प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको नयाँ राजनीतिक आयामको संक्षिप्त प्रारूप
फाल्गुन १७, २०७७

सम्मानित सर्वोच्च अदालतबाट ५ पुस २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन असंवैधानिक भएको निर्णय आउनासाथ नेपाली राजनीतिक आकाशमा कालो बादल मडारिन थालिसकेको छ । राजनीतिक ढोगभेट एवं कोठे बैठकहरूले तीब्रता पाएका छन् । सत्ताका लागि सम्भावित पात्रहरूले यस परिस्थितिको लाभ उठाउन सबै कोणबाट आ-आफ्नो दाउ खेल्न सुरु गरिसकेका छन् ।

नेपालको कुसंस्कारिक राजनीतिक विगतलाई नियाल्दा नयाँ प्रधानमन्त्री आउने वा बहालवाला प्रधानमन्त्रीले नै विश्वासको मत प्राप्त गर्ने भन्ने कुरा यकिनसाथ भन्न सक्ने अवस्था छैन । क्षितिजबाट हेर्दा प्रधानमन्त्रीको कुर्सीका लागि दाँत उध्याएर बसेकाहरूमध्ये प्रायः सबै पहिला स्वाद पाइसकेका, सिन्को भाँच्न नसकेका तर डकार आउन्जेल उक्त पद र त्यसको प्रतिष्ठा खाएका पात्रहरूकै बाहुल्य रहेको देखिन्छ । यदि लोकतन्त्र वा अन्य कुनै नाउँमा अयोग्य सावित भइसकेका, देश हितप्रति उदासीन रही गुट हितमा केन्द्रित रहेका, राष्ट्र निर्माणका लागि स्पष्ट दृष्टिकोण नभएका, यही खरिद बिक्रीवाला व्यापारिक राजनीतिक पद्धतिमार्फत कुनै पनि पात्रलाई प्रधानमन्त्री बनाइए कम्तीमा वि.सं. २१०० सम्म पनि यस्तैयस्तै जानेछ भन्ने कुरा जोकोहीलाई अनुमान गर्न गाह्रो छैन ।

सत्ता सञ्चालन एक किसिमको प्रत्यक्ष रूपमा देश र जनतासँग अल्प तथा दीर्घकालीन सरोकार राख्ने खेल हो । यस राजनीतिक खेलमा पनि अन्य प्रकारका खेलमा जस्तै प्रशिक्षक, अभ्यास, मैदान, नियम र खेलाडी जस्ता तत्त्वहरु  समाविष्ट हुन्छन् । त्यसैले यहाँ राजनीतिक सत्ता संचालनलाई खेलको दृष्टिकोण बाट हेर्ने प्रयास गरिन्छ ।

कुनै पनि खेलमा अभ्यासको उद्देश्य भनेको निश्चित कार्य सम्पादनका निमित्त कार्यकुशलतामा निखार ल्याउनु हो । एउटा अभ्यास अनन्तकालसम्म गरिरहनु र त्यसलाई कार्यरूप नदिनु हो भने त्यस्तो अभ्यासको कुनै औचित्य रहँदैन । नेपालमा बहुदलीय संसदीय व्यवस्थाको अभ्यास हुन थालेको तीन दशक नाघिसकेको छ । अभ्यासका दौरान त्यही मैदानमा, उही पुरानै भुत्ते, भद्दा बहुगुटीय बतासे व्यवस्थाको नियमअनुसार तिनै पुराना खेलाडी नै प्रशिक्षणको प्रथम प्राथमिकतामा पर्दै आएका छन् । प्रशिक्षण सुरु हुँदा जन्मिएका मानिस बाजे भइसके, तिनीहरूको प्रशिक्षण वा अभ्यास सकिएको छैन । तिनै वयोवृद्ध खेलाडी आज पनि कट्टु र गन्जी लगाएर अग्रपंक्तिमै छन् ।

