आमा
मंसिर १३, २०७७

 
(यो चित्र हेरेर मन रोएपछि सिर्जना गरिएको कथा)

१.  (बाबुको कथा)
'बाबा, अर्को हप्ता हामीलाई एक्सकर्सन लाने रे स्कुलबाट।' कक्षा आठमा पढ्ने छोरी तेजस्विनी खुसीले उफ्रिँदै भन्छे। 
'कहाँ लाने अरे त छोरी ?' मेरो स्वाभाविक प्रश्न तेर्सिन्छ।

'त्यो त भनेकै छैन। लैजाने दिन गन्तव्यमा पुऱ्याएर मात्र भन्ने रे। सरप्राइज एक्सकर्सन रे।' तेजस्विनी भन्छे। उसको अनुहार दीप्त छ। 
'कति दिने एक्सकर्सन हो तिमेरको, रातै बस्ने त हैन होला नि ?' मलाई अलिक सुर्ता लाग्छ, किशोरी छोरीलाई कतै नचिनेका ठाउँमा पठाउनुपऱ्यो भने। दिनका दिन छोरीचेलीहरूमाथि दुर्व्यवहार र अत्याचारका घटनाहरू भइरहन्छन्। मन कता कता डराउँछ। 

तेजस्विनी निडर छे, अन्यायको खुलेर विरोध गर्छे। सितिमिति डराउँदिन। तर मलाई कहिलेकाहीँ उसका तिनै गुणहरूले शत्रु उत्पन्न हुने हुन् कि भन्ने डर लाग्छ। छोरीलाई लिएर साह्रै असुरक्षित महसुस गर्छु। त्यसैले स्कूलले लाने यस्ता एक्सकर्सन खासै मन पर्दैनन्। तर स्कूलले हरेक वर्ष हरेक कक्षालाई एक्सकर्सनमा लैजान्छन्। सामाजिक अध्ययन विषय अन्तर्गतको यस्तो एक्सकर्सनले विद्यार्थीले धेरै कुरा सिक्छन् भनेको सुन्छु। होला पनि। स्कुलको कार्यक्रममा मैले हस्तक्षेप गर्ने पनि त हैन। आफूले मनभित्र जतिसुकै भय अनुभव गर तापनि, मैले तेजस्विनीलाई मैले कहिल्यै एक्सकर्सन नजा भनेको छैन। तेजस्विनी अनुहार पढ्न असाध्यै सिपालु छे त्यसैले मैले मेरा असन्तुष्टिहरू सबै मनमै राख्नुपर्छ। अनुहारमा अलिकति देखियो कि तेजस्विनीले चाल पाइहाल्छे। 

'हैन रे, एक दिने एक्सकर्सन हो। भ्यालिभित्रै कतै लाने रे। ठाउँ भनेका छैनन्।' तेजस्विनीको तेज झल्किन्छ  बोलीमा पनि। ऊ त्यसरी बाहिर जान पाउँदा असाध्यै रमाउँछे। नौला मानिसहरूसँग बोल्न, मित्रता गाँस्न र साइनो लगाउन तेजस्विनी कत्ति पनि धक मान्दिनँ। 

यो स्कुल पनि अचम्मको छ। एक्सकर्सनमा पनि केको सरप्राइज नि ! सबै जानकारी दिएर, अझ अभिभावकलाई पनि सहभागी बनाएर लानुपर्ने ठाउँमा, गन्तव्य नै लुकाएर राखेका छन्। म त्यत्तिकै रन्थनिन्छु। स्कुलको कार्यविधि देखेर दिक्क पनि लाग्छ। डर पनि लाग्छ।
....
बेलुकी सात बजे थाकेर लखतरान भै घरभित्र पस्छु। कार ग्यारेजमा हुल्ने पनि शक्ति नभएको जस्तो महसुस गर्छु तर कार बाहिरै छोड्न पनि त सकिन्न। जसोतसो कार हुलेर माथि उक्लन्छु, अफिस ब्याग एकातिरको सोफामा फ्यात्त सोफामा फाल्छु र डङ्‌रङ्ग पल्टिन्छु। हरेक दिनको मेरो घर प्रवेश यही हो। लखतरान भएर लिभिङ रूममा पस्ने र पल्टिने। 

