा शैक्षिक गाउँको रुपमा विकसित गरिएको थियो । त्यहाँ एउटै उद्देश्यले जनक शिक्षा सामग्री केन्द्र, व्यावसायिक शिक्षाको शिक्षक प्रशिक्षणका लागि क्याम्पस सानोठिमी क्याम्पस, त्यो क्याम्पसको पढाइको प्रयोगशालाको रुपमा विद्यालय 'डेमोस्ट्रेसन' स्कुल जसलाई अहिले आदर्श विद्यालय भन्छौँ 'डेमोस्ट्रेसन' स्कुल डीएमपीएस । एउटा क्याम्पस, अर्को शैक्षिक सामग्री उत्पादन केन्द्र जहाँ पुस्तक लेख्ने र प्रकाशनको काम हुन्थ्यो र दूर शिक्षाको लागि रेडियो सामग्री उत्पादन हुन्थ्यो । सुने अनुसार रेडियो नेपालको ६० मिटर सर्टवेभ ब्यान्ड शैक्षिक प्रसारणका लागि स्थापना गरिएको थियो र यदि चाहेको भए सानोठिमीबाटै रेडियो नेपालमा सिधै प्रसारण गर्न सकिन्थ्यो रे !

तर अहिले रेडियो नेपाल नै मेडियम वेभ र एफएममा सञ्चालित छ । तर त्यो बेलामा मेडियम वेभ र सर्टवेभमा रेडियो नेपाल चल्थ्यो । अमेरिकी सरकारको सहयोगमा शैक्षिक विकासका लागि तयार गरिएको सानोठिमी क्याम्पसमा चार विषयमा प्रमाणपत्र तह र स्नातक तहसम्मको प्रशिक्षण हुन्थ्यो । प्रमाणपत्र तहले प्राथमिक तह र निम्न माध्यमिक तहका लागि र स्नातक तहले माध्यमिक तहको लागि पूर्व व्यावसायिक र व्यावसायिक विषयको प्रशिक्षण दिइन्थ्यो । जम्मा ४ सेमेस्टर हुन्थ्यो एक तह उत्तीर्ण गर्नका लागि । सायद स्नातक तहमा धेरै शिक्षक आवश्यक भएको अनि तत्कालै तयार गरेर विद्यालयमा पठाउनु परेकोले होला, तीन वर्ष या चार वर्ष लाग्ने स्नातक तहलाई दुई वर्षमै समाप्त गरेर व्यावसायिक शिक्षक विद्यालयमा पठाउनु जरुरी थियो ।

साधारण विषयका लागि भने ताहाचल र कीर्तिपुर केन्द्रीय क्याम्पसमा र नेपालका विभिन्न ठाउँमा तालिम र योग्यता दुवै हुने गरी कार्यक्रमको व्यवस्था गरिएको थियो । सानोठिमी क्याम्पसमा पूर्व व्यावसायिक र व्यावसायिक दुवैमा मुख्य विषयको व्यवस्था थियो जसमा कृषि शिक्षा, व्यवसाय शिक्षा, औद्योगिक शिक्षा र गृह विज्ञान शिक्षाको पढाइ हुन्थ्यो । मैले व्यवसाय शिक्षाको लेखा विषयलाई मुख्य विषय बनाएँ किनभने सचिवालय विज्ञान पढ्ने हो भने अर्को एक वर्षसम्ममा मात्र कोर्स समाप्त हुने थियो । हामी बस चढेर जानेहरू मनोहराको फाँट हुँदै सानोठिमी जाने हुँदा मनोहराको बस स्टपलाई मनोहरा क्याम्पस भन्थ्यौँ किनभने कृषि शिक्षाको पढाइचाहिँ सानोठिमी क्याम्पसमा हुन्थ्यो तर कृषिको खास प्रयोगचाहिँ तरकारी बारीमा हुन्थ्यो किसानहरूको मिहिनेतमा । ठिमी र सानोठिमी काठमाडौँ उपत्यकाको तरकारी आपूर्ति गर्ने एउटा मुख्य केन्द्र नै थियो । 

हामी तरकारी किन्न बारीमा जान्थ्यौँ । तरकारी बेच्ने किसान परिवारका महिलाहरू नेपाली बोल्न जान्नु हुन्थेन खासै । पुरुषहरू बोल्नु हुन्थ्यो किनभने उहाँहरू व्यापारका लागि गाउँ या सहरमा जाँदा तरकारी किन्नेहरू त नेपालीमा बोल्ने पनि हुन्थे । किसान महिलाहरू खासमा तरकारी बेच्न नजाने भएकाले बारीमा उहाँहरुमात्र हुने अनि नेपाली नबुझ्ने समस्या थियो । मैले नेपाल भाषा त्यति नजानेको कारणले ती नओटा शब्द सिकेको थिएँ- छस्का अर्थात् एक सुका अर्थात् २५ पैसा, छमो अर्थात् एक मोहोर या ५०पैसा, छर्का अर्थात् एक रुपैयाँ अर्थात् १०० पैसा । त्यो बेलामा २५ पैसाको तरकारी नै हामी विद्यार्थीहरूलाई पुग्थ्यो पनि । एक रुपैयाँ दिँदा फिर्ता तीन सुका अर्थात् ७५ पैसा गनेर लिनका लागि पनि ती तीन शब्दले पुग्थ्यो ।

