न अन्धसमर्थन न अन्धविरोध !

गुणदोषको आधारमा परख गरौं

न अन्धसमर्थन न अन्धविरोध !

भरत भूसाल  |  दृष्टिकोण  |  बैशाख १, २०७६

सामाजिक सञ्जालमा बालुवाटार जग्गा प्रकरण छाएको छ । नेकपा इतरका मानिस, नेकपा र वर्तमान सरकारलाई निर्वस्त्र पार्ने अचुक हतियार फेला पारेको भ्रममा उफ्रिरहेको पाइन्छ । तर, के वास्तविकता यस्तै हो त ? के यसले नेकपाको आयु मापन गर्न सकिन्छ त ? के वर्तमान सरकारकै बेलामा यो सबै भएको हो त ? जग्गा प्रकरणकै कारण यो सरकार नालायक वा असफल भएको हो त ? यी र यस्ता प्रश्नतर्फ कसैको ध्यान गएको पाइँदैन । पाइन्छ त केवल बालुवाटार, सरकार र नेकपाको बारेमा नकारात्मक कुरा र आयुको बारेमा चर्चा ।

सर्वप्रथम, गलतलाई गलत भन्ने आँटका साथ सामाजिक सञ्जालमा आएका मानिसलाई धन्यवाद भन्नै पर्ने हुन्छ । गलतलाई गलत भन्नुपर्छ । अझ सार्वजनिक छवि बनाएका नेता, उच्च पदस्थ व्यक्तिले गर्ने नियोजित कुकर्मको निर्मम समीक्षा र विरोध हुनु अस्वभाविक होइन । यो हुनु पनि पर्छ ।

हामीलाई थाहा छ–  राज्यका ठूला ओहदामा नियुक्त हुन अनेक शर्त र योग्यताको निर्धारण गरिएको  हुन्छ । ती शर्त र योग्यता साथमा थप एक बुँदा  हुन्छ– उच्च नैतिक चरित्र भएको ।

हाम्रा नेता हालसम्म सामाजिक दबाब र बहिष्करणको सजाय भोग्नु नपरेका कारण सुध्रने मति लिइएको कम मात्रै पाइन्छ । दलमा आवद्ध समर्थकले विवेक गुमाएर नेतालाई खबरदारी गर्न चुकेका छन् । बरु नेताका नैतिक र आर्थिक अपराधलाई कानुनी पछ्यौरीले ढाकेर लाज बचाउने प्रयत्नमा लागि परेको महसुस हुने गरेको छ ।

यो ‘उच्च नैतिक चरित्र भएको’ भन्ने कुरा मुलुकी ऐन वा अन्य कानुनी कितावका ठेलीमा समावेश गर्ने विषय मात्र होइन, यो हरेक व्यक्तिको नितान्त निजी चरित्र, व्यवहार र सोचाइ तथा कर्ममा भर पर्ने विषय पनि हो । त्यसैले सार्वजनिक व्यक्तिको जीवनमा धेरै कुरा निजी हुँदैन । सबै कुरा सार्वजनिक चासो, सरोकार र रुचिको विषय हुन्छ/भइरहन्छ । किनकि उसबाट समाजले ‘रोल मोडल’को अपेक्षा गरेको हुन्छ । विगतमा यिनै व्यक्तिको आह्वान वा निर्देशनमा धेरै व्यक्तिले आफ्नो निजी चाहना त्यागेर उसको अभियानको पछि लागेकाले यो अपेक्षा राख्नु अस्वभाविक पनि होइन ।

‘अगुवा नै भगुवा’ भनेझैं भयो भने नेतृत्व र नेताका पछि लाग्नेको हालत के हुन्छ ? यस्ता मान्छे आजीवन वा मृत्युपर्यन्त राम्रो र इमान्दार भइरहुन् भन्ने समाज र समर्थकले अपेक्षा राखेका हुन्छन् । यो हुन सकेको खण्डमा मात्र ‘राम्रो र असल’ नेतृत्व मान्न सकिन्छ । होइन भने ‘बैँस छउन्जेल ईश्वर वा भगवानका रूपमा देखाउने र सोही रूपपछि राक्षसमा परिणत भयो भने बैँसको अवतारलाई’ मात्र पूजाको अपेक्षा गरिँदैन ।  झन् नेतृत्वको त हरबखत परीक्षा भइरहन्छ र हरेक परीक्षामा उत्तीर्ण भइरहनु पर्ने हुन्छ ।

