जनता भर्सेस ओली सरकार : ‘राष्ट्रवादको भ्रम सिर्जना नगर्न’चेतावनी !
कार्तिक ९, २०७७

प्रधानमन्त्रीका कारण अहिले देशको राष्ट्रिय सुरक्षा खतरामा परेको भनेर नेपाली काङ्ग्रेसका नेता गगन थापाले आरोप लगाएका छन् । राष्ट्रको स्वाधीनतामा खेलवाड गर्दै कुटनीतिक मर्यादा विपरीत प्रधानमन्त्री केपि शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालिसिस विङ्ग (RAW) का प्रमुख सामन्त गोयलसँग गरेको भेटघाटलाई लिएर सिङ्गो देश नै यतिखेर तातेको छ । सत्तारुढ दल भित्रै र विपक्षी राजनीतिक दलहरुबाट समेत खूबै आलोचना भइरहेको छ, ‘राष्ट्रिय सुरक्षामा खतरा’ भनेर सचेत पनि गराइएको छ भने सञ्चारकर्मीहरुबाट समेत तिखा टिप्पणी भइरहेको पाइन्छ । तर प्रधानमन्त्री पक्षधरहरुबाट भने हदैसम्म उदाङ्गिएर ‘प्रधानमन्त्रीको घातक कार्य’लाई राष्ट्रको मर्यादा र राष्ट्रको सर्वोत्तम हितको पक्षमा भएको ‘भेटघाट’का रुपमा स्थापित गर्न प्रचारप्रसारमा आफ्नो शक्ति खर्च भइरहेको छ । 

यो भेटघाट त्यही समयमा भएको छ, जुन समयमा भारतीय सेनाध्यक्षलाई राष्ट्रको मानार्थ ‘महारथी’को उपाधि किस्तीमा राखेर टक्र्याइदै छ । नेपाली सेनाले विज्ञप्ति नै प्रकाशन गरेर यो खबरलाई पुष्टि गरी सकेको छ । नेपाली सेनाको महारथीको मान सम्मान पाउने यी भारतीय सेनाध्यक्ष तिनै हुन् जसले लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको नेपालको नक्सा जारी गर्दा कालापानी, लिम्पियाधुरा लगायतको भूभाग नेपाली नभई भारतीय भूभाग हो भनेर भारतीय सञ्चारमाध्यमहरुबाट नै सार्वजनिक वक्तव्य दिएका थिए ।

छिमेकको नियत
सिंहदरबारका कुर्सीमा विराजमान हुन पुगेकाहरुले देश देशसँगको सम्बन्ध सुदृढ पारेको, अझ नयाँ उचाईमा पुर्‍याएको भनेर जतिसुकै फलाके पनि जनताले पत्याइ हालेको अवस्था छैन । अझ भारतसँगको सम्बन्धको दृश्य त झन् ठीक विपरीत छ । सिंहदरवार भित्र बस्नेहरु सह–सम्बन्धको कुरा गर्छन्, भारतीयहरु ‘जेठो दाजु र छोटा भैया’को संज्ञा दिएर थाक्तैनन् । नीति वाक्यले भने जस्तै प्रकटमा चिप्ला कुरा र व्यवहारमा मुटुमा नै छुरा रोप्ने चरित्र भएको भारतले नेपाल र नेपाली जनताप्रति गरेका असह्य व्यवहारको दृष्टान्त दिइसाध्य छैन । 

ऐतिहासिक एवम् प्रतिनिधि राजनीतिक घटनाक्रम र तिनसँग भारतीय संलग्नताको जगमा रहेर आँकलन गर्ने हो भने यस्तो छिमेकीले भावी दिनमा के गर्ला के नगर्ला ? केही समय यता विकसित घटनाहरु जस्तो कि मधेशवादी दल एकिकृत हुनु, बाबुराम भट्टराई पार्टी अध्यक्ष बन्नु, भारतीय गुप्तचर प्रमुख आउनु र सोझै नेपाली जनताको पहुँच बाहिर रहेका प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेटेर दुई घण्टा वार्ता गर्नु, वार्तामा के भयो कसैलाई थाहा नहुनु, हुँदाहुँदा नेपाली जनताको राष्ट्रियता मर्दन गर्ने भारतीय सेनाध्यक्षलाई बोलाएर नेपाली सेनाको महारथी बनाएर नेपाली जनताको शासकीय प्रतिक बनाउने कार्य तालिकाले कुनै न कुनै अनिष्ट सङ्केत गर्छन् ।

