मृत्युपछिको संसार

मृत्युपछिको संसार

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  बैशाख ३, २०७६

आत्माले भौतिक शरीरलाई त्यागेपछि मानव जीवनको परिसमाप्ति हुन्छ । यस ध्रुव सत्यलाई कसैले नकार्न सक्दैन । भौतिक शरीरबाट मुक्त भएपछि आत्माले महाव्योमका परमाणु निर्मित  ठीक उस्तै नयाँ शरीर धारण गर्छ जस्तो भौतिक संसारमा रक्त– मांसयुक्त शरीर हुने गर्छ ।

यसरी बनेको नयाँ शरीर सुक्ष्मशरीर हो । यस शरीरलाई हामी आफ्ना चर्मचक्षुले देख्न सक्दैनौं ।  मानिस मृतावस्थाबाट पुनरुत्थित हुन्छ तर यस पृथ्वीमा नभएर सुक्ष्म जगतमा पुग्छ । सुक्ष्म जगतलाई स्वर्ग, नरक, सुक्ष्मसंसार, हिरण्यलोक आदि नामले चिनिन्छ ।

तर हिरण्यलोक भने स्वर्ग लोकभन्दा पनि उच्चलोक हो । त्यहाँ पुग्न सुक्ष्म संसारमा पुगेका सुक्ष्म देहधारी मनुष्यहरुले आफ्ना पूर्व कर्मका अनेक बीजलाई नष्ट गर्नुपर्छ । यस सुक्ष्म जगतमा पुगेर पनि जीवात्माले मुक्तिका लागि साधन कार्य गर्न छोड्नु हुँदैन । यो कार्य त्यति सजिलो छैन किनकि आफ्नो पूर्व कर्मको फल अनुसार प्राप्त त्यस सुक्ष्म जगतको सौन्दर्य तथा आनन्दको उपभोग गर्न तिर लागेपछि जीवात्माले कठिन आध्यात्मिक साधनाको आवश्यकता बिर्सिदिन्छ । 

मानव आत्मालाई तीन प्रकारका शरीरमा आबद्ध भएको मानिन्छ । ती हुन – कारण शरीर, सुक्ष्मशरीर र स्थुलशरीर । पृथ्वीमा मनुष्य शरीर भौतिक इन्द्रियानुभूतिले युक्त रहन्छ । सुक्ष्म शरीरधारी पुरुषले चैतन्य भावना र प्राण कणिका (life strons) द्धारा निर्मित शरीर लिएर काम गर्छन रे कारण शरीरधारी जीव आन्नदमय भावराज्यमा विचरण गर्छन । 

पृथ्वीका अपेक्षा सूक्ष्मक्षत्रमा सामान्यतयः जीवन अवधि धेरै लामो हुन्छ । सुक्ष्मलोकमा जीवको निवास अवधि पार्थिक जीवनमा गरेको कर्मको फल अनुसार निर्धारित हुन्छ । अवधि समाप्त भएपछि सुक्ष्मसंसारमा रहेर आध्यात्मिक उन्नति गर्न नसकेको अवस्थामा नियमानुसार पुनः निश्चित समयमा भौतिक संसारमा फर्कनु पर्दछ । कतिपय जीवात्माहरु भौतिक मृत्युपछि पनि तुरुन्त पृथ्वी लोकमा नै फर्कन्छन ।

सुक्ष्मजगत अनेक छन, जस्मा रहेर जीवात्माले आफ्ना शुभ अशुभ कर्मको भोग गरेर कार्यक्षय गर्छन ।  हामी जस्लाई स्वर्ग भन्ने गर्छाै, यो आलोक र रंगमा सुक्ष्म स्पन्दनहरुबाट बनेको हुन्छ । यो पृथ्वी भन्दा सयकडौं गुना ठूलो छ ।  जसरी आकाशमा अनेक स्थूल सूर्य,चन्द्र तारागण आदि  परिभ्रमण गर्छन् ।, त्यसरी नै त्यहाँ पनि असंख्य सुक्ष्म सूर्य र ग्रह नक्षत्र परिभ्रमण गर्छन । ती सबै अत्यन्त रमणीय देखिन्छन । पृथ्वीको अपेक्षा त्यहाँ दिन र रात अधिक लामा हुन्छन ।  त्यो जगत अत्यन्त सुन्दर, स्वच्छ, विशुद्ध, नियमित र सुव्यवस्थित छ । त्यहाँ कुनै पनि निर्जीव ग्रह वा अनुर्वर भूमि छैन । पृथ्वीमा पाइने अनावश्यक झारपात, जीवाणु, कीरा फट्याङग्रा  सर्प आदि जीवहरु त्यहाँ हुन्नन । त्यहाँ सर्वदा चिर वसन्त ऋतुको समशीतोष्ण जलवायु रहन्छ र आलोकोज्जवल स्वच्छ तुषरापात एवं रंगीचंगी प्रकाशको वर्षा हुन्छ । त्यहाँ पारदर्शक पानीका तत्वहरु, चम्किला समुद्र र इन्द्रधनुषी नदी हुन्छन । त्यहाँ असंख्य,परी, अप्सरा, मत्स्यकन्या, माछा, पशु, देवता, यक्ष गन्धर्व पुनीत जीवत्मा वास गर्छन । यी सबै आ–आफ्ना पूर्व कर्मफलको भोग गरेर त्यहाँ समय विताउँछन

