एक महिलाकाे रजश्वला अनुभूति : 'जब म पहिलो पटक रजश्वला भएँ'

एक महिलाकाे रजश्वला अनुभूति : 'जब म पहिलो पटक रजश्वला भएँ'

राधा कणेल  |  साहित्य  |  आश्विन ७, २०७७

आज फेरि मलाई मेरै कुरा गर्न मन लाग्यो । कुरा सामान्य नै हो, खासै ठूलो छैन । कुनै नौलो पनि होइन । प्राकृतिक । नछुने वा पर सरेको वा रजश्वलाको प्रसंग । 

काठमाडौं रसामाजिक सञ्जालमा रजश्वला नबार्ने वा रजश्वला भएको बेलामा मन्दिर जान पाउनुपर्ने बहस चलेको बेलामा सुदूरपश्चिममा अझै पनि छाउपडीमा महिलाले ज्यान गुमाइरहेका छन् । सामाजिक परिवर्तन सजिलो छैन । मानिसको चेतनासँगै विस्तारै परिवर्तन हुँदै जाला । आज म परिवर्तनका सैद्घान्तिक कुरा गर्न लागेकी छैन । म आफैँले किशोरीमा भोगेका आफ्ना कुरा शेयर गर्दै छु । 

पहिलो पटक रजश्वला हुँदा 
धादिङको छत्रेदेउराली काठमाडौंसँगै जोडिएको गाउँ हो । सीतापाइलाबाट जम्मा १४ किलोमिटर टाढा । २०५५ सालमा कक्षा ९ मा पढ्दा म १५ वर्षकी थिएँ । म पहिलो पटक रजश्वला भएँ या घरपरिवारमा भने झै ‘म नछुने भएँ’ । 

मलाई घरभन्दा अलिक टाढा एक जना फुपूको घरमा राखियो, त्यो पनि ढोका थुनेर–घाम हेर्न नहुने, पुरुषको अनुहार हेर्न नहुने गरी । बिहान–बेलुकी त फुपूकी छोरी मेरै उमेरकी, ऊसँगै हुन्थीन र मलाई समय काट्न सजिलै हुन्थ्यो तर दिन र रात काट्न साह्रै मुस्किल । अर्कोतिर स्कुल छुटेको थियो । त्यसको तनाव छुट्टै छंदै थियो । 

पहिलो पटक भएकाले मलाई १५ दिन गुफा राख्ने बुबाको योजना थियो तर कक्षाको प्रथम विद्यार्थी लगातार अनुपस्थित भएपछि प्रधानाध्यापकले सोध्नुभएछ बुबासँग । बुबाले ‘पर सरेकी छ । गुफा राखेको छ’ भन्नुभएछ । 

सरले राम्ररी बुबालाई सम्झाएपछि बुबाले मलाई सात दिनमा नै घर ल्याउनुभयो । सात दिन बस्दा मलाई सात महिना बिताए जस्तो लाग्यो । 

आठौँ दिनदेखि म स्कुल जाने भएँ तर कसरी स्कुलमा मुख देखाउने ? मलाई लाज र डर दुवै लागेको थियो । अर्को कुरा, प्रधानाध्यापकसँग बुबाले पर सरेको कुरा पनि गरेकाले म झन् डराएकी थिएँ । 

विद्यालय पुगेपछि सरले बोलाउनुभयो । म रातोपीरो भएर लजाउँदै सरको अगाडि गएँ । सरले ‘बुबासँग कुरा भएको थियो तिम्रो बारेमा । प्रकृतिक कुरा हो भनेर सम्झाएको थिएँ’ भन्नुभयो । म झन् लाजले भुतुक्कै भएँ र मैले कुरा टुंग्याएर टाउको निहुर्‍याउँदै निस्किएँ । मानौँ, मैले ठूलै अपराध गरेकी थिएँ । 

आफ्नो विगत अहिले यसो सम्झँदा केही सवालहरू मनमा सल्बलाए । स्कुल पढ्दा ट्वाइलेटको त्यस्तो समस्यामा हामी किन बोल्न सकेनौँ होला ? जनप्रतिनिधि, शिक्षक/शिक्षिका र अभिभावक पनि किन मौन बसे होला ? अहिले पनि गाउँका कुना कन्दराका किशोरी विद्यार्थीले मेरो जस्तो समस्या भोग्छन् होला कि भोग्दैनन् होला ? कहिलेकाहीँ थाहै नपाएर वा बाध्यतामा रगत कपडामा लागे पनि ढुक्कले हिँड्न सक्ने महिला कति छन् होला ? आदिआदि । 

