जुठो खाएर विद्वान हुने विश्वास : आधा दर्जन गुरुहरूको 'जुठो खाएर' पिताजीको आदेश मान्ने गुणको सञ्चित !
फर्कलान् र ती दिनहरू
मंसिर १३, २०७७

हाम्रो नेपाली समाज पनि अरु समाजझैँ तीव्र परिवर्तन हुन थालेको धेरै समय भयो । त्यो परिवर्तनको श्रेय पनि २००७ सालको जनक्रान्तिले नै लिएको छ जसले नेपाली नागरिकहरूमा समानताको चेतना प्रवाह गरेको थियो । तर त्यो भन्दा पनि पहिले विभिन्न कालखण्डमा समाजले नयाँ नयाँ बाटो तय गरेको पाइन्छ । 

कुनै पनि समाजको एउटा विशेषता के पाइन्छ भने प्रत्येक नयाँ पुस्ता पहिलेको आफ्नो अग्रज पुस्ताभन्दा आफूलाई प्रगतिशील देखाउँछ प्रयोगले जबकि सामाजिक गतिशीलताको सिद्धान्तमा भने खासै परिवर्तन नआएको हुनसक्छ । जस्तो नेपाली समाजको अन्तर्घुलनले देखाउँछ । नेपाली जाति जहाँ गए पनि आफ्नो परिचय नेपाली हुनुमा गर्व गर्छ तर उसले आफू प्रवासी भएको ठाउँको वातावरणलाई भने या त आफ्नो साँचोमा ढाल्छ, नभए उसैको साँचोमा ढालिएर भए पनि आफ्नो वर्चस्व देखाएको पाइन्छ । 

नेपाल भन्ने बित्तिकै बहुभाषिक, वहुधार्मिक र  वहुसांस्कृतिक परिचयको एउटा जिउँदो विम्ब भएको देश हो र विश्वका लागि एउटा नयाँ संस्कृतिको देश पनि हो । इमानदारिता, निहुँ खोज्नेसँग पटक्कै नडराउने समाजको रुपमा विश्वमा परिचित छ । एक जना अर्जेन्टिनी महिलासँग मेरो जापानमा भेट भएको थियो । उनी समाज सेवाको तालिम लिन जाइकाको तालिम केन्द्रमा थिइन् । सायद उनको नाम मारिया थियो जस्तो लाग्छ । उनको मातृभाषा स्पेनिस थियो तर उनको सहयोगीपनले हामीलाई आकर्षण गरेको थियो । एक दिन उनले थाहा पाइन्, म नेपाली हुँ । एक दिन अचानक उनले हाम्रो पत्रिका पढ्ने ठाउँमा मलाई सोधिन् -तपाईँ गोर्खाली हो ? मैले भनेँ-म गोर्खाली होइन, नेपाली हुँ ।

अनि फेरि एक छिन चुप लागेर फुसफुसाइन्-आइ हेट गोर्खाली । अनि मैले सोध्नै पर्ने थियो किन भनेर । अनि मेरो प्रश्नमा उनले फोकल्यान्ड टापुको बारेमा बताइन् र भनिन्- यदि गोर्खाली बाहेक अरु कुनै पनि सेना आउँथ्यो भने हामीले त्यो टापु छोड्ने थिएनौँ । यो कुरा १९९२ को अक्टोबर महिनाको कुनै एउटा आइतबारे बिहानको थियो । खाजा खान क्यान्टिनतिर जाने बेला भएको थियो र त्यो पर्खाइको  समयमा विभिन्न अन्तर्राष्ट्रिय समाचार हेर्नका लागि सायद आसाही सिम्बुनको अङ्ग्रेजी संस्करण हेर्दै थियौँ उनीसमेत । उनले गोर्खालीलाई भाडाको सैनिक भनिन् अनि भनिन् - किन गोर्खालीहरू हामीलाई तहस नहस पार्न आएका थिए ? मैले उनलाई बताएँ , नेपालीहरू इमानदार हुन्छन् लडाकु हुन्छन् र जसलाई विश्वास गर्छन्, तिनका लागि ज्यान पनि अर्पण सक्छन् ।

