भैँसीलाई मुरली : र्‍याङ-ठ्याङको कसीमा बुद्धको शासन सूत्र

असतो मा सदगमय

भैँसीलाई मुरली : र्‍याङ-ठ्याङको कसीमा बुद्धको शासन सूत्र

कैलाशकुमार सिवाकोटी  |  दृष्टिकोण  |  बैशाख ८, २०७८

राज्यव्यस्था वा शासन–प्रणाली जनताको भावना वा चाहनाबाहिर रहन सम्भव छैन । मानव अधिकारको दृष्टिकोणबाट हेर्दा पनि शासन–प्रणाली भनेको जनताद्वारा जनताको लागि हुनुपर्दछ । नागरिकलाई केन्द्रविन्दुभन्दा बाहिर राखी अवलम्बन गरिने शासनले जनताको प्रतिनिधित्व गर्न असम्भव हुन्छ । आवधिक निर्वाचन, जनप्रतिनिधिमार्फत शासन, जवाफदेहिता, सुशासन, पारदर्शिता आदि असल शासनका आधार हुन् । 

गफलाई पत्याउने हो भने हाम्रो अभ्यास संसारमै सबैभन्दा उत्कृष्ट छ भन्नुमा अन्यथा नहोला तर गफले चिउरा अहिलेसम्म भिजेको छैन । गफबाट विकासको लहर ल्याउनेमा सत्ताशीनहरू माहिर मानिन्छन् । दृष्टान्तहरू पनि पेस गर्छन्, मौका पर्दा महात्माहरूलाई भजाउन पनि पछि पर्दैनन् । हाम्रो नेतृत्व पनि त्यसभन्दा टाढा छैन । सम्मानित पात्रहरूमध्ये भजाइएका र भजाउने पात्रहरूमा गौतम बुद्ध पनि एक हुन् । विडम्बना उनको नाम जपे पनि व्यवहार र सिद्धान्तबिच र्‍याङ-ठ्याङ मिलेको पाइँदैन । विविध विषयहरूमध्ये शासन–व्यवस्थाको बारेमा पनि बुद्धले मार्गदर्शन गरेका छन्, जसको बारेमा प्रायः शासनधारी अनविज्ञ छन् । विज्ञ पनि व्यवहारभन्दा टाढा छन् । यहाँ शासन सञ्चालनको सम्बन्धमा बुद्धले देखाएको मार्गलाई सङ्क्षेपमा उल्लेख गरिएको छ । 

अजात शत्रुका मन्त्रीलाई उनका विरोधी वैशालीका लिच्छविहरूका शासनतन्त्रको प्रशंसा गर्दै बुद्ध भन्नुहुन्छ -
(१) सबै एकजुट भई सामूहिक निर्णय गर्नू,  (२) निर्णय गरेअनुसारको कार्य गर्नू,  (३) कानुन वा विनयको पालना गर्नू,  (४) वृद्धहरूको सेवासत्कार गर्नू,  (५) महिलाहरूप्रति जबर्जस्ती नगर्नू,  (६) जातीय धर्मको पालन गर्नू र (७) धर्माचार्यहरूको सत्कार गर्नू । ( महापंडित राहुल सांकृत्यायन, महामानव बुद्ध २००९, सम्यक प्रकाशन, नई दिल्ली, पृ.८५)

त्यसैगरी राजाले कसरी शासन सञ्चालन गर्नुपर्दछ । राजाका कर्तव्यहरू के–के हुन् ? कस्ता कार्यहरूबाट जनताले सुखशान्तिको अनुभूति गर्न पुग्छन् ? जस्ता विषयलाई बौद्ध साहित्यमा पनि उल्लेख गरिएको छ । बुद्धले धर्म र न्यायको आधारमा राजाले फैसला गर्नुपर्ने, निर्णय हतारमा होइन, निकै सोचविचारका साथ गर्नुपर्छ, अन्यथा सही निर्णय  हुन नसकी न्याय मर्न सक्छ भन्ने उनको मत छ । बुद्धले राजाका १० कर्तव्यहरूको बारेमा चर्चा गरेका छन्, जो अहिले पनि उत्तिकै सान्दर्भिक देखिन्छन् । ती १० कर्तव्यहरू निम्नानुसार रहेका छन्ः