थाहा नै नहुने 

मेरा साथीहरूको संगतबाट मैले रजश्वला हुँदा के हुन्छ ? भनेर थाहा पाएकी थिएँ । मेरै उमेरकी एक जना मेरी साथी थिइन् । उनी ११ वर्षमा नै रजश्वला भइन् । बसेको ठाउँमा नै रगत चुहिएछ र आमाले देख्नुभएछ । 

उनकी आमाले गाली गर्दै ‘पर जा’ भन्नुभएछ । उनी धेरै डराइछन् र क्वाँक्वाँ रुन थालिछन् । सानै उमेरकी उनलाई के भयो के भयो भन्ने लागेछ । पछिपछि पनि भुइँमा रगत लागेपछि मात्र थाहा पाउने । कति पटक त अरूले देखाइदिनुपर्ने, थाहा नै नहुने । थाहा नहुँदा ठूलै पाप गरे सरह व्यवहार गरिन्थ्यो र हाम्रै अर्थात किशोरीको नै दोष मानिन्थ्यो । 

एक दिन यसबारेमा मिल्ने साथीलाई सोधेँ । उसलाई चाहिँ हल्का पेट दुख्ने रहेछ । ‘अबदेखि महिना पुगेपछि ध्यान देऊ, थाहा हुन्छ’ भनिन् अनि अलिक थाहा पाउन थालेँ । 

कक्षाको समस्या 

मेरा साथीहरूको सर्कलमा मेरो रजश्वला ढिलो भएको थियो । कक्षामा पढ्ने केटी साथीहरू सबै मभन्दा पहिले नै रजश्वला भएका थिए । मेरो घरमा मेरा दिदीहरू पनि भएकाले प्याडको सामान्य प्रयोगका बारेमा मलाई जानकारी थियो । पहिलो पटक त खासै ‘ब्लिडिङ’ भएन र समस्या पनि भएन । दोस्रो पटकदेखि भने समस्या नै पर्न थाल्यो । हामी पुराना कपडाको टुक्रालाई प्याडको रूपमा प्रयोग गथ्र्यौं ।

विद्यालय पुग्न करिब ३० मिनेट लाग्थ्यो (त्यसबेलाको हिँडाइअनुसार) । जाँदा ठाडो उकालो, फर्किंदा ओह्रालो । ठूलो कपडा प्रयोग गर्दा हिँड्न गाह्रो हुने । फेरि हिँड्दाहिँड्दै बाटोमै झर्छ कि भन्ने डर । सानो कपडा प्रयोग गर्दा अर्को समस्या । 

स्कुल पुगेर १० बजे कक्षामा बसेपछि प्रत्येक पिरियड सकिएपछि जुरुक्क उठेर बेन्च हेरिन्थ्यो–कतै बेन्चमा रगत लागेको त छैन ? भनेर । रगत बाहिर नलागेपछि अबको पिरियडलाई त ढुक्क भयो । तर, रगत बेन्चमा लाग्ने पो हो कि भन्ने डरले पढाइमा ध्यान जाँदैनथ्यो । 

कुनैकुनै बेला भारी ‘ब्लिडिङ’ हुन्थ्यो । त्यस्तो बेलामा प्याडले थेग्ने कुरै भएन । कक्षाबाट टिफिनको बेलामा पनि बाहिर ननिस्की कक्षामै बसिन्थ्यो । केटी साथीले त बुझ्थे र हाँस्थे । आफूलाई चाहिँ जिस्क्याएजस्तो लाग्थ्यो र साह्रै अप्ठ्यारो हुन्थ्यो । 

ट्वाइलेटको समस्या 

यस्तो बेलामा ट्वाइलेट जान खुब समस्या हुन्थ्यो । आफू उठेपछि किताब राखेको झोलाले बेन्चमा लागेको रगत छोपेर आफ्ना २–३ जना साथीलाई पछाडि आफ्नो फ्रक पूरै छेक्न लगाएर ट्वाइलेट पुगिन्थ्यो र त्यसैगरी लुकेर नै क्लासमा आइन्थ्यो ।  

हाम्रो स्कुलमा ट्वाइलेट नै थिएन । झाडीतिर जानुपर्ने । प्रायः सिस्नु थियो झाडीमा पनि र केटाहरू तथा साना बच्चाहरू बाटोमै दिसापिसाब गर्थेे । केटीहरू निकै टाढा बारीका पाटातिर पुग्थे र समस्या समाधान गर्थे ।  

