जीवन भवितव्यहरूको पुञ्ज: आफ्नो स्वार्थको लागि लक्ष्मीनारायण चौधरीलाई बाटैमा शिक्षक नियुक्ति !

जीवन भवितव्यहरूको पुञ्ज: आफ्नो स्वार्थको लागि लक्ष्मीनारायण चौधरीलाई बाटैमा शिक्षक नियुक्ति !
फर्कलान् र ती दिनहरू

हरिविनोद अधिकारी  |  साहित्य  |  आश्विन १७, २०७७

जब जब अतीतको यात्रामा विचरण गर्न थालिन्छ, बिर्सिएका पुराना कुराहरू फुत्त फुत्त  आउन थाल्छन् जस्तो कि पुराना बाकस र सन्दुसबाट हराएका भनिएका सामानहरू भेटिन थाल्छन् । साना साना कुराहरू पनि ताजा हुँदै साँच्चै अघिल्तिर सजीव भएर उभिन थाल्छन् र भन्छन् - म पनि त तेरै अतीत हुँ नि, तेरो जीवनमा म पनि त अपरिहार्यरुपमा घटित भएकै थिएँ नि ! 

हो नि त, सबै अनुभवहरू , सम्झेका वा नसम्झेका सबै नै जीवनका अपरिहार्य अनुभव हुन् । जस्तो कि कुनै एक जना मानिस बाटोमा भेटिन्छ र भन्छ -तपाईँ त्यही सिन्धुली, ग्वाल्टारको अधिकारी होइन र ? कतिले पिताजीको नामबाट चिनेका होलान् , कतिले मेरो मावलीका नामबाट चिनेका होलान् , कतिले मेरा ससुरालीका तर्फबाट नातामा परेकाले चिनेका होलान्  या कतिसँग जीवनका कुनै न कुनै मोडमा भेट भएर, सँगै बसिएको पनि थियो होला । तर साथीले या नातेदारले चिनेर  बोलाउँदा आफू अन्यमनस्क भएर अलमलमा परेको देखेपछि के सम्झेला ? त्यस्तो बारम्बार परेको छ । 

एक जना ठुलै नेता आफूलाई मानिस चिन्नेमा पोख्त मान्ने गर्नुहुन्थ्यो । मन्त्रीसमेत भएकाले आउने जानेको लेखै भएन । सबै आफूलाई उहाँको नजिकको भन्न रुचाउने , मन्त्रीजीले मलाई राम्रोसँग चिन्नुहुन्छ भन्दै भीडमा गफ लगाइरहेको बेलामा मन्त्रीजी कतै जान तयारी हुनुभयो । अनि उसले मन्त्रीजीलाई भन्यो-हजुरले केही दिन पहिले जिल्लामा गएको बेलामा मलाई आउने बित्तिकै भेट्नू भनेकाले बिहानै जिल्लाबाट आएँ र सिधै यतै आएको हुँ । मन्त्रीले पनि एकदम चिनेको जस्तो गरेर भन्नुभयो- —तेरो बालाई ठिक छ नि, मैले अस्ति भेट्दा भन्दै थिए - मेरो छोरालाई एउटा जागिर खोज्दिनु पर्‍यो ।

अनि उसको पालो अलमलमा पर्ने रह्यो र भन्यो- हजुर मेरो बाको स्वर्गे भएको त दश वर्ष भयो, हजुरले कसलाई भेट्नु भयो । अनि मन्त्रीजीले भन्नुभयो - तँ त्यै भदौरे साहिँलाको छोरो होइन र ? अनि उसले भन्यो- कहाँको भदौरे हजुर ? म त सदरमुकामको ठुलो पसलेको छोरो हुँ र म डाक्टर पढ्नका लागि भारत जान चाहन्छु अनि भारतीय राजदूतावासमा भन्दिनु पर्‍यो भनेर अनुरोध गर्दै थिएँ जिल्लामा हजुर पुग्दा, अनि हजुरले तत्काल काठमाडौँ आउनू भन्नुभएकाले आएको हजुर ।

