आमा भुवनेश्वरीका अपेक्षा तथा सपना: भविष्यका लागि कडा अनुशासन पालनाका निर्देशन
फर्किलान्  र ती दिनहरू
फाल्गुन १५, २०७७

आज भोलि किन हो, आमाको मात्र याद आइरहन्छ । आमा शब्द पनि कति मिठो हुने रहेछ । नेपालीमा आमा भन्ने शब्दले दिने मिठास अरु भाषामा होला कि नहोला ?  अचेल आमाको लागि ममी, मामा, अमी या त्यस्तै शब्द प्रयोग गरिन्छ क्यारे !  मेरै घरमा पनि नातिनीहरू आफ्नी जननीलाई मामु या ममी भन्छन् र उनीहरूकी हजुरआमालाई आमा भन्छन् । अझ मेरी ठुली नातिनी विश्रुताले मेरो आमालाई आमा आमा भनेर बोलाउँथी र आमा आफ्नी पनातिनीले त्यसरी प्यारो भाषामा आमा आमा या आमामा भनेर बोलाएकोमा आफूलाई स्वर्गीय आनन्द हुने कुरा भन्ने गर्नुहुन्थ्यो । 

बेलाबेलामा सपनामा आमालाई देख्छु, आजकाल भने अलि बढी नै देख्न थालेको छु ।  जब जब मेरो सपनामा भेट हुन्छ, उहाँलाई मलाई कुनै चिन्ता परेको हो कि भनेर सोध्नुहुन्छ । जब जब म उहाँको सशरीर र सजीव स्वरूप देख्छु, त्यो बेलामा आमामा कुनै स्वास्थ्यको समस्या देख्दिन र उहाँमा जहिले पनि मेरो स्वास्थ्य र छोराछोरीको चिन्ता बढी भएको नै पाउँछु । 

सपना त बिपनाको एउटा क्षतिपूर्तिको माध्यम हो । बिपनामा जब कुनै कामका लागि आवश्यक ऊर्जा आवश्यक हुन्छ, त्यसको क्षतिपूर्ति सपनाको माध्यमबाट जानकारी पाइन्छ या सङ्केत आउँछ भविष्यका लागि भन्ने मनोवैज्ञानिकहरूको धारणा पाइन्छ । सुषुप्त मनको कुरालाई सजीवता दिन नै सपना देखिन्छ भन्ने पनि छन् । बिपनाका कमी र अक्षमताको क्षतिपूर्ति र रक्षात्मक स्वरूप प्रदान गर्न सपनामा त्यसको धारा प्रवाहित हुन्छ । मेरो आमाको सपना पुग्छ भन्नहुन्थ्यो र सपना देखेपछि त्यसको विश्लेषण गरेर कसैको भलो वा कुभलो के हुने हो अनुमान लगाउनु हुन्थ्यो र धेरै मिल्थ्यो पनि ।

अस्पतालमा जब उहाँ बेहोस हुनुभयो तीन पटक, त्यो बेलामा उहाँको ५ या ६ दिनमा मात्र होस खुल्थ्यो, त्यो बेलामा म आमाको मुखबाट हरि भनेर बोलाएको मात्र सुन्न चाहन्थेँ र जब उहाँको आवाज आउँथ्यो मध्यराततिर म उठेर आमाको चरण दबाउन थाल्थेँ र सोध्थेँ - अहिले कस्तो छ ? उहाँको पहिलो प्रश्न हुन्थ्यो हातको इसाराले तैँले खाइस् ? आफू कोमाबाट ब्युँतिनु भएको छ तर चिन्ताचाहिँ मेरो मात्र किन ?