गाविसका जनप्रतिनिधि, विद्यालय प्रशासन, शिक्षक, अभिभावक सबैलाई समस्या थाहा थियो तर कसैले पनि समाधानमा चासो देखाएका थिएनन् । १० वर्षसम्म समस्यामै कसरी गुजारियो ? अहिले सम्झिँदा कहाली लाग्छ । 

विद्यार्थीले पनि कसैसँग गुनासो गरेनन् । हामीले पनि कसैलाई भनेनौँ । भन्ने आँट नै गरेनौँ । जो बोल्दैन, उही ज्ञानी हुन्छ भन्ने सिकाइले पो हो कि ! कसरी चुप लागे एक हजारभन्दा बढी विद्यार्थी, अचम्म लाग्छ अहिले सम्झिँदा । 
प्याडको सफाइ
हामीलाई पर सरेको बेलाको रगत अरूलाई देखाउन हुँदैन भन्ने सिकाइएको थियो । आफूभन्दा ठूलाले भनेका सबै कुरा सही नै हुन् भन्ने लाग्थ्यो । अरूले देख्दा आफैँलाई पनि लाज लाग्ने । रगतले छर्लप्पै भिजेको प्याड प्रायः राती एकान्त भइसकेपछि धारोमा गएर धुनुपर्ने । अँध्यारोमा धोएर अध्याँरोमा नै सुकाउने । उज्यालोमा सुकाउँदा अन्य कपडालेछोपेर सुकाइयो किनकी त्यस्तो कपडा सिधै अरूको आँखा लाग्यो भने बिगार पर्छ भन्ने अन्धविश्वास थोपरिएको थियो । 

बिगार परेपछि साह्रै पेट दुख्छ भनेर भ्रम फैलाइएको थियो । मलाई प्रायः पेट नदुख्ने । ममीलाई एकदम पेट दुख्थ्यो । पेनकिलर खाँदा पनि ठीक नहुने । चार दिन उठ्नै सक्नुहुन्नथ्यो । हामी त्यसैलाई बिगार परेको सम्झिन्थ्यौँ र प्याडलाई कसैले नदेख्ने गरी सुकाउँथ्यौँ । 

कक्षा ९ मा स्वास्थ्य विषय त पढेको हो तर वर्षौंदेखि दिमागमा रहेको भ्रम एक पानामा लेखेका अक्षरहरूले हटाउन नसकिने रहेछ । यो अन्धविश्वास हटाउन मलाई वर्षौं लाग्यो । 

शहरको भोगाइ

एसएलसीपछि हामी कलेज पढ्न काठमाडौं आयौँ । एकतल्ले घरमा हाम्रो परिवार मात्र बस्थ्यो । हामी (सबै दिदीबहिनी)ले गाउँमा जे गर्‍यौँ, शहरमा पनि त्यसैलाई निरन्तरता दियौँ । यानिकि कपडाकै प्याड प्रयोग गर्‍यौँ । 

हामी सबै विद्यार्थी थियौँ । स्यानिटरी प्याड किन्ने पैसा थिएन । परिवारमा पैसा माग्ने आँट पनि थिएन । तर, हामी अरू धेरै कुरा जान्ने भएका थियौँ । प्याड लगाउन जान्ने भइएको थियो । नरम कपडाको प्रयोग गर्न जान्ने भइएको थियो । कपडा घाममा सुकाउनुपर्छ किटाणु मर्छ भन्ने कुरा थाहा भएको थियो । 

रजश्वला हुने समयको नजिक पुगेपछि आफ्नो व्यागमा प्याड बोकेर हिँड्नुपर्नेजस्ता व्यावहारिक ज्ञान भएको थियो । यस्तो बेलामा विशेष सरसफाइ गर्नुपर्ने ज्ञान भइसकेको थियो । 

अनि हाम्रो समाज आजको एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा पनि किन यति संकीर्ण र पुरातन सोचबाट माथि उठ्न नसकेको होला ? किन कुनै किशोरी (छोरी, नातिनी, बहिनी)ले प्राकृतिक रूपमै हरेक महिलामा हुने स्वाभाविक प्रक्रियाका कारण कष्ट भोग्नु, छिछि र दूरदूर सहनुपरेको होला ? 

