बाह्र बजे राती घाम लाग्ने देशको कथा साथमा इन्जिनियर नयन मल्लको सफलताको प्रसङ्ग
फर्केलान् र ती दिनहरू
फाल्गुन २२, २०७७

रातको १२ बजे पनि कहीँ घाम लाग्छ ? तर लाग्दो रहेछ नर्वेमा वसन्त र वर्षा ऋतुमा । तर त्यहाँ वर्षा ऋतुभन्दा पनि वसन्त नै लामो हुने रहेछ । अनि के शीर्षक राखेको भनेर मलाई कसैले सोधेमा एउटै उत्तर हुनेछ - हामी विद्यार्थी हुँदा सोधिन हाजिरी जबाफको एउटा प्रश्न हुन्थ्यो - रातको १२ बजे घाम लाग्ने देश कुन हो ? अनि हामी विद्यार्थी हुँदा या शिक्षक भएर प्रश्न  सोध्दा एउटै उत्तर थियो - नर्वे ।

त्यही ताक मेरो कुनै लेखका सन्दर्भमा एक जना मित्रले काठमाडौँबाट सोध्नुभयो रसिक पारामा । उहाँको  मसँग कुरा गर्ने बहाना मात्र थियो तर भित्र मनको कुराचाहिँ पोख्नुभयो हँसिलो तरिकाले । वास्तवमा रातको १२ बजे भनेको मध्यरात हो । समरको मौसममा अर्थात् वैशाख, जेठ, असार, साउन, भदौको मौसम मात्र घमाइलो हुने रहेछ नर्वेमा । अझ जुन र जुलाई महिनामा नै हो रातको १२ बजे पनि उज्यालो देखिने र उत्तरी नर्वेमा घाम कहिल्यै नअस्ताउने । मैले आफ्ना डायरी हेरेर यो लेख्दै छु -यी हरफ लेख्दा रातको ११ बजेको छ ओस्लोमा २०७६ सालको साउन १ गतेको दिन थियो र बाहिर उज्यालो नै थियो किनभने भर्खरै १० बजेर २८ मिनेटमा सूर्यास्त भएको छ ।

बिहान ४ बजेर १५ मिनेटमा सूर्योदय भएको थियो । जुन २०,२१,२२ तिरभन्दा त दिन करिब १५ मिनेट नै छोटो हुन थालेको छ । तर पनि अँध्यारोचाहिँ बाहिर देखिँदैन । सूर्य उत्तरायणमा छन्, उत्तरी ध्रुवमा घाम अस्ताउँदैन भन्ने तथ्यको आधामा रातको १२ बजे मध्यरात हुने बेलामा पनि सूर्यास्त नहुने यही नर्वे देशमा नै हो । अनि यो समीक्षामा राती १२ बजे घाम लाग्ने देशको कथा भनेर शीर्षक दिइएको हो । 

मेरो डायरीमा मैले लेखेको रहेछु- कालो हिउँदमा घाम देखिँदैन, घुस्सिएको हुन्छ । दिन र रात भन्ने नै हुँदैन भने पनि हुन्छ । जसरी समरमा रात नभए जस्तै हो कालो हिउँदमा घाम नै हुँदैन । घामको अनुहार पनि देखिँदैन । जब हिउँ पर्न थाल्छ, सेतो हिउँद सुरु हुन्छ । त्यस बेलामा नर्वे हिउँ नै हिउँले छपक्क छोपिएको हुन्छ । त्यो बेलामा सबै रुखहरूबाट पात झरेर उजाड देखिन्छ । रुख सबै काठका कङ्काल जस्तै हुन्छन् । त्यो बेलामा नर्वे आउने कसैले कल्पना समेत गर्न सक्दैन कि नर्वेमा हरियाली पनि हुन्छ, घाम पनि लाग्छ र न्यानो दिन पनि देखिन्छ, अनुभव गर्न सकिन्छ । तर अहिले नर्वे आउने वा ओस्लो आउनेले हिउँको कल्पना पनि गर्न सक्दैन, उजाड उजाड सहरको कल्पना पनि गर्न सक्दैन ।

