बसन्त कुमार उपाध्याय | समाज | बैशाख ६, २०७६
‘साथीहरू, म आज यहाँ नौलो गाउँँको परिचय दिइरहेको छु,
हुनत त्यस्ता गाउँ लेकभरी अनि, मधेसभरी थुपै्र छन्
त्यो प्यारो नेपाली बस्तीको नाम
थवाङ हो...।’
स्व.कृष्णसेन ‘इच्छुक’ले थवाङका विशेषता समेटेर लेखेको कविता हो यो । थवाङ त्यही हो, जहाँबाट तत्कालीन माओवादीले कम्युन अवधारणा कार्यान्वयन गरेको थियो ।
कम्युन (commune) शब्द (common)साझा र (community) समुदायबाट उत्पत्ति भएको मानिन्छ । कम्युन अवधारणा हरेक गतिविधि सामूहिक रूपमा गर्ने सिद्धान्तमा आधारित छ । यसले मानिस व्यक्तिवाद भन्दा समूहमा सजिलोसँग बाँच्न सक्छ भन्ने मान्यता राख्छ । यो कार्लमाक्स र एंगेल्सको अवधारणा हो । यो अवधारणा पहिलोपटक सन् १८७१ मा पेरिसमा लागू भएको मानिन्छ ।
त्यसपछि प्रतिपादित भएको दोस्रो चरणको अवधारणा सोभियत संघले ग्रहण गरेको पाइन्छ ।
यही अवधारणा अनुसार तत्कालीन माओवादीले २०६० जेठमा रोल्पाको थवाङ गाउँमा ‘जनकम्युन’ बनाएको थियो । त्यही कारण तत्कालीन माओवादीहरू थवाङलाई ‘अजम्बरी जनकम्युन’ भन्थे ।
‘जनकम्युन’ सुरु गर्दा तत्कालीन माओवादीका सिसिएम (केन्द्रीय सदस्य) सन्तोष बुढामगर ‘विषम’ले आफ्नो सम्पत्ति नै सामूहिकीकरण गरेका थिए । त्यसपछि थवाङका माओवादी कार्यकर्तामा कम्युन अवधारणा कार्यान्वयन गर्ने लहर नै चलेको थियो ।
त्यतिबेला तत्कालीन माओवादीले ‘जनकम्युन’ चलाउन रोल्पामा ३० हजार रूपैयाँमा जग्गा खरिद गरेको र थवाङका ६ परिवालाई ‘कम्युन परिवार’ घोषणा गरेको विभिन्न दस्तावेजमा देखिन्छ ।
कम्युन अवधारणा कार्यान्वयन भएको भन्दै तत्कालीन कम्युनका इन्चार्ज जयप्रकाश रोका मगर ‘प्रताप’ले त्यतिखेर खुसीसमेत व्यक्त गरेका थिए ।
त्यतिबेला तत्कालीन माओवादी नेताहरूले जनयुद्ध अघि बढाउन र नेपाली क्रान्तिलाई प्रतिक्रान्तिबाट बचाउन ‘जनकम्युन’ सुरु गरेको बताएका थिए ।
तर, ‘जनकम्युन’ दुई वर्ष पनि टिक्स सकेन । २०६० सालमा कार्यान्वयन भएको ‘जनकम्युन’को २०६२ पछि नामनिसान भेटिएन ।
अब प्रश्न उठ्छ– के कम्युन अवधारणा लागू गरेका माओवादी नेता तथा कार्यकर्ताहरू ‘सर्वहारा’ हुन सके ?
यसको उत्तर आमजनताले पाइसकेका छन् ।
तत्कालीन माओवादी नेताहरू कम्युन अवधारणा लागू गर्न मालेमावादले बाधक भएको बताउँछन् । तर, के मालेमावादले नसघाएको भन्दै ‘सर्वहारा मुक्तिको लडाइँ’मा पछि हट्न मिल्छ ?
अह, मिल्दैन ।
तत्कालीन माओवादीहरूको आफू चोखिन यस्तो अभिव्यक्ति दिइरहेको आम नागरिकले बुझिसकेका छन् ।
तत्कालीन माओवादी नेता (अहिलेको नयाँ शक्ति पार्टीका संयोजक) बाबुराम भट्टराईले त अब ‘जनकम्युन’ आन्दोलनको औचित्य सकिएको बताउने गरेका छन् ।
थवाङ परिचय
समुद्री सतहदेखि करिब २ हजार ५२ मिटरको उचाइमा छ, थवाङ । थवाङ त्यही हो, जहाँ २०४४ सालमा तत्कालीन राजा वीरेन्द्रले भ्रमण गरेका थिए ।
२०५७ सालमा माओवादीद्वारा तत्कालीन शाही नेपाली सेनाको हेलिकोप्टरमा गोली प्रहार, २०५८ चैतमा सेनाद्वारा माओवादी कारवाही, २०५९ भदौमा तत्कालीन माओवादी र सेनाबीच दोहोरो झडप, २०६० साउन,
२०६० पुस २५ र २०६१ पुस ११ मा घटेका घटनाले थवाङलाई चिनायो ।
थवाङको परिचय यतिमै सीमित छैन, यो माओवादीको उद्गम थलोका रूपमा संसारभर चिनिएको छ ।
तर, त्यही थवाङ अहिले ओझेलमा छ, अविकास र गरिबीको चपेटामा छ ।
यहाँको उत्तरी बेल्ट जलजलाको फेदमा रहेको थबाङका मगर र केही दलित परिवार अहिले पनि असहज जीवन बिताइरहेका छन् । उनीहरू अहिले पनि दुई छाक खाना खान पाउँदैनन् । तर, यसबारे तत्कालीन माओवादी नेतृत्वले चासो दिएको देखिँदैन । तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड दुई पटक र तत्कालीन उपाध्यक्ष बाबुराम भट्टराई एक पटक प्रधानमन्त्री बन्दा पनि थवाङको विकासबारे ध्यान दिएको पाइँदैन ।