इतिहास साक्षी छ, २००७ सालमा राजा त्रिभुवनसँगै राजनीतिक सल्लाहकार एवम् सचिवका रुपमा आएका गोविन्द नारायणलाई दरवारको निवासबाट लैनचौर निवासमा सारेपछिका भारतीय हस्तक्षेपकारी प्रयासहरु सबैलाई ज्ञात नै छ । तत्कालीन राजा महेन्द्र र प्रखर राजनीतिक नेता विपि कोइरालाबीच फाटो पार्ने, २०१७ सालको राजा महेन्द्रको कदमलाई समर्थन गर्ने, राजमार्गहरु निर्माण आयोजनाहरुको कार्यान्वयनलाई निरुत्साहित गर्न प्रयास गर्ने, नेपालको शान्तिक्षेत्र घोषित गरियोस् भन्ने प्रस्तावको विपक्षमा लविइङ्ग गर्ने, नेपालको प्रजातान्त्रिक आन्दोलनलाई समर्थन दिएको भन्ने नाममा प्राकृतिक स्रोत, सुरक्षा, परराष्ट्र नीति आदि हत्याउन प्रयास गर्ने लगायतका भारतीय नियत आम नेपालीले थाहा पाएकै विषय हुन् । 

सुदृढ राष्ट्रियता, नेपालीहरुको एकता आदिका कारण आफ्नो स्वार्थ सिद्ध नहुने ठानेर अहिले नेपालीहरुको एकता तोड्न जातीय पहिचानको नाममा बाहुन–क्षत्री, आदिवासी–जनजाति, दलित, मधेशी आदि वर्गमा नेपाली जनतालाई विभाजित गर्ने काममा सफलता हासिल गरेको छ । यहाँसम्म कि २०७२ सालमा नेपाली जनताद्वारा निर्वाचित संविधानसभाद्वारा जारी भएको ‘नेपालको संविधान, २०७२’ ले गरेका व्यवस्थाहरु ‘मधेशी जनता’को हक विपरीत भएको भन्दै भारतीयहरुले खुलेरै नाकाबन्दी गरेर नेपालको तराईका रैथाने जनताको ठाउँमा भारतबाट प्रवेश गरेर नेपाली नागरिकताको प्रमाणपत्र खरिद गर्नेहरुलाई रैथानेकरण गर्न खेलिएका खेलहरु नेपाली मानसपटलमा ताजै छन् ।

सन्धि, सम्झौता, इतिहास, लिखत–नक्सा लगायतका प्रमाणले नेपाली भूमि प्रमाणित भएको लिम्पियाधुरा, कालापानी क्षेत्रमा अनाधिकृत रुपमा अतिक्रमण गर्ने भारत अहिले सबैभन्दा बढी शत्रुतापूर्ण व्यवहार गरिरहेको छ । १ हजार ७ सय किलोमिटर सिमाना जोडिएको भारतले ७२ भन्दा बढी ठाउँमा सीमा अतिक्रमण गरेको छ । अन्तर्राष्ट्रिय कानून विपरीत सिमानामा बाँध र तटबन्ध बनाएर नेपाली भूमि डुवानमा पारेको छ । सीमास्तम्भ रातारात सार्ने गरेको छ ।

अहिलेको परिवेश 

एक प्रकारले भन्ने हो भने अहिले नेपाल स्वाधीनताको अदृश्य लडाईमा होमिएको छ । एकातिर विभिन्न हथकण्डा अपनाएर नेपालमाथि नियन्त्रण गर्न खोजिरहेको र शक्ति सम्पन्न हुने  अकंक्षा बोकेको भारत, अर्कोतिर  बढ्दो चिनियाँ शक्तिलाई अवरोध गर्न  नेपाललाई प्रयोग गर्न चाहने पश्चिमा विकसित र शक्तिशाली मुलुकहरुको चेपुवामा परेको छ, नेपालको राजनीति ।  विभिन्न  शक्तिहरुको स्वार्थ एवम् सम्बन्धलाई  सन्तुलन गर्न नेपाल पसेको चिनियाँहरु उपस्थिति र अक्षम कुटनीतिले त्यसलाई ‘ब्याटलफिल्ड’  बनाएको  छ यही चेपुवामा परेर नेपालको करिब साढे दुई सय वर्षको इतिहास बोकेको राजतन्त्र धराशायी हुन पुग्यो । र अहिले राजनीतिक वृत्त एक प्रकारले मानसिक दासत्वको अभ्यास गरिरहेको छ ।

कताकति गगन थापा जस्ता एकाध राजनीतिकर्मी राष्ट्रियता भड्खालोमा जान थालेकोमा चिन्तित देखा पर्छन् । आम सञ्चारका माध्यम वा सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिहरुको निचोडका रुपमा राजनीतिक वृत्त बाहिर रहेका बौद्धिकहरु आ–आफ्नो ठाउँबाट राष्ट्रियता र राष्ट्रिय स्वार्थको पक्षमा कहाँ के भयो ? कहाँ के चूक हुन पुग्यो ? सो खबरदारी गर्दैछन् । तर सुन्नु पर्ने सरकार र सरकारका अनुयायीहरु भने पराईकै बोली र स्वार्थ थोपरेर सडकबाट सल्लाह दिने, खबरदारी गर्नेहरुलाई ‘खोक्रो राष्ट्रवादी भएको वा राष्ट्रवादको भ्रम सिर्जना नगर्न’ चेतावनी दिन सम्पूर्ण साधन र स्रोत खर्च गरिरहेका छन् ।