सबैतिर हरियाली, विभिन्न किसिमका फूलहरू जताततै फुलिरहेका छन् । सहर नै फूलको बगैँचा जस्तै छ । घर घरमा फूल सजाएर राखिएका छन्, पार्कहरूमा फूल फुलाएर राखिएका छन्, सहरका बिच बिचमा फूलहरू सजाएर राखिएका ठुला ठुला भाँडाहरू छन्, रङ्गी विरङ्गी फूलहरूले सहर, पार्क तथा सडक ढकमक्क छन् । नेपालको आफ्नो राष्ट्रिय फूल मानेको गुराँस पनि विभिन्न रङमा पाइँदो रहेछ तर रातो गुराँस भने देखिएन । सेतो , गुलाबी , बैजनी रङमा देखियो । जुनमा फुलेको गुराँस , अहिले जुलाईमा मुर्झाएको रहेछ । तर फूलहरू फुलेका छन् जताततै, मगमग बास्ना सहरैभरि आउँछ । हरियाली सहर , वातावरणमैत्री सहर, युरो ५को स्तरमा गाडीहरू गुड्छन्, झन् रेल, मेट्रो, ट्रिक बिजुलीबाट चल्छन् । बाटोमा कुनै जाम छैन । पैदल यात्रीहरूका लागि प्रशस्त बाटो छ सडकका दुबै किनारामा । ट्राफिक सङ्केतको कतै अवहेलना गरिँदैन । जेब्रा क्रससङमा पैदल यात्रुको खुट्टा पर्ने बित्तिकै वाहनहरू स्वतः रोकिएका हुन्छन् जहाँ ट्राफिक बत्तीको व्यवस्था गरिएको छैन । 

जब मैले उहाँलाई र युलुलुलाई के कारणले हिन्दु धर्मप्रति आस्था जाग्यो भन्दा हिन्दु धर्ममा मात्र मानवता र शान्तिको सही व्याख्या र बाटो देखाइएको दर्शन पाएको बताउनु भयो । भौतिक सुख सुविधाले मात्र जीवनको रथ नचल्ने रहेछ, त्यसका लागि खुराक भनेको आध्यात्मिक चिन्तन र शान्तिको बाटो नै महत्त्वपूर्ण रहेको बताउँदा ती महिलाहरूमा यस प्रकारको चमक देखिन्थ्यो । सत्सङ्ग, भजन, आरती र महाप्रसाद वितरणका समयमा उनीहरू अत्यधिक सक्रिय हुने गर्छन् युर्गा र युलुलु । 

एउटा धार्मिक प्रसङ्ग -११ जुलाई अर्थात् २६ असारमा  । नर्वेको मूल सडकमा भनौँ वा मुख्य चोकबाट हिन्दु धर्मको पक्षमा जुलुस निस्किएको थियो । यसको आयोजना इस्कोनले गरेको थियो । अन्तर्राष्ट्रिय श्रीकृष्ण समाज अर्थात् द इन्टरनेट सोसाइटी फर कृष्ण कन्भेन्सन । करिब ५००जति हिन्दू भक्तहरुको भेला थियो । १२ तारिखमा हरिशयनी एकादशी भएकाले पनि त्यसको पूर्व सन्ध्यामा श्रीकृष्णको नाम जपेर, हरे कृष्ण हररामको मन्त्र जपेर नर्वेको राजधानी ओस्लोमा धार्मिक जुलुससहित रथ यात्रासहित धार्मिक सभाको आयोजना गरिएको थियो । खास गरी भारतीय मूलका मानिसहरूको बढी संलग्नता देखिए पनि ओस्लोमा रहेका नेपाली, श्रीलङ्काली, कम्बोडियालीहरुको उपस्थितिसँगै र नर्वेलीहरुको बाक्लो उपस्थिति देखिन्थ्यो । टाउकोमा घना टुप्पी, जिउमा गेरुवा वस्त्र, हातमा बाजा बोकेका नर्वेलीहरुले कृष्ण नर्वेमा धार्मिक स्वतन्त्रताको वातावरण बनेदेखि नै हिन्दु मन्दिर पनि बनेका छन् र हिन्दुहरूको उपस्थितिमा धार्मिक कामहरू प्रशस्त हुने रहेछन् । विश्व हिन्दु परिषद्को भाडाको कोठामा प्रत्येक आइतबार दिउँसो श्रीकृष्णका नाममा सत्सँग भएको पाइयो , त्यो पनि इस्कोनको आयोजनामा । ओस्लोमा नर्वेली शिक्षिका सनातनी माताको संयोजनमा धार्मिक सत्सँग हुँदो रहेछ । उनीहरूले हिन्दु धर्मको प्रचारका लागि र श्रीकृष्ण समाजको प्रर्वद्धन लागि संसद भवन अगाडि प्रत्येक हप्ता श्रीकृष्ण नाम कीर्तन गरेर समुदायलाई जागृत गराउँदा रहेछन् । 