साक्षर मात्र रहनु भएकी मेरी आमामा जुन ज्ञानहरूको भण्डार अविस्मृतरुपमा म पाउँथे, म छक्क पर्थेँ र उहाँ धार्मिक कुरामा गुरु साम्बभक्त सुवेदीसँग नरम तरिकाले बहस गर्नुहुन्थ्यो । गुरु पनि त्यस्ता सकारात्मक र विश्लेषणात्मक छलफललाई प्रेरणा दिनुहुन्थ्यो र आफू पनि कति प्रगतिशील हुनुहुन्थ्यो भन्ने कुराको पनि जानकारी हामीलाई दिनुहुन्थ्यो व्यवहारले । एक पटक गुरु र मेरो आमाको बहस नरम तरिकाले तर गम्भीरताका साथ भएकाले म र उहाँको कान्छो छोरा पछि मेरो  भिनाजु हुनुभयो, अनन्तमणि सुवेदी, जनकपुरको संस्कृत विद्यालयमा पढ्न जानै लागेको कुरामा राम्रो बहस पश्चात् हामी रामेछापको गौरी शङ्कर माध्यमिक विद्यालयमा भर्ना गरिएका थियौँ । गुरुलाई मेरो आमाको तर्कले छोएछ र हामीलाई जनकपुर या तीन धारा पाकशालामा भर्ना गर्न लाने प्रक्रिया भएन र हामी कक्षा ७ र कक्षा ८ मा भर्ना भएका थियौँ । 

गुरुको विचारमा प्रगतिशीलता भनेको गफमा होइन, व्यवहारमा हुनुपर्छ । प्रगतिशीलता भनेको कम्युनिस्टको पेवा शब्द होइन, त्यो त प्रत्येक नयाँ पुस्ताले आफूमा आत्मसात् गर्ने व्यवहार हो । गुरुसँग सम्पर्कमा आउने व्यक्तिमा परिवर्तन आउँथ्यो र त्यो परिवर्तन जीवनलाई नजिकबाट चिन्नका लागि निस्पृहताको आवश्यक गुण सङ्ग्रह आवश्यक थियो । मेरो आमा सामान्य साक्षर भए पनि उहाँसँग उपदेश मञ्जरी, गुणमणिमाला, गुणरत्नमाला जस्ता पुस्तकहरू थिए । अरु बाले ल्याउने पुस्तकहरू हुन्थे सायद ती पुस्तक तथा पत्रिकाहरू भन्दा आमामा धार्मिक पुस्तकहरूको आकर्षण थियो । अनि ती पुस्तकहरूका उपदेशहरू आफ्ना सन्तानमा लागू गर्न उहाँको सदैव चिन्ता रहन्थ्यो । 

मेरो आमा भुवनेश्वरी अधिकारी र उहाँको माइती ढुङ्गेल । पिता त्रैलोक्यनाथ उपाध्याय ढुङ्गेल तथा माता भीमकुमारी । उहाँ अधिकारी त २००६ साल फागुन पछि मात्र हुनुभएको हो जब उहाँको विवाह मेरा पिताजी रामप्रसाद उपाध्याय अधिकारीसँग भएको थियो । पिताजीको पहिलो विवाह बितिजोरा पौडेल पुत्रीसँग भएको थियो, उहाँका ६ ओटा छोरी र दुईओटा छोरा जन्मेर पनि ठुली आमा २००४सालमा स्वर्गीय भएकाले मेरा आमासँग २००६सालमा विवाह भएको थियो । मैले सुनेअनुसार मेरी दिदीमध्ये जेठी दिदीको विवाह समेत भएको थियो बोहोरेटारका विष्णुप्रसाद आचार्यसँग तर बिहे भएको ४५ दिनमै दिदीको निधन भयो । यसरी म जन्मनु भन्दा पहिले नै दिदीहरू सबैको निधन भएकोले म नै पहिलो सन्तान जस्तै भएँ । अहिले लाग्छ , दिदी हुनुहुन्थ्यो भने आमाको साटो कहिलेकाहीँ गएर मनका कुराहरु भन्न पाउँथेँ होला र कसैसँगको गुनासाहरू पनि आमा पछि भनेर धक फुकाएर भन्न पाउँथेँ होला, र मनका बहहरू दिदीसँग बसेर आँसुका माध्यमबाट पोख्न पाउँथेँ होला । तर आमाको साटो त यो संसारमा कोही पनि हुँदैन , हुनै सक्दैन । 