अर्को कुरा यहाँ रातारात बन्ने र भत्कने खेल भएका छन् । केही समय पहिले सरकारले एउटा अध्यादेश ल्यायो, दल परिवर्तन सम्बन्धी । खुबै चर्चा र परिचर्चा भए पक्ष विपक्षमा । दुई रात अस्तित्वमा रहेर खारेज भयो । तर त्यसले सबैले महत्वहिन भने पनि दूरगामी प्रभाव सिर्जना गर्न सक्ने अदृश्य काम गरेर गयो । त्यो के भने त्यही अध्यादेशका कारण नेपालको तराईको नगण्य क्षेत्रमा मात्र अस्तित्वमा रहेको राष्ट्रिय जनता पार्टी नाम गरेको मधेशवादी क्षेत्रीय राजनीतिक दललाई एकाएक संघीय समाजवादी दल नामको पहिचानवादी दलसँग एकाकार गरायो र नाम जुरायो जनता समाजवादी पार्टी । जसले गर्दा क्षेत्रीय पार्टी समेत देशव्यापी सङ्गठन भएको राष्ट्रिय पार्टीमा रुपान्तरण भयो । जसको लगाम यही बेला मधेशवादी दलका बडे बडे नामधारी दिग्गज नेताहरुलाई पञ्छाएर बाबुराम भट्टराईको हातमा आइपुगेको छ ।

अब के त ?

यी सबै समस्यालाई यथोचित प्रयासद्वारा समाधान गर्नुपर्ने नेपाल सरकारको रवैया भने भारतप्रति नै ‘त्वम् शरणम्’को छ । सबैलाई थाहा छ, लुकाउन जरुरी छैन, माओवादीलाई हिँसा मच्चाउन उक्साउने, हातहतियार दिएर सहयोग गर्ने पनि भारत र माओवादी विरुद्ध लड्न नेपाली सुरक्षा फौजलाई चौथो पटक रिसाइकल गरिएका इन्सास राइफल सहयोग गर्ने पनि भारत । 

माथि उल्लेखित नेपालका ऐतिहासिक एवम् प्रतिनिधि राजनीतिक घटनाक्रम र तिनसँग भारतीय संलग्नताको जगमा रहेर आँकलन गर्ने हो भने यस्तो छिमेकीले भावी दिनमा के गर्ला के नगर्ला ? केही समय यता विकसित घटनाहरु जस्तो कि मधेशवादी दल एकिकृत हुनु, बाबुराम भट्टराई पार्टी अध्यक्ष बन्नु, भारतीय गुप्तचर प्रमुख आउनु र सोझै नेपाली जनताको पहुँच बाहिर रहेका प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेटेर दुई घण्टा वार्ता गर्नु, वार्तामा के भयो कसैलाई थाहा नहुनु, हुँदाहुँदा नेपाली जनताको राष्ट्रियता मर्दन गर्ने भारतीय सेनाध्यक्षलाई बोलाएर नेपाली सेनाको महारथी बनाएर नेपाली जनताको शासकीय प्रतिक बनाउने कार्य तालिकाले कुनै न कुनै अनिष्ट सङ्केत गर्छन् । जुन काकताली मात्र होइन । 

अहिले सम्मका सबै खाले शासकले जनतालाई अँध्यारोमा राखेर शासन सञ्चालन गर्दै आएका छन् । शासन सञ्चालनको काम बिर्तामा पाएको जस्तो गरेर राष्ट्र, राष्ट्रियता र जनताको आकाँक्षामाथि फाँडो खेलिरहेका छन् । होइन भने नेपाली भूमिलाई भारतीय भूमि हो भनेर सार्वजनिक अभिव्यक्ति दिने भारतीय सेनाको प्रमुखलाई कति कुन के अर्थमा नेपाली जनताको मान मर्दन गर्दै महारथीको मान सम्मान दिन लागिएको हो सो नेपाली सेनाले नभई सरकारले प्रष्ट पार्न जरुरी छ । अर्कोतर्फ जसको जौ खानु उसैको जुँगा मल्नु भन्ने उखान चरितार्थ गर्ने किसिमले जसको जमीन हड्पेको हो उसैको देशको महारथीको मानसम्मान लिन निर्लज्जतापूर्वक आउन कार्यतालिका बनाउनु एउटा प्रजातान्त्रिक मुलुकको महारथीलाई सुहाउने कुरा होइन । 

स्पष्ट छ, कसैलाई व्यक्तिगत रुपमा जोसुकैको दास हुन छुट छ । तर निर्वाचित भएको दम्भले राष्ट्रियता विपरीतका कार्य गर्ने छुट हुँदैन । दण्डनीय हुन्छ । सबैले आफ्नो जिम्मेवारी बमोजिम नै मर्यादित भएर कार्य सम्पादन गर्नु वेश हुन्छ । त्यसैले सत्तालिप्सावश विदेशीको भक्ति गायन गर्ने सत्तासीनहरु अब पाखा लाग्न जरुरी छ । नेपाली जनता आफ्नो राष्ट्रियताको पक्षमा सदा समर्पित छन् र रहनेछन् । अस्तु !!!