तर आज भने तेजस्विनीले एक्सकर्सनको कुरा गरेपछि मलाई कताकता खल्लो लागिरहेको छ। स्कुलले एक्सकर्सन रद्द गरे पनि हुन्थ्यो झैं लागिरहेको छ। मनभित्र एक भिन्न किसिमको छटपटि, एक किसिमको भय, एक किसिमको लाचारीले सताइरहेको छ।  

सन्ध्या आइपुग्छिन् भान्साबाट चिया लिएर। म गलेको जीउ जसोतसो उठाउँछु, सन्ध्या मतिर हेर्दा पनि नहेरी टि-टेबलमा चिया राखेर फनक्क भान्सातिरै फर्किन्छिन्। उनको बानी यस्तो त थिएन। 

बेलुकी यसरी म आएर पल्टिएपछि सधैँ केही न केही कुरा गर्ने सन्ध्या आज किन चुपचाप फर्किइन् रु उनका उज्याला मुस्कुराइरहेका आँखा देख्ता मेरो थकाइ आधा त त्यसै सकिन्थ्यो। उनले बनाएको मसाला चिया खाएपछि मेरो बाँकी थकाई पनि मेटिन्थ्यो। म तरोताजा बन्थे। काम गर्ने जाँगर पनि पलाउँथ्यो। तर आज अचम्म भयो। सन्ध्याले मेरा आँखामा हेर्दा पनि हेरिनन्। थकाइको बोझले थिलथिल्याएको शरीर लिएर म नरमाइलो मान्दै चिया पिउँछु। चियामा हालेको मसालाको स्वाद पनि उनीसँगै भान्सा फर्किएझैँ लाग्छ। चिया नमिठो त लागेन तर सन्ध्याको मुस्कानले चियाको स्वाद मीठो लाग्दो रहेछ भन्ने कुरा अहिले थाहा पाउँदैछु। आजको सन्ध्याको मुखाकृतिले पक्कै राम्रो सङ्केत दिइरहेको छैन। 

'आमा !' बुढानीलकण्ठस्थित अग्रवाल वृद्धाश्रमको भुइँतलाको पाँचौ कोठाको ढोकामा पुगेर मैले आमालाई बोलाएँ। आमा सानो कोठाको खाटमा बसेर बाती कात्तै हुनुहुन्थ्यो। मैले बोलाएपछि पुलुक्क ढोकातिर हेर्नुभयो। मलाई देख्नेबित्तिकै आमाको अनुहार चम्कियो र खुसीका आँसुले आँखा रसाए। भित्र पसेँ, आमाले मलाई स्नेहयुक्त अँगालामा बेर्नुभयो र सोध्नुभयो, 'सञ्चै छस् ?' 

बेलुकी डिनर टेबलमा पनि साह्रै असहज शान्ति छायो । छोरी तेजस्विनीको उत्साह र तेज भने उस्तै थियो। सन्ध्याको मुड सपाट थियो। हाम्रो बोलचाल त भयो तर औपचारिक मात्र। अचार, तरकारी थप्ने वा नुन चर्को विषयमा मात्र हाम्रो वार्तालाप सीमित भयो। तेजस्विनीले हामीबीचको यो असहजताको मेसो पाइसकी होली। तर हतारहतार खाना खाइसकेपछि ऊ उठेर आफ्नो कोठामा गइहाली। हामी दुईले मौन व्रत लिएजस्तो चुपचाप खायौँ। 