अर्को प्रसङ्ग नर्वेकै ।

हामीले सुन्ने गरेका थियौँ -नर्वे इसाईहरूको देश हो, इसाई धर्म प्रचारका लागि नर्वेले आफ्ना चर्चमार्फत विश्वभर, खास गरी गरिबी भएका देशहरूमा प्रशस्त लगानी गर्छ र इसाई करणमा भूमिका निर्वाह गर्छ । आधिकारिक रुपमा त्यस्तो बुझिएन र होइन होला पनि । हुन त राजधानी ओस्लोमा चर्चहरूको सङ्ख्या धेरै देखिन्छ । चर्चहरू अत्यन्त धनी संस्थाका रुपमा छन् भनिँदो रहेछ । हाम्रो देशमा जसरी मन्दिरको गजुर देखेर मन्दिर हो भन्ने ठोकुवा गर्न सकिन्छ, त्यस्तै गरी ओस्लोमा आकाश तिर चुच्चो परेको गजुरले गिर्जाघर वा चर्चको पहिचान स्पष्टै हुन्छ । थुप्रै चर्चहरू देखिन्छन् ओस्लो सहरमा । चर्चको पहिचान बेग्लै देखिन्छ आकाशसम्म पुग्ने गरी ठडिएको गजुरको आकारले । 

राजदरबारका लागि धार्मिक परम्परा निर्वाह गर्न मुख्य चर्च राजदरबारबाट देखिने ठाउँमा रहेको छ सहरको मुख्य भागमा । राजाचाहिँ चर्चप्रति आस्थावान् हुनु पक्कै जरुरी ठानिन्छ तर धार्मिक स्वतन्त्रताको वातावरण रहेछ । हुन त अहिले पनि करिब ७२प्रतिशत नर्वेलीहरु इभान्जेलिकल लुथरन चर्चअन्तर्गतका इसाईहरू हुन् । क्याथोलिक चर्चअन्तर्गतका करिब ३ प्रतिशत इसाईहरू रहेको अनुमान छ । त्यस्तै अरु इसाईहरू पनि न्यून सङ्ख्यामा रहेका छन् । इसाई धर्मपछिको  दोस्रो ठुलो सङ्ख्या  इस्लाम धर्मको छ जसको सङ्ख्या ३ प्रतिशतभन्दा बढी रहेको अनुमान छ ।

वास्तवमा इस्लाम धर्म मान्नेहरूको सङ्ख्या आधिकारिक गणनाभन्दा बढी नै रहन सक्ने अनुमान यस कारणले गरिएको रहेछ कि शरणार्थी र स्वतः नर्वेमा आउन पाउनेहरूको सङ्ख्या र अफ्रिकाबाट नर्वे आउनेका सङ्ख्यामा वृद्धि भइरहेको छ । इदको बेलामा यो समीक्षकले देख्यो, ओस्लो इस्लाममय थियो । जताततै इस्लामधर्मीहरुको भीड । कम्तीमा पनि महिलाहरू कोही त बुर्का नै लगाउने अनि र सबै महिलाहरूले हिजाब(टाउको ढाक्ने रुमाल)को प्रयोग गरेकै हुन्छन् बालिकादेखि बृद्धासम्मले । धार्मिकरुपमा पुरुषहरूको पनि पहिचान हुने गरी पहिरन लगाएको जहिले पनि देख्न पाइन्छ जुन सङ्ख्या अत्यधिक मात्रामा छ । अहिले पनि ओस्लोका कम्युनहरूमा पाकिस्तानी मूलका इस्लामहरूको दबदबा छ र केन्द्र सरकारमा एक जना मन्त्रीको रुपमा इस्लाम धर्मावलम्बीको प्रतिनिधित्व गराइन्छ भनिन्छ । सन् २०१२ पछि इस्लाम धर्मीहरूको  सङ्ख्या करिब २७ प्रतिशतले प्रत्येक वर्ष बढेको छ भन्ने अनुसन्धानले देखाएको मानिन्छ । 

