आत्महत्या प्रयास रोक्नको लागि परिवारले खेल्नुपर्ने भूमिका

आत्महत्या प्रयास रोक्नको लागि परिवारले खेल्नुपर्ने भूमिका

प्रा.डा.सुदर्शन नरसिंह प्रधान  |  जीवनशैली  |  चैत्र १८, २०७५

आफैलाई मार्ने प्रयास गर्नु नै आत्महत्या प्रयास हो । किन मान्छेले आत्महत्याको प्रयास गर्छ ? आम मानिसलाई प्रश्न गर्दा यसको जवाफ एउटै पाइँदैन । यो स्वभाविक पनि हो । किनकि घटना र परिवेश अनुसार आत्महत्याको प्रयासका कारण फरक फरक हुन्छन् । तर, यसको उत्तर सधैं कौतुहलता बनिरहन्छ । 
 
आत्महत्याका कारण  

विभिन्न अनुसन्धानले ‘मानसिक रोग’ लागेको मानिसले सबैभन्दा बढी आत्महत्याको प्रयास गरेको पाइएकोे देखाएको छ । तीमध्ये सबैभन्दा बढी आत्महत्याको प्रयास गर्नेमा उदासिनतासम्बन्धी मानसिक रोग लागेका बिरामी छन् । यस्ता बिरामी झोक्राएर बस्ने, मित्याभास भएर जीवनमा केही गर्न नसकेको भनी सोचमग्न हुने, बिग्रेको कामको दोष आफैलाई दिने गर्छन् । ती बिरामी बाँच्नुभन्दा मर्नु नै राम्रो ठान्छन् र आवेशमा आएर आत्महत्या गर्छन् । 

यस्ता बिरामीले योजना बनाएर आत्महत्या गर्दैनन्, अचानक नै गर्छन् । यी बिरामी आत्महत्या कसरी गर्ने भन्नेबारे पनि खासै सुझबुझ राख्दैनन् । 

यस्ता बिरामीलाई प्रोत्साहन र उसले गरेका उपलब्धीबारे स्मरण गराउन सके यस्तो दुर्घटनाबाट बचाउन सकिन्छ । 

विभिन्न अनुसन्धानले ‘मानसिक रोग’ लागेको मानिसले सबैभन्दा बढी आत्महत्याको प्रयास गरेको पाइएकोे देखाएको छ । तीमध्ये सबैभन्दा बढी आत्महत्याको प्रयास गर्नेमा उदासिनतासम्बन्धी मानसिक रोग लागेका बिरामी छन् । यस्ता बिरामी झोक्राएर बस्ने, मित्याभास भएर जीवनमा केही गर्न नसकेको भनी सोचमग्न हुने, बिग्रेको कामको दोष आफैलाई दिने गर्छन् । ती बिरामी बाँच्नुभन्दा मर्नु नै राम्रो ठान्छन् र आवेशमा आएर आत्महत्या गर्छन् । 

आत्महत्या प्रयासको दोस्रो प्रमुख कारण हो, एडजस्टमेन्ट डिसअर्डर (Adjustment Disorder) । घरमा तनावग्रस्त वातावरण भएको अवस्थामा मानिसले आत्महत्याको प्रयास गर्ने सम्भावना हुन्छ, जस्तै: श्रीमान र श्रीमतीबीच सधैं झगडा भइरहनु र सासूसँग सधैं खटपट भइरहनु । 

आत्महत्या प्रयास गर्नुको तेस्रो प्रमुख कारण हो, स्किजोफ्रेनिया । यो कडा खालको मानसिक रोग हो । स्किजोफ्रेनियाका बिरामीलाई एक प्रकारको मिथ्याभास भइरहने हुन्छ । यस्ता बिरामीको कानमा ‘तँ गएर ५ तलाबाट हामफाल’, ‘झुन्डिएर मर’लगायतका आवाज गुञ्जिरहन्छ । र, बिरामीले आवाज पछ्याउँदै आत्महत्याको प्रयास गर्छन् । हालसम्मको अध्ययनले यस्ता बिरामीमध्ये १० प्रतिशतले आत्महत्या गरेका छन् भने ५० प्रतिशतले आत्महत्याको प्रयास गरेका छन् । 