ती तीन शब्दको समीकरणले गन्न सजिलो भएको थियो हामीलाई । अनि हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो भएर आउँथ्यौँ डिल्लीबजारतिर यदि हिँडेर आउने हो भने । एक जना प्रहरी बस्थे सिनामंगलतिर सानोठिमी तर्फको बाटोमा । यसो भर्‍याङको खुट्किला चढेर विमानस्थलको मुख्य 'रन वे'को बाटो हुँदै क्रस गथ्यौँ । प्लेन आउने बेलामा प्रहरीले नजानका लागि भन्थे अनि हामीले कति पटक जेट प्लेनलाई पनि नजिकैबाट हेरेका थियौँ पारिको सिनामंगलबाट वारिको सिनामंगल आउँदा । दुई ओटा पिच पार गर्नुपर्थ्यो अनि वारपार भइन्थ्यो । ७५ पैसा लाग्थ्यो एकतर्फी भाडा, त्यो पनि बच्ने, तरकारी पनि सस्तोमा पाइने । अझ हामी बाहुन हौँ भन्ने अनुहारले बुझेर साहुनीहरूले तरकारी थपेर पनि दिनुहुन्थ्यो र नेपाल भाषामा भनेको जस्तो लाग्थ्यो- बाहुन नै बारीमा आएपछि किन नदिनू तरकारी एउटा डुकु । खासगरी सागको बेलामा डुकु र लसुनको एउटा वा प्याजको एउटा बोट जस्तै । हामी आलु भन्दा पनि साग, काउली, चम्सुर, पालुङ्गो र मुला त्यहाँबाट झोलामा हालेर ल्याउँथ्यौँ ।

मैले खासै नेपाल भाषा बोलिन, अहिले पनि बुझ्दिन तर छस्का, छमो र छर्का सम्झेकै छु तर अहिले छस्का  र छमोको मुद्रा नै छैन । र मैले जानेको अङ्कबाट केही पनि आउँदैन । नेपाल भाषा सिक्न मन अहिले पनि छ तर के भयो भयो, सिक्ने चाँजो परेको छैन । सिक्नु त छ छ । जान्नु त छ छ तर साइत पर्ला नि एक दिन भन्नेमा छु अझै ।

क्याम्पसबाट स्कुलतर्फको बाटो यसरी लागियो 

मैले जब क्याम्पसका भर्ना हुने निधो गरेर परेबाडाँडाको स्कुलबाट राजीनामा दिएर स्नातक तह पढ्न सानोठिमी क्याम्पसमा भर्ना भएँ, एउटा निधो गरेँ अब बासँग पैसा माग्दिन । अठोट गर्न त सजिलो थियो तर गाह्रो थियो त्यो कुरालाई पूरा गर्न । तर भयो के भने क्याम्पसले महिनाको  १५० रुपयाँ छात्रवृत्ति दिने भयो । पछि त्यो 'स्टाइपेन' बढेर २०० भएको थियो । घरका भाडा तिर्नु पर्थ्याे महिनाको ५० रुपैयाँ, आउँदाजाँदा बसको भाडा दाजुभाइका लागि करिब १०० रुपैयाँ, खानाका लागि अरु २००रुपैयाँ आवश्यक थियो । अनि मैले मात्र २०० या ३०० आउने गरी ट्युसन पढाउन थालेँ । पढाउन जाँदा त नयाँ घर हुन्थ्यो तर पढाउँदै जाँदा त आफ्ना केटाकेटी जस्तै हुन्थे र त्यो घर आफन्तको जस्तो हुन्थ्यो । मैले त्यो बेलामा पढाएका केटाकेटीहरु अब समाजका प्रतिष्ठित नागरिक भइसके र पनि उनीहरूले अझै सम्झन्छन् दाइको रुपमा, गुरुको रुपमा । माया गर्छन्, आदर गर्छन् । अनि मलाई गाह्रो हुन्थ्यो पैसा माग्न । मैले कहिले पनि तोकेर पैसा मागिन । मेरो समस्या बुझेर दिएमा जति दिए पनि हात थापेँ तर केही समयसम्म मात्र । जब विद्यालयमा पढाउन थालेँ, एकदम कम मात्र ट्युसन पढाएँ किनभने पत्रकारिताको चस्का र शिक्षक संगठनको लगावले त्यो काम गरिएन पनि , भ्याइएन पनि । कोही कोही पढाउन भनेर भन्थे, केही दिन पढाएर आवश्यकता पूरा गराउँथेँ र पैसा लिन्न भन्थेँ किनभने कति माग्ने, कति देलान् , बरु लिन्न भन्यो टन्टै ने साफ । 