आजकाल नर्वेका युवाहरूमा धर्मप्रतिको धारणा निरपेक्षरुपमा तटस्थ देखिन्छ । करिब १७ प्रतिशत नर्वेलीहरु कुनै पनि धर्मप्रति झुकाव नरहेको बताउँछन् भन्ने एउटा अनुसन्धानले देखाएको छ । 

एउटा अनुसन्धानले के पनि देखाएको पाइन्छ भने २२ प्रतिशत नर्वेलीहरु भगवानप्रति आस्थावान् छन् । ४४प्रतिशतचाहिँ भगवानको सत्ताभन्दा पनि केही न केही आध्यात्मिक शक्ति छ भन्ने पत्याउँछन् ।२९ प्रतिशत भगवान् र अरु कुनै शक्तिप्रति विश्वास गर्दैनन् र ५ प्रतिशतले यसबारेमा केही पनि भन्न चाहेनन् । अनि एउटा अर्को अनुसन्धानले चाहिँ भगवानका बारेमा विश्वास गर्नेहरूको सङ्ख्या ३७ प्रतिशत र विश्वास नगर्नेहरूको सङ्ख्या ३९ प्रतिशत रहेको देखाएको छ भने अरु प्रतिशतले आफू यसबारेमा केही पनि नभन्ने बताए । पुरुषभन्दा महिलाहरूले ईश्वरप्रति बढी आस्था देखाएको पाइएको पनि अनुसन्धानले भनेको बताइएको छ । 

यहाँका आदिवासी सामीहरू हुन् जसको धर्मलाई सामिनिस्टिक वा सामी धर्म भनिन्छ । प्रकृति पूजक सामीहरूलाई पहिले नै इसाई करण गरिसकिएको छ र पनि कतिपय सामीहरू अझै आफ्नो परम्पराको धर्मलाई कट्टरताका साथ मान्ने पनि छन् । हिन्दुहरू र बुद्ध धर्महरूको सङ्ख्या पनि नगण्य छ । ती हिन्दु र बुद्ध धर्म मान्नेहरू एसियाका देशहरूबाट आएकाहरू हुन् । हिन्दुचाही खास गरी भारत र नेपालबाट आएका हुन् । बुद्धको स्तूप पनि छ । इस्लामका मस्जिदहरू पनि छन् र हिन्दुका मन्दिरहरू पनि छन् । यहुदीहरू पनि छन् र बहाई धर्मका अनुयायीहरू पनि रहेको तथ्याङ्क पनि छ । तर सङ्ख्या अत्यन्त न्यून छ । सन् २०१२सम्म नर्वेको राजकीय धर्मको रुपमा चर्च अब नर्वेलाई राज्यको धर्मको रुपमा मानिएको थियो तर अहिले कुनै पनि धर्मलाई राजकीय धर्मको रुपमा मानिएको छैन तर सरकारले कानुनीरुपमा भने चर्चलाई महत्त्वपूर्ण संस्थाको रुपमा मानेको छ । कुनै पनि धर्म मान्ने स्वतन्त्रताको भने कानुनीरुपमा संरक्षण गरिएको छ । जुनसुकै धर्मका लागि पनि सदस्य सङ्ख्या तोकेर सरकारी कार्यालयमा दर्ता भएको धार्मिक संस्थालाई सदस्यताको आधारमा आर्थिक सहयोग गर्ने चलन रहेछ । 

खासगरी हिन्दुहरूको सक्रिय संस्था भनेको इस्कोन अर्थात् अन्तर्राष्ट्रिय श्रीकृष्ण चैतन्य समाज नै हो । यहाँ विश्व हिन्दु परिषद्को कार्यालय पनि देखिन्छ तर सक्रियहरुपमा रहेको छैन । नर्वे सरकारले प्रत्येक दर्ता भएका धार्मिक संस्थाहरूलाई सक्रिय सदस्यहरूको सङ्ख्याको आधारमा आर्थिक सहयोग तथा अन्य सहयोग दिने रहेछ । खासगरी हिन्दु धर्मको बारेमा छलफल र सत्सङ्गका लागि इस्कोनले नै प्रत्येक आइतबार भेटघाट, छलफल र श्रीकृष्ण सम्बन्धमा श्रीमद्भागवत महापुराण, श्रीमद्भागवत गीताका बारेमा प्रश्नोत्तर गरिँदो रहेछ । धेरै जसो भारतीय मूलका भक्तहरूको जमघटमा नेपालीहरू पनि भेटिएका हुन्छन् ।

