धन साध्य कि साधन ? उचित ढङ्गले पिए अमृत, अन्यथा हलाहल विष !

धन साध्य कि साधन ? उचित ढङ्गले  पिए अमृत, अन्यथा हलाहल विष !

निलमकुमार ओझा  |  दृष्टिकोण  |  फाल्गुन १०, २०७७

संक्षेपमा चर्चा गरौँ- धन के हो ? व्यक्ति वा संस्थाको स्वामित्वमा रहेको निजले आफू खुसी गर्न पाउने चल/अचल संपत्ति वा सेवा वा ज्ञान वा प्रतिष्ठा हो धन । धन किन ? दैनिक मानव व्यवहार सञ्चालनार्थ । धनबिना हुँदैन ? हुँदैन । उसो भए संसारमा सर्वश्रेष्ठ वस्तु धनै हो त ? होइन । होइन भने किन मानिसहरू तनमन लगाएर जीवनमा धनकै मात्र पछाडि लागेका छन् ? किनकि बिनाधनको जीवन पालिन, पाल्न र अत्यावश्यक सामान्य दैनिकी चलाउन असमर्थ, समस्याग्रस्त हुन्छ । धन यसर्थ एक अनिवार्य तत्त्व, महत्त्वपूर्ण साधन हो, गुजाराका लागि । एक औजार, चुलेसी वा हल्लुँड वा नेती वा कोदाली जस्तै हो धन ।

त्यसैले धन ती औजारजत्तिकै महत्त्वपूर्ण वस्तु हो । यद्यपि, धनै मन, धनै तन, धनै जीवन, धनै माता, धनै पिता, धनै सन्तान, धनै गुरु, धनै अन्त्य र धनै सुरु कदापि होइन, हुनै सक्दैन ।

हो, हिँड्ने हिँड्दो छ, कुद्ने कुद्दै छ, पढ्ने/पढाउने, जेजति हुँदै छ, त्यो गर्ने/गराउने, मार्ने/मराउने सबै कर्म/दुश्कर्मको प्रमुख प्रेरक ऊर्जाको स्थान आज धनले लिएको, लिँदै छ । सम्बन्ध खडा हुने र भत्किने अधार/कारण आदर्श, सिद्धान्त, दर्शन आदि होइन, धनको वासना हुँदै छ । धनार्जनको इच्छाका अगाडि इमान, जमान, आफन्त, इष्टमित्र, साथीभाइ सबैसबै महत्त्वहीन भइसकेका, हुँदै छन् । कवाफ/सेकुवा चबाउदै सोमरससहितको मीठो भोजन, गद्दीसीन कुनै तानाशाहको जस्तो घर/मोटर आदि विलासी साधनले सज्जित मस्तीलो जीवन, मोटो बैंक खाता, पातलो तर वजनदार जेशभूषा आजका सबै वर्ग, जाति, समुदायका मानिसहरूको एक मात्र लक्ष्य, मानसिक दुर्व्यसन बनिसकेको छ ।

विचार, चिन्तन, व्यवहार, शक्ति, प्रतिष्ठा आदि सबैको केन्द्रविन्दु धन भएको छ । मानवीय मूल्यको अनुभूति, प्राकृतिक रहस्यमयी विविधताका बरेमा मनोविमर्श, उन्नत ज्ञान/विज्ञानप्रतिको जागरुकतालगायत उत्कृष्ट विषयहरू धनलोलुपतारूपी बिषवृक्षको ओझेलमा परेका छन् ।

हो, धन साधन हो । चाहिन्छ । परन्तु,  प्रकृतिको उत्कृष्ट उपहार यो जीवनको औचित्यसँग धनको असीमित, निर्बिकल्प सम्बन्ध पक्कै छैन । जीवन जगतको एक चामत्कारिक हिस्सा हो । जगत् फराकिलो एवं रहस्यका थुप्राहरूले भरिपूर्ण छ । जीवन र जगत् स्वयंमा सुगन्धित स्वर्ण हो । धन मानिसका लागि हो, मानिस धनका लागि होइन । धनाशक्तिको परिणाम भ्रष्टीकरण, अन्याय र अधर्मद्वारा सद्गुण र सद्भावनाको सर्वनास हुन्छ । धनोद्माद वैचारिक तथा मनोगत विकृतिको मात्र जननी होइन, सुकिलो आवरणमा छिपेको घीनलाग्दो, इमानभक्षी तथा न्याय एवं गुणपिपासु पिशाच, जो मानवीय सभ्यताको मृत्युुदूत पनि हो ।