हामी राम्रो र नराम्रोको परख वा समर्थन गर्ने र विरोध गर्ने कार्यमा द्वैध चरित्र प्रदर्शन गर्छाैं । यस्तै अन्ध समर्थन वा विरोध गर्नेले नै नेतालाई बिगारेका छन् । जबसम्म समाज वा नागरिकले स्वतन्त्र ढंगले घटनाको विश्लेषण र विवेचना गर्दैनौ, गुण–दोषका आधारमा समर्थन वा विरोध गर्दैनौ, तबसम्म ‘ठूला’हरू बिग्रने र उनीहरूले मनपरी गर्ने काम जारी रहन्छ । यसले समाज वा नागरिक पक्ष वा विपक्षको समर्थक वा विरोधमा मात्र सीमित हुन पुग्छ ।

 नागरिकले पनि विवेकपूर्ण छलफल गर्ने  परिपाटी विकास गरिएन भने  दल वा नेताका भाडाका टट्टु परिणत हुनुको विकल्प हुँदैन ।

बालुवाटार जग्गा प्रकरणमा याे सरकारले  विगतदेखिको बेथिति तथा अनियमित कार्यको उजागर गरेकाे हो । यसअघि अनेक सरकार बने, स्वयं केपी ओलीकै नेतृत्वमा पनि विगतमा सरकार बनेको  थियो । तर, यसपटक सरकारले छानबिन समितिमार्फत् घटना बाहिर ल्यायो । त्यसपछि मात्र आम नागरिक सुसूचित भएको अवस्था छ । यो सरकारको धन्यवाद दिन योग्य कार्य हो । सरकार स्वयंले छानविन समिति बनाएर ‘जग्गा घोटाला’ प्रकरण बाहिर ल्याएकोमा सरकारलाई धन्यवाद भन्दा कुनै पनि दल वा दलका कार्यकर्ताको हैसियत च्युत हुँदैन । बरु शंका छ भने, यो प्रकरणको उचित कार्यवाही हुँदैन भन्ने  लाग्छ भने त्यसको लागि खबरदारी गर्ने सबैको दायित्व हो । दोषीलाई कार्यवाही होस् भन्ने चाहना राख्नु राम्रो हो । तर, सरकारले दोषीलाई कार्यवाही नगरोस् अनि विरोध गर्न पाइयोस् भनेर ‘भाक्कल’ गरेर बस्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । सरकारले कार्यवाही गरेन भने त्यसको विरोध हुनुलाई अन्यथा लिनु पनि हुँदैन ।

कुनै दलमा लागेकै कारणले मात्र निरपेक्ष रूपमा कोही मानिस असल वा खराब हुँदैन । धेरै पादरी, भिक्षु र महन्थ–मठाधिस दुनियालाई अनेक अर्ती, उपदेश, कल्याण र मोक्षको प्रेरणाको प्रवचन दिँदादिँदै आफ्नै उपदेशविरुद्ध स्खलित भएका, नैतिक र कानुनी अपराधमा संलग्न भएको र सो कार्यबापत सजाय भोग गरिरहेको पाइन्छन् । तर, ती एक अगुवा मानिस खराब हुँदैमा धार्मिक परम्परा नै खराब हुँदैन । खराबलाई असलले विस्थापन गर्दै जान्छ, गर्नुपर्छ । यो सामाजिक परम्परा पनि हो । तर, कहिलेकाहीँ ढिला हुन सक्छ । केही समय असत्यले पनि राज गर्छ तर  नागरिक सचेततता हराउ‌ंदै जने र   निरपेक्ष समर्थन वा विरोध गर्ने परिपाटीले गलत कार्यलाई केही हदसम्म सहयोग पनि पुग्छ भन्ने कुरामा हेक्का राख्नु जरुरी छ ।

बालुवाटार जग्गा प्रकरणमा नेपाल कम्युस्टि पार्टी (नेकपा)का कार्यकर्ताले लाज मान्नु पर्ने अवस्था छैन । आन्दोलन, परिवर्तन वा क्रान्ति लामो र निरन्तर चलिरहने शृंखला हो । कहिल्यै पूर्ण हुँदैन, यो कष्टसाध्य कार्य पनि हो । यो निरन्तरको परीक्षा पनि हो । निरन्तर भइरहने परीक्षामा धेरै परीक्षार्थी समावेश हुन्छन्, केही मात्र उत्तीर्ण हुन्छन् र अति कम मात्र अब्बल दर्जामा पर्छन् । कुनै परीक्षार्थीलाई कुन विषयले बिगार्छ, कसैले कुन विषयमा कम अंक पाउँछ ।

महाभारतका सन्दर्भ उल्लेख गर्नु उपयुक्त हुन्छ– पाँच पाण्डव जिउँदै स्वर्ग जान हिँडेका थिए । तर, शक्तिशाली भीम र अर्जुन समेत ढलेर केवल युधिष्ठिर मात्र स्वर्ग पुगेको कथा धेरैले सुनेका होलान् । सगरमाथा चढ्न चाहने सबैले इतिहास बनाउन पाउने भए आज सगरमाथाको चुचुरोमा असनभन्दा बढी भीड लागिसकेको हुन्थ्यो । आन्दोलनमा मान्छे निरन्तर आइरहन्छन्, कतिपयलाई परिबन्धले मिल्काउँछ, कतिपय षड्यन्त्रको सिकार बन्छन्, कतिपय आफ्नै कारणले पछि पर्छन् । यथार्थ पनि यही हो ।