कुनै ब्यक्तिले ब्यापार गर्ने इच्छा गरेमा त्यसलाई तपाईंले पूंँजी (रास) दिनुपर्छ । यस्तै कसैले राजदरबारमा जागीर खान चाहेमा त्यसलाई भत्तासहित तलब दिनुपर्छ । यस प्रकारले ती मानिसहरू आ–आफ्नो काममा लाग्दछन्, अनि राजाको देशमा कसैले पनि दुःख दिँदैन । सबैले काम पाएमा आफ्नो काममा संलग्न भई नराम्रो कामतिर चिन्तना गर्ने फुर्सदै हुँदैन । अनि तपाईंको राज्य झन् समृद्धिशाली हुन्छ, सबै  सुखपूर्वक जीविका गरेर बस्ने थिए ।

(१) उदारता, विशाल हृदय र दानशीलता । शासनमा बसेका मानसिहरूले धन–सम्पत्तिसँग मोह गरेर सरकारी आम्दानीलाई जनताको भलाइका लागि प्रयोग गर्नुपर्छ । (२) शील र सदाचार जीवन जीउनुपर्छ । (३) जनताका भलाइका लागि आफ्ना सुख–सुविधाहरू त्यागेर नाम र पसिद्धिको चक्करमा नलागेर जनताको हितमा काम गर्नुपर्छ । (४) शासकलाई इमान्दारी र तन्मयका साथ विना कुनै दबाब र पक्षपातले चलाउनुपर्छ । (५) सौम्य र दयालु हुनुपर्छ । (६) जीवन सादा र साधारण, भोगविलासरहित रहनुपर्छ । (७) कसैकाप्रति इष्र्या, वैरभाव र द्वेष राख्नुहुँदैन । (८) अहिंसात्मक हुनुपर्छ । देशमा शान्तिका लागि प्रयासरत रहनुपर्छ । (९) सहनशीलता, धैर्य र सहिष्णुताका साथ आफ्नो विवेक गुमाएर दुःख, पीडा  सहने सामर्थ्य हुनुपर्छ । (१०) जनताको रायका अगाडि उसले नतमस्तक हुनुपर्छ । ( आनंद श्रीकृष्ण, भगवान बुद्ध २०१४, हिन्द पाँकेट बुक्स प्रा.लि. नई, दिल्ली, पृ.८२—८३)

बुद्ध दर्शनले पेसाव्यवसायको विषयलाई उत्तिकै जोड दिएको पाइन्छ । मानिस बेरोजगार भयो भने समाजमा चोरी, डकैती हुने, समाज अराजकतातिर जान्छ भन्ने स्पष्ट सन्देश छ । यसबारेमा दीघ निकाय अतर्न्गत  कूटदन्त सूत्रमा विशेष वर्णन गरिएको छ । 

तथागत एक दिन मगधमा घुम्न जानुभएको बेलामा खाणुमत नामको ब्राह्मण गाउँमा पुग्ने वित्तिकै त्यहीको एउटा आँपको बगैंचामा बस्नुभयो । त्यस बखतमा त्यहाँ कूटदन्त नाउँ भएको एकजना विद्वान प्रसिद्ध ब्राह्मणले महायज्ञ गर्ने मनमा भाकल गरिराखेको थियो । कूटदन्तले सुनिराखेको थियो कि गौतम बुद्धले सोह्र परिस्कासहित विविध यज्ञ सम्पदाको बारेमा राम्रोसँग जान्दछ । त्यसैले कूटदन्त बुद्धकहाँ गई प्रार्थना गर्‍योः तीन प्रकारको महायज्ञ स्पष्ट बुझ्न सक्ने गरी आज्ञा होस् ।

सम्यक् सम्बुद्धले यज्ञ (होम) विधिका व्याख्या गर्दै ब्राह्मणलाई आज्ञा गर्नुभयोः उहीले विजित भन्ने राजाको पनि यज्ञ गर्ने इच्छा भई आफ्ना पुरोहित ब्राह्मणकहाँ गएर प्रार्थना गर्‍यो कि म चारै दिशामा पनि विजय प्राप्त गरेर अधिपति भैसकें । मसँग असङ्ख्य सम्पति छ । अव मलाई हित सुख हुने र राज्य समृद्धिशाली गर्नलाई कुन प्रकारले यज्ञ (होम) गर्न पर्ला ? आज्ञा गर्नुहोस् ।