मेरा आमाको जन्म आफ्ना माता पिताको पहिलो सन्तानको रुपमा १९९४ साल साउनको ६ गते भएको थियो पगरबासमा । त्यो बेलामा पूर्व २ नम्बर रामेछाप भनिन्थ्यो भने अहिले जिल्ला रामेछाप मात्र भनिन्छ । ढुङ्गेल वंशका बारेमा गर्व गर्नुहुन्थ्यो र ती पुर्खाका पहिला पुरुष अगस्तिको कथा मलाई बारम्बार सुनाउनु हुन्थ्यो र मलाई जिस्क्याएर भन्नुहुन्थ्यो-तिमीहरू अधिकारीको त काश्यप गोत्र हो, त्यो त कुनै गोत्र थाहा नपाएको प्राणी सबैको हुन्छ । अर्थात् काश्यप ऋषि ब्रह्माका सन्तान उत्पादन गर्नका लागि उत्पादन गरिएका, प्राणी मात्र सबैका आदि पुरुष हुन् भन्ने पनि उहाँको आशय हुन्थ्यो किनभने उहाँका सन्तान हामी त काश्यप गोत्रीय थियौँ र भन्नुहुन्थ्यो-आफ्ना पुर्खाप्रति सम्मान नहुने सन्तान त कुसन्तान हुन् । 

मलाई अहिले पनि अचम्म लाग्छ , उहाँले अठार पुराण सुन्नुभयो र कतिपय कथाहरू ती पुराणका खण्ड खण्डका आधारमा भन्न सक्नुहुन्थ्यो । कतिपय कथाहरू मलाई पछि पछि पनि उदाहरण दिनका लागि सुनाउनु हुन्थ्यो जस्तो कि आस्तिक ऋषिले आफ्ना मावली नाग वंशलाई बचाएका थिए किनभने राजा जन्मेजयको सर्पयज्ञलाई आस्तिकले नै भाँडेका थिए नत्रभने निरपराध नागहरू, सर्पहरू यज्ञ शालामा तानिएर आउँथे र सबै यज्ञ कुण्डमा स्वतः आकर्षित हुँदै डढेर मर्ने थिए । सानामा म आमासँग टाँसिएर सर्पयज्ञका बारेमा सोध्थेँ र उहाँले जरत्कारु ऋषिको कथा भन्नुहुन्थ्यो ।  जरत्कारु ऋषि एक पटक घुम्दै जाँदै थिए, उनी साधक थिए र युवावस्थामा नै ठुला ऋषि बनिसकेका रहेछन् ।

एक दिन एउटा अँध्यारो कुवामा कोही कराएको सुनेछन् र सोधेछन् , तपाईँहरू को हो ? २१ पुस्ताका मानिसहरू प्रेतात्माका रुपमा कुनै कमलो घाँस मोथेको कमलो डाँठमा अडिएर बसेका रहेछन् । जरत्कारुले सोधेछन् -तपाईँहरू किन यसरी अँध्यारो कुवाको मुखमा मोथेको डाँठमा मात्र समाएर वा अडिएर बस्नु भएको हो ? वास्तवमा तिनीहरू जरत्कारुकै पुर्खाहरू थिए किनभने जरत्कारुको पुस्तामा उसले बिहे नगरेपछि र उसका कुनै सन्तान नहुने भएपछि निःसन्तान हुन लागेका थिए । अनि निःसन्तान भएपछि नरक जाँदै थिए र जरत्कारुको कुनै पनि सन्तान नहुँदै उनी मरेमा सम्पूर्ण २१ पुस्ता नै त्यही कुवामा सदाका लागि विलीन भएर प्रेतात्माका रुपमा रहने रहेछन् ।

जब आफूहरूलाई सोध्ने व्यक्ति नै त्यो पछिल्लो पुस्ता भएकाले उनले के गरे ती पुस्ताहरूको तारनतार सम्भव छ भनेर सोधेछन्-त्यो जरत्कारु म नै हुँ र अब मैले के गर्नुपर्‍यो ? अनि ती सबैले भनेछन्—तैँले बिहे गरेर, सन्तान उत्पादन गरेर  हाम्रो सन्तति तन्तु जोडेमा हामी यहाँबाट मुक्ति पाउने छौँ । अनि मैले आमालाई सोधेँ- अरु पनि त होलान् नि सन्तान, किन आमा जरत्कारुकै सन्तान चाहियो ? आमाले हाँस्दै भन्नुभएको थियो- तँ सबै कुरा अहिले बुझ्दैनस् तर ऋषिहरूका एउटै सन्तान हुन्थे र स्त्री गर्भिणी भएपछि छोडेर वनमा गएर तपस्या गर्थे, गुरुकुल स्थापना गरेर पढाउँथे र सांसारिक शिक्षा दिएर संसारमा कसरी बाँच्ने भन्ने कला सिकाउँथे । त्यस्तै भएर जरत्कारु जन्मनु भन्दा पहिले नै उनका बाबुले उनलाई छोडेर हिँडेका थिए ।