सधैँभन्दा निकै ढिलो सन्ध्या शयनकक्षमा आइन्। उनको मुखाकृति त्यसरी नै ओइलिएको थियो। अन्ततः उनले मुख खोलिन्, 'आमालाई भेट्न कहिले जाने ? अझै कति टार्नुहुन्छ ? तेजस्विनी कराइरहन्छे हजुरआमा खै भनेर ? म कतिन्जेल ढाटौँ रु म त्यसरी असत्य सँगालेर बस्न सक्तिनँ।'

म चुपचाप सन्ध्याको कुरा सुनेर बस्छु। आखिर गल्ती मेरै थियो। सन्ध्याको सल्लाह मैले मानेको थिइनँ। सुरुमा रिसाए पनि पछि मनाउन सकिहालिन्छ जस्तो लागेको थियो। म आमालाई भेट्न नगएको पनि महिना दिनभन्दा बढी भैसकेको थियो। नभ्याएको पनि हैन, लागीपर्दा समय निकाल्न सकिन्थ्यो नै। आज जान्छु, भोलि जान्छु भन्दै म टारीरहेको थिएँ। त्यसैले आज सन्ध्याले ठूलै अस्त्र चलाएकी थिइन्। मैले भोलि जान्छुरपर्सि जान्छु भनेर ढाँटेर हुनेवाला थिएन। त्यसरी ढाँटेर समस्या समाधान पनि हुनेवाला थिएन। मनमनै भोलि जान्छु भनेर अठोट गरेँ। सन्ध्यासँग संवाद गर्नुको कुनै अर्थ थिएन किनकि जे भने पनि उनी पत्याउने थिइनन्। रात्रिकालीन मौनव्रत बस्ने निश्चित् भो। बडेमानको पलङमा सन्ध्या भित्तातिर फर्केर निदाइसकेकी थिइन्। म पनि अर्कोपट्टि पल्टिएँ र निदाउने कोसिस गर्न लागेँ।
.....
'आमा !' बुढानीलकण्ठस्थित अग्रवाल वृद्धाश्रमको भुइँतलाको पाँचौ कोठाको ढोकामा पुगेर मैले आमालाई बोलाएँ। आमा सानो कोठाको खाटमा बसेर बाती कात्तै हुनुहुन्थ्यो। मैले बोलाएपछि पुलुक्क ढोकातिर हेर्नुभयो। मलाई देख्नेबित्तिकै आमाको अनुहार चम्कियो र खुसीका आँसुले आँखा रसाए। भित्र पसेँ, आमाले मलाई स्नेहयुक्त अँगालामा बेर्नुभयो र सोध्नुभयो, 'सञ्चै छस् ?' 

मैले स्वीकृतिमा टाउको हल्लाएपछि सोध्नुभयो, 'तेजस्विनीलाई किन नल्याएको ?'

मैले के जबाफ दिनु भन्ने कुरा सोच्दै गर्दा अचानक मुखबाट निस्कियो, 'आमा ! आज उसको टेस्ट छ रे। त्यसैले आउन पाइन।'

आमाले 'ए !' मात्र भन्नुभयो। हेरेँ-उहाँको अनुहारमा पीडा भरिएको थियो। नातिनी भनेपछि हुरुक्कै हुने मेरी आमासँग मैले आज सफेद झुट बोलेको थिएँ। हुन त अघिल्ला भेटहरूमा पनि मैले आमासँग झुट नै बोल्दै आएको थिएँ, तर ती बेलामा तेजस्विनीको केही न केही कार्यक्रम हुन्थे नै। आमालाई ढाँटे पनि आफूलाई ढाँट्न सकिनँ। मनले आफैँलाई गाली गऱ्यो, 'छि लाछी, आमालाई ढाँटेर, छोरीलाई ढाँटेर खुब पुरुषार्थ गर्दोहोस् !  मनभित्र द्वन्द्व चल्यो। मेरो मनभित्र यस्तै विचार र कुविचारबिच द्वन्द्व चलिरहन्छ। मनले बारम्बार भनिरहन्छ, 'तैँले गलती गरिस्।' तर म मनको कुरा नसुनी बुद्धिले आफ्ना कामको पुष्टि गर्न खोज्छु। मनमाथि बुद्धि हावी हुन्छ। 

