कपिलदेव अर्थात् 'कपिल मुनि' : पुनर्जन्म र फलभोगमा समस्त सिद्धि निरन्तरताका विद्यमान अवस्था

कपिलदेव अर्थात्  'कपिल मुनि' : पुनर्जन्म र  फलभोगमा समस्त सिद्धि निरन्तरताका विद्यमान अवस्था

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  फाल्गुन १, २०७७

    महर्षीणां भृगुरहं गिरामस्मेकमक्षरम् ।
    यज्ञानां जपयज्ञोऽस्मि स्थावरणां हिमालयः ।।२५।।

अन्वय र अर्थ – अहं = म, महर्र्षीणां (मध्ये) = महर्षिहरूमध्ये, भृगु = भृगु हुँ, गिरां = पदात्मक वाक्यहरूमध्ये, एकं अक्षरं = एकाक्षर ओंकार, अस्मिः = हुँ, यज्ञानां = यज्ञहरूमध्ये, जपयज्ञः = जपयज्ञ, अस्मि = हुँ, स्थावराणां = अचल पदार्थहरूमध्ये, हिमालयः = हिमालय हुँ ।

भावार्थ – म महर्षिहरूमध्ये भृगु हुँ, वाक्यहरूमध्ये एकाक्षर (ॐ कार) हुँ, यज्ञहरूमध्ये जपयज्ञ र स्थावरहरूमध्ये हिमालय पर्वत हुँ ।

विशिष्टार्थ – महर्षि (अ १० को छैठौ श्लोक) उनलाई भन्दछन् जुन पुरुषहरूले साधन बलले शक्ति समुदयलाई आफ्नो आयत्त (अधीन) गरिसकेका छन् । तिनीहरूमध्ये म  'भृगु' हुँ । भृ = भरण गर्नु, गु = अन्धकार । अन्धकारमा कुनै पनि वस्तुको परिज्ञान हुँदैन, त्यसैले साधुहरूले अज्ञानतालाई अन्धकार भनेर निर्देश गरेका छन् ।  भृगु पनि अज्ञानी असुरहरूलाई पालन गर्दछन् । ब्रम्हज्ञानमा कर्मकाण्ड अज्ञानता हो, त्यसो हुनाले साधनबलले समुदय यस्तो शक्ति पाएर पनि जो पुरुष कर्मकाण्ड लिएर घुम्छन् तिनैको नाम 'भृगु' हो । परन्तु कर्मकाण्ड लिएर खेल गरिरहँदा पनि भृगु कहिल्यै ब्रम्हज्ञानबाट विच्छिन्न हुँदैनन् । अविच्छिन्न ब्रम्हज्ञानमा जो मग्न रहन्छ त्यो पुरुष नै  'म' हो । भृगुमा कर्मकाण्ड र ज्ञानकाण्ड दुबै अविच्छेद विद्यमान हुनाले महर्षिहरूमध्ये म 'भृगु' हुँ ।

'गिरा' वाक्यलाई भन्दछन् । समुदय वाक्यभित्र एकाक्षर प्रणव (ॐ) नै मेरो वाचक हो । अतः वाक्य मध्ये एकाक्षर प्रणव नै 'म' हुँ ।

देवताहरूमध्ये जो यस अवस्थापन्न छन् ती सबै देवर्षि अर्थात् देव भएर मन्त्रद्वारा वनेका कारण ऋषिभावमा प्राप्त भएका छन् तिनीहरू मध्ये म नारद हुँ ।  'नार'शब्दमा विष्णु 'द' शब्दमा दान, विष्णुलाई जसले मिलाईदिन्छ उही 'नारद' हो । 'विष्णु'–व्यापक चैतन्य आत्मा । व्यापक चैतन्य नै ब्रम्ह हो, यस ब्रम्हको जो उपदेष्टा हो उही ब्रम्हविद् हो । त्यो ब्रम्हविद् नै नारद हो । ब्रम्हविद् ब्रम्हैव भवति' यसकारण नारद पनि म हुँ ।