म चारै सेमेस्टर विषय नलागी लेखा विषयमा उत्तीर्ण भएँ र मलाई तत्कालीन क्याम्पस प्रमुख तथा सहायक डिन विद्यादेवी गुरुङले लेखा विषय पढाउनका लागि अनुरोध गर्नुभयो । मैले बीएड पास गर्दा अचम्म भएको थियो गोरखापत्रमा नाम नै छापिएको थियो । बाले विराटनगरमा देख्नु भएछ मेरो नाम पास गरेको भनेर । त्यसपछि पनि नाम छापेको देखेको छैन रोल नम्बर मात्र दिने हो । सायद हिउँदे सेमेस्टरमा कम थियौँ अनि नाम नै दिएको रहेछ होला । 

हामी विद्या दिदी नै भन्थ्यौँ । बडो मिजासिलो हुनुहुन्थ्यो । हाम्रो विभागीय प्रमुख हुनुहुन्थ्यो माहिलारत्न बज्राचार्य सर । साह्रै असल र सहयोगी । खासगरी हामी उपत्यका बाहिरबाट आएका नियमित विद्यार्थीहरूको मर्का बुझ्ने किनभने समयमा फि दिन नसके पनि परीक्षा कहिल्यै रोक्नुभएन । एउटा कागजमा पछि तिर्ने बेहोरा लेखाउनु हुन्थ्यो र विभागीय प्रमुख अनि विद्यार्थी हित शाखा प्रमुखको हैसियतमा जमानी बस्नुहुन्थ्यो । भन्नुहुन्थ्यो- छात्रवृत्ति आउँदा दिनु नि ! नत्र मैले मेरो तलबबाट तिर्नुपर्छ । मलाई मन पराएर होला, उहाँले विद्यार्थी हित शाखामा सदस्य, पुस्तकालय समितिमा सदस्य राख्नु भएको थियो ।

त्यसले के फाइदा भयो भने पछि धेरै विद्यार्थी हुँदा बाहिरका विद्यार्थीहरूको लागि छात्रवृत्ति दिनका लागि उहाँलाई मैले अनुरोध गर्न पाएँ । उहाँ साह्रै सहयोगी हुनुहुन्थ्यो । हामीलाई सरकारी लेखा पढाउनु हुन्थ्यो बडो रमाइलोसँग । न रिसाउने, हाँसी हाँसी व्यङ्ग्य वाण हान्ने । अनि विद्यार्थीहरूसँग बसेर क्यान्टिनमा खाजा खाने र कतिपय विद्यार्थीहरूलाई खाजा ख्वाउने पनि ।

हाम्रो क्याफ्टेरियामा नगद तिरेर मात्र खाजा, खाना पाइन्थ्यो किनभने गृह विज्ञानको त्यो प्रयोगशाला पनि थियो र क्याम्पसको सामान्य व्यापार पनि थियो विद्यार्थीको हितका लागि । बाहिर ३०पैसा पर्ने एक कप चियाको त्यहाँ २५ पैसा मात्र लिइन्थ्यो । भाउमा सस्तो गराएको थियो क्याम्पसले । ताजा खाजा । मिठो खाना । त्यसको कारण रहेछ, गृह विज्ञानका साथीहरूको प्रायोगिक कामका लागि क्याम्पसले सामान दिएको रहेछ । जस्तो कि हामीलाई पनि टाइप राइटरका लागि कागज, मसी, रिबन दिइन्थ्यो जति प्रयोग गरे पनि । 

विद्या दिदीले मलाई बोलाएर आंशिक रुपमा सहायक प्राध्यापकको हैसियतमा पढाऊ, पछि नोटिस निकालेर भर्ना गरौँला । माहिला सरको सिफारिसमा म पढाउन थालेँ । उहाँकै विभागमा र उहाँकै विषय । एक महिना पछि सहायक प्राध्यापकका लागि बीएड गरेको योग्यतामा विज्ञापन नोटिस बोर्डमा टाँसियो । वास्तवमा लेखामा म मात्र थिएँ र मागेको पनि एउटा मात्र थियो । तर सचिवालय विज्ञानमा केही स्थानमा मागेको थियो र केही साथीहरूको नतिजा आएको थिएन । हुन त नतिजा क्याम्पसले नै प्रकाशन गर्ने हो तर समय भने तोकिएको थिएन कतिसम्मका लागि अस्थायी भनेर । पछि तत्कालीन डिनले मलाई तीन महिनाको नियुक्ति अनि पछि पास गर्नेलाई छ महिनाको नियुक्ति दिएपछि मैले करिब ३ महिना पढाएको क्याम्पसमा नियुक्ति विद्या दिदीलाई नै फर्काएँ । अर्थात् नराम्रो भाषामा भनौँ, ममाथि विभेद भएकाले त्यो नियुक्ति च्यातेँ र भनेँ—दिदी, तपाईँबाट विभेद हुने मैले सोचेको थिइन, तपाईँको नियुक्ति तपाईँलाई नै । च्यातेँ झोकमा ! उहाँ र म मात्र थियौँ उहाँको अफिसमा !! 