आमालाई साह्रै मन पर्ने फल मेवा किनेर लगेको थिएँ। दिएँ। अलिकति किसमिस पनि थियो त्यो पनि दिएँ। आमा पलेँटी कसेर बस्नुभएको थियो। आमाको काखमा हात राखेर उहाँको अनुहारमा हेरिरहेँ। छोरो देखेर आमाका आँखाबाट स्नेहका थोपा तप्पतप्प चुहिए मेरा हातमा। म भित्रभित्रै भत्किएँ। हीनताबोधले छ्वाप्पै छोप्यो। आमालाई हेरिरहन सकिनँ। काखमा घोप्टिएँ। मेरो भित्रको कुनै तन्तु पनि पग्लियो र आँखा हुँदै बग्न थाल्यो। ईश्वरसँग प्रार्थना गरेँ, जहिल्यै मेरो मन कै विजय होस्। तर काम गर्ने बेलामा जहिल्यै मेरो बुद्धिले अघि सर्थ्यो। यस्तो बुद्धि जुन चरम भौतिकवादी अर्थतन्त्रले ग्रसित थियो। यस्तो बुद्धि जसले मानव सम्बन्धलाई नाफा नोक्सानको तराजुमा जोख्ने गर्थ्यो।
...
अफिसमा कामको थाक भएकाले आज चाँडै घर जान सकिनँ। ढिलो घर पुगेँ र सधैँझैँ सोफामा डङरङ्ग पल्टिएँ। हिजो आमासँग भेट गरेर आएदेखि सन्ध्याको अनुहार केही मात्रामा भए पनि उज्यालिएको छ। हाम्रो बोलचाल फेरि सुरु भएको छ। तर खै किन हो मेरो मनले सन्ध्या खुसी छैनन् भन्ने सोचिरहन्छ। 

आफ्नो कोठामा बसेर पढिरहेकी तेजस्विनीले बैठक कोठामा आएर सगर्व सुनाई, 'बाबा, हाम्रो एक्सकर्सन पर्सिका लागि निश्चित भो। पर्सि बिहान ८ बजे नै स्कुल पुगिसक्नु पर्छ।'

अन्यमनस्क भावले भनेँ, 'ल राम्रो, राम्ररी जानू, सुरक्षित रहनू।'

छोरीको सुरक्षाको लागि म बड्तै चिन्तित छु। छोरी त बारम्बार भन्छे, 'मेरो सुर्ता गर्नै पर्दैन। समाज र परिस्थिति मैले पनि बुझेकी छु।' छोरीले जति भने पनि बाबुको मन कहाँ मान्दो रहेछ र ! सन्ध्या पनि त उत्तिकै चिन्तित रहन्छिन्। बारम्बार छोरीलाई सम्झाइरहन्छिन्। हाम्रा कुराले छोरी निकै पटक झर्किएकी  पनि छ। 

छोरीको एक्सकर्सनलाई लिएर म निकै चिन्तित छु। कहाँ लैजाने गन्तव्य पनि भनेका छैनन्। हुन त काठमाडौँ उपत्यकामा घुम्न जाने ठाउँ कति नै पो छन् र ! जावलाखेल लैजालान्, गोदावरी लैजालान्। दरबार स्क्वायर, चाँगुनारायण, साँगा, चन्द्रागिरी लैजालान्। मलाई लाग्छ गन्तव्य थाहा नभए पछि चिन्ता गरेर के नै पो नाप्नु छ र ? तर पनि मन विचलित त भै हाल्छ नि !
.....