पछि जागिर सुरु गरेपछि मात्र स्यानिटरी प्याड प्रयोग गर्न थालेँ । पहिलो पटक स्यानिटरी प्याड प्रयोग गर्दा कसरी फ्याँक्ने होला भनेर खुब चिन्ता पर्‍यो । प्लास्टिकमा पोको पारी फोहोर फ्याँक्ने ठाउँमा फ्याकेँ । 

अर्को महिना महिनावारी हुँदा पेट पो दुख्ने हो कि बिगार परेर भन्ने मनमा अझै कताकता डर लागेकै थियो । पेट नदुखेपछि ढुक्कले प्रयोग गर्न थालेँ । मेरो अन्धविश्वास त्यसबेलासम्म मभित्रबाट हटेको रहेनछ । 

कपडाबाहिर रगत लाग्दा 

आईकम दोस्रो वर्षको परीक्षा आउन लागेको थियो । २०५८ साल जेठ १९ गते (दरबार हत्याकाण्ड भएर सम्झिएको मिति) म गाउँबाट काठमाडौं आउँदै थिएँ । मेरो रजश्वला भएको चार दिन भएको थियो । दुई लिटरको भाँडोभरीे दही लिएर आएकी थिएँ । 

सीतापाइलामा गाडीबाट ओर्लिन लाग्दा स्कुल पढाउने मिसले ‘अहो ! तिम्रो कुर्तामा रगत लागेछ’ भन्नुभयो । म लाजले रातोपीरो भएँ । पिङ्क कुर्ताको एक छेउ रगतले भिजेछ । लामो सलले झर्लम्म छोपेर म हतारहतार बल्खुको गाडी चढी घर आएँ । 

घरमा आएर पो मलाई दहीको होस आएछ । रगतको टाटो छोप्ने चक्करमा दही त अघि गाडीमै छुटेछ । दहीभन्दा पनि असाध्यै राम्रो दहीको भाँडोको अहिले पनि खुब याद आउँछ । गत साल असारमा म नुवाकोट गएकी थिएँ । फर्किंदा बाटोमा रजश्वला भयो । कुर्ताको २–३ ठाउँमा रगत लागिसकेछ । व्यागमा हेर्दा प्याड रहेनछ । हतारमा निस्किँदा राख्न भुलेछु । 

खाजा खान रोकेको ठाउँमा ३–४ वटा पसलमा किन्न खोजेँ, प्याड रहेनछ । नभेटेपछि जेसुकै होस् भनेर म गाडीमा बसेँ । बालाजु आएपछि सीतापाइला जाने बस चढ्नका लागि ५ मिनेटजति हिँड्नुपर्‍यो । रगतको टाटा लागेको कुर्ता लगाउँदा मलाई कुनै लाज लागेन । मैले लुकाउने प्रयास पनि गरिनँ । कहिलेकाहीँ यस्तो भइहाल्छ नि भन्ने मनमा आयो । 

आफ्नो विगत अहिले यसो सम्झँदा केही सवालहरू मनमा सल्बलाए । स्कुल पढ्दा ट्वाइलेटको त्यस्तो समस्यामा हामी किन बोल्न सकेनौँ होला ? जनप्रतिनिधि, शिक्षक/शिक्षिका र अभिभावक पनि किन मौन बसे होला ? अहिले पनि गाउँका कुना कन्दराका किशोरी विद्यार्थीले मेरो जस्तो समस्या भोग्छन् होला कि भोग्दैनन् होला ? कहिलेकाहीँ थाहै नपाएर वा बाध्यतामा रगत कपडामा लागे पनि ढुक्कले हिँड्न सक्ने महिला कति छन् होला ? आदिआदि । 

अनि हाम्रो समाज आजको एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा पनि किन यति संकीर्ण र पुरातन सोचबाट माथि उठ्न नसकेको होला ? किन कुनै किशोरी (छोरी, नातिनी, बहिनी)ले प्राकृतिक रूपमै हरेक महिलामा हुने स्वाभाविक प्रक्रियाका कारण कष्ट भोग्नु, छिछि र दूरदूर सहनुपरेको होला ? 

मध्य र सुदूरपश्चिमका केही ठाउँमा किन किशोरी र महिला छाउपडीका नाममा मारिन्छन्, दुःख र सास्ती भोगिरहन्छन् ? किन सरकार र गैरसरकारी तवरबाट यसका निम्ति लगानी गरिएको अर्बौं रुपैयाँले सुधारमा कुनै काम हुन सकेन ? 

किन यति धेरै मानिसहरूका हातमा भएको सूचना र प्रविधिको सदुपयोग यस्ता कुरीति, कुप्रथा, अन्धविश्वास र नारकीय अभ्यासको अन्त्यका निम्ति हुन सकेन ?