पुस्तौँदेखि एउटा मात्र सन्तान भएकाले जरत्कारुले बिहे नगरे पनि सबै नरक जाने या प्रेतात्माको रुपमा भट्किने निश्चित थियो । त्यसैले जरत्कारुले पनि भनेछन्-मेरै नामकी युवती नभेटेमा म बिहे गर्नेछैन ।  पितृको आशीर्वादले नाग कन्या जरत्कारु फेला परिन् र आस्तिक नामका सन्तान जन्मिए र मावलीलाई सर्पयज्ञमा डढ्नबाट जोगाए । विधिको विधान नै तक्षकबाट डसिएर मर्ने महाराजा परीक्षितको मर्ने थियो , त्यसैले आस्तिकले सर्पयज्ञ रोकेछन् अनि तक्षकले डसेर परीक्षितलाई मारेछन् । 

आमाको एउटा सन्देश थियो मलाई त्यो कथा भन्दा-हेर बाबु, विधिको विधानलाई राजा परीक्षितले त अस्वीकार गर्न सकेनन् । स्वयं भगवानका अवतार श्रीकृष्णले पनि व्याधाको सियोरूपी वाणबाट परिधान जानु प¥पो भने मृत्यु न त कसैले पन्छाउन सक्छ , न त कसैले टारेर टार्न नै सक्छ । 

हुन पनि मृत्यु एउटा अपरिहार्य अवस्था रहेछ । कोही जन्मने वा नजन्मने कुराको एउटा प्रक्रिया रहेछ तर जन्मेपछि मर्नुपर्ने अनिवार्य र अपरिहार्यता रहेछ । पूर्वीय सोचमा मृत्यु जीवनको आधार स्तम्भ हो । मृत्यु भय पनि हो , मृत्यु जीवनको ऊर्जा पनि हो किनभने मरिन्छ नि त, त्यसैले कसैको कुभलो गर्नु हुँदैन । मृत्यु भन्दा बढी त्यसको भय रहेछ ।  एउटा नीति कथामा भनिन्छ- एउटा ब्रह्म राक्षस घाटमा बस्थ्यो र आउने लासको पोलेको मासु खान्थ्यो या पोलेर बाँकी रहेको मासु खान पल्केको थियो । एक पटक एउटा युवा राजकुमार मरेपछि उनकी भर्खरै जस्तो विवाहित रानी सती जान भनेर आइन् र साह्रै कङ्कला शब्दमा राजपरिवारका मानिसहरू रुँदै थिए । ब्रह्म राक्षसले पनि के हल्ला रहेछ भनेर बुझ्न जाँदा उसलाई पनि ती नवयुवती राजकुमारीको विलाप र तिनको सती जानै पर्ने अवस्था देखेपछि त्यो राजकुमारलाई बचाउन मन लाग्यो र समाधिमा बसेर जीवन दान गर्ने विचार ग¥यो । जब उसले आफ्नो जीवत्व आफूसँगबाट निकालेर राजकुमारको शरीरमा प्रवेश गराउन आँट्यो, पहिले हाँस्यो अनि रोयो । त्यसपछि समाधिबाट उसको टाउको पट्ट फुट्यो र आत्मा राजकुमारको शरीरमा प्रवेश गर्‍यो ।