अभ्यासका दौरान सैद्धान्तिक, नैतिक एवं निष्ठागत तवरले निच, पतीत र नग्न नृत्य प्रस्तुत गरेका तिनीहरूले गरिबी, अस्थिरता, परनिर्भरता जस्ता बलिया प्रतिद्वन्द्वीहरूसँग मुकाबिला गर्ने तयारी गर्नुको सट्टा एकअर्काको लगौँटी खोल्ने, एकअर्कालाई चिथोर्ने, कोपर्ने र फुर्सदमा जाम पिएर उत्तानो टाङ लगाएर चउरमा घाम ताप्ने काम मात्र गरे । आफ्नो त्यस प्रकारको प्रशिक्षणलाई, लामो प्रशिक्षणबाट प्राप्त त्यस प्रकारको पतीत एवं फोहोरी आचरणको कलालाई तिनीहरुले सधैं कार्यरूप दिँदै आएका भए पनि अहिले भने तिनीहरूको घीनलाग्दो तमासा उत्कर्षमा पुगेको छ । त्यही प्रकारको अभ्यास त्यही किसिमको विधिबाट गर्ने कार्यलाई निरन्तरता दिन तिनै पुरानै खेलाडीहरू आज पनि तँछाडमछाड गर्दै लछारपछार गरिरहेका छन् । किंकर्तव्यविमुढ जनता पुर्पुरोमा हात राखेर उल्लेखित व्यहोराको प्रशिक्षणको अन्त्यको प्रतीक्षा गर्दै छन् ।

प्रशिक्षण अपेक्षित नहुन सक्नुमा एक खेलका लागि आवश्यक तत्त्वहरू जस्तैस् प्रशिक्षक-राजनीतिक सिद्धान्त, नियम-राजनीतिक पद्धति, मैदान-संवैधानिक एवं कानुनी घेराबारायुक्त सुसंगठित राज्य संयन्त्र र खेलाडी-त्यस प्रशिक्षण कार्यक्रमका केन्द्रविन्दुमध्ये कुनै पनि तत्त्व नेपालको भौगोलिक, सांस्कृतिक, धार्मिक वा सामाजिक हिसाबले उपयुक्त अथवा प्रभावकारी नहुनु वा हुने वातावरण बन्न नदिनु नै प्रमूख कारक हो । 

खेलाडी वा नेता, त्यसैले कुनै रंगमञ्चमा रमिता देखाउने नौटङ्की कलाकार होइन, ऊ त वास्तविक जीवनमै सम्पुर्ण समाजको, विकास र प्रगतिको, राष्ट्रको सम्पूर्ण राजनीतिक लक्ष्यको, प्रत्यक्ष चलिरहेको खेलको हार र जीतको उत्तरदायित्वको नाम्लो आफ्ना थाप्लामा भिरेर हिँड्ने, हिँड्न् सक्ने बौद्धिक, प्राज्ञिक, मानसिक एवं शारीरिक रूपमा स्वस्थ र इमान्दार राजनीतिज्ञ हुनुपर्छ ।

अभ्यासका नाममा युग बितिसक्यो, बित्दै छ । न त वास्तविक अभ्यास गरियो, न अभ्यासका तत्त्वहरूमा संशोधन गरी अभ्यासको रूप र सारमा परिवर्तन गर्ने प्रयास गरियो । त्यही प्रशिक्षक, उही नियमानुसार तिनै खेलाडीद्वारा उसै दुर्गन्धित मैदानमा अभ्यासका नाउँमा आज पनि त्यै नौटङ्कीको मंचन भइरहेको छ ।

अभाव, दरिद्रता, भ्रष्टाचार जस्ता सुशासन र समृद्धिका दुश्मनहरू समेत आफ्नो प्रतिद्वन्द्वी नालायक भएकामा, खेल खेल्दै नखेली सदा जितिरहन परेकोमा, आफ्नो वास्तविक खेल देखाउने अवसर प्राप्त नभएकोमा खिन्न देखिन्छन् ।

सर्वप्रथम प्रशिक्षकको चर्चा गरौँ । राजनीतिक सिद्धान्तले वैचारिक समानता भएका मानिसहरूलाई गोलबन्द गराउने मात्र नभई राज्य संचालनका विभिन्न अवयवहरूबीच समन्वय गराई राज्य सञ्चालकहरूलाई मार्गनिर्देशनसमेत गर्छ । राजनीतिक सिद्धान्तको दिशानिर्देशका आधारमा राज्यका समस्याहरूको प्राथमिकीकरण तथा समाधानका उपायका विकल्पहरूको निर्धारण हुन्छ । विश्वका विभिन्न समुन्नत मुलुकहरूको राज्य संचालनको सैद्धान्तिक पाटोलाई दृष्टिगत गर्दा राजनीतिक सिद्धान्तको राज्य संचालनमा रहने भूमिका स्पष्ट हुन्छ ।

अमेरिकाको दुई दलीय पद्धतिमा पनि सन् १८२८ मा एन्ड्रयु ज्याक्सनसमेतले स्थापना गरेको उदारवादी डेमोक्रेटिक पार्टी र सन् १८५४ मा अब्राहम लिङ्कनसमेतद्वारा स्थापित पुरातनवादी रिपब्लिकन पार्टीका सिद्धान्तहरूको धरातलमा टेकेर सम्बन्धित दलको सरकारले आफ्नो कार्य संचालन गर्छ ।