आत्महत्या प्रयास गर्नुका अन्य कारण हुन्–रक्सी र लागूऔषधको दुव्र्यसन । रक्सीको अत्याधिक सेवन गर्ने तथा लागूऔषधको दुव्र्यसनमा फसेकाले पनि आत्महत्या प्रयास अत्याधिक गरेको देखिएको छ । 

यस्तै, आत्महत्या प्रयासमा रुपान्तरण हुने अन्य विभिन्न कारण छन् । 

भावनामा बगेर काम गर्ने प्रतिक्रियात्मक घटनाबाट प्रभावित भएर भावावेसमा मानिसले आत्महत्या प्रयास गरेको हुनसक्छ, जस्तै: बाबुआमाले गाली गर्नेबित्तिकै गरिने प्रयास, श्रीमान र श्रीमतीको झगडा हुनु, परीक्षामा असफल हुनु, प्रेमीप्रेमिकाले धोका दिनु, समयमा भने जस्तो जागिर नपाउनु आदि । 

आत्महत्याका तरिका 

नेपालमा आत्महत्या प्रयास गर्नेले सबैभन्दा बढी विष सेवन गरेको देखिएको छ । यसमा पनि मुसा मार्ने तथा कीटनाशक औषधी (जो सजिलै प्राप्त गर्न सकिन्छ) बढी प्रयोग भएको पाइएको छ । यसको कारण हो– औषधी सस्तो र सहज रुपमा उपलब्ध हुनु । यस्तै, बिरामीले आत्महत्याको प्रयासका लागि निद्राको औषधी सेवन पनि गर्ने गरेको पाइन्छ । 

यस्तै, झुण्डिने, पोखरी तथा नदीमा फाल हाल्ने आदि तरिका पनि अपनाएको देखिन्छ । 

आत्महत्या प्रयास गर्नेले अरुलाई देखाउन अथवा अरुकोे ध्यान केन्द्रित गर्ने तरिका पनि अपनाउने गरेको पाइन्छ, जस्तै: ब्लेडले नाडीमा काट्ने, ५–६ वटा सिटामोलको ट्याब्लेट एकैचोटी खाने, एक बोतल पूरै रक्सी पिउने, टाउको भित्तामा ठोक्ने आदि ।  

प्रायःजसो यी तरिका जसलाई देखाउन खोजिएको हो, उसैको अगाडि या वरपर गर्ने गरिन्छ । जसले गर्दा आत्महत्या प्रयास गर्नेको तुरुन्तै ज्यान बचाउन सक्ने सम्भावना रहन्छ ।
रोकथामको प्रयास

धेरैजसोले आत्महत्या गर्दैछु भनी कुनै न कुनै माध्यमद्वारा प्रकट गर्छन् । कसैले साथीभाइसँग त कसैले डक्टरसँग, कसैले कागजमा लेखेर आत्महत्या गर्ने जानकारी दिने गरेको पाइएको छ । 
समयमा नै मनोरोग विशेषज्ञकहाँ लगी उपचार गराएको खण्डमा यी व्यक्तिलाई आत्महत्या गर्नबाट रोक्न सकिन्छ । 

यस्तै, किटनाशक औषधीको बेचबिखनमा पनि कडाइ गर्न आवश्यक देखिन्छ । 

कतिपयले निद्राको धेरै ट्याब्लेट सेवन गरेर आत्महत्या प्रयास गरेको देखिन्छ । त्यसकारण चिकित्सकलाई लामो समयका लागि निद्राको औषधी प्रेस्क्रिप्सनमा बन्देज लगाउनुपर्छ । 
आत्महत्याको प्रयास गरिने अर्को कारण बेरोजगारी पनि हो । त्यसकारण यसको समाधानका लागि सरकारले कदम चाल्नुपर्ने देखिन्छ । 

यदि परिवारको सदस्य झोक्राएर बस्छ, बिग्रेको हरेक कामको दोष आफूलाई लगाउँछ वा मिथ्याभास भएर जिन्दगीमा बाँचेर पनि केही गर्न सकिनँ भन्ने अभिव्यक्ति दिन्छ भने तुरुन्तै उपचार गर्न लैजानुपर्छ । अनि मात्रै आत्महत्या प्रयास रोक्न सकिन्छ ।