'यज्ञानां जपयज्ञोऽस्मि'– यज्ञहरूमध्ये अजपा जपरूप 'यज्ञ' म हुँ । किन कि यसैबाट नै ब्राम्हीस्थितिको लाभ हुन्छ । अग्निमा साकल्य (तिल, जो, चामल र गाईको ध्यूको मिश्रण) को आहुतिको नाम यज्ञ हो । निःश्वास र प्रश्वास त्याग ग्रहणको नाम पनि यज्ञ हो । संसारमा अनेक प्रकारका यज्ञहरू छन्, ती मध्ये अजपारूप जप यज्ञ  'म' हुँ । जप त्यसलाई भन्दछन् जुन जपको अभ्यासले जप गर्नेलाई अभीष्ट देवसंग मिलाएर एक गरिदिन्छ । यो भित्रको कुरा हो । साधक र म मा बाहिर बाहिर जुन विच्छिन्न भाव छ त्यस विच्छिन्नतालाई गुरूपदिष्ट क्रियाद्वारा भेटाएर जसले  'स्वयमेवात्मनात्मानं' अवस्था गरिदिन्छ उसैलाई  'जपयज्ञ' भन्दछन् ।अतःएव त्यो जपयज्ञ नै 'म' हुँ ।

'स्थावराणां हिमालयः'–तीन कालमा जो डगमगाउँदैन त्यही स्थावर हो । स्थाको अर्थस्थिति र वरको अर्थ श्रेष्ठ हो अर्थात् जति प्रकारको श्रेष्ठ स्थिति (साधकको विश्राम) छन् ती सबै मध्ये 'म' हिमालय हुँ । शीतललाई हिम भन्दछन् (जसमा उष्णताको अभाव छ, उष्णतामा नै चंचलता हुन्छ) । आलय–घरलाई भन्छन् अर्थात् जहाँ रहनाले उत्कण्ठा रहदैन । आ= शून्य, लय = परिणाम, जुन अचल अटल स्थिर शान्त, शीतल, परिणमनता शून्य छ त्यसैलाई हिमालय भन्दछन् । त्यस्तो हिमालय नै 'म' हुँ ।

    अश्वत्थः सर्ववृक्षाणां देवर्षीणाञ्च नारदः ।
    गन्धर्वाणां चित्ररथः सिद्धानां कपिलो मुनिः ।। २६ ।।

अन्वय र अर्थ – (अहं = म), सर्ववृक्षाणां = सम्पूर्ण वृक्षहरूमध्ये, अश्वत्थः = पीपलको वृक्ष, देवर्षीणां च = देवर्षिहरूमध्ये पनि, नारदः = नारद, गन्धर्वाणां = गन्धर्वहरूमध्ये, चित्ररथः = चित्ररथ, सिद्धानां =सिद्धहरुमध्ये, कपिलः मुनिः = कपिल मुनि हुँ ।

भावार्थ – म वृक्षहरूमध्ये अश्वत्थ, देवर्षिहरूमध्ये नारद, गन्धर्वहरूमध्ये चित्ररथ र सिद्ध पुरुषहरू मध्ये कपिलमुनि हुँ ।

विशिष्टार्थ – अश्वत्थः = अ+श्व+त्+थ । अ = छैन, +श्व = भोली, अतएव अश्वको अर्थ हो चिरन्तन अनादि । त =  तारण वा पार हुनु, थ = पञ्चप्राण, पञ्चदेव, त्रिशक्ति र त्रिविन्दु युक्त  कुण्डलिनी  शक्ति माया, जसदेखि पार जो चिरन्तनअनादि छ सोही अश्वत्थ हो । वृक्ष – वृक्ष वेर्नु, ढाक्नु, अ = नास्ति, जसलाई केहीले पनि वेर्न सक्दैन, जसभन्दा ठूलो कोही छैन, सोही वृक्ष हो । यी जुन पृथ्वी, जल, अग्नि, वायु, आकाश छन् यी सबै महान् छन्, यी सबैलाई सर्व भन्दछन्, यी सबै पनि वृक्ष हुन्, किन कि यिनीहरूलाई  पनि वेर्न सकिन्न, परन्तु वृह्+मन् = ब्रम्ह यी भूतप्रपञ्चहरू उस ब्रम्हको तुलनामा नगण्य सीमाबद्ध, अस्थायी छन् । त्यो ब्रम्ह  'म' विना अरू कोही हैन र प्राकृतिक पदार्थ जति ठूलो भए पनि मलाई वेर्न सक्दैन, त्यसकारण सबै वृक्षहरूमध्ये म अश्वत्थ हुँ । अश्वत्थ = क्षणविध्वंसी अर्थात् जहाँ क्षणको पनि उदय हुँदैन । 