अहिले त्यही पिशाचले सारा मानिसको मन-मस्तिस्कमा, अझ नेपाल जस्तो कौवा-गिद्दले लुछेर मासु खाइसकेको र कंकाल मात्र बाँकी रहेको मुलुकका मानिसहरूमा, कब्जा जमाएको छ । धनोद्माद नवसभ्यताको पर्याय बनेको छ ।

धनको लालचको लत बसिसकेको भए, धनाशक्तिले संक्रमित बनिसकेको अथवा बन्न लागेको भए, आफू धनको भयङ्कर दुर्व्यसनको सिकार भइसकेको वा अरूलाई सिकार बन्न प्रेरित गर्ने अभियानमा भए र आफूमा रत्तिभर प्रकृति प्रदत्त मानवीय संवेदनात्मक वा आत्मिक शक्ति शेष भए अविलम्ब आन्तरिक सुधार कार्यमा जुटाैँ । सोचौँ- 'बुट्टे बोक्रो, भित्र खोक्रो' बन्नबाट आफूलाई जोगाउने हो कि ? 

धनको कुलत र धमिरा उस्तै हुन् । धमिराले सग्लो काठ भित्रभित्रै खोक्रो बनाएको थाहै हुँदैन । धनको नशाले व्यक्तिको सद्बुद्धि र आदर्शलाई रित्तो बनाएको पत्तै पाइँदैन । नशा बनिसकेको धनार्जन, धनप्रतिको निर्लिप्तताले मानिसलाई उसको सद्विचार र सद्विवेक उत्पादनको शक्तिलाई क्षीण बनाई, दुर्विचार र दुर्भावना पैदा गरी दंभदंशी, आधारभूत संवेदनाशून्य, आत्मकेन्द्रित एउटा खोक्रो तर चिटिक्क परेको वस्तुमा रूपान्त गरिदिन्छ ।

हेरोइन, कोकिनको नशा, रक्सी-मदिराको लत, व्यभिचारको कुलतभन्दा अतिअधिक दुर्व्यसन, अतिअधिक घातक र विनासकारी हुन्छ, धनको व्यसन । किनभने धनोद्मादी व्यक्ति सदा सर्वदा निर्धन, निर्बल तथा असहायलाई घुँयेत्रो हान्न आतुर रहन्छ, मन, वचन र कर्मले; किनभने उसले आफू वैचारिक, सैद्धान्तिक, मनोवैज्ञानिक एवं आधारभूत प्रकृति प्रदत्त मानवीय मूल्य जस्ता एक जीवित मानिसमा अपेक्षित अनिवार्य आत्मिक तत्त्वहरूद्वारा परित्यक्त, आफ्नो आत्मिक भकारी रित्तिएको, आफू भौतिक रूपमा मात्र जीवित रहेको अनुभूतसम्म पनि गर्न असमर्थ हुन्छ । ऊ बुट्टैबुट्टा भएको रंगीन बेलुन जस्तै सुन्दर(?) हुन्छ ।

अस्ति एक अर्को अमेरिकी यान त्यहाँका विभिन्न रहस्य उजागर गर्ने उद्देश्यले मंगल ग्रहमा सफल अवतरण भयो । एकातिर एक बुद्धिमान लिलिपुट मानवले आफ्नो आत्मिक ऊर्जाको उचित प्रयोगद्वारा आफूलाई तन्काउँदै छ, पृथ्वीको परिधिबाहिर लम्कँदै छ । अर्कातिर एक मूर्ख लिलिपुट मानव धनकै सितनसँग तनतनी धन पिउँदै छ या पिउने योजना बनाउन व्यस्त छ । घुस, कमिसन, दलाली, शोषण जस्ता घृणित प्यालाबाट जुकाले झैँ तनतन धन पिउँदा हुने असरसँग उसलाई कुनै सरोकार छैन । जुको जस्तै भुँडी नफुटुन्जेल उसको चित्त बुझ्दैन । उसको कसैगरी पिउने, पिएर मदमस्त हुनेबाहेक कुनै उद्देश्य छैन । उसको चिन्तन, विचारलगायत आत्मिक क्रियाकलापहरू धनाशक्तिको खिया लागेर छियाछिया भएका छन् । दुर्भाग्य, ऊ तर आफूलाई धर्तीको भार मात्र भएको महसुस गर्न सक्दैन ।