अनि बेतालले सोध्छ विक्रमादित्य राजालाई कि हे राजा त्यो ब्रह्म राक्षस पहिले किन हाँस्यो अनि फेरि किन रोयो ? अनि राजा विक्रमादित्यले भनेछन् - पहिले अब म राजकुमार भएर संसार भोग गर्ने भएँ भनेर हाँस्यो तर अहिलेको शरीर छोडेर जानुपर्दा यो शरीरको मायाले रोयो । आमाले मलाई सानामा भनेको कथाको यो रहस्यले मृत्युको अनिवार्यता र अपरिहार्यता अनि आत्मा कतैबाट कतै सर्न सक्ने सन्देश पनि दिनु भएको थियो । अनि आमा गीताको रहस्यलाई पनि सम्झाउँदै भन्नुहुन्थ्यो- हेर बाबु, यो शरीर त एउटा लुगा जस्तै हो जस्तो कि पुरानो भएपछि फुकालेर फालिन्छ या च्यातिएर जान्छ तर आत्मा नै त्यस्तो चीज हो, जो न मर्छ, न कसैले त्यसको मृत्यु नै गराउन सक्छ । अर्थात् मृत्यु अनिवार्यता हो र पनि आत्मा अमरताको नाम हो । अनि मलाई भन्नुहुन्थ्यो- सबैले अन्याय गर्न सक्छन् तर मृत्युले अन्याय गर्दैन , कुनै पक्षपात पनि गर्दैन, मृत्युको घरमा कुनै पक्षपात नहुनका लागि उसले सबै प्राणीको राम्रा नराम्रा कुराहरूको हिसाब राखेको हुन्छ जसको लेखा चित्रगुप्तले राख्छन् ।  

आज आमा हुनुहुन्न, बा पनि हुनुहुन्न, सायद आमाले भनेको त्यही सत्य वचन पूरा भएको हुनुपर्छ कि उहाँको शरीर मात्र हामीसँग नभएको हो, आत्मा त कतै न कतै होला अजर अमर आत्मा । पूर्व जन्म र पुनर्जन्मको चक्रमा होला । 

जब जब म एकान्तमा हुन्छु मलाई लाग्छ, अब आमा भेटिनु हुन्न हगि ? बा भेटिनु हुन्न हगि ? एक दिन म पनि त्यसैगरी यो संसारबाट जानेछु र मेरा सन्तानले त्यसै गरी सम्झने होलान् । आज म छु र पनि यो संसार यस्तै छ, हिजो बा आमा हुनुहुन्थ्यो र पनि यो संसार यस्तै थियो । घाम लाग्थ्यो, हावाले हामीलाई बचाएकै थियो, पानी थियो, माटो थियो , आगो थियो । अर्थात् आकाश थियो, पृथ्वी थियो, अनि बा आमा पनि हुनुहुन्थ्यो । मैले त ५१ वर्षको उमेरसम्म बाको काँधमा टाउको राखेर आफूलाई सुरक्षित ठानेको थिएँ र ६० वर्षको उमेरसम्म आमाको काखमा लुटुपुटु गरेर संसारको सबैभन्दा सुखी मानिस सम्झेर उहाँको काखमा सुत्थेँ । जब आमाको अवस्था कुनै पनि बेला हामीलाई छोडेर जाने भनेर चिकित्सकले एकान्तमा बोलाएर भने, अनि म आमाको अनुहार हेरेर सम्झन्थेँ - आमा, यो अनुहार अब कति दिनसम्म हेरिरहन पाउँला, तपाईँ साँच्चै डाक्टरले भनेजस्तै मलाई पनि छोडेर जानु होला त ? पक्कै मलाई छोडेर कसरी जानुहोला भन्ने लाग्थ्यो । उहाँकी पनातिनीहरू जन्मेका थिए र तिनको मायाले उहाँलाई सायद यहाँबाट कसरी जान देला भन्ने मलाई लाग्थ्यो । 

मैले कम्तीमा पनि ६० वर्षसम्म आमा भनेर माया पाएँ उहाँको तर जसले आमाको अनुहार पनि देख्न पाएनन् ,या सम्झिँदैनन् या आमाको क्ररुताले आमाकै हातबाट फ्याँकिएका होलान् तिनको मनमा आमाको चित्र जुन आउँदो होला, त्यो कति हृदय विदारक हुन्छ होला । 