'देवर्षि'–यो एक अवस्था विशेष हो । जुन अवस्थामा कारण मूर्ति र अर्थका साथ प्रत्येक वर्णको परिज्ञान हुन्छ त्यसैलाई ऋषि अवस्था भन्दद्धन् । देवताहरूमध्ये जो यस अवस्थापन्न छन् ती सबै देवर्षि अर्थात् देव भएर मन्त्रद्वारा वनेका कारण ऋषिभावमा प्राप्त भएका छन् तिनीहरू मध्ये म नारद हुँ ।  'नार'शब्दमा विष्णु 'द' शब्दमा दान, विष्णुलाई जसले मिलाईदिन्छ उही 'नारद' हो । 'विष्णु'–व्यापक चैतन्य आत्मा । व्यापक चैतन्य नै ब्रम्ह हो, यस ब्रम्हको जो उपदेष्टा हो उही ब्रम्हविद् हो । त्यो ब्रम्हविद् नै नारद हो । ब्रम्हविद् ब्रम्हैव भवति' यसकारण नारद पनि म हुँ ।

'गन्धर्वाणां चित्ररथ'–गन्धर्वगण स्वर्गका गायक, जो अर्ध देवतावर्ग मानिन्छन्, संगीतज्ञ हुन्छन् । गन्धर्व – गन्ध्+अर्व्+अच् । गन्ध = हिंसा, अर्व = गमन् अर्थात् युद्धकालमा जो हिंसाका लागि गमन गर्दछ अर्थात् क्रिया गर्नासाथ जसको मायिक विषय प्रति तीव्र अनास्था रहन्छ ।गन्धर्वगण मार्गी (तीव्र) र देशीय (जातीय) दुई प्रकारको संगीत जान्दछन् र शिक्षा दिनमा पनि क्षमावान् छन्, परन्तु संगीत शास्त्रमा उनीहरू सबैको सम्यक् संस्कार हुँदैन । यहाँ पनि साधकको सप्तस्वरी नाद उत्पन्न हुन्छ त्यसैमा ऊ मग्न हुन्छ, परन्तु साधक तिनीहरूमध्ये धेरैलाई बुझ्छ पनि बुझ्दैन पनि,  कुनै व्यक्तिले सिक्न चाहेमा यहाँसम्म पुग्न शिक्षा पनि दिन सक्छ, यस्तो अवस्थापन्न साधकलाई गन्धर्व भन्दछन् । यी मध्ये  'चित्ररथ' चित्र अनेक रंगहरूको अंकन र रथ–विश्रामको अति उच्च स्थान (इच्छानुरूप जसलाई चालन र स्तम्भन गर्न सकिन्छ) लाई भन्दछन् । साधकलाई मात्र यस स्थानको ज्ञान हुन्छ । यस स्थानमा पुगेर रहँदा मायाको घेरा रहदैन । जहाँ मायाको घेरा छैन त्यहाँ जो रहन्छ त्यसैलाई 'चित्ररथ'(अर्जुनका संगीत गुरु) भनिन्छ । म पनि मायाको घेरामा रहन्न त्यसकारण म चित्ररथ हुँ ।

'सिद्ध'–जुन साधकले साधना समाप्त गरिसकेको छ र अब अरू गर्नु पर्ने केही बाँकी छैन, केबल साधनाको फल भोग मात्र अवशिष्ट छ ती सबै सिद्ध हुन् । यस अवस्थामा अन्तःकरणको वृत्तिमात्र पनि रहदैन, त्यसकारण तिनीहरू मुनि हुन् ।  'मुनिः संलीन मानसः' जसको  मानस व्यापार सम्यक् लीन भैसकेको छ तिनैलाई मुनि भन्दछन् । यो अवस्थामा पुग्दा साधक कपिलवर्ण मण्डल भित्र आत्म दर्शन गर्दछन् । कपिलदेवले पूर्वजन्ममा साधनाका सम्पूर्ण अंग समाप्त गरेर शरीर त्याग गरेका थिए, उनको फलभोग मात्र बाँकी रहेको थियो । पुनर्जन्म प्राप्त हुनासाथ ती समस्त साधनाका फल उनमा उपस्थित भएका थिए, त्यसैले उनलाई जन्म सिद्ध भन्दछन् । मेरो जन्म पनि हुँदैन, साधनाको साङ्गोपाङ्ग समस्त सिद्धि पनि ममा निरन्तर विद्यमान छ,  त्यसकारण म सिद्धहरूमध्ये  'कपिल मुनि' हुँ ।

 उच्चैः श्रवसमश्वानां विद्धि माममृतोद्भवम् ।
 ऐरावतं गजेन्द्राणां नराणां च नराधिपम् ।।२७।।
क्रमश: