मुन्धुम्, सृष्टि र जीव विज्ञानसँगको सम्बन्ध

मुन्धुम्, सृष्टि र जीव विज्ञानसँगको सम्बन्ध

हरिचन्द्र लावती  |  जीवनदर्शन  |  बैशाख १२, २०७६

मुन्धुम् र सृष्टिको वर्णन

नावाचइःत् मुन्धुम्मा सृष्टिको वर्णन गरिएको छ । मुन्धुम्ले विश्व ब्रम्हाण्ड, सूर्य, पृथ्वी, हावा, महासागर, सागर, हिमालय, पहाड, सम्म मैदान, मानिस, जीव (जलचर, थलचर), वनस्पति आदिको वर्णन गरेको छ । यहाँ केही महत्वपूर्ण सृष्टिको वर्णनको विषयमा चर्चा गरिएको छ ।

पृथ्वी, सूर्य, ग्रह, चन्द्रमाको सृष्टि

मुन्धुम् (चेम्जोङ २०५९) का अनुसार विश्व ब्रह्माण्ड बन्नुअघि सबै अँध्यारो र शून्य थियो । त्यसपछि विशाल भूमरीको रूपमा नेब्युला  (nebula) को रूपमा ग्यासयुक्त वातावरण बन्यो, जुन फनफनी घुम्न थाल्यो । नेब्युलाको रूपमा ग्यासयुक्त वातावरणमा अति सूक्ष्म परमाणु ज्वाला पैदा भयो, मानौँ त्यहाँ विशाल आगोको आगमन भयो । त्यो विशाल अग्निमय पुञ्ज तितरवितर भई सबैतिर छरियो, मानौँ यो विगव्याङ -big-bang_को एक प्रक्रियाकै रुपमा भयो । त्यहाँ विशाल ध्वनि र ज्वलाको वेग पैदा भयो । परिणामस्वरूप विश्व ब्रह्माण्ड बन्यो, जहाँ पृथ्वी, सूर्य लगायत ग्रह–उपग्रह, तारा–नक्षत्र, आकाशगंगा -galaxy_, ब्ल्याक होल -black hole_ बन्यो । सर्वव्यापी, सर्वज्ञानी, सर्वशक्तिमान तागेरानिङ्वा भुमाङको इच्छा अनुसार बन्यो । त्यसपछि पेबेसोङ् देवले सृष्टिको सबै नियमित कार्य गर्न ईश्वरगणको रचना गरे । 

मुन्धुम्को अंश :


 भावार्थ :

(उधो भ्वाङ् ‘आकाश’, उभो भ्वाङ् ‘आकाश’ तथा ठूलोफाँट शून्य र अँध्यारो थियो । ...उधो–उभो भ्वाङ्हरूका माझबाट मूल भूमरी हावा निस्केर उठेर आठ फन्को घुम्दै खडा भयो...। जन्मिएर आठ फन्को घुम्दै उठ्दा सबैभन्दा मसिनो बालुवा ‘परमाणु’ निस्कियो । ...त्यसबेला आगोको ज्वालाको ठूलो अनुहार आयो । ...सास निकाल्ने, ग्रहण गर्ने ‘शक्ति’देखि बिजुलीको ज्योतिद्वारा आनन्दपूर्ण वचन आदि आकाशवाणी भई आँधीको ‘वेग’को टुप्पाहरू छुट्यायो । ...(वेसुम्बु देवले आफ्नो बच्चा जस्तै गरी चार सय आठ हजार तारा र बिजुली बनाए । ...(पेबेसोङ् देवले आफ्नो बच्चा जस्तै गरी ज्यूको हंश देवता, भुइँको देवता, घाम, जून र देवगणको सृष्टि गरे ।)