उसले विना हिचकिचाहट सबै कुरा खुलस्त गर्‍यो र आफ्नो नाम, योग्यता र सम्पर्क फोनसमेत लेखेर राखेको कागज दियो । मन्त्रीजीमा कुनै ग्लानि थिएन र अझै भन्दै थिए- ए , ए सम्झेँ सम्झेँ । ल भोलि साँझ आउनू , मैले  राजदूतलाई भनिसकेको हुनेछु । तर सबै बाहिर बसेकालाई भोलि बिहानैको हवाई जहाजमा मन्त्रीजी चीन जाँदै हुनुहुन्थ्यो । यस्तो पनि सम्झना हुन्छ र वचन दिने काम हुन्छ ।

हामी दुवै जना भएर आवश्यक कागजातहरूको सेतो कागजमा नक्कल उतार्‍यौँ । ऊ छक्क पर्दै थियो के गर्दै छ हरि भनेर । म जे भन्थेँ, ऊ गरिरहेको थियो खुरुखुरु । मैले म कहाँ जान लागेको पनि भनिन, मात्र साँखु जान आफू तयार भएको बेहोराको निवेदनसँगै नियुक्तिका लागि एक रुपैयाँको टिकट टाँसेर दर्ता गराउन पुगियो एक छिनमा ! 

तर हामीजस्ता सामान्य मानिसले त्यसरी चिनेनौ भने या त यो ठुलो भएछ भन्छन् या त खुस्केछ भन्छन् । तर मानवीय गुण नै हो विस्मृति । स्मृति र विस्मृति एउटै मानवीय संस्कारका आधारभूत पहिचान हुन् । जसरी सम्झनै पर्ने हो सबै घटना तर बिर्सनै पर्ने हुन्छ सबै घटना । मनोवैज्ञानिकहरूले अझै के पत्ता लगाउन सकेका छैनन् भने मान्छे कसरी सम्झन्छ या बिर्सन्छ । प्रत्येक व्यक्तिमा फरक फरक गुणहरू पनि हुन्छन् र साझा क्षमता पनि हुन्छ । 

त्यस्तै हो जब जब म पुराना कुराहरू सम्झन थाल्छु, त्यही बेलामा विचरण गर्न थाल्छु । भन्ने गर्छन् भाग्यवादीहरू कि भवितव्य नै भाग्यको अर्को नाम हो । अचानक अचानक घट्ने घटनाहरूले के सङ्केत गर्छन् होला ? मानिसको जीवनमा घट्ने हरेक नयाँ नयाँ घटनाहरू योजनाबद्ध हुँदैनन् । तर त्यसो भनेर पनि हुने रहेनछ । कुनै विषयमा गरिने काम या अपेक्षासहित कुनै काम योजनाबद्धरुपमा तयारी गरिएको छ भने त्यसले दिने परिणाम भने अपेक्षित नै हुनेछ । तर सामाजिक विज्ञानमा परिणाम सोचेको जस्तो हुँदैन र भएन भने पनि के गर्ने भन्ने कुनै त्यस्तो सूत्र पनि हुँदैन रहेछ । 

साँखुको भाग्योदय माविमा धेरै दिन बस्ने इच्छा थिएन किनभने मेरो बसाइभन्दा टाढा थियो, भर्खर कक्षा ८ र ९मा मात्र लेखा विषय थियो अनि लेखामा पढ्ने विद्यार्थीहरूको सङ्ख्या पनि न्यून थियो । अनि मलाई के पनि थाहा थियो भने सञ्चालक समितिले मेरो नियुक्तिलाई नोटिसमा राखेको छ , प्रधानाध्यापकजीले म निहुँ खोजेर आएको भन्ने थाहा पाइसक्नु भएको छ । मेरो समय भने टाइम पास जस्तै बेलामा नियुक्ति भएको रहेछ ।

दसैँको मुखमा नियुक्ति भयो, दसैँ र तिहारको बेलामा खासै कक्षा राम्रोसँग चलेन, त्यसपछि वार्षिक परीक्षा आयो, हिउँदे बिदा सुरु भयो । फागुनमा नयाँ शैक्षिक सत्र सुरु भयो, तर म पनि जसरी हुन्छ काठमाडौँतिर आउने कुरामा आफूलाई केन्द्रित गर्न थालेँ । विद्यालयको जोहो गर्न थालेँ । कसैले भन्यो- काठमाडौँको नामुद विद्यालय लेबोरेटरी स्कुलमा लेखा विषयको शिक्षक चाहिएको छ, त्यो पनि व्यावसायिक विषय पढाउने ।