आमा भन्ने शब्द नै उत्प्रेरणाको श्रोत हुँदो रहेछ । झन् अहिले उहाँ हुनुहुन्न झन् लाग्छ अब उहाँलाई कहाँ भेट्नु ? यो जुनीमा के भेटिएला ? स्वर्गीय नाटककार तथा कवि भीमनिधि तिवारीको विस्फोटभित्रको एउटा कविताका पात्रा हुनुहुन्थ्यो भुवनेश्वरी र उहाँको उमेर २४वर्षको रहेछ त्यो कविता लेख्दा । अनि आमाले त्यो कविता मलाई भन्न लगाउनु हुन्थ्यो र रुन थाल्नु हुन्थ्यो । 

अझ बोधविक्रम अधिकारीजीको शिशिर वसन्तको कथा पढ्दै रुनु हुन्थ्यो र भन्नुहुन्थ्यो- म मरेपछि यी मेरा साना साना छोराछोरीहरू, तेरा भाइ बहिनीहरूलाई टुहुरा भयौँ भन्ने भावना पलाउन नदिनू । त्यो कथामा एउटा प्रसङ्ग आउँछ, भँगेरा र भँगेरीको । भँगेरी मरेपछि दुई चार दिन त बच्चाहरूको रेखदेख गर्छ, त्यसपछि अर्की भँगेरी ल्याउँछ र ती कलिला पिउसाहरुलाई त्यो भँगेरीले फाल्छ, त्यो देखेपछि शिशिर वसन्तकी आमा रानीलाई त्यसले आफ्ना सन्तानको पनि त्यस्तै अवस्था होला अदि म चाँडै मरेँ भने । राजाले त्यो विषाद नलिन र त्यस्तो भई हाले म अर्को बिहे गर्दिन र यिनै बच्चाको रेखदेख गर्नेछु र शिशिरले नै राज्य पाउने छन् । नभन्दै रानी मरिन् तर राजाले कान्छी रानीको भरमा परेर शिशिर वसन्तलाई घरबाट मात्र निकालिनन्, मारेर कलेजोसमेत खानका लागि राजालाई बाध्य पारिन् । तर उनीहरू कसो कसो बाँचे । मार्न भनेर लिएर गएका जल्लादहरूले मृगको मुटु ल्याएर ती राजकुमारहरूकै मुटु हो भनेर बिच वनमा छोडेर हिँडे अनि ती शिशिर वसन्तको बिछोड भयो र पछि मिलन बडो मुस्किलले भएको थियो । त्यो कथामा रानीको अवस्था जस्तै हुने हो कि भनेर आमा सधैँ चिन्तित हुनुहुन्थ्यो र म आमालाई भाइबहिनीलाई रुखमुनि लगेर पनि पाल्ने वाचा गुथेँ र आमा तपाई हामीलाई छोडेर जानै सक्नुहुन्न भन्ने जिरह गर्थेँ । तर मलाई थाहा थिएन कसरी पालुँला तर आमाको एउटै भरोसा थियो, पहिलो सन्तानलाई आफैँ उभिने गरायो भने उसले अरूलाई आफू जस्तो बनाउने काम गर्नेछ । मलाई लाग्छ, जति सकेँ आमाको त्यो अपेक्षालाई पूरा गरेँ हुँला जस्ताे लाग्छ । या गरिन भने पनि आमाले माफी दिनुहोला माथिबाट भन्ने आशा गरेको छु । 

आज आमा हुनुहुन्न, त्यसरी मेरालागि मार्ग निर्देशन गर्ने कोही पनि छैन । त्यो माया त्यो भरोसा त्यो विश्वास र त्यो कडाइ त्यो अनुशासन पालना गराउने आमा मैले अब कहाँ  पाउनू ? मैले आजसम्म मादक पदार्थ प्रयोग गरिन, जुवा तास र बाजीमा कुनै खेल खेलिन, त्यो आमाको मेरा भविष्यप्रतिको कडा अनुशासन पालना गर्ने निर्देशनले थियो । पछि म शिक्षक भएपछि ती  सबै कुरा मेरा नैतिकताको क्षेत्रभित्र परे अनि आमा खुसी हुनुहुन्थ्यो । आमाका लागि म एउटा आदर्श छोरा हुनु जरुरी थियो र मैले सकेसम्म आफूलाई उहाँको निर्देशनभन्दा बाहिरको घेरामा जान दिइन । 