साम्यवादी सिद्धान्तले चिनियाँ सत्ता सञ्चाचालन निर्देशित छ । निकटका छिमेकी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिन पिङ जस्ता बुद्धिमान एवं राष्ट्र र राष्ट्रियताप्रति बफादार राजनीतिक खेलाडीले सैद्धान्तिक एवं संरचनागत केही प्रतिकूलताका बाबजुत आआफ्नो मलुुकलाई प्रगतिको विश्व म्याराथनमा निकै अगाडि पुर्‍याइसकेका छन् । स्पस्ट एवं उपयुक्त राजनीतिक दलीय सिद्धान्तप्रति आस्था र विश्वास भएका मुलुकहरूमा तुलनात्मक रूपमा चाँडो प्रगति भएको देख्न पाइन्छ ।

उधारो वा पैँचो ल्याइएका, आफ्नो देशको परिवेशमा घुल्न नसक्ने खालका सिद्धान्तलाई कनिकुथी लागू गर्न खोजेका, दर्जनौँ (अझ सयौँ) प्रष्ट सैद्धान्तिक धरातलविहीन गुटहरूका धनी नेपाल, बर्मा जस्ता मुलुकहरू माथि उठ्नुको साटो तलतल भासिँदै गएको यथार्थ सबै सामु छर्लङ्ग छ । बर्मामा प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षको परिणामस्वरुप सन् १९८८ मा जन्मिएको त्यहाँको नेसनल लिग फर डेमोक्रेसीले भारी बहुमत ल्याएर पनि सत्ता संचालन गर्न नसक्नु र नेपालको नेकपाले प्राप्त गरेको झन्डै दुई तिहाइ बहुमतले पखाला लागेर भान्सा, बिछ्यौनामै खुलेआम फोहोर गर्दै नेपाल र नेपालीको इज्जतको खिल्ली उडाउने लज्जास्पद घटना घटित हुनुका पछाडि उस्तै प्रकारका सैद्धान्तिक त्रुटिहरूको प्रमुख योगदान रहेको पाइन्छ ।

नेपालको सन्दर्भमा स्पष्ट सैद्धान्तिक धरातल भएको हालसम्म कुनै दल छैन । नेपाली कांग्रेसको बीपी कोइरालाद्वारा विकसित प्रजातान्त्रिक समाजवादको सिद्धान्तमा निहित त्रुटिहरू- स्वच्छन्दताको वर्चस्व, बहुगुटीय व्यवस्था, राजसंस्थाको भूमिकामा अस्पष्टता, समाजवादी र र पुँजीवादी  सिद्धान्तको मात्रात्मक आनुपातिक मिश्रणको सूत्राभाव आदिलाई सच्याउँदै उक्त सिद्धान्तको स्पष्ट खाका तयार गर्न सक्ने हालसम्म कोही देखिएन ।

नेपालमा जन्मिएका कम्युनिस्टहरूको आयातीत मार्क्सवाद, लेनिनवाद र माओवाद जस्ता वर्गीय विभेदकारी साम्यवादी सिद्धान्तहरू राम्ररी टुसाउन नपाउँदै पुँजीवाद मिश्रित सामन्तवादी धरापमा परिहाले ।

दशकौँसम्म संघर्ष गरेको तत्कालीन एमालेले त आफूलाई बहुदलीय जनवादको नाउँमा बीपीकै प्रजातान्त्रिक समाजवादको अस्पष्ट सैद्धान्तिक मार्ग अनुसरण गर्‍यो नै, दशक लामो सशस्त्र युद्ध गरेको माओवादीले समेत अतिसहज र असामान्य ढंगले वैचारिक तवरले पूर्ण स्खलित हुँदै साम्यवादी विचारधारा परित्याग गरी बहुगुटवादी उही बीपी कोइरालाकै सैद्धान्तिक पथमा समाहित हुन पुग्यो ।

उता पञ्चायती व्यवस्थाका अनुयायीहरू, आफूलाई भद्र भलाद्मी र सभ्य बताउने व्यक्तिहरूको बाहुल्य रहेको अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टीले कुनै सैद्धान्तिक धरातलबिनै देख्नेलाई नै कुरीकुरी लाग्ने गरी कहिले फुट्दै त कहिले जुट्दै काम चलाइरहेको छ । अन्य सयौँ दलहरूमध्ये कसैको पनि स्पष्ट, नौलो, आफ्नै सैद्धान्तिक मार्गचित्र छैन । नेपालमा यस्तो बिना उचित सिद्धान्तको अथवा बिना योग्य प्रशिक्षकको, लामो प्रशिक्षण कार्यक्रम साँच्चै नै बिर्सनलायक रह्यो । तर दुर्भाग्य, फ़ेरि पनि त्यसैको पुनरावृत्ति हुँदै छ, गल्ती तेहेरिँदै छ ।