टिप्पणी  

विश्व ब्रह्माण्ड बन्नुअघि सबै अँध्यारो र शून्य थियो भन्ने कुराले शून्यपना (emptiness) , पदार्थको सबैभन्दा सूक्ष्म इकाइ परमाणु भन्ने कुरा, त्यसपछि विशाल भूमरीको रूपमा देखापर्‍यो भन्ने कुराले नेब्युला -nebula_ को प्रसंग आउँछ । साथै ग्यासयुक्त वातावरण बन्यो भन्ने कुरा र फनफनी घुम्न थाल्यो भन्ने कुराले गति र त्यो विशाल अग्निमय पुञ्ज तितरवितर भए र कैयौं तारा बने भन्ने कुराले  (Galaxy) बनेको र यी सबैको सामूहिक बनोटबाट विश्व ब्रह्माण्ड बन्नु अघिको अवस्था र सबैतर्फ छरियो भन्ने कुराले बिग ब्याङ -the Big-Bang-Theory_ को वैज्ञानिक तथ्यलाई बुझाउँछ । त्यहाँ विशाल ध्वनि र ज्वलाको वेग पैदा भयो भन्ने कुराले अहिलेको विश्व ब्रह्माण्डमा यसका सदस्य (पृथ्वी, सूर्य लगायत ग्रह–उपग्रह, तारा नक्षत्र आदि) जसरी चाल र गतिमा छन्, त्यसलाई प्रमाणित गर्छ । मुन्धुम्–जीव–विज्ञानबीच परस्पर सम्बन्ध रहेको देखिन्छ ।

जीव र वनस्पतिको सृष्टि

मुन्धुम् (चेम्जोङं २०५९)का अनुसार विश्व ब्रह्माण्ड, पृथ्वी, सूर्य लगायत ग्रह–उपग्रह, तारा नक्षत्र, आकाशगंगा, ब्ल्याक होलको सृष्टिपछि तागेरानिङ्वाभुमाङ्को निर्देशन बमोजिम कुम्फामाङ् देवले पृथ्वीमा ठुल्ठूला भूखण्ड, अग्ला हिमाल र पहाडहरू, ठुल्ठूला समुद्र बनाई पृथ्वीमा वनस्पतिको सृष्टि गरे । त्यसपछि मेन्धामाङ् (मेन्थामाङ्) देवले २०९ किसिमको हावा, ९ किसिमको बादल र २ किसिमको वर्षे पानी (वर्षा) बनाए । अनि चम्बा देवले पशुपंक्षी, कीटपतंग, नदीभित्र रहने माछा तथा अरु अण्डज प्राणीको सृजना गरे । यसरी पृथ्वीमा आवश्यक पर्ने हावा पानीको रचनापछि सबै प्रकारका जीवहरू (सिधै बच्चा जन्माउने जीव र फूलबाट बच्चा जन्माउने जीव) र वनस्पतिको सृष्टि भयो । सर्वव्यापी, सर्वज्ञानी, सर्वशक्तिमान तागेरानिङ्वाभुमाङ्को इच्छाअनुसार यो सवै बन्यो ।
मुन्धुम्को अंश ः

 
 

भावार्थ ः

(कुम्फामाङ् देवले आफ्नो बच्चाजस्तै गरी पृथ्वीलाई ९ ठुल्ठूला देश, ७ ठुल्ठूला टापु, ८ अग्लाअग्ला पहाड, ७ ठुल्ठूला समुद्रमा विभक्त गरी पृथ्वीमा झारजंगल समेत उमारे । ...मेन्थामाङ् देवले आफ्नो बच्चाजस्तो गरी २०९ किसिमको हावा, ९ किसिमको बादल र २ किसिमको वर्षे पानी (वर्षा) बनाए...। चम्बा देवले आफ्नो बच्चाजस्तै गरी पशुपंक्षी, कीटपतंग, नदीभित्र रहने माछा तथा अरु अण्डज प्राणीको सृजना गरे ।)

टिप्पणी 

पृथ्वीमा आवश्यक पर्ने हावा पानीको रचना पछि सबै प्रकारको जीबहरुको सृष्टि हुनु विज्ञानसम्मत देखिन्छ । सन्तान सिधै बच्चा जन्माउने प्रक्रियालाई भाइभिपरस -viviparus_ भनिन्छ र फूलबाट बच्चा जन्माउने प्रक्रियालाई अभिपरस -oviparus_ भनिन्छ । 