खासगरी धन हुने, धन बनाएकामध्ये अधिकांश मानिसहरू त रित्ता ढुङ्ग्रा हुन् नै, धनकै भक्ति, धनकै प्रार्थना गर्ने धनहीन वा अल्पधनवानहरू पनि खोक्रै हुन्छन् । धनलोलुपता, शीघ्र धनार्जनद्वारा आफ्ना तुच्छ अभिलाषाको परिपूर्ति गर्ने आतुरताको नशाले मातेका त्यस्ता व्यक्तिहरूको सम्पूर्ण लक्ष्य धनपान गर्ने हुन्छ । धनाभावका कारण तिनीहरू शारीरिक र मानसिक दुवै क्षेत्रमा दुर्बल हुन्छन् ।

दुले चोर, गन्धे गल्लीका गँजडी गहना लुटेरा, साना बजारका ठग व्यापारी, कार्यालयका खुत्रुके घुस्याहा कर्मचारी आदि निम्न कोटीका अपराधीहरू हुन्, जसका दुश्कृत्यले उनीहरूको परिवार वा उनीहरूको सानो समाजसम्मलाई क्षति पुग्न सक्छ । तर, राष्ट्र सेवक कर्मचारी, न्यायकर्मी, जनप्रतिनिधि, उच्चपदस्थ व्यक्ति, नेतृत्वकर्ताहरू आदि यदि धनाशक्त, धनोन्मत्त, धनोन्मादी भए या छन् भने तिनीहरूबाट हुने भ्रष्टाचार, घुसखोरी, कमिसनखोरी जस्ता कुकृत्यमार्फत सम्पूर्ण राष्ट्र र जनताको, विधि र पद्धतिसमेतको दोहोलो काडिन्छ; तिनीहरू उच्चकोटीका अपराधीहरु हुन्छन् ।

सुकिला, खाइलाग्दा देखिने हुँदा त्यस्ता अपराधीहरूलाई जोकोहीले पहिचान गर्नै सक्दैन । चिनिहाले पनि केही खालो सार्न सक्दैन किनकि तिनीहरू धन र पद/प्रतिष्ठाकाे धोक्राभित्र टाउको लुकाउन सिपालु हुन्छन् ।

आजकल धनको दुर्व्यसन संस्कार बन्दै छ । जनसाधारणले जुनसुकै सेवा प्राप्त गर्न, अझ सामान्य ढङ्गले बिनाढिलासुस्ती कार्यसम्पादन गराउन, केही अतिरिक्त धनको अग्रिम व्यवस्था गर्नै पर्ने हुन्छ । धेरैजसो अनियमित लेनदेन कार्यहरू सुटुक्क, सीसी क्यामेरा भए तिनलाई छलेर गरिन्छ भन्ने सुनिन्छ । गोप्य रूपमा गरिने धनाकर्षणसम्बन्धी त्यस्ता कर्तुतकर्ताहरूको, समाजका ती धमिराहरूको, देश खोक्रो तुल्याउन महत्त्वपूर्ण भूमिका हुन्छ ।

अस्ति एक जना पाका व्यक्तिले आफ्नो भर्खरै लोकसेवा उत्तीर्ण गरि नियुक्तिपत्र बुझ्न जान लागेको छोरालाई टीका लगाउँदै आशीर्वाद दिँदै भन्दै थिए, 'छोरा, ईश्वरले हेरून्, राम्रो ठाउँमा, भरिसक्के भन्सारसंसारतिर नियुक्ति पाएस्, जसरी भए पनि चाँडै धेरै धन कमाएस्!' ती वृद्धले दिएको आशीर्वाद स्वयंका पछाडि धनापराधिक कुविचार, भ्रष्टाचार र दुराचारको बीज पोकिएको छ ।