बिपीको किरिया गरिएन त्यसले समाजमा कुनै ठुलो हलचल ल्याएन किनभने बिपी परिवर्तन कामी हुनुहुन्थ्यो र उहाँलाई त्यसप्रति विश्वास थिएन । उहाँले पिताजीको पनि किरिया गर्नु भएन, माताको पनि गर्नु भएन । सबैको नियति बिपीको जस्तो हुँदैन किनभने समाजलाई परिवर्तन गर्नेहरूले जोखिम त उठाएका हुन्छन् तर अनुयायीले त्यसलाई समर्थन गरेर सिद्धान्तका रुपमा चलाउन सक्छन् कि सक्दैनन् भन्नेचाहिँ महत्त्वपूर्ण हुन्छ । जस्तो कि बिपीको प्रजातान्त्रिक समाजवादलाई मान्ने हामीलाई काज किरिया नगर्ने क्रान्तिकारी नीतिलाई मान्न गाह्रो भयो र हामीले आफ्ना पिता, माताको काज किरिया सनातनदेखि जस्तो चलेको छ , त्यस्तै गर्‍यौँ ।

तर त्यो घटनामा नेपालीहरूलाई बेलायतले लड्न पठाउनु हुन्थ्यो कि हुँदैनथ्यो, त्यो बेलायती स्थल र जल सेनाको विषय थियो । तर बेलायतमा सेनाको रुपमा भर्ती भएपछि सेनाको आदेश मान्नै पर्थ्यो र नेपालीहरूले फोकल्यान्डमा अर्जेन्टिनासँग लड्नु परेको थियो । अनि मारियाले हताश भएर भनिन् - यदि गोर्खाली सेना नआएको भए त्यो टापुमा बेलायतको आधिपत्य कायम हुन सक्दैनथ्यो । वास्तवमा त्यो उनको भ्रम थियो र पनि मलाई त्यसवारे खासै जानकारी नभएकाले अरु कुरामा जिरह गरिन तर एउटा कुरा भने उनको बोलीले स्पष्ट हुन्थ्यो - गोर्खाली बहादुर हुन् तर अर्काका लागि बहादुरी देखाउँछन्, अर्काका लागि ज्यान दिन पनि तयार हुन्छन् । त्यसपछि उनको र मेरो वार्तालाप बाक्लियो र फेरि उनले भनिन् - मैले आवेशमा आएर भनेकी मात्र हुँ आइ हेट गोर्खाली भनेर , तर गोर्खालीप्रति अर्जेन्टिनामा प्रेम र घृणाको दुवै सम्बन्ध  पाउनु हुनेछ । कारण हो , आखिर एउटा हाते हतियारले पनि हामीलाई त्रासदी उब्जाएको थियो ।

त्यो वास्तवमा खुकुरीलाई उनले भनेकी थिइन् र अर्जेन्टाइनहरुले खुकुरी उद्याएको देखेका थिए रे ढुङ्गामा साँध लाएको जहाँ खुकुरीले ढुङ्गालाई स्याँइस्याँइ काटेर धुलो धुलो पारेको देखाइएको थियो रे बिबिसीमा । त्यो उनले भनेको हो, सत्य त त्यही थियो फोकल्यान्डमा नेपालीहरूको गोरखा राइफल्सले अग्रगामी मोर्चा समालेर बेलायतको पक्षमा त्यो टापु अधीनस्थ पारेकै थियो । यी कुरा कारगिलको युद्धमा पनि उठेका थिए, भारत पाकिस्तान , भारत चीनका विवाद र झडपमा पनि उठ्ने गर्छन् । हाम्रो आर्थिक कारणले हो पक्कै, जसका कारणले नेपालीहरू विदेशी भूमिमा गएर सेनामा भर्ती, अर्धसैनेमा, पुलिसमा भर्ती भएर भारतको पक्षमा, बेलायतको पक्षमा, सिङ्गापुरको पक्षमा लडिरहेका हुन्छन् । यो व्यवसाय बनेको छ ।