जुन जीवात्माको पुण्यभोग सकिन्छ, त्यस्ता जीवात्मा उच्चस्तरका सूक्ष्मजगतबाट निकालिन्छन, र निम्नस्तरका सुक्ष्मजगत (नरक) अन्धकाराच्छन्न प्रदेशमा रहेर आफ्ना कुकर्मको परिणाम भोग गर्छन ।

सुक्ष्मशरीर अधिकांशतः अन्तिम भौतिक शरीरको यथार्थ प्रतिमूर्ति हुन्छ । उनीहरुको शरीर र मुखाकृति पूर्वजन्मको यौवन कालीन पार्थिव शरीर जस्तै हुन्छ । सारा सुक्ष्म शरीरीहरु आँखा, कान, नाक जिब्रो आदि इन्द्रियहरु भएता पनि केवल षष्ठेन्द्रियद्धारा शब्द, स्पर्श, रुप–रस, गन्धको अनुभव गर्छन् । सुक्ष्म शरीरमा मानव स्थुल शरीरमा जस्तै चोटपटक घाउ लाग्न, अंगभंग हुने, आगोले पोल्ने जस्ता क्रियाहरु भएतापनि पुनः दुरुस्त हुन्छन् ।

सुक्ष्मजगतमा पुग्ने सुक्ष्म रुपधारी मनुषयहरुको आफ्ना पहिलेका प्रियजनहरुसँग चिनाजानी हुन्छ परन्तु यी सम्पूर्ण जीव ईश्वरका सन्तान हुन् भन्ने ठानेर कसैसँग अपनत्व नराखी सबैसँग दिव्य र एक समान प्रेम गर्न सिक्छन ।

पृथ्वीका अपेक्षा सूक्ष्मक्षत्रमा सामान्यतयः जीवन अवधि धेरै लामो हुन्छ । सुक्ष्मलोकमा जीवको निवास अवधि पार्थिक जीवनमा गरेको कर्मको फल अनुसार निर्धारित हुन्छ । अवधि समाप्त भएपछि सुक्ष्मसंसारमा रहेर आध्यात्मिक उन्नति गर्न नसकेको अवस्थामा नियमानुसार पुनः निश्चित समयमा भौतिक संसारमा फर्कनु पर्दछ । कतिपय जीवात्माहरु भौतिक मृत्युपछि पनि तुरुन्त पृथ्वी लोकमा नै फर्कन्छन । अध्यात्मिक दृष्टिले समुन्नत जीवात्माहरुको औसत आयु पाँचसय वर्षदेखि एक हजार वर्षसम्मको हुन्छ भने विशिष्ट जीवको दुई हजार वर्षसम्म पनि हुन्छ । सूक्ष्म जीवहरुलाई आफ्नो ज्यातिर्मय देहको परित्याग गर्दा मृत्युसँग कुनै प्रकारको कष्टकर संघर्ष गर्नु पर्दैन । 

भौतिक मृत्यु हुनासाथ स्वासको गति बन्द हुन्छ र शरीरका  कोशहरु विघटित हुन्छन । सूक्ष्म देहको मृत्यु पनि हुँदा प्राण कणिकाहरु विलीन हुन्छन । जुन स्पष्टतः विश्वशक्तिका एकाइहरु हुन जसमा सूक्ष्म जीवहरुको प्राणको गठन हुन्छ । यसरी सूक्ष्म र स्थूल जन्म मृत्युको आबर्तन चक्र सबै अज्ञानी जीवहरुका लागि अनिवार्य विधि लेख हो ।  शास्त्रमा बर्णित स्वर्ग र नरकको बर्णन सुनेर मनुष्यको अन्र्तमनको भित्री तहमा सुप्तावस्थामा रहेका सुखमय सुक्ष्मजगत र दुःखमय पार्थिव जगतका अनुभवहरुका स्मृतिहरु कहिले काँही जाग्रत हुने गर्छन । 

पुनर्जन्मको यो सिद्धान्त सनातन धर्मको आफ्नो विशेषता हो । केवल मनुष्यले मात्र मृत्युपछि सुक्ष्मशरीर धारण गर्छ, त्यसैले मृत्यु पश्चात पुनः यस संसारमा फर्कन नपरोस भन्ने दृढ भावना लिएर आध्यात्मिक पथमा अग्रसर बन्दै परमात्माको शरणमा जाऔं ।  यसैमा हामी सबैको कल्याण हुने देखिन्छ ।