कितावी ज्ञानको औचित्य

सन्दर्भ विश्व किताव दिवस

कितावी ज्ञानको औचित्य

रवीन्द्र आनन्द  |  समाज  |  बैशाख १०, २०७६

‘तपाईंलाई प्रभावित पारेका लेख वा कितावहरू छैनन् ?’ फेसबुक मेसेन्जरमा एक भाइले प्रश्न गर्यो ।

‘केही छन्,’ मैले जवाफ दिएँ । 

उसले स्माइली इमोजी रिप्लाई गर्यो । 

त्यसपछि मैले उसको इमेलमा केही इ-बुक पठाइदिएँ । 

ऊसँग फेसबुके चिनजान मात्रै हो । तर, ऊ अत्यन्त प्रिय छ । उसले फेसबुक स्टाटस लेखेरै मेरो मनमा ‘राज’ गरेको छ । 

‘शिवपुरी बाबाको किताव त तपाईंले पढ्नुभएको छ नि ?’ मेसेन्जरमा अर्का एक मित्रले प्रश्न गरे । 

मैले भनें, ‘निकै वर्षअघि पढेको हुँ, ‘अनन्तको यात्रा’ ।’

जे. जी. बनेटले (ठाकुरलाल मानन्धरको सहलेखन) शिवपुरी बाबाको शिक्षा बारेमा लेखिएको यो किताव हातमा परेपछि बूढाको विन्दास फोटोले यसरी चुम्बकझैं तान्यो कि बूढाको दिवाना नै भइयो । 

किताबबाटै बूढाको प्रेम र स्नेह अनुभूत गरिरहें । बूढाको महासमाधिस्थलमा आनन्द, ऊर्जा र शान्ति यसरी प्रवाहित भइरहन्छ कि मानौं शिवलिंगमुनि बूढा जिउँदै सुतिरहेका छन् । जसजसलाई मैले त्यहाँ लिएर गएँ, ती सबैले त्यस किसिमको वातावरण महसुस गरे । 

जब यी बूढाको महासमाधिस्थल सम्झन्छु, अनि सोच्छु– साधारण व्यक्तिलाई जलाउने र सम्बोधि प्राप्त गरेकालाई गाड्ने परम्पराबारे । 

रामकृष्ण परमहंसको पनि समाधिस्थल बनाएर गाडेको भए हुन्थ्यो भन्ने भाव मेरो मनमा उब्जिरहन्छ । 

समाधिस्थलको सम्झना गर्दा मेरो मन फेरि राजघाट पुग्छ । गान्धीको समाधिस्थल त ठिक लाग्यो । तर, अरुहरूको समाधिस्थलबाट भने जति सक्यो छिट्टै फर्कन पाए हुन्थ्यो भन्ने लागेको थियो । 

बरू बनारसघाट प्रिय लाग्यो । पाशुपत क्षेत्र र आर्यघाट त मन पर्ने नै भयो । देवघाट पनि अति पावन छ । सांसारिक प्रसिद्धि प्राप्त गर्नु र बोध प्राप्त गर्नुको फरकबारे निकै घोत्लिएँ ! 

विष्णु बा, म सम्झन्छु । विष्णु तिमिल्सिना, माधव बाजेको छोरा । माधव बाजे शिवपुरी बाबाको सेवक हुनुहुन्थ्यो । माधव बाजेको बुबा सूर्यप्रसाद तिमिल्सिनाले पनि बाबाको सेवा गर्नुभएको थियो । त्यहाँ जाँदा विष्णु बाको मृदुल मुस्कानसहितको ‘हार्दिक स्वागतम्’ भावले म जहिल्यै पनि पुलकित हुन्छु । 

उहाँले केही दिनअगाडि भन्नुभएको थियो, ‘तपाईं नआएको ८–९ महिना भो होला ।’

‘अँ ! त्यस्तै भो होला,’ मैले जवाफ दिए । 

एक समय थियो, रमण महर्षिको फोटो देख्दा मात्र पनि आँसु बर्सिरहने । रामकृष्ण परमहंस र लाहिडी महासयको फोटोले पनि त्यस्तै आनन्द दिइरहने ।
एकपटक ती मित्रसँगको आधा घण्टाको भलाकुसारीले त्यो बसाई कहिल्यै नबिर्सिने बनाइदियो । 

‘विपश्यना जाँदैछु केही हप्तापछि । २० वर्षअघि सोचेको बल्ल अहिले साइत आउँदैछ । हरेक चिजको समय आउनुपर्ने रहेछ,’ उहाँले मेसेन्जरमा लेख्नुभो । 

मैले स्माइली इमोजी रिप्लाई गरें । 

केही क्षणपछि ती मित्रले भन्नुभयो, ‘तपाईं त विपश्यना गइसक्नुभएको हुनुपर्छ । मेसेन्जरमा केही मित्रले यस्तै भन्छन् । ठेगाना र त्यसको बारेमा सोधखोज गर्छन् । फेसबुक पोस्टमा डाङडुङ गफसफ ठोक्दिने भएर पनि होला ।’ 

‘गएको छैन । (आश्चर्य त यो छ कि बूढानीलकण्ठको विपश्यना ध्यान केन्द्रको ठाउँ देखेको पनि दुई वर्ष जति मात्र भयो ।) तर, विपश्यना बारेमा मलाई थाहा छ । तपाईं फर्केर आएपछि खबर गर्नुस् । भेटौंला र त्यसको सैद्धान्तिक र व्यावहारिक पक्षबारे जमेर गफ गरौंला । अभ्यास दिनानुदिन गर्नुस् । नछोड्नुस् नि !’ मैले सहज जवाफ फर्काएँ । 

समथ (बौद्ध–थेरावादी मत)को अभ्यासबाट मनलाई एकाग्र बनाई त्यो बलियो मनलाई प्रयोग गरी चित्तमा गढेका वासना, संस्कारलाई सिनेमाको पर्दामा जस्तै ल्याई बग्न दिइरहनु, निरपेक्ष भावबाट साक्षी भइरहनु र परिवर्तन भइरहने मनको स्वभाव जान्नु (ध्यान वा विपश्यना) ! यस्तो अद्भूत अनुभवको प्यास केवल कोरा किताबी अध्ययनले मात्र मेटाउला त ? 

नदी किनारमा बसेर पानीको बहाव र छालको द्रष्टा बन्नु, ती छालजस्तै विचार मनभित्र कुदिरहेको सजग भई हेरिरहनु, चराको चिर्बिर–चिर्बिर आवाज एकनासले सुन्नु, हावाको सुसेली एकतमासले सुन्नु, उनको हात समाउँदै बालुवामा कुद्नु । यो आनन्द ‘स्वर्गिक’ छ । यसलाई कागजका पानामा कोरिएका लौकिक शब्दले पूर्ति गर्लान् त ?