हालै मात्रै गोर्खा राइफल्समा नेपालीलाई भन्दा भारतमा प्रवासी भएका नेपालीहरूलाई बढी प्राथमिकता दिने निर्णय भएको छ भन्ने समाचार आएको छ । नेपालमा यसरी विदेशमा भर्ती हुन नजाने भनेर विरोध पनि हुने गरेको पाइन्छ एकातिर भने अर्कोतिर त्यहाँको जागिर खानका लागि तँछाडमछाड  पनि हुने गरेको छ । पहिले पहिले त बेलायत जाने भने पछि एउटा स्वप्नलोकको कुरा जस्तो पनि थियो र बेलायतले कम्तीमा पनि गोर्खालीहरूलाई केही न्याय पनि गरेको छ आप्रवासी नीतिमा खुकुलो व्यवस्था गरेर । यदि पेन्सन र अन्य सुविधामा बेलायती सरहको व्यवस्था गरेमा सामाजिक न्याय भएको मानिन्थ्यो । 

कुरो समाज परिवर्तनको थियो, म त कता पो बगेछु गोर्खा सेनाको बारेमा, जुन कुरामा मलाई खासै ज्ञान पनि थिएन । तर बेलायतमा गएर बसेका, थाइल्यान्डमा बसेका, बर्मामा गएर बसेका, या ज्ञात या अज्ञात ठाउँमा गएर बसेका नेपालीहरूको सामाजिक अवस्था तीव्र परिवर्तनको स्थितिमा छ तर जहाँ गए पनि नेपालीहरूको आफ्नो पहिचान भने छ नै । 

समाज परिवर्तन हुनका लागि त्यसका थुप्रै अवयवहरू परिवर्तित हुनु अनिवार्य हुन्छ । पहिले हामी संयुक्त परिवारमा थियौँ र सबैको हेरचाह परिवार भित्रै हुन्थ्यो । गर्भावस्था, त्यसपछिको जन्म, नामकरणदेखि चिहानसम्मको एउटा लय थियो । त्यो लय चलन अनुसार हुन्थ्यो र हुन्छ पनि । मलाई लाग्छ, समाज परिवर्तन भएको कुराको सङ्केत भनेको नै ती लयमा आउने परिवर्तनहरू हुन् । मूलतः खास कुरामा परिवर्तन हुन नसक्ने रहेछ तर प्रक्रियामा भने परिवर्तन हुने रहेछ । 

प्रत्येक समुदायका आफ्ना आफ्ना लय छन् । ती लयमा विभिन्न कारणले परिवर्तन आउन थालेको देखिन्छ । आर्थिक कारणले, सांस्कृतिक कारणले, धार्मिक कारणले र पारिवारिक कारणले । तर त्यो तीव्रताले समाज परिवर्तन हुनुमा खुला समाज र मानव अधिकारप्रतिको चेतनाले पनि हो । अब कुन संस्कृति जनताका लागि आवश्यक छ , स्वास्थ्यकर छ र समाजलाई एकताको सूत्रमा बाँध्न सक्छ, त्यसलाई पनि ध्यान दिन थालिएको छ । कति संस्कृति धर्मप्रति आस्थावान देखिन्छन् त कति धर्मले संस्कृतिलाई आधार बनाएर जीवित रहेका पनि छन् । दसैँ र  तिहार त्यसका ज्वलन्त उदाहरणहरू हुन् । सबैले नेपालीले मनाउन थालेको दसैँको आफ्ना आफ्नै सामाजिक मान्यता देखिन्छन् । धार्मिकताले पनि काम गरेको छ भने सांस्कृतिकताले धर्मलाई टेवा दिएको छ । तर त्यही दसैँ नेपालका विभिन्न समाज र समुदायले आफ्नै लय र चलनमा मानेको देखिन्छ । 