यसरी दुवै प्रक्रियाबाट जनावर (सूक्ष्मजीव + किटपतंग + पंक्षी + पशुप्राणी + मानिस)हरूको सृष्टि भएको वर्णन मुन्धुम्मा हुनु मुन्धुम्–जीव–विज्ञान बीच परस्पर सम्बन्ध रहेको देखिन्छ । 

मानवको सृष्टि

मानव सृष्टिको जीवहरूमध्ये चेतनाको दृष्टिले उत्कृष्ट जीव मानिन्छ । मानिसको रचना आश्चार्यजनक र रसिक ढंगले भएको पाइन्छ, जसमा जैविक तत्व छन् । मुन्धुम् (चेम्जोङं २०५९)का अनुसार तागेरानिङ्वाभुमाङ् (जताबाट पनि आइपुग्ने आत्मदेव)ले पोरोःक्मि यम्फामि देवलाई तरुणीबाट जन्म हुने मानिस जातिको नमूना बनाउनु भनेर हुकुम गर्नुभयो । यसको लागि पोरोःक्मि यम्फामि देवले सुन–चाँदीबाट मानिसको मूर्तिको नमूना बनाई त्यसमा प्राण भरे, अनि यसो भन्दै पोरोःक्मि यम्फामिले बोलाए, ‘ए जूनको छोरा, तँ जून भइस् । ए ! घामको छोरा, तँ घाम भइस् । तरुणीबाट जन्मने मानिस पनि तँ नै भइस्, अब उठ’ । तर, त्यो सुन–चाँदीले निर्मित मानवबाट केही बोलेन । पोरोःक्मि यम्फामि छक्क परे । पोरोःक्मि यम्फामि देवले हार मानेनन्, निस्कृय बनेनन् । उनले मालिङ्गो बाँस तथा देवनिङालो बाँसको खरानी निकाली पहेंलो माटोको लेउ मिसाई ढुङ्गाको टोड्कामा भएको आकाशबाट परेको पानी हाली, मुछी हिलो बनाई तरुणीबाट हुने घाम जस्तो मान्छेको मूर्तिको नमूना बनाई उक्त मान्छेको प्राण हालिदियो । त्यसपछि पोरोःक्मि यम्फामि देवले तँ को होस् भनी बोलाउँदा त्यस मूर्तिले पनि ‘के भनेको ?’ भनी ‘हुँ’ भनेर जवाफ दियो । अब बल्ल मानवको सृष्टि भयो ।

मुन्धुम्को अंश

  भावार्थ ः

(तागेरानिङ्वाभुमाङ् ‘जताबाट पनि आइपुग्ने आत्मदेव’ले पोरोःक्मि यम्फामिलाई तरुणीबाट जन्म हुने मानिस जातिको नमूना बनाउनु भनेर हुकुम गर्नुभयो । ...पोरोःक्मि यम्फामि देवले सुन–चाँदीमाथि तरुणीबाट जन्मने मानिसको मूर्तिको नमूना बनाई राखेर आफ्नो दाहिने हातले सेतो सित्तल दिने चमरले उठाएर हम्काए । ‘ए ! जूनको छोरा, तँ जून भइस् । ए घामको छोरा, तँ घाम भइस् । तरुणीबाट जन्मने मानिस पनि तँ नै भइस्, अब उठ’ भनी पोरोःक्मि यम्फामि देवल बोलाए । तर, केही बोलिवचन निक्लिएन । पोरोःक्मि यम्फामि छक्क परे । ...पोरोःक्मि यम्फामि देवले मालिङ्गो बाँस तथा देवनिङालो बाँसको खरानी निकाली पहेंलो माटोको लेउ मिसाइ ढुङ्गाको टोड्कामा भएको आकाशबाट परेको पानी हाली, मुछी हिलो बनाई तरुणीबाट हुने घामजस्तो मान्छेको मूर्तिको नमूना बनाई मान्छेको सातो हालिदियो । ...त्यसपछि पोरोःक्मि यम्फामि देवले तरुणीबाट जन्म हुने मानिस ‘हुँ’ भनी बोलायो । त्यस मूर्तिले पनि ‘के भनेको ?’ भनी ‘हुँ’ भनेर जवाफ दियो ।)