बिदाका दिनमा परेकाले प्रत्येक हप्ता कम्तीमा  ५०-६०जना जम्मा हुने रहेछन् । जमघटमा श्रीकृष्णको आराधना गरिँदो रहेछ जसमा हरे कृष्ण हरे रामको मन्त्र गायन गरिँदो रहेछ । सबै प्रक्रिया धार्मिक रीतिअनुसार गरिन्छ । आरती गरिन्छ , शङ्ख बजाइन्छ , भोग लगाइन्छ र महाप्रसाद वितरण गरिन्छ । यस क्रममा हरिशयनी एकादशीको उपलक्ष्यमा श्रीकृष्ण रथयात्रा पनि गरिएको थियो जसको विवरण यसभन्दा पहिलेको भागमा दिइएको थियो । जन्मसिद्ध हिन्दुले हिन्दु धर्मको पक्षमा बोल्नु र हिन्दु धर्म मान्नु स्वाभाविकै हो तर जन्मसिद्ध इसाइहरुले हिन्दु धर्ममा मात्र शान्ति र मानवता देखेर हिन्दु धर्मको कडाइका साथ पालना गर्नुचाहिँ मननीय छ ।

नर्वेली माता सनातनीले नर्वेको हिन्दु धर्मको प्रचार र अभ्यासको जिम्मा लिनु भएको रहेछ भने थुप्रै नर्वेलीहरु हिन्दु धर्मप्रति आस्थावान् भएको पाइयो । अझ  अचम्म त त्यसबेला लाग्यो मलाई , दुई जना लिथुआनियाली युवतीहरू निरन्तर रुपमा सत्सङ्गमा सहभागी हुने, वैष्णवले लगाउने टीका लगाउने र सत्सङ्गका सबै क्रियाकलामा सक्रिय सहभागी हुने देखियो । ती भक्तिनीहरू थिए युर्गा र युलुलु । दुर्गाजस्तै सुनिने नाम युर्गा आफूलाई दुर्गा नै भने पनि हुने कुरा व्यक्त गर्नुहुन्थ्यो । जब मैले उहाँलाई र युलुलुलाई के कारणले हिन्दु धर्मप्रति आस्था जाग्यो भन्दा हिन्दु धर्ममा मात्र मानवता र शान्तिको सही व्याख्या र बाटो देखाइएको दर्शन पाएको बताउनु भयो । भौतिक सुख सुविधाले मात्र जीवनको रथ नचल्ने रहेछ, त्यसका लागि खुराक भनेको आध्यात्मिक चिन्तन र शान्तिको बाटो नै महत्त्वपूर्ण रहेको बताउँदा ती महिलाहरूमा यस प्रकारको चमक देखिन्थ्यो । सत्सङ्ग, भजन, आरती र महाप्रसाद वितरणका समयमा उनीहरू अत्यधिक सक्रिय हुने गर्छन् युर्गा र युलुलु । 

यसलाई  पूर्वीय चिन्तनको पुनरुत्थान हुन लागेको मान्दा गल्ती हुने छैन र विश्वमा शान्तिका लागि हिन्दु धर्मकै अनुसरण आवश्यक भएकाले हामीले श्रीकृष्ण वन्दना गरेको हौँ भनेर उनीहरू भन्दछन् । 

मैले नेपाली मूलका  विज्ञ व्यक्ति वरिष्ठ इन्जिनियर नयन मल्लसँग भेट्ने मौका पाएँ अहिले उहाँ गैर आवासीय नेपाली सङ्घको नर्वे शाखाको अध्यक्ष पनि हुनुहुन्छ । जनबेलामा मैले चिन्ने मौका पाएको थिएँ, त्यो बेलामा गैर आवासीय नेपाली सङ्घको सम्मेलन गरेर कार्यसमिति गठन गर्ने बारेमा बहस भइरहेको थियो र एक पटक सुरु भएको प्रक्रिया विभिन्न कारणले रोकिएर फेरि सुरु हुन लागेको थियो । 