म पहाडको ब्राह्मण परिवारमा जन्मेकोले मैले जानेको र अभ्यास गरेको संस्कृति र अन्य पहाडका समुदायले मान्ने संस्कृतिमा पनि धेरै अन्तर छ र पनि सबै नेपालीहरू अहिले पहिचानको सङ्क्रमणमा देखिन्छन् । एकातिर शुद्ध रगतको निरन्तरता अनि मानव अधिकारको चेतनाले सबै मानिसहरू समान हुन् भन्ने र कुनै पनि विभेद गरिनु हुन्न भन्ने सामाजिक न्यायको पाटो । पहिचानका आधारमा क्षतिपूर्तिसहितको राजकीय सुविधा पाउने एउटा सामाजिक न्यायको बाटो छ भने सबै मानव जाति एकै हुन् र सबैको समान हक र बराबरीको सिद्धान्तको आधारमा प्रतिस्पर्धाको सामाजिक मान्यतालाई राज्यको जीवनको मूल सिद्धान्त मान्ने अवस्था । 

बिस्तारै बिस्तारै सामाजिक जीवनमा नयाँ नयाँ गतिशीलताले समाजलाई चलायमान गराउन थालेको अवस्थामा सामाजिक परिवर्तनका नयाँ नयाँ स्वरूपहरू देखिन थालेको छ । ती नयाँ नयाँ स्वरूपले तीव्र परिवर्तनको सङ्केत गरिरहेका छन् । 

मैले यसभन्दा अघिल्ला अङ्कहरूमा भनेजस्तै अब खाना संस्कृतिसँग काज किरियाको संस्कृतिमा पनि सबै समाजले परिवर्तन गर्न थालेका छन् । जन्मने बित्तिकैको नामकरण तरिका र गरेपछिको काज किरियाको चलनमा अलिकति पुरानो चलन, अलिकति पुरातन चलनसँगै पारिवारिक चलन पनि देखिएको छ । हामी पहाडका बाहुन र क्षत्रीहरूको आधारभूत रुपमा एउटै चलन देखिन्छ । २०७७ साल कार्तिक २४गते निधन हुनु भएका मेरा ठुला मामा धीर प्रसाद उपाध्याय ढुङ्गेलको १३ दिनको काम मङ्सिर ६गते शनिवार भयो । अहिले कति दिनमा काम समाप्त गर्ने भन्ने पनि बहसमा छ । केही समय पहिले यही बहसबिचमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको सायद ७ दिनमा नै काम सम्पन्न गरिएको थियो । कतिपय परिवर्तनकारी व्यक्ति र  नेताहरुले बाबु र आमाको किरिया गरेको देखिँदैन । किरिया गर्नु या नगर्नु भनेको व्यक्तिगत विचार हो तर सामाजिक परिवेशमा यसले कहिले फरक पार्छ , कहिले फरक पार्दैन । अहिले सांस्कृतिक फाँटमा यो बहसले गति लिएको छ , कतिपय चाड पर्व कसरी मनाउँदा राम्रो होला ? कहिदिन मनाउने होला ? सरकारले पनि कति दिन बिदा कटाउने होला, कति दिनचाहिँ बिदा दिने होला ? कति कुरा सरकारको नीतिमा पनि भर पर्ने रहेछ, कति कुरा समाजको बदलिँदो चलनले पनि निर्धारण गर्ने रहेछ । कति कुरा समयको बदलाव अनि प्रविधिको विकासले पनि हुने रहेछ । 