यसर्थ, आफूलाई राजनीतिकर्मी र आफ्नो गुटलाई साँचो अर्थमा राजनीतिक दलमा रूपान्तरण गर्ने भए, सर्वप्रथम, समय साधन खर्चेर, जसरी हुन्छ, आफ्नो दलको स्पष्ट, पाच्य एवं विश्वसनीय राष्ट्रिय स्तरको सैद्धान्तिक रूपरेखा कोरौँ । अन्यथा, त्यसो गर्ने सामर्थ्य छैन भने 'मेरो फलानो दल, म फलानो स्तरको नेता' भनेर कृपया कुर्लिएर बुज्रुक परदेशी पर्यवेक्षक मित्रहरूलाई समेत लज्जित नतुल्याऊँ ।

राज्य सञ्चालनको अभ्यास खेलमा दोस्रो महत्त्वपूर्ण तत्त्व नियम वा राजनीतिक प्रणाली हो । बिनानियम वा अनुपयुक्त नियम अधिनस्थ अभ्यास प्रत्युत्पादक हुन्छ । नेपालको प्रचलित राजनीतिक प्रणाली बहुगुटीय (किनकि यहाँका मूख्य राजनीतिक दलहरूको सिद्धान्तको सारमा कुनै भिन्नता छैन) संसदीय प्रणाली हो । यस व्यवस्थाका न्यूनातिन्यून मात्र राम्रा पक्षहरू भएको कसैबाट छिपेको छैन । यस व्यवस्थामा जन्मिएका सिद्धान्तविहीन दल र आदर्शविहीन नेताको देश निर्माणमा शून्य उपयोगिता सिद्ध भइसकेको छ । तसर्थ, माथि उल्लेखित प्रकारका कुनै दुई मात्र राजनीतिक सिद्धान्त संवैधानिक रूपमै किटान गरी वैचारिक भिन्नताका आधारमा कसिलो ढंगले ध्रुवीकृत हुनुको विकल्प छैन ।

बहुगुटीय व्यवस्थालाई दुई दलीय व्यवस्थामा परिवर्तन गरी, नेता-कार्यकर्ताको संख्यामा कटौती गरी विशुद्ध कानुनी शासनको गुरुमन्त्र निर्देशित स्वस्थ राजनीतिक प्रतिस्पर्धात्मक प्रणालीमार्फत उत्पादक एवं प्रभावकारी नियमवन्धित राजनीतिक अभ्यास वा प्रशिक्षण होस् भन्ने आजको नेपाल र नेपाली जनताको निस्शब्द पुकार हो । स्वतन्त्र, विकासप्रेमी र देशभक्त नेपाली जनताको किल्किलेसम्म आइपुगेको हाल कायम गुटतन्त्रको वैधानिक अन्त्य र नयाँ युग सुहाउँदो नयाँ तन्त्र स्थापना हुने प्रतीक्षाको घडीको सुइ, तर, कति तीब्र गतिमा घुम्ला, आगामी समयले नै बताउला ।

तेस्रो, मैदान वा राज्य संयन्त्रको कुरा । राज्य संचालनार्थ निश्चित राजनीतिक प्रणालीमा निश्चित राजनीतिक सिद्धान्तबमोजिमका नीति तथा कार्यक्रमहरूको क्रियान्वयन गर्ने कार्य राज्यका विभिन्न संयन्त्रहरूमार्फत गरिन्छ । विधि र सिद्धान्तको अभ्यास गर्ने स्थान वा मैदान हो राज्य संयन्त्र । त्यस संयन्त्रमा कर्मचारीतन्त्रको मूख्य भूमिका हुन्छ । यदि मैदान अथवा राज्य संयन्त्रका अंगहरू दुर्गन्धित भए भने, यदि तिनीहरू राजनीतिक अभ्यास वा प्रशिक्षणका लागि प्रतिकूल भए भने अपेक्षित उपलब्धि हासिल गर्न सकिँदैन । 

यसर्थ राज्य संयन्त्ररूपी मैदानलाई कानुनको बलियो तारबार लगाई सरसफाईको नियमित प्रबन्ध गर्नु अत्यावश्यक हुन्छ । घुसखोरी, भ्रष्टाचार, कमिसनखोरी, अनियमितता जस्ता रछ्यानको हिलो छ्यापाछ्याप गर्ने, दुराचारको ढलमा पौडी खेल्ने, कर्तव्य र दायित्वजति गुटमुट्याएर रद्दीको टोकरीमा फाल्ने वा विसर्जन गर्नेरगराउनेजस्ता कुकार्य उक्त मैदानमा हुन नदिने सर्वोत्तम सुरुवाती विकल्प कानुनी घेराबारा, अबिच्छिन्न कानुनको निगरानी र दण्डरूपी कुचोरझाडुद्वारा नियमित सरसफाई नै हो ।