आज नेपाली मूलका एयरपोर्ट तथा सडक विज्ञ इन्जिनियर नयन मल्लका बारेमा । एउटा नेपाली नर्वेको अन्तर्राष्ट्रिय हवाई मैदानको निर्माणको डिजाइन र त्यसको निर्माणमा प्रत्यक्ष संलग्न रहने भनेको नेपाल र नेपालीका लागि गौरवको विषय हो । नर्वे अहिले विश्वको विकसित देशमात्र नभएर वातावरणको सुरक्षा र प्रबद्र्धनमा समेत विश्वको प्रख्यात देशमा पर्दैन । खुसीको सूचकाङ्कमा विश्वमै तेस्रो मानिएको देश नर्वेको , विकसित र प्रविधिजन्य संस्कारयुक्त देशमा एउटा नेपाली युवा २५ वर्षदेखि नर्वेको सडक र हवाई मैदानसम्बन्धी काममा खटेर प्रतिष्ठा कमाएको सुन्दा र देख्दा कुनचाहिँ नेपालीलाई खुसी नलाग्ला र । 

ललितपुरको चाकु पाटमा  माता कदमकुमारी र पिता कृष्णबहादुर मल्लका कान्छा छोरा नयन मल्ल २०२२ साल जेठमा जन्मनु भएको हो । पहिले सोभियत सङ्घमा पछि युक्रेनमा परेको किभमा इन्जिनियरिङ पढ्दा पढ्दै एउटा पढाइकै सिलसिलाको करिब डेढ महिनाको तालिममा नर्वे आउनु भएका मल्लको तालिम अवधिमा गरेको प्रयोगात्मक कामबाट प्रभावित प्राध्यापकले उहाँलाई किभबाटै ओस्लोमा आउनका लागि प्रेरित गर्नुभयो र सन् १९९६ देखि उहाँ नर्वेमा बसेर काम गरिरहनु भएको छ । नर्वे सरकारको सडक विभागमा बसेर १५ वर्ष काम गरेर वरिष्ठ इन्जिनियरको पदबाट राजीनामा दिनु भएका मल्ल  हाल नर्वेको सडक र हवाई मैदान निर्माणसम्बन्धी एक प्रतिष्ठित कम्पनी नोर कल्सल्टेन्सीको वरिष्ठ इन्जिनियरको पदमा कार्यरत हुनुहुन्छ । उहाँसमेतको एउटा टिमले हालको ओस्लोको अन्तर्राष्ट्रिय हवाई मैदान (गार्डिमुन इन्टरनेसनल एयरपोर्ट)को एयर साइड र लाइन साइड दुवै साइडको निर्माणमा प्रत्यक्ष सहभागी बनेको थियो ।

त्यही हवाई मैदान जाने बाटोको मुख्य इ -६ बाट छुट्टिएर एयरपोर्टसम्म जाने आर भी १७४ बाटोको भागसमेतको निर्माणमा सहभागी रहनु भएका मल्ल अरु धेरै काम गरे पनि मुख्य यसैलाई मान्नुहुन्छ अहिलेसम्मको आफ्नो पेसाको उपलब्धि ।  ओस्लोबाट स्विडेन जाने बाटोको पहिलो खण्डको करिब २० किलोमिटर भागमा पनि आफ्नो दक्षता देखाउन पाएकोमा उहाँ खुसी हुनुहुन्छ । अबका दिनमा अरु चुनौतीपूर्ण हवाई मैदान र राम्रा र बलिया  सडक बनाउने आफ्नो विज्ञता रहेको उहाँले सगर्व बताउँदा खुसी लागेर आयो । उहाँले गरेका कामहरुको विवरण लामो रहेछ तर आफूलाई समेत सन्तोष लागेको र गर्व गर्न लायकको काम के हो भनेर सोध्दा त्यस्तो उत्तर  दिनु भएको हो । 

पाटनको चण्डी विद्याश्रमबाट प्रवेशिका उत्तीर्ण गरेपछि आफ्नै घर छेउको इन्जिनियरिङ अध्ययन संस्थानमा प्रवीणता प्रमाणपत्र इन्जिनियरिङमा गरेपछि नेपाल सरकारको छात्रवृत्तिमा तत्कालीन सोभियत सङ्घको युक्रेन स्थित किभमा स्नातक तहमा पढ्न आउनु भएका मल्लले पछि त्यहीँबाट नै इन्जिनियरिङमा स्नातकोत्तर गर्नु भएको थियो । सुरुमा आउँदा सोभियत सङ्घमा आउनु भएको मल्ल आफ्नो पढाइ समाप्त हुने बेलामा युक्रेन राज्य भएको बताउनु हुन्छ । 