२.  (छोरीको कथा) 
आज हाम्रो एजुकेसनल एक्सकर्सनको दिन। मलाई त्यसै पनि घुमघाम गर्न असाध्यै मन लाग्छ। नयाँ ठाउँ घुम्दा, नयाँ मानिसहरूसँग घुलमिल हुन पाउँदा मनमा असाध्यै ऊर्जा थपिन्छ। स्कुलको  पढाइ पनि धेरैभन्दा धेरै बाहिर नै होस् जस्तो लाग्छ। तर मैले सोच्दैमा वा चाहना गर्दैमा यी सम्भव हुने हैनन् क्यारे। सबै विषयको पढाइ बाहिरै हुन सक्दैन पनि होला। धन्न सामाजिक अध्ययन भने राम्रो विषय छ। यसै विषय अन्तर्गतको आजको एक्सकर्सन थियो–परोपकारी संस्थाको अध्ययन भ्रमण। विषय थाहा भए पनि ठाउँ अज्ञात नै राखिएको थियो। यसको कुनै कारण हुनसक्छ। मैले त सरलाई सोधेकी पनि थिएँ तर सरले 'कारण पछि बताउँला' भनेर टार्नु भएको थियो।

हामी सबै छात्रछात्रा बसमा आएर बसिसकेका थियौँ। तीस जनाको हाम्रो कक्षा एउटै बसमा खाँदिएको थियो। हामीसँग तीन जना शिक्षकहरू पनि हुनुहुन्थ्यो। सबै विद्यार्थी खुसी थिए । कक्षाको नियमित निरसताबाट उम्किन पाउँदा को खुसी नहोस् र ? चकचक गर्न साथीहरूसितै मेरो मन पनि उत्ताउलिइरहेको थियो, तर अनुशासनको कारबाहीमा परिएला भन्ने डरका कारण भित्रैदेखि उम्लिएर निस्केको ऊर्जा पनि त्यत्तिकै दबाउनु परेको थियो। केही छस्याकछुसुक गऱ्यो कि एक जना सर र दुई जना मिसहरूले आँखा तरिहाल्नुहुन्थ्यो। 

हाम्रो स्कुल बस महाराजगञ्जबाट बूढानीलकण्ठतिर लाग्दा पनि हामी कहाँ जाँदैछौँ भन्ने पत्तो भएन। हल्ला गर्दागर्दै र हेर्दाहेर्दै बस बूढानीलकण्ठ मन्दिरको छेउमा पुगिसकेको थियो। त्यहाँ पुगेर बस सिधै तेर्सियो र एउटा तीन तले भवनको गेट अगाडि गएर रोकियो। सर मिसहरूले हामीलाई निर्देशन दिँदै भन्नुभयो, 'आजको तिमीहरूको कक्षा एकदमै विशेष किसिमको हुनेछ। यो एउटा वृद्धाश्रम हो। यहाँ तिमीहरूले ज-जसलाई भेट्नेछौ वहाँहरूले जीवनका धेरै वर्षहरू सङ्घर्ष गरेर बिताउनु भएको छ। कोही यहाँ रहरले आउनु भएको होला, कोही करले। जसरी आएता पनि उहाँहरूको अहिलेको जीवन तिमीले अध्ययन गर्ने हो। उहाँहरूलाई दुःख हुने गरी प्रश्नहरू नगर्नु। सम्मान गर्नु  प्रेमपूर्ण व्यवहार गर्नू। यहाँ एउटा कोठामा एक जना बस्नुहुन्छ र कोठाहरूमा नम्बर तोकिएका छन्। आफ्नो रोल नम्बर जति हो, त्यही कोठमा जानु । दुई घण्टा पछि हामी बाहिरको खाली स्थानमा जम्मा हुन्छौँ। अब जाओ।'

बसबाट रोल नम्बर एकदेखि उत्रिँदै गए। रोल नम्बर पाँच मेरो थियो र मैले पाँचौ नम्बरको कोठामा जानु थियो। बसबाट उत्रिएँ र सरासर पाँचौ कोठातिर बढेँ। पहिलो तलामै थियो पाँच नम्बरको कोठा। ढोकामा पुगेँ। ढोका आधा खुला थियो। ढोकाभित्र हेर्दा एक जना वृद्धा सानो आकारको पलङमाथि बसेर झ्यालबाहिर हेर्दै बाती कातीरहनुभएको थियो। ढोका भएको विपरीत दिशामा झ्याल भएकाले मैले उहाँको अनुहार देख्न सकिनँ। बिस्तारै ढोका ढक्ढक्याएँ।
'भित्र आऊ !' एउटा साह्रै परिचित जस्तो स्वर उहाँको मुखबाट निस्कियो। फर्केर ढोकातिर हेर्नुभएको थिएन। म बिस्तारै भित्र पसेँ। पस्ने बित्तिकै देखेँ- दाहिनेतिर एउटा टेबुल थियो जसमा प्लास्टिकको टेबलक्लोथ ओछ्याइएको थियो। टेबलमाथि थर्मस फ्लास्क, पानीको जग र दुइटा गिलासहरू थिए। टेबुलकै एउटा कुनामा भानुभक्तको रामायण थियो। त्यसमाथि बङ्गाली कवि काशीदासीले लेख्नुभएको महाभारतको नेपाली अनुवाद थियो। ती किताब देखेर म झसङ्ग झस्किएँ। मनभित्र विचित्रको भाव उठ्यो। मुन्टो फर्काएर देब्रेतिर हेरेँ। एउटा काठको दराज थियो, भित्तामा टाँसिएको। दराजको उतापट्टि एउटा ठूलो ऐना र ऐनाको छेउमा ठूल्ठूला अक्षर भएको क्यालेन्डर। ऐनामा वृद्धाको धमिलो आकृति देखेँ, झन् झस्किएँ, हात गोडा काम्न थाले।

बडो मुस्किलले भने, 'नमस्कार !' उहाँ कात्तै गरेको बाती कागजमा राखेर हात जोड्दै मतिर फर्किनुभयो र भन्नुभयो, 'नम.... तेजू..... !!!' म विस्मृत भएँ। के बोल्ने, के गर्ने कुनै भेउ पाइनँ। केही क्षण असामान्य मनोदसामा बित्यो। देखेँ, मेरो सामुन्ने मेरी हजुरआमा हुनुहुन्थ्यो। उहाँले मलाई मायाले 'तेजू' भन्नुहुन्थ्यो। उहाँका आँखाबाट आँसुका धारा बग्न सुरु गरिसकेको थियो। मैले आफूलाई रोकिराख्न सकिनँ। हजुरआमाको अँगालामा बेरिएँ। पाँच मिनट बित्यो हामी रोइरह्यौँ, हजुरआमाले मेरो शिरमा हात राख्नुभयो, मेरो ढाड मुसारिरहनुभयो। म के गर्नु कसो गर्नु भैरहेकी थिएँ। कहिले विचार शून्य भएझैँ लाग्थ्यो र कहिले रिसको मुस्लो उठ्थ्यो। आफ्नी हजुरआमालाई म यहाँ, यस्तो स्थितिमा भेट्छु भनेर मैले सपनामा पनि सोचेकी थिइनँ। के मेरा बाआमा यति गएगुज्रेका भए ! वृद्धा आमालाई वृद्धाश्रममा ल्याएर छाडिदिए। मनभित्र नानाभाँति द्वन्द्व चलिरह्यो।

अँगालो फुकालेर हामी एकअर्कालाई हेर्न थाल्यौँ। बाहिर निस्केर बरन्डामा राखेको खाटमा बस्यौँ र आँसुले भरिएका आँखाले एक अर्कालाई हेरेको हेऱ्यै गऱ्यौँ। मेरो हिकहिक रोकिएको थिएन। हाम्रा मुख बोलेका थिएनन् तर हामीबीच असीमित प्रेम र स्नेह प्रवाहित भैरहेको थियो। शब्दोच्चारण जरुरी थिएन, हजुरआमाका र मेरा आँखाबाट बग्ने आँसुहरूले नै संवाद गरिरहेका थिए। हजुरआमा र नातिनीबिचको प्रेमको संवाद, स्नेहको संवाद !