र, चौथो पक्ष, खेलको केन्द्रविन्दु खेलाडी हुन्छ । खेलाडीले सक्षम प्रशिक्षकको निर्देशनको अधिनमा रही खेलको नियमको अक्षरस पालना गर्दै सफा एवं व्यवस्थित मैदानमा आफ्ना प्रतिद्वन्द्वीहरूको शक्ति र क्षमताको आवश्यक आँकलन गरी अनुशासित भएर उत्कृष्ट खेल प्रदर्शन गरी विजय हासिल गर्न उत्साहित हुनुपर्छ । खेलाडी यदि शारीरिक र मानसिक रूपमा तन्दुरस्त छैन, आत्मकेन्द्रित वा अधिक स्वार्थी छ, बिकाउ वा भ्रष्ट छ, आफ्नो टोलीका लागि नभएर अरू कसै पराईको इसारामा खेल्दै छ भने त्यस्तो खेलाडीको बेलैमा पहिचान गरी उसको व्यथाअनुसार ओखती लाग्ने भए गर्ने र नलाग्ने अवस्थामा पुगिसकेको भए कानुनसंमत ढंगले त्यसलाई डाँडो कटाउनुपर्छ ।

राजनीतिमा खेलाडीको भूमिका नेताको हुन्छ । खेलाडी छनोट गर्ने कार्य निष्पक्ष हुन सक्यो भने, ती खेलाडीलाई राम्रो प्रशिक्षकको प्रशिक्षण प्राप्त भयो भने, प्रशिक्षण र खेलको व्यवस्थापनका निमित्त उपयुक्त नीति, नियमको स्थापना गरी त्यसको समुचित परिपालना र सो भएर नभएको अनिवार्य अनुगमन गर्ने स्थायी संयन्त्र हुर्काइयो भने मात्र भयंकर बलिया र दानवी रूपरङ भएका, नेपाल देश र नेपाली जनताका बाजे, बराजुका पालादेखिका दुस्मनहरू गरिबी, भ्रष्टाचार, शोषण, विभेद, कालोबजारी, तस्करी, कठ्पुतलीवाद आदि जस्ता अनुभवी खेलाडी सम्मिलित प्रतिद्वन्द्वीलाई समेत पराजित गरी खेल जित्ने सम्भावना प्रबल हुन्छ । 

खेलाडी वा नेता, त्यसैले कुनै रंगमञ्चमा रमिता देखाउने नौटङ्की कलाकार होइन, ऊ त वास्तविक जीवनमै सम्पुर्ण समाजको, विकास र प्रगतिको, राष्ट्रको सम्पूर्ण राजनीतिक लक्ष्यको, प्रत्यक्ष चलिरहेको खेलको हार र जीतको उत्तरदायित्वको नाम्लो आफ्ना थाप्लामा भिरेर हिँड्ने, हिँड्न् सक्ने बौद्धिक, प्राज्ञिक, मानसिक एवं शारीरिक रूपमा स्वस्थ र इमान्दार राजनीतिज्ञ हुनुपर्छ ।

टुङ्ग्याऊँ ।

नेपालको हावापानी सुहाउँदो राजनीतिक सिद्धान्तको प्रतिपादन गरी प्रत्यक्ष निर्वाचित शक्तिशाली कार्यकारी प्रमुखसहितको दुई दलीय शासन व्यवस्थाको संवैधानिक प्रावधान गर्ने र कठोर कानुनी शासन नियन्त्रित राज्य संयन्त्रको अधिकतम सदुपयोग गर्दै विधिवन्धित जफाफदेही नेतृत्वको छनोट अनि गुण र दोषका आधारमा पुनःस्थापन वा प्रतिस्थापन गर्दै जाने संस्कृतिको शिलान्यास गर्ने उपयुक्त क्षण यही हो । अझै आँट नगरे, विलम्ब गरे वा गर्दै रहे यही, यस्तै प्रकृतिको बेथिति अनन्तकालसम्म कायम रहन सक्नेछ र त्यस्तो बेथितिको भुङ्ग्रोमा देश विकास र जनअपेक्षा जलेर खरानी हुनेछ ।

 


लेखक अधिवक्ता हुनुहुन्छ ।