हवाई मैदान र राजमार्गको डिजाइन र निर्माणमा विज्ञ नयन मल्ल एउटा मिलनसार , घमन्ड नभएको र सामाजिक काममा लाग्ने प्राविधिक विद्वानको रुपमा ओस्लोमा नेपालीका बिचमा परिचित हुनुहुन्छ । उहाँ जहाँ जानुहुन्छ, आफ्नो लगनशीलता र कार्य दक्षताले सबैको प्रशंसा पाउनु हुन्छ भन्ने कुरा ओस्लोमा रहेको नेपालीहरूको धारणा पाइन्छ । 

उहाँको दाजु डाक्टर नवीन मल्ल नर्वेकै युनिभर्सिटी अफ ट्रम्सोमा वरिष्ठ अनुसन्धाता हुनुहुन्छ, दिदी नगानी मल्ल आर्किटेक्चर इन्जिनियर हुनुहुन्छ, उहाँकी बहिनी नयन तारा मल्ल नर्वेकै कलेजमा प्राध्यापन गर्नुहुन्छ भने उहाँकी धर्मपत्नी स्मिता मल्ल समुद्रबाट तेल खोज्ने भूगर्भविद् हुनुहुन्छ । उहाँको छोरो अलेक्जेन्डर मल्ल अहिले विद्यालयमा पढ्दै छन् । 

एउटा नेपाली उच्च विज्ञता प्राप्त गरेको  प्राविधिकको रुपमा विकसित देशमा प्रतिष्ठा कमाइसकेको व्यक्तिले किन नेपालमा त्यस्तो विज्ञतालाई प्रयोग गर्नु भएन त भन्ने मेरो प्रश्नमा उहाँको उत्तर थियो - २ वर्ष अघि नेपालको काठमाडौँ स्थित अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणमा आफ्नो विज्ञता देखाउन भनेर गएको पनि हुँ,तर खोइ के भनौँ, के मिलेन मिलेन, काम भएन र फर्केर आएँ । हेर्नुस्, पारिश्रमिकको कुरा गर्ने हो भने नर्वेमा धेरै आउँछ तर आफ्नो देशमा केही गरौँ भनेर गएको, आउनुस् पनि भनेर गएको तर हाम्रो देशको कर्मचारीतन्त्रको कारणले कुरो मिलेन अनि म फर्केर आएँ ।

अझै आफ्नो  मातृभूमिको सेवा गर्न मन छ , खासगरी सडकमा कसरी जाम कम गर्ने भन्ने मलाई थाहा छ । अझै काठमाडौँमा गाडीको चाप धेरै होइन, बरु ठाउँ ठाउँमा बढी चाप भएको कारणले त्यस्तो जाम भएको हो । वानेश्वर र जमलमा मात्र बाइपास बनाउने हो भने जाम नहुने बनाउन सकिन्छ जस्तो कि हाल कलङ्कीमा बाइपास बनाएपछि जाम कम भएको सुनेको छु । केही सडकहरूको व्यवस्थापन गर्नु पर्छ । पैदल यात्रीहरूका लागि बाटो प्रशस्त दिनुपर्छ अनि सडकमा एक पटकमा एउटा गाडी जाने गरी बाटोको व्यवस्थापन गर्नुपर्छ । बाटो ठुलो बनाएर मात्र हुँदैन, गाडीका लागि बाटोको सही व्यवस्थापन गर्नुपर्छ । हामीलाई त्यो प्रविधि थाहा छ ।अझै मातृभूमिले कामको जिम्मा दिएमा बाटोको व्यवस्थापन गर्ने इच्छा छ र मेरो विज्ञता अनुसारको काम पाउँदा आफ्नो जन्मभूमिको लागि किन नगर्ने र ? गरिन्छ । पैसा भन्दा ठुलो देशको इज्जत र विकास हो । 

उहाँले अझ जोड दिएर भन्नुभयो - काम गर्ने वातावरणचाहिँ बन्नुपर्छ है । आफ्नो देशमा बसेर कसलाई काम गर्ने इच्छा हुँदैन र ? म त्यसै पनि वर्षमा एक वा दुई चोटि नेपाल गइरहन्छु देशकै मायाले त हो नि  । नेपालको सडक र हवाई मैदानको विकासमा केही त गर्नु नै छ , गर्छु पनि परिस्थिति मिलाएर । 