बिपीको किरिया गरिएन त्यसले समाजमा कुनै ठुलो हलचल ल्याएन किनभने बिपी परिवर्तन कामी हुनुहुन्थ्यो र उहाँलाई त्यसप्रति विश्वास थिएन । उहाँले पिताजीको पनि किरिया गर्नु भएन, माताको पनि गर्नु भएन । सबैको नियति बिपीको जस्तो हुँदैन किनभने समाजलाई परिवर्तन गर्नेहरूले जोखिम त उठाएका हुन्छन् तर अनुयायीले त्यसलाई समर्थन गरेर सिद्धान्तका रुपमा चलाउन सक्छन् कि सक्दैनन् भन्नेचाहिँ महत्त्वपूर्ण हुन्छ । जस्तो कि बिपीको प्रजातान्त्रिक समाजवादलाई मान्ने हामीलाई काज किरिया नगर्ने क्रान्तिकारी नीतिलाई मान्न गाह्रो भयो र हामीले आफ्ना पिता, माताको काज किरिया सनातनदेखि जस्तो चलेको छ , त्यस्तै गर्‍यौँ । एक वर्षसम्म सेता लुगा लगाएर, माछा मासु नखाएर , सधैँ नुहाउने गरेर, प्रत्येक महिना मासिक गरेर र वर्षको अन्तिम तिथिमा बरखी गरेर मात्र चोखियौँ । प्रत्येक वर्ष तिथिअनुसार एकोद्दिष्ट र पार्वण श्राद्ध पनि गछौँ । कतिले कसरी गरेका छौँ त कसैले कसरी गराएका छौँ । तर त्यो संस्कृतिलाई छोड्न सकेका छैनौँ । यस पटकको कोरोना कहरमा कसरी पुरेतहरूको जोगाड गरियो र श्राद्ध गरियो भन्ने कुरा आपत्कालीन न्यायका आधारमा सम्पन्न गरियो । संस्कृति जोगाउन पनि पर्ने, जोगाउन पनि वैश्विक महामारीले नदिने भयो । त्यसैले मैले भनेको संस्कृति जोगाउने रहेछ तर केही परिवर्तन समय अनुसार हुने रहेछ । 

बीपीको बारेमा नै एउटा भनाइ छ कि बिपी आफ्नो व्यक्तिगत सिद्धान्त अरूमाथि लाद्न पनि चाहनु हुन्थेन र आफूचाहिँ आफ्नो सिद्धान्तलाई छोड्नु पनि हुन्थेन । त्यस्तै भएको रहेछ २०१५ सालको माघे सङ्क्रान्तिमा रिडीमा । बिपी फागुन ७गतेबाट हुने निर्वाचनका लागि चुनाव प्रचारमा रिडी पुग्नु भएछ । बिपी बाहुनको छोरो भए पनि धेरै पहिलेदेखि नै जनै नलगाउने चलन । सायद त्यस भेगमा निर्वाचनलाई प्रचारको गति दिई रहनु भएका काशीनाथ गौतमजीले भन्नु भयो क्यारे !  गाउँ ठाउँमा जनै त लाउनै पर्छ बिपी तपाईँले । साथीहरूको कुरा मानेर जनै भिर्नु भएछ तर माघे सङ्क्रान्तिमा जम्मा भएका हजारौँ मानिसहरूका बिचमा जनै झिकेर काली गण्डकीमा फाल्दै बिपीले भन्नु भएछ-भोट मेरो पार्टी नेपाली काँग्रेसलाई दिनुहोस् । तर म यो जनै लगाएर जातीय रुपमा भोट माग्न सक्दिन । भोट मेरो राजनीतिक सिद्धान्तका लागि माग्छु । सायद त्यही क्षेत्रमा एक दिन पनि नपुगेर सुवर्ण समसेर राणाले निर्वाचन जित्नु भयो । तर बिपीको त्यो भनाइले के देखाउँछ भने बिपीको व्यक्तिगत स्वतन्त्रताको परिभाषालाई त्यसले स्पष्ट व्याख्या गरेको रहेछ । समाजमा व्यक्तिको स्वतन्त्रता भनेको सामाजिक चिन्तनभन्दा फरक हुनसक्छ । नेपाली काँग्रेस सामाजिक संस्था देखियो, नेपाली काँग्रेसभन्दा आफूलाई निस्पृह हुने ठाउँको पनि उहाँले व्यवस्था गर्नु भएको रहेछ । सामाजिक अधिकार र व्यक्तिगत अधिकारको कति राम्रो उदाहरण । सामाजिक अधिकारका लागि प्रजातन्त्र आवश्यक छ तर मेरो आफ्नो व्यक्तिगत चाहना र अधिकार त्यो भन्दा पनि माथि राख्न सकिन्छ जुन प्रजातन्त्रले मात्र रक्षा गर्न सक्छ । 