कक्षा ८ देखि १० सम्मको चार सय पूर्णाङ्कको पढाइ हुने । कक्षा ८ हुने व्यवसाय शिक्षाबाट कक्षा ९मा लेखा लिने कि सचिवालय विज्ञान लिने भन्ने छनोट गर्न विद्यार्थीलाई दिइने रहेछ । अंग्रेजी सर खेमराज सेढाईँले लेखा पढाउनु भएको रहेछ जबकि उहाँको विषयचाहिँ सचिवालय विज्ञान नै थियो र पनि । सचिवालय विज्ञान भनेको अङ्ग्रेजी टाइपिङ, नेपाली टाइपिङ र साङ्केतिक भाषा अर्थात् सर्टह्यान्ड नेपाली र अङ्ग्रेजीको पढाइ हुन्थ्यो । खेमराज सेढाईँ दाइ सरुवा भएर चण्डी मावि ललितपुर जानु भएछ र मलाई खबर गर्नुभयो लेबोरेटरी स्कुलमा खालि छ भनेर ।

अब फेरि मलाई सरुवा हुने कुराले सतायो । कसरी हुने , कसले भन्देला त्यस्तो ठुलो बोर्डिङ अनि ठुलो स्कुलमा ? कार्यालयमा विवाद गरेर नियुक्ति लिएको मान्छेले फेरि सरुवा हुने भने पछि कसरी सम्भव होला ? तै पनि २०३५ साल फागुन २० गते गएर एउटा निवेदन दिएँ किनभने शैक्षिक सत्र भर्खर सुरु भएको थियो र बेलैमा नभने पछि नहोला भनेर निवेदन दिएको हुँ । विश्वासचाहिँ थिएन र पनि कोसिस किन नगर्ने भन्ने लाग्यो ।

फागुनदेखि बिस्तारै शिक्षकहरू पनि सङ्गठित हुने चलनको कुरा सुरु भयो र झौँछेँको बाल सेवा माविमा जम्मा भएर आगामी दिनमा कसरी शिक्षकहरू एकजुट हुने भन्ने कुरामा व्यापक छलफल सुरु हुन थालेको थियो । कृष्णभक्त मानन्धर सरले त्यसको संयोजन गर्दै हुनुहुन्थ्यो र ज्ञानेन्द्रमान नेवाले मानिसहरू जम्मा गर्ने काम गराउनु हुन्थ्यो । मलाई के सम्झना छ भने एक जना अष्टलक्ष्मी शाक्य भन्ने  गुरुआमा पनि त्यो बेलामा बैठकहरूमा कहिलेकाहीँ आउनु हुन्थ्यो । हेटौँडाबाट बद्रीप्रसाद खतिवडा पनि आउनु भएको थियो । शिक्षकहरू सङ्गठित हुने कुरामा त्यो बेलामा काँग्रेसको भन्दा तत्कालीन भूमिगत नेकपा मालेको बढी नै जागरूकता देखिन्थ्यो तर भन्न त पेसागत सङ्गठन चाहियो भन्ने थियो । 

त्यो बेलामा शिक्षक स्थायी त हुने चलन त थियो जिल्ला शिक्षा आयोगमार्फत, जिल्ला शिक्षा समितिको मातहतमा तर न त सञ्चय कोषको व्यवस्था थियो, न त उपदानको व्यवस्था, न त निवृत्तिभरणको व्यवस्था, जसलाई सबैले बुझ्ने सहज भाषामा पेन्सन भनिन्छ । पेन्सन अङ्ग्रेजी शब्द भए पनि नेपाली जनजिब्रोमा झुन्डिएको छ । बिरामी बिदाको पैसा दिइन्थ्यो सञ्चित छ भने ।