उहाँ पहिले देखि नै बिरामी हुनुहुन्थ्यो । ठुलो जहानकी बुहारी । न खाने बेलाको टुङ्गो, बर्सैपिच्छे जस्तो बच्चा पाउने,  मेरा आमाले ११ सन्तान पाउनु भयो र अहिले हामी ६ जना छौँ । धनी बाबुकी छोरी, सबै सुविधा सम्पन्न परिवारकी जेठी छोरी, ठुलो परिवारमा आएर काम गर्नु पर्दा उहाँको अस्वस्थता मैले जाने देखि नै थियो । पछि भएपछि उहाँमा उच्च रक्तचाप, मधुमेह देखियो ।२०६५ पछि बारम्बार बिरामी हुनु भयो र माहिलो भाइ हिमालयको सडक दुर्घटनामा २०६९साल चैत्र २८ गते निधन भएपछि भने उहाँले त्यो पुत्र वियोगलाई सहनै सक्नु भएन । त्यसपछि उहाँमा तीन पटक सम्म हृदयाघात भयो । 

अस्पतालमा जब उहाँ बेहोस हुनुभयो तीन पटक, त्यो बेलामा उहाँको ५ या ६ दिनमा मात्र होस खुल्थ्यो, त्यो बेलामा म आमाको मुखबाट हरि भनेर बोलाएको मात्र सुन्न चाहन्थेँ र जब उहाँको आवाज आउँथ्यो मध्यराततिर म उठेर आमाको चरण दबाउन थाल्थेँ र सोध्थेँ - अहिले कस्तो छ ? उहाँको पहिलो प्रश्न हुन्थ्यो हातको इसाराले तैँले खाइस् ? आफू कोमाबाट ब्युँतिनु भएको छ तर चिन्ताचाहिँ मेरो मात्र किन ? सायद यही हो आमाको निःस्वार्थ माया , असीमित माया र आफूभन्दा बढी सन्तानको माया । 

उहाँको चिन्ता थियो स्वाभाविक रुपमा हाम्रो प्रगति र स्वास्थ्यप्रति । मैले भनेको थिएँ आमा म छँदै छु नि ! तर थाहा थिएन मैले गर्नेचाहिँ के हो ? तर मैले ढाडस दिनु किन पनि पर्थ्यो भने उहाँको आकाङ्क्षा, चिन्ता र अपनत्व , ममता मसँगै यसरी गाँसिएको थियो कि त्यो मैले कसरी पो छुटाउन सक्थेँ र ? जसले मलाई पायो, यो संसारमा ल्यायो । त्यसैले उहाँको एउटै चिन्ता थियो मसहितका उहाँका सन्ततिहरू आफ्ना खुट्टामा टेक्ने होउन् अर्थात् मैले उनीहरूलाई त्यस लायक बनाउनू । आमाको जहिले पनि भनाइ हुन्थ्यो - बा बुढो हुनुभयो । आमा र बाको उमेर १८ वर्ष फरक थियो र म नै जेठो सन्तान थिएँ । आमाले जहिले पनि वैध सम्पत्ति कमाउन, साँचो बोल्न, अरूलाई नठग्न, मादक पदार्थ नखान, जुवा नखेल्न, परस्त्री गमन नगर्न कडा आदेश दिनु भएको थियो । भन्नुहुन्थ्यो, तेरा जिम्मामा भाइ बहिनी लगाएकी छु । तर त्यस्तो त मैले दायित्व किन पनि लिनु परेन भने मेरो सामान्य निर्देशनले पनि तिनीहरू संसारमा स्वाभिमानका साथ समाजमा बाँच्न सफल भएको देख्न पाउनु भएको थियो । सबै असल भए र असल पथप्रदर्शनमा अहिले पनि चलेकै छन् , आफ्ना आफ्ना क्षमताले गरी खाएका छन् । हामी सिद्धान्तमा सँगै छौँ । 