गैर आवासीय नेपाली सङ्घ, नर्वे राष्ट्रिय समन्वय समितिका विभिन्न पदमा रहेर काम गरिसक्नु भएका मल्ल त्यसमा सक्रिय रहनु भएको छ । हाल २०१९-२१का लागि  ३१ अगस्टमा हुन लागेको निर्वाचनका बारेमा जिज्ञासा राख्दा उहाँले भन्नुभयो-  हेर्नुस्, निर्वाचनको सिद्धान्तले हो भने म अध्यक्ष निर्विरोध भइसकेको थिएँ तर साथीहरूले मिलेर जाने कुरा गर्नुभएकोले मैले मानेँ । अहिले मेरो धारणा भनेको सबै मिलेर जाने हो, यो समाजसेवा हो, स्वयंसेवी संस्था हो । सबैले जे भन्नुहुन्छ या प्रजातान्त्रिक तरिकाले जसरी मिल्छ, म मिलेर जान तयार छु । तर मेरो एउटा कुरा भने स्पष्ट छ, सबैले मिलेर जाने वातावरण भने बनाउनु नै पर्छ ।

हामी नेपालीहरू जहाँ रहे पनि नेपालका लागि हौँ है भनेर प्रतिबद्धता व्यक्त गर्नका लागि गैर आवासीय नेपाली सङ्घ स्थापना भएको हो, हामी नर्वेमा रहेका नेपालीहरू पनि नेपाललाई कसरी सहयोग गर्न सकिन्छ भनेर लागेका होऔँ । सबै साथीहरूको चाहनाअनुसार जाऊँ भनेर नै मैले अघिल्लो पटकको निर्वाचन प्रक्रिया रद्द गर्ने कुरामा मानेको हुँ । मलाई लाग्छ, सबै कुरा मिल्छ होला र निर्विवादरुपमा समाधान पनि निस्कन्छ होला । मलाई विश्वास छ, हामीले सुरु गरेको संस्था हो , यसैबाट नेपालको हितमा कसरी बढीभन्दा बढी काम गर्न सकिन्छ भनेर हामी सबै लाग्ने हो , मिलेर जाने हो , मिलेर काम गर्ने हो ।

पछि उहाँ गैर आवासीय सङ्घ नर्वेको निर्विरोध अध्यक्ष पनि हुनुभयो र अहिले पनि कार्यरत हुनुहुन्छ । मसँग कुरा हुँदाका बेलाको मेरो डायरीबाट निकालिएका यी कुराहरू २ वर्ष पहिलेका हुन् । 

शालीन व्यक्तित्वका धनी र शान्तरुपमा प्रस्तुत हुने इन्जिनियर मल्ल नेपालको ट्राफिक जामका बारेमा बढी नै चिन्तित हुनुहुन्छ र त्यसको लागि आफूसँग प्रशस्त योजना र कार्यान्वयनको अनुभव भएको बारम्बार दोहोर्‍याउनु  भएको थियो । सायद अबको नेपाल बसाइमा उहाँले यसबारेमा नेपाल सरकारसँग गैर आवासीय नेपाली संघमार्फत् आफ्ना योजनाहरू प्रस्तुत गर्नुहुनेछ भन्ने आशा लिन सकिन्छ । 

नेपाल बाहिर रहेका नेपालीहरू नेपालप्रति अत्यन्त चिन्तित पाइँदा रहेछन् । कसरी नेपालको हित गर्न सकिन्छ भनेर सोचिरहँदा रहेछन् । एउटा नेपालीसँग भेट्ने बित्तिकै उनीहरूले नेपालमा भएको विधिहीनतालाई चिन्ताले सम्झन्छन् र राम्रो कुरामा  आफू नेपाली भएको गर्व गर्दछन् । 

(मैले लेखेको डायरीलाई यहाँ क्रमशः प्रस्तुत गर्नेछु । म २०७६ साल जेठ ११ गते देखि भदौ ८ गतेसम्म नर्वेको राजधानी ओस्लोमा बस्नेक्रममा डेनमार्क, जर्मनी, स्विडेन र चेक गणतन्त्रको भ्रमण पनि गरेको थिएँ श्रीमती देवकी अधिकारी, छोरी अर्चना, ज्वाईँसाहेब नवराज सापकोटा र तत्कालीन अवस्थामा २वर्षकी नातिनी सहित)

 

 


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।