माध्यमिक विद्यालयको प्रधानाध्यापकलाई उप सचिव सरहको सुविधा थियो र माध्यमिक शिक्षकलाई शाखा प्रमुख सरहको तलब सुविधा थियो । प्राथमिक तहको शिक्षकको तलबमान खरदार सरह , निम्न माध्यमिक विद्यालयका शिक्षकको सुब्बा सरह तलबमान थियो । तर प्रत्येक वर्ष शिक्षकको तलबका लागि विवाद नै हुँदो रहेछ । अनि विद्यालयका शिक्षकहरूको आवश्यकताका लागि सङ्गठित हुने जरुरत परेको रहेछ ।

मालेले गरे पनि त्यो राम्रो प्रयास त थियो तर त्यहाँ नेतृत्वमा सकेसम्म अरूलाई ढिम्कन नदिने पनि गरियो जसले गर्दा प्रजातन्त्रवादी शिक्षकहरूले मिलेर बस्दा पनि मिलेर बस्न गाह्रो परेको थियो । जे होस् , शिक्षकहरू एकताबद्ध हुनका लागि जुरमुराएको बेलामा विद्यार्थी आन्दोलनले तीव्रता पायो । सँगै शिक्षक आन्दोलनले पनि गति लिन थाल्यो ।

जनमत सङ्ग्रहको घोषणा हुनुभन्दा पहिले नै नेपाल राष्ट्रिय शिक्षक संगठनको ब्यानरमा सङ्गठित हुन थालिएको थियो । बुझिन्थ्यो , तत्कालीन भूमिगत मालेको सतहका काम गर्ने संगठनको रुपमा नेराशिसं थियो होला तर हामीजस्ताले त्यसलाई समावेशी बनाउन बाध्य पारेका थियौँ । त्यही क्रममा संगठनको व्यापकता हुन थाल्दै मैले पनि गणवालमा गएर सरुवा हुने कुराको थालनी गर्न थालेँ । 

एक दिन म पुग्दा एक जना सुट टाई लगाएको मानिस रसियन जिपमा चढेर जान लाग्नु भएको थियो जिल्ला शिक्षा कार्यालयको परिसरबाट र उहाँ भन्दै हुनुहुन्थ्यो कार्यालयका सहायक अधिकारीलाई- मलाई लेखाको शिक्षक छिटै चाहियो । जसरी हुन्छ चाँडै चाहियो है । पछि थाहा पाएँ उहाँ लेबोरेटरी स्कुलमा प्रधानाध्यापक भरतकुमार प्रधान हुनुहुँदो रहेछ ।

मलाई देख्ने बित्तिकै सहायक अधिकारीले भन्नुभयो-एक छिन अघि आउनु भएको भए भरत सरसँग भेट हुन्थ्यो । जसरी पनि एक हप्ताभित्र एउटा लेखाको शिक्षक चाहियो भनेर भन्नु भएको छ । अनि मैले सहायक अधिकारीजीलाई भनेँ- अनि मलाई दिनुस् त सरुवाको चिठी । उहाँले भन्नुभयो-—अनि तपाईँको विद्यालयमा कसलाई पठाउने त ? कोही मानिस खोज्नुस् साँखु जाने अनि तपाईँले सरुवाको चिठी पाउनु हुनेछ ।

अचानक यस्तो कुरा आउँदा एकातिर खुसी लाग्यो अर्कोतिर कसलाई पठाउने भनेर समस्या देखियो । यो कुरा वैशाख लागेपछिको थियो। गणवहालबाट चिया खान धरहरातिर आउनु पर्दथ्याे । अनि म धरहरातिर चिया र खाजा खान आएँ । त्यो बेलामा साझाको बस टाढा जाँदा र आउँदा धरहरामा नै रोकिन्थ्यो । त्यसो हुनुमा सायद हुलाकको काम पनि साझाले जिम्मा लिएकाले बस गोस्वारा हुलाकमै ल्याएर रोक्ने रहेछ क्या रे !