थाहा भएन कतिबेर सम्म हामी यसरी बस्यौँ। थाहा भएन कति बेला बाहिर निस्कियौँ। थाहा भएन कतिबेला मेरा सम्पूर्ण साथीहरू हामी वरिपरि जम्मा भए। कतिबेला आश्रममा बस्ने अन्य हजुरआमाहरू पनि निस्किनुभयो। कतिबेला आश्रमका अधिकारीहरू पनि आए। केही थाहा भएन। जिन्दगीमा नसोचेको एउटा हलचल भएको थियो। मलाई त हजुरआमा धादिङ फुपूकहाँ जानुभएको छ भनिएको थियो। बुबाकी बडाबाकी छोरी हुनुहुन्थ्यो रे धादिङमा। मैले देखेकी चिनेकी थिइनँ। फुपू म सानै हुँदा काठमाडौँ आउनुभएको थियो रे !  

मैले हजुरआमालाई तीन महिनापछि भेटेकी थिएँ। तीन महिना म उहाँको स्नेहबाट वञ्चित थिएँ। अनि तीन महिनापछि हजुरआमालाई भेटेको खुसीलाई हजुरआमा भएको ठाउँ, परिवेश, वातावरण र उहाँको एक्लोपनले खर्लप्पै निलेको थियो। यो एउटा साह्रै विचित्र र कहिल्यै नसोचेको स्थिति थियो।

अग्रवाल वृद्धाश्रमबाट स्कुल फिरिरहँदा म बसको झ्याल पट्टिको सिटमा बसेकी थिएँ। भित्र ज्वालामुखी उम्लिएको थियो, र अलिअलि आँखाको बाटो झर्दै थियो। मेरो ध्यानमा साथीभाइ, सर र मिस तपसिलका कुरा भएका थिए। 
......
३. (घरको कथा)

प्रभात सधैँझैँ कार्यालयबाट लखतरान फर्किए। कार ग्यारेजमा थन्क्याएर बैठक कोठामा पसे। सोफामा लेदर ब्याग फ्याँकेर डङरङ्ग पल्टिए। निकै बेर पल्टिएपछि पनि सन्ध्या प्रभातसामु चिया बोकेर आइनन्। न सन्ध्याको मुस्कान आयो न चिया नै। थकाइको बोझले पिल्सिँदै गए प्रभात। सोच्न थाले, 'आज छोरीको एजुकेसनल एक्सकर्सन थियो, कता लगे कुन्नि ! यतिबेलासम्म त तेजस्विनी अघि नै आएर खुसीले नाचिसक्नुपर्ने हो, उफ्रेर मलाई अँगालो मारीसक्नु पर्ने हो। 

पहिले पहिलेका एक्सकर्सनमा ऊ त्यसै गर्थी। उल्लास र उत्साहले भरिएकी हुन्थी। आज के भयो, आमा छोरी कता हराए ....!'

कता खोजौँ भनी उठ्न लागेको थिएँ, सन्ध्या र तेजस्विनी पनि बैठक कोठामा आए। तेजस्विनीका आँखा सुन्निएका थिए। लाग्थ्यो दिनैभरि रोइमात्र रहेकी हो। आँखा र गाला चिसै थिए। प्रभातले सन्ध्याको अनुहार हेरे। सन्ध्याको अनुहार पनि छोरीकै जस्तो थियो।

प्रभातलाई औडाहा भयो। मन थाम्न सकेनन्, सोधे, 'के भो ? किन यसरी रोएको ?'

तेजस्विनीले हिक्कहिक्क गर्दै जबाफ दिई, 'हजुरआमालाई भेटेर आएँ .....'

प्रभात रन्थनिएर फेरि सोफामा पछारिए। परिस्थिति कसरी सहज बनाउने सूत्र उनले कतै पनि भेटिरहेका थिएनन्।