अहिले यहाँ सबै प्रकारका शिक्षण, प्रशिक्षण, उपदेश, तालिम इत्यादिको लक्ष्य मानिसलाई एउटा सच्चा, नैतिकवान्, कर्मशील व्यक्ति निर्माण गर्ने नभई येनकेन प्रकारेण उसलाई धनको घुन बनाउनु नै हो । जहाँ जताबाट पोयो लाए पनि गाँठाे धनैमा गएर टुङ्गिन्छ । धनको दुर्व्यसनलाई संस्कार बनाई मानव जीवनको आत्मिक, मानवीय पाटाेको बध गरी, मानवलाई, अझ दरिद्रताले पिल्सिएका देश/समाजका मानिसहरूलाई, यान्त्रीकरण गर्दै गरेको कसैलाई पत्तो छैन । धनको अतिप्रसस्तिगान, धनलाई अतिअधिक मूल्यवान् वस्तुको रूपमा प्रस्तुत गरिने कार्यको परिणाम भनेको बालक, युवा, वृद्ध सबै उमेर समूहका सबैजसो मानिसका, मानव हुनुका गौरवपूर्ण पक्षहरू, मन, बुद्धि, विवेकलगायत आत्मिक सौन्दर्यमा धनाशक्ततारूपी अम्ल घाेप्ट्याउनु जस्तै हो ।

धन केही होइन भन्ने होइन, केही हो । महत्त्वपूर्ण वस्तु हो, धन । धेरै साध्यका लागि आवश्यक साधन हो धन । सभ्यताको वृद्धि र विकासको मार्गनिर्माणक औजार हो धन । उचित ढंगले उचित मात्रामा पिए अमृत, अन्यथा हलाहल बिष हो धन । अझ ऐँजेरु धन, जो अनियमित मार्गबाट, प्रत्यक्ष/अप्रत्यक्ष रूपमा परपीडन गरी छोटाे समयमा कुम्ल्याइएको हुन्छ, त त्यस्तो ऐँजेरु धनाढ्य व्यक्तिको लागि मात्र नभई उसको आगामी पुस्ताका लागिसमेत अर्बूद रोग सरह हो । स्वस्थ धन जीवनयापनको लागि स्वच्छ हावा वा सफा पानीजत्तिकै महत्त्वपूर्ण वस्तु हो, परन्तु, अस्वस्थ धनले व्यक्तिका लागि ढिलाेचाँडाे सर्वनासको द्वार खोलिदिन्छ ।

तर, मनन गरौँ त- धन पटक्कै होइन: माता, पिता, बन्धुवान्धव र पितृ । ईश्वर, प्रकृति विश्व ब्रह्माण्ड र सृष्टि पनि धन होइन । होइन धन तीन त्रिलोक चौध भुवनको सयर गराउने दिव्य यन्त्र । इमान, इज्जत र आत्मसम्मान बिक्री गरेर आर्जन गर्नै पर्ने दिव्य रत्न हुँदै होइन धन । व्यक्तिको क्षमताको उचाइ या तौल बढाउने ओखती पनि होइन धन । धन कसैलाई अजम्मरी राख्ने बुटी नि होइन । यसर्थ, धनको लालचको लत बसिसकेको भए, धनाशक्तिले संक्रमित बनिसकेको अथवा बन्न लागेको भए, आफू धनको भयङ्कर दुर्व्यसनको सिकार भइसकेको वा अरूलाई सिकार बन्न प्रेरित गर्ने अभियानमा भए र आफूमा रत्तिभर प्रकृति प्रदत्त मानवीय संवेदनात्मक वा आत्मिक शक्ति शेष भए अविलम्ब आन्तरिक सुधार कार्यमा जुटाैँ । सोचौँ- 'बुट्टे बोक्रो, भित्र खोक्रो' बन्नबाट आफूलाई जोगाउने हो कि ?