यसले एउटा नीति कथाको याद गराउँछ- एउटा गुरुको घरमा एउटा शिष्य पढ्न बसेको रहेछ । गुरुले सधैँ भन्ने के भने गुरुले जे भन्छ, त्यो मान्ने , जे गर्छ सकेसम्म त्यो नगर्ने किनभने गुरुले सिद्धि प्राप्त गरेको हुनसक्छ जुन चेलोले त्यो सिद्धि प्राप्त गर्न नसकेको होस् । सधैँ चेलालाई गाई हेर्न, दाउरा लिन र भिक्षा माग्न पठाएपछि गुरु घरमा आग्लो लगाएर बस्ने गर्दा रहेछन् । एक दिन त्यो चेलाले खोपाबाट के देख्छ भने गुरु थालमा पहेँलो पदार्थ पिइरहेका छन् । अनि चेलोले पनि भोलिपल्ट हिजो गुरुले खाएको पहेँलो पदार्थ खान पाए हुन्थ्यो भनेर जिद्दी गर्न थाल्यो । गुरुले भनेछन् - अहिले तिमीले त्यो खाने बेला भएको छैन । तर चेलोले मानेन । वास्तवमा गुरुल सुनलाई तताएर तरल बनाएपछिको तातो निल्ने अभ्यासमा थिए, जुन कुराको अभ्यास चेलालाई गराउन पाएका थिएनन् । एकदम जिद्दी गरेपछि लौ त भनेर भोलिपल्ट अलिकति सुन चखाएछन् । चेलाको जिभ्रो नै खुइलियो र धेरै ओखती गरेपछिमात्र बिसेक भयो । यसले के देखाउँछ भने गुरुले भनेको मान्ने हो, जे गरेका हुन्छन् त्यो गर्न सकिँदैन । गुरुले सिद्धि प्राप्त गरेका हुन्छन् । 

गुरुको कुरा गर्दा मेरो बाले एउटा धारणा राख्नु भएको थियो -जति ठुलो विद्वानको जुठो खायो ,त्यति नै छोरो विद्वान हुन्छ । मलाई बाले गुरुहरू पण्डित साम्बभक्त सुवेदी, पण्डित दिव्यदेव कोइराला, पण्डित कुलचन्द्र कोइराला, पण्डित यज्ञेश्वर कोइराला, गुरु टीकाहरि काफ्ले, पण्डित ज्वालाप्रसाद कोइरालाको मैले जुठो खाएको छु पिताजीको आदेशमा । भनिन्छ- मन्त्र, तीर्थ, द्विज,देवता, ज्योतिष, डाक्टर, वैद्य, गुरुलाई जसरी सोच्यो त्यस्तै पाइन्छ । विश्वास गर्नु सक्नुपर्छ । त्यस्तै परिणाम आउँछ । अर्को कुरा मैले के कथा सुनेको थिएँ भने पृथ्वीनारायण शाहले गोरखनाथको जुठो नखाएकाले जे बोले पनि त्योचाहिँ पुगेन तर घिनले दही घोप्टाएकाले खुट्टामा परेकोले गोरखनाथले भनेछन् रे -यदि मेरो जुठो दही खाएको भए जे बोले पनि पुग्ने सिद्धि हुन्थ्यो, अब जहाँ जहाँ टेक्नेछ , त्यो ठाउँचाहिँ यसले जित्नेछ । सायद त्यही भएर पृथ्वीनारायण शाह जहाँ जहाँ जिते, ती ठाउँमा कुनै न कुनै बहानामा पुगेकै पाइन्छन् । त्यसैले मैले पनि  पिताजीले भने अनुसार सबै गुरुहरूको जुठो खाएँ । मलाई त्यसमा गौरव छ, त्यसले ममा पिताजीको आदेश मान्ने गुण सञ्चित गर्न सकेको थिएँ अनि गुरुहरूप्रति देवतासरह मान्ने भावना अझैसम्म पनि राखेकै छु । आखिर म पनि त जीवनभर गुरुकै रुपमा कार्यरत छु । पत्रकारिता पनि एउटा दुरुत्तर अभिभारा हो समाजका लागि । सधैँ अरूका लागि सेवा भावमा गरिने पेसा हो शिक्षण र पत्रकारिता जुन दुवै पेसाको सङ्गमका रुपमा म अहिले पनि कार्यरत छु । क्रमशः


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।