सडक यात्रा

सडक यात्रा

धनचन्द्र राई  |  साहित्य  |  फाल्गुन ८, २०७७

मध्यरातमा राँको बालेर
एकहुल सडक यात्रीहरु
आफ्नो गन्तब्य खोजिरहेका छन्
म छेउमा बसेर
सडकको पम्प्लेटहरु पढिरहेकोछु
लोकतन्त्र, भोकतन्त्र, शोकतन्त्र
जोकतन्त्र र बिजोगतन्त्र आदि–आदि
निन्द्रा बिथोल्ने नाराहरु सुन्दैछु
जिन्दावाद् , मुर्दावाद् ।।

भरखरै कोरिएका चित्रहरुमा
रंग भर्न नपाउँदै चित्रहरु मेटिन थालेपछि
कुचिकारहरु कुचि बोकेर हिँडेका रहेछन्
भरखरै रोपिएको बिरुवामा
पानि हाल्न नपाउँदै बिरुवाहरु टेकिन थालेपछि
किसानहरु कुटो बोकेर हिँडेका रहेछन्
आफ्ना डायरीबाट आफ्नै शब्दहरु
गुपचुपमै अपहरण हुन थालेपछि
कलमबाजहरु कलम बोकेर हिँडेका रहेछन्
यो हुल/यो भिड/ यो यात्रा देख्दा
मलाई पनि उसै उसै
हिँडुँ हिडुँ लाग्यो
र म पनि बने
एक सडक यात्री ।

थोपा थोपा मिलेर समुन्द्र बन्ने अभिष्टले 
यहाँदेखी त्यहाँ सम्म, त्यहाँ देखि वहाँ सम्म
पाईतालाले सडक नाप्दै नाप्दै हिँडिरहेको यात्रीहरु
बाङ्गो टिङ्गो घुमेको सडकमा
अबश्य पनि भाग्य खोजि रहेको हुनुपर्छ
यति सास्तीले आगोसँग खेलि रहेको यात्रीहरुले
अबश्य पनि उज्यालो खोजि रहेको हुनुपर्छ
यी पम्प्लेट, यी नाराहरुले
अबश्य पनि नयाँ सपना खोजि रहेको हुनुपर्छ
म सोलोडोलो आम यात्रीकै गन्तब्य
आम यात्रीकै सपनालाई
आफ्नो ठानि रहेकोछु ।

म कसो कसो अगाडीको पंतिमा
चाल मिलाएर हिँडि रहेकोछु
पछाडीका बुलन्द आवाजहरु
बिस्तारै बिस्तारै मन्द हुँदैछ
म त्यो क्षितिजको उचाई
र यो सडकको सतह हेर्दैछु
रात हो न त बिहान
हामी झिसमिसेमा हिँडि रहेकाछौं
त्यो पर...सडकको घुम्तिमा देखिने
मेरो दृष्टि भ्रम हो या त बुख्याँचा
कि त रोल मोडेल तानाशाह
कि त बच्चाहरुको सातो खााने
जंगलि पिसाच
म भ्रममाछु ।
यति लामो यात्रामा 
यो सडकको छाति टेक्दै
अबिचलित हिँडिरहेका यात्रीहरुलाई
सयौं माईल हिँडि सकेर
दुई पाईला बाँकि हुँदै
म अगाडी बढेर भन्न मनछ
साथीहरु !
त्यो बुख्याँचा होस
या त रोल मोडेल तानाशाह
या त जंगलि पिसाच
हामिलाई तर्साउन सक्छ
हामी तर्सेर बिचलित भयौं भने
हाम्रो यो यात्रा
कि सुलिमा चढाउँछ
कि त्रिशुलिमा लडाउँछ
होसियार ।

 

                                                     २०७७ माघ २३  धरान