अनि विजित राजालाई सो पुरोहित ब्राह्मणले भन्नुभयोः महाराज, तपाइँको राज्यमा चोरडाकाहरूले सर्व साधारण जनतालाई ज्यादै नै सताई दुःख दिइरहेछन् । बाटोमा एक्लै हिँडनुहुँदैन । लुटपाट भैरहेछ यत्रो जनताको हाहाकार भई रोग पीडा र अनेक भयले त्राहि भैरहेको बेलामा धेरै धन खर्च गरी यज्ञ गर्नु धर्म होइन, अधर्म हो । पूण्य होइन, पाप हो । सायद महाराजलाई यस्तो पनि मनमा पर्न सक्लाः 'मैले यी बदमास चोर र डाकाहरूलाई समातेर सास्ति गरौँला, देशबाट निकाला गरौँला, मारेर पठाउँला, कठोर दण्ड भोग गराई करावासमा राखी उपद्रव नहुने पारौंला ।' तर महाराज यसरी दण्ड आदि दिएर चोर र डाका आदि बदमासहरू नष्ट गर्न सकिन्नँ । साँच्चै नै देशबाट चोर र लुटेराहरू निमिट्याउन् पारी शान्ति स्थापना गर्ने हो भने आर्थिक व्यवस्था राम्रो गर्नुपर्दछ । त्यो कसरी–महाराज, कुनै ब्यक्तिले तपाइँको राज्यमा कृषि काम गर्ने इच्छा गरे, त्यस ब्यक्तिलाई तपाइँले खेती सामान र बिउबिजन आदि दिएर सहायता दिनुपर्छ । कुनै ब्यक्तिले ब्यापार गर्ने इच्छा गरेमा त्यसलाई तपाईंले पूंँजी (रास) दिनुपर्छ । यस्तै कसैले राजदरबारमा जागीर खान चाहेमा त्यसलाई भत्तासहित तलब दिनुपर्छ । यस प्रकारले ती मानिसहरू आ–आफ्नो काममा लाग्दछन्, अनि राजाको देशमा कसैले पनि दुःख दिँदैन । सबैले काम पाएमा आफ्नो काममा संलग्न भई नराम्रो कामतिर चिन्तना गर्ने फुर्सदै हुँदैन । अनि तपाईंको राज्य झन् समृद्धिशाली हुन्छ, सबै  सुखपूर्वक जीविका गरेर बस्ने थिए ।

राजा विजितले पुरोहित ब्राह्मणलाई हुन्छ हवस भनी गएर आफ्नु राज्यमा, जो–जो खेती गर्न उत्साही हुन्, उनीहरूलाई आवश्यक कृषि औजार र बिउबिजन दिए । जस्ले ब्यापार गर्ने इच्छा प्रकट गरे उनीहरूलाई पूँजी (रास) दिए । जजस्ले जागीर खाने इच्छा गरे अथवा जागीर खाएर उत्साह देखाए, उनीहरूलाई भत्तासहित उचित तलब दिए । यसरी सबैलाई कामको व्यवस्था भएकोले देशमा केहींकतै पनि अशान्ति भएन । कसैले कसैलाई सताएनन् । सबै आआफ्नो काममा लागिरहे । सबैले आफ्नो बालबच्चासँंग नाचेर निश्चिन्त भई जीविका चलाए । (भिक्षु अश्वघोष र भिक्षु कुमार काश्यप, बुद्धको अर्थनीति, २०६८, संंघराम विहार, काठमाडौँ, पृ.२४—२६)

अहिले हामी पश्चिमी लोकतन्त्र अध्ययन गर्न अभ्यस्त भएका छौँ । म्याग्नाकार्टा, अमेरिकी स्वतन्त्रताको घोषणापत्र,  फ्रेन्च घोषणापत्र आदिलाई हामी आदर्श सामग्री मान्दछौँ । ज्ञान जसको होस्, जहाँको होस्, जहिलेको होस्, ज्ञान भनेको ज्ञान नै हो, ग्रहण गर्नुपर्दछ तर आफैँभित्रको कस्तुरीलाई नचिन्नु वा चिनेर पनि अरूको भरिया बन्नुचाहिँ विडम्बना नै हो । पूर्विय दर्शनभित्र यस्ता नालीबेलीहरू प्रशस्तै छन् । वर्तमान शासन–प्रणालीभित्र यी विषय भैँसीलाई मुरली सुनाउनु भन्दा पृथक छैन भन्नुमा अन्यथा नहोला । बाँकी कुरा समयले नै सिकाउला !