सिराहा, उदयपुर, सप्तरीको हुलाकको सामान बोकेर साझाको बस त्यही दिउँसोको ४ बजेतिर सुनधारामा आइपुगेको रहेछ । मेरो साथी लक्ष्मीनारायण चौधरी पनि त्यो बसबाट ओर्लिएको मैले देखेँ । अनि मैले जिस्क्याएर सोधेँ - साथी माध्यमिक तहमा लेखा पढाउने हैन त ? ऊ आउँदै थियो, मैले झोला बोकेर आएको साथी देखेँ । त्यसै पनि भेट्नु त थियो तर मेरो अर्को पनि आशा जाग्यो, लक्ष्मीनारायण साँखु गए म कीर्तिपुर जान पाउने थिएँ । हामी तिमी र तँ नै भन्ने मिल्ने साथी थियौँ सानोठिमी क्याम्पसमा ।

ऊ सायद मभन्दा सिनियर क्लासमा थियो र पनि धेरै मिल्ने साथी थियो । उसले मलाई जिस्क्याएर भन्यो- होइन हरिसङ जागिर छ कि क्या हो ? अनि मैले भनेँ- लक्ष्मी साँच्चै विद्यालयमा जान्छौ भने भोलि नै म नियुक्ति दिलाउँछु । अनि हामी चिया खान एउटा होटेलमा पस्यौँ र निवेदन लेख्न थालेँ म । साँखु जान आफू तयार भएको बेहोराको चिठी लेखेर उसलाई हस्ताक्षर गर्न लगाएँ र भनेँ- प्रमाणपत्रहरू छन् त ? उसले सबै यही झोला छ भनेर भन्यो ।

त्यो बेलामा फोटोकपी होइन , जस्ताको तस्तै लेखेर आफूले प्रमाणित गर्ने र कुनै अधिकृतबाट सक्कल बमोजिम नक्कल ठिक छ भनेर प्रमाणित गरेर छाप लगाउने चलन थियो । हामी दुवै जना भएर आवश्यक कागजातहरूको सेतो कागजमा नक्कल उतार्‍यौँ । ऊ छक्क पर्दै थियो के गर्दै छ हरि भनेर । म जे भन्थेँ, ऊ गरिरहेको थियो खुरुखुरु । मैले म कहाँ जान लागेको पनि भनिन, मात्र साँखु जान आफू तयार भएको बेहोराको निवेदनसँगै नियुक्तिका लागि एक रुपैयाँको टिकट टाँसेर दर्ता गराउन पुगियो एक छिनमा ! 

भोलिपल्ट लक्ष्मीनारायण चौधरीका लागि नियुक्ति तयार गराएर मैले पनि सरुवाको पत्र लिन खोजेँ । तर पहिलेको दर्ता गरेको मेरो पत्र नै छैन । तत्कालै त्यही मितिमा पत्र लेखेर दर्ता नम्बर छँदै थियो दर्ता किताबमा, अनि जिल्ला शिक्षा अधिकारीले तोक लगाउनु भयो र मलाई सरुवा गर्न टिप्पणी उठाउन सहायक अधिकारीलाई भनियो ।

अनि अधिकारीजीले फोनमा भरत सरलाई भन्नुभए- अब चाँडै तपाईँको विद्यालयमा लेखा शिक्षक आउनु हुनेछ । लक्ष्मीलाई हाजिर गराउनका लागि मैले सरुवाको पत्र लैजानु पर्दथ्यो अनि रमाना लिनुपर्थ्यो अनि मात्र उसलाई हाजिरी गराउने रहेछन् । प्रधानाध्यापकजी विद्यालय एकदम कम जाने । यसमा उहाँको तोक चाहियो भने पछि पहिलो पटक म प्रधानाध्यापकजीको घरमा थःहिती पुगेँ । मेरो रमानाका लागि अनि लक्ष्मीको हाजिरीका लागि ।

पूर्णमान शाक्य सरले केही नभनी लक्ष्मीको नियुक्तिमा हाजिरी गराउने भनेर लेख्नुभयो अनि मलाई हातैले लेखेर रमाना दिनुभयो । यसो गर्नका लागि करिब ३या ४ दिन लाग्यो । अन्ततः २०३६ साल वैशाख ११ गते म लेबोरेटरी व्यावसायिक माध्यमिक विद्यालय, कीर्तिपुरमा हाजिर भएँ । म विद्यालयमा पुग्दा सहायक प्रधानाध्यापक शारदा प्रधानाङ्गले ठुलो स्वरमा खुसी हुँदै भन्नुभयो- फाइनल्ली एकाउन्ट टिचर आउनु भयो । 

आजदेखि कक्षा ९ र १०को लेखा क्लास हुनेछ । किनभने हल्ला भएको रहेछ एक जना साँखुबाट सरुवा भएर आउँदै छ तर खोइ शिक्षक त आउँदैन । भरत सरले जिल्ला शिक्षा कार्यालयमा फोन गर्नु भएछ अनि सहायक जिल्ला शिक्षा अधिकारीले अधिकारी थरको शिक्षक आएका छन् भनेका रहेछन् । 

एकातिर विद्यार्थी आन्दोलन चर्किरहेको थियो, काठमाडौँका सडकहरूमा प्रहरीहरूको व्यापक उपस्थिति हुन थालेको थियो, विद्यार्थीहरूको आन्दोलन व्यापक हुने तरखरमा थियो । हामी शिक्षकहरू पनि एकत्रित हुँदै थियौँ । हामी पनि भूमिगत सङ्गठन गरेका नै थियौँ तर नेपाल विद्यार्थी सङ्घको भूमिगत सङ्गठन खुलारुपमा नै हुन्थ्यो । नाम जे हो, त्यही नै हुन्थ्यो । जहाँ अधिवेशन गर्ने भनेको त्यहीँ नै हुन्थ्यो तर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको आन्दोलनको भेउ पाउन गाह्रो थियो ।

त्यस्तै थियो नेपाल राष्ट्रिय शिक्षक संगठनको पनि अवस्था । हामी भन्नाले हरिहर रिसालको निर्देशनमा म, पद्मराज भुसाल, विष्णु अधिकारी, रामबहादुर रोकाया जस्ता त्यो बेलाका युवाहरूले सङ्गठनमा प्रजातन्त्रवादीहरूको सङ्गठित स्वरूपलाई सक्रियरुपमा अघि बढाएका थियौँ । यसबारेमा बीपी, किसानजीसँगको समन्वय हरिहर रिसालले गर्नु भएको थियो ।

हरिहर रिसाल भनेको नेपाली काँग्रेसको पुरानो नेता पनि हुनुहुन्थ्यो, २००८ सालमा खुलेको नेपाली शिक्षकहरूको सङ्गठनमा काम गर्नु भएको रहेछ । हाम्रो यो क्रममा पछि रुद्रप्रसाद सापकोटा पनि जोडिनु भयो । काठमाडौँमा तर प्रजातन्त्रवादीहरूको राम्रो पकड थिएन शिक्षकहरूमा र पनि हामीले सङ्गठनसँगै मिलेर काम गर्न थाल्यौँ । 

हामीले बुझेका थियौँ हाम्रो शिक्षक सङ्गठनमा तत्कालीन भूमिगत मालेको वर्चस्व थियो, वर्चस्व मात्र होइन, उनीहरूकै दिमागको उपज पनि थियो तर हामी पनि पेसागतरुपमा एकताबद्ध थियौँ । चितवनका नेता देवेन्द्रप्रसाद उपाध्याय, स्याङ्जाका नेता शंकरप्रसाद पाण्डे, सिन्धुलीका नेता केशवप्रसाद भट्टराई, विराटनगरका नेता राजेन्द्र विरही, नेपालगन्जका नेता युवराज शर्मा, भक्तपुरका नेता विक्रम कायस्थ, धादिङका नेता बद्रीप्रसाद दाहाल, रामनाथ अधिकारी यस्तै गरी नेपाली काङ्ग्रेसप्रति प्रतिवद्धहरुको खुकुलो साङ्गठनिक सम्बन्धले हामी पनि बिस्तारै आफ्ना बारेमा जानकारी राख्न थाल्यौँ । 

शिक्षकहरूको समाज परिवर्तनप्रतिको गहनतम जिम्मेवारी र राज्यले देखाएको हेलचेक्रयाईँविरुद्धको हाम्रो त्यो बेलाको सङ्घर्ष आज पनि अर्कै आयाममा कायम छ । क्रमशः