हाम्रा नेता हालसम्म सामाजिक दबाब र बहिष्करणको सजाय भोग्नु नपरेका कारणले सुध्रने मति  कम छ । नेताहरुले विवेक गुमाउँदा पनि दलमा आवद्ध समर्थकहरुले उनीहरुलाई खबरदारी  गरेनाै । बरु नेताका नैतिक र आर्थिक अपराधलाई कानुनी पछ्यौरीले ढाकेर लाज बचाउने प्रयत्नमा लागि परेको महसुस हुने गरेको छ । धेरै पुरानो कुरा चाहिएन, गणतन्त्र आएपछि भएको सुडान घोटाला काण्डविरुद्ध कति कांगे्रस समर्थकले समाचार लेख्याैं, फेसबुकमा स्टाटस लेख्यौं वा कतिले अरुका समाचार वा स्टाटस सेयर गर्‍याैं ?

मतियार भएका प्रहरी हाकिम जेलमा छन् । तर, उक्त कार्य गर्न लगाउने र बाध्य पार्ने राजनीतिक नेतृत्वले कानुनी छिद्रको सहारामा उन्मुक्ति पाएको यथार्थ हाम्रो सामु छ । यो प्रकरणमा उच्च होइन, निच नैतिक चरित्र प्रदर्शित भयो । निहित र सानो स्वार्थका कारण अदालतमा हस्तक्षेप गर्न प्रधानन्यायाधीश  सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्दा कति कांग्रेसीले शेरबहादुर देउवालाई सार्वजनिक रूपमा प्रश्न गर्ने हिम्मत गरे ? एनसेल प्रकरणमा सबै दलका उच्च नेता चुपचाप र मौन रहने उदेकलाग्दो घटनामा कतिले आफ्ना दलका नेतालाई मौनता तोडाउन दबाब दियाै‌ ? अखिल वा नेविसंघले आफ्ना नेतालाई दबाब दिए ? तरुण दल र युवा संघले के गरे ? सायद, ठाकुर गैरेहरुको अभियानलाई मजाकको विषय बनाइयो । वाइडबडी विमानमा वास्तविक कुरा कुनै नेतृत्वले प्रष्ट पार्दैन । सुरु गर्ने पनि चुप, समापन गर्ने पनि चुप । तैं चुप मैं चुप । तर, हामी पुरानालाई मात्र दोष दिन्छाै‌, कसैले नयाँलाई पनि दोष दिन्छन् । यदि कैफियत छैन भने देउवाजी संसदमा किन चुप ? दुनियासामु छर्लंग नै छ– ‘तिम्रा नेताले गर्ने भ्रष्टाचार मुर्दावाद, हाम्रा नेताले गर्ने भ्रष्टाचार जिन्दावाद’ भन्ने हामी  ‘स्वाँठ’ समर्थक छउन्जेल दलका नेताहरु नैतिक  रुपमा स्खलित हुँदै जाने कुरामा कुनै शंका छैन ।

हुनत अहिले आफ्नै दलभित्र प्रश्न गरेमा, विपक्षीलाई सहयोग गरेको मानिन्छ । केवल समर्थन मात्र खोज्छ सबै दलको सत्ता पक्षले । आलोचनात्मक चेत निमोठेर, प्रश्न निमट्यान्न पारेर प्रभातफेरी लगाउनेको भिडमात्र चाहन्छ दलको सत्ता । आम नागरिक पनि सत्तालाई मन नपर्ने कुरा गरेर किन चिढ्याउनु भन्ने मनस्थितिमा छ । आफूसँग एउटा प्रश्न गर्न हुति नहुने, आफ्नो नेताले गरेका कुकर्मको काइते ढाकछोप गर्न प्रयत्न गर्ने, अर्काको भेटेमा भाटा लिएर लखेट्ने । सुधारको प्रक्रिया आफूबाटै सुरु गर्ने हो भने अरुले औला उठाउने अवसर पाउँदैन भन्ने हेक्का राखाै‌।

नयाँ वर्ष २०७६ ले सम्पूर्ण नेपालीमा यो क्षमता प्रदान गरोस्, सबैमा हार्दिक शुभकामना ।

याे पनि

सहकारी : समृद्धि सम्भव तर योजना छैन

सामाजिक सञ्जालको उत्तेजना र पशुपति शर्माको गीत