मेरो र दिदीको परिचय क्याम्पसमा मात्र होइन, सानदाजुको घरमा एक दिन भेट भएको थियो । उहाँको भर्खरै बिहे भएको थियो बुढेसकालमा । ४९वर्षकी दिदी र भिनाजु ५३वर्षका । नेपालको ठुलो व्यापारी मुस्ताङका । सायद योगेन्द्रमान शेरचनका आफन्त । उहाँ र भिनाजु बिपीलाई भेट्न साँझमा जानु भएको रहेछ, मैले पनि उहाँलाई त्यहीँ भेटेँ । नत्र उहाँलाई त्यो बेलामा विद्यार्थी कुन दलको भन्ने सायद थाहा थिएन । त्यसैले पनि उहाँ र मेरो सम्बन्ध राम्रो यस कारणले भयो कि उहाँले मलाई माया गर्न थाल्नु भयो । हामी जब उहाँको कोठामा हुन्थ्यौँ उहाँ बिपीको बारेमा सोध्नुहुन्थ्यो, काँग्रेसको बारेमा सोध्नुहुन्थ्यो । पछि थाहा भयो, माहिला सर पनि प्रजातन्त्रवादी हुनुहुँदो रहेछ र त हामीलाई माया गर्नु भएको रहेछ । 

अनि झोकमा दिदीले पछि मिलाउँछु भाइ, अहिले त डिनले ठाडो आदेशमा तपाईँलाई तीन महिनाको नियुक्ति दिनु भनेकाले मैले जे आदेश आयो त्यही गरेँ । म पछि मिलाउँला, तीन महिना पछि फेरि म्याद थपौँला अहिले नजाऊ भाइ ! तर मैले आफ्नो योग्यता र प्रतिष्ठामाथि धावा बोलेको ठानेँ र दिदीको कोठाबाट तलब र भत्ता पछि लिन आउने भनेर बाहिर निस्केँ । तर को थियो र मलाई सहयोग गर्ने ? अनि म सिधै केसर महल पुगेँ विद्यालय प्रशासन शाखामा र सोधेँ -व्यावसायिक शिक्षाको शिक्षकलाई कसले खटाउँछ ? मन्त्रालयले भन्यो- निवेदन दिनुस्, हामी क्षेत्रीय निर्देशनालयमा पत्र पठाउँछौैँ र उसैले त्यसको आवश्यक व्यवस्था गर्छ । भोलिपल्ट सबै प्रमाणपत्रहरू लिएर गएँ, अनि पत्र मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय थियो नाग पोखरी नेर, त्यहाँ आएँ र काठमाडौँ जिल्लाको लागि पत्र लेखियो र चिठी लिएर आएँ गणवहालको जिल्ला शिक्षा कार्यालयमा । 

त्यो दिन ठिक गरेँ कि गरिन, त्यसको जबाफ मैले कसरी अतीतसँग माग्नु ? जुन डिनका कारणले मलाई नियुक्तिमा विभेद गरिएको थियो, पछि उहाँकै लेबोरेटरी माविको सञ्चालक समितिमा नियुक्ति यथावत् हुनुपर्छ भनेर ल्याब स्कुलका तर्फबाट जिल्ला शिक्षा समितिको विरुद्धमा मुद्दा लड्ने वारिस मैँ भएँ र उहाँलाई ल्याब स्कुलको सञ्चालक समितिमा थमौती गराएँ । काठमाडौँको भाग्योदय मावि साँखुमा पहिलो नियुक्ति भएको थियो अस्थायीरुपमा । पछि व्यावसायिक शिक्षकहरूको स्वतः स्थायी भयो । २०३५साल असोज ६गते हाजिर भएको थिएँ साँखुमा र निवृत्त भएँ ६० वर्ष पुगेपछि गुह्येश्वरी बाल शिक्षा मावि, थापाथलीबाट माध्यमिक तहको प्रथम श्रेणीमा पदोन्नति भएर । शिक्षक हुँदाका केही अविस्मरणीय प्रसङ्ग र नेपाल शिक्षक सङ्घको स्थापनाका केही बाहिर नआएका प्रसङ्ग पछि लेखुँला ।   क्रमशः