तर व्यवहारमा आफ्ना आफ्ना कमाइ खाएर बसेका छौँ , मलाई त्यसमा गर्व छ र सायद बा आमाले पनि माथिबाट हेरिरहनु भएको भए खुसी नै मानिरहनु भएको हुनुपर्छ । म पेन्सन खाएर बसेको छु, भाइहरू शम्भु राजनीतिक रुपमा समाज सेवामा लागेको छ, श्रीवत्स अहिले आफ्नो भाग्य अजमाउन संयुक्त राज्य अमेरिकामा कार्यरत छ, बहिनी मुना आफ्नै घर परिवारमा मग्न छे, बहिनी जगदम्बा पनि अमेरिका बसेर पनि समाजसेवामा लागेकै छे र नेपालका हितमा कसरी काम गर्न सकिन्छ भनेर नेपाल युयस पोलिसी रिसर्च भनेर भन्ने संस्थामा स्वर्यसेवीको रुपमा संलग्न छे । सानो भाइ तारिणी पनि प्रभु बैङ्कमा राम्रै पदमा बसेर सेवा गर्दैछ । हिमालयको छोरो शेखर पनि अमेरिकामा नै आफ्नो भाग्य अजमाउँदै छ । शम्भुकी छोरी आस्मा पनि चिकित्सक भएर बिरामीहरूको सेवा गर्दैछे र मेरा छोराछोरीहरू पनि आफ्ना आफ्ना क्षेत्रमा विज्ञता हासिल गरी मुलुकको सेवा गरिरहेका छन् । सानी छोरी अर्चना अहिले नर्वेमा उच्च अध्ययनमा संलग्न छे । अर्थात् आमाको एउटा सपना थियो, उहाँका सन्तानहरूले संसारमा जहाँ भए पनि आफ्ना खुट्टामा टेक्न सकुन् र कसैसँग हात फैलाएर मागेर खानु नपरोस् , कसैको ठगेर खानु पनि नपरोस् र कसैले उहाँका सन्तानलाई आँकला ठड्याएर गाली गरेको सुन्नु नपरोस् । अहिलेसम्म त्यो सपनामा कसैले पनि दुःस्वप्न गराएका छैनन् र उहाँको आशीर्वाद अनवरत हामीले पाइरह्यौँ भने जस्तासुकै समस्याहरू पनि हामीले समाधान गर्न सक्छौँ भन्ने दृढता पनि हामीसँग छ । 

मेरी सानी बहिनी जगदम्बाले आमालाई अमेरिका पनि घुमाई र उहाँकी पनातिनी विश्रुता जन्मेपछि उहाँलाई सन्तति तन्तु, त्यो पनि पनातिनी जन्मेकोमा त्यसको अनुहार हेर्न भनेर छिटै अमेरिकाबाट फर्कनु भएको थियो । सन्ततिप्रतिको ममता, वात्सल्यताको कस्तो तृष्णा हुने रहेछ भन्ने मलाई पनि अहिले नातिनीहरूको मायाले त्यो मायाको जालोको अनुभूति भएको छ । सम्भवतः त्यस्तो नहुने हो भने यो संसार मानवविहीन हुने थियो होला । सन्तति तन्तुको माया सायद जरत्कारुका पुर्खाको जस्तै हुने रहेछ किनभने जो कोही पनि भौतिक रुपमा यो धरामा बाँचिरहने भनेको नै सन्ततिबाट अरु सन्तति जन्मँदै पुनरुत्पादनबाट नै हो जो प्राणी मात्रको प्रकृति प्रदत्त क्षमता हो कर्तव्य हो ।

आमा मलाई र हामीलाई तपाईँका सन्तान हुन पाएकामा गर्व छ र तपाईँको सपनामा हामी कुनै पनि कमी आउन दिने छैनौँ । तपाईँको कमी सदैव रहनेछ र सपनामा भए पनि तपाईँलाई बेलाबेलामा देख्न पाउँदा त्यही ऊर्जा पाउने गर्छु जुन सशरीर र सजीव हुँदा तपाईँबाट पाउने गर्थे। अब अरु जुनी पनि जन्मनु परेमा तपाईँकै सन्तान भएर जन्मन पाउँ , त्यही आशीर्वाद दिनुहोस् स्वर्गबाट । 

कति मीठो शब्द आमा आमा आमा । तपाईँको कमी कसरी पो पूरा हुन्छ र यो जुनीमा अब । क्रमशः 

हरिविनोद अधिकारी

 

 

 


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।