टिप्पणी 
मानव सृष्टिको यो कथा दुई किसिमले स्वभाविक छः पहिलो, तागेसानिङ्वाभुमाङ् समक्ष पोरोःक्मि यम्फामि देव आफ्नो उत्कृष्ट रचना -masterpiece_ बनाउन चाहान्थे, जो हरेक दृष्टिकोण (शारीरिक, मानसिक, मनोबैज्ञानिक, नैतिक, आदि)ले उपयुक्त होस् । दोस्रो, मानिस स्वभाविक रूपले जैविक गुणले युक्त हुनु कारणसङ्गत थियो । मानिसको पुराना कोषहरु (अभििक) मरेर खरानी युक्त भई नयाँ कोष निर्माण -cell division_ हुनु त्यसको बैज्ञानिक कारण हो । मुन्धुम्–जीव–विज्ञानबीच परस्पर सम्बन्ध रहेको देखिन्छ ।

सावा येहाङ्को उत्पति

सावा येहाङ्को सन्तान नै आजका लिम्बू जाति हुन् । सावा येहाङ् लिम्बू कुलवंशका ज्ञानी शास्त्रधारी व्यक्ति थिए ।

‘...किराँत लिम्बू येबा साम्बाहरूले एक राते, तीन राते शान्तिको लागि पूजा गर्दा मुन्धुम गाउँदाखेरी पनि ‘पोरोःक्मि र याम्फामि (माता र पिता)ले फाक्सारा तिगेजङ्मा नाम गरेकी स्त्री सृष्टि गरी त्यो जवानी अवस्थामा पुगेपछि उसलाई जवानीले कुत्कुत्यायो । उसले वायदेवलाई निमन्त्रणा गरे वायुदेव आएपछि यी दुवैको संसर्गबाट नाम्सामि युखुङ् साबा र केसामि केबाको जन्म भयो । पछिबाट केसामि केबालाई मारी नाम्सामि युखुङ्साबा केम्बाले चार जना स्त्री (पाङ्)हरुसित विवाह गरे ।

१ थाक्पेलि पाङ्बाटः छोरी लाहाङ्दोना जन्म भयो ।

२ इरुङ्थोक पाङ्बाटः छोरा सुहाम्फेमा जन्म भयो ।

३ स्राङ्ओक पाङ्बाटः  छोरा पाङ्ओति जन्म भयो ।

४ मन्डल्नि पाङ्बाटः छोरा इङ्फोति जन्म भयो ।

यिनीहरू हुर्की बढेपछि कुनैको बसोबास सिन्युक मुदेन्, कुनैको बसोबास तेमेन वरक भएको हुँदा हामी एउटै बाबु–आमाका छोरा हौं भन्ने चिनजान नभई सुहाम्फेमा र लाहादोङ्ना यी दुई जनाको एकआपसमा प्रेम पिरती बस्यो साथै विवाह बन्धनमा बाँधिए । उनीहरूका धेरै छोराछोरी भए । पछि अरु दुई भाई छोरा पाङ्ओति र इङ्फोति समेतसँग भेट भई आपसी चिनजान हुँदा हाम्रा एउटै बाबु नाम्सामि युखुङ्साबा केम्बा र आमाका छोराछोरी हामी (माइती) भएको हुँदा अब यसरी लोग्ने स्वास्नीको व्यवहार नगरौं भन्ने निर्णय गरी ती जन्म भएका छोराछोरीहरू सुन–चाँदीको चाल्नीमा राखी चाल्नीमा चाल्दा अडिएका छोराछोरीहरू सुहाम्फेमाले भाग पाए । चाल्नीबाट झरेका जति जम्मै लाहाङ्दोनाका भाग भए । यसरी चाल्नीमै रहेको ८ जना बालक जति जम्मै देवलोक गएपछि यिनका सन्तान राजश्वी घरानाका र अंसिमाङ्, सन्त, महन्त, फेदाङ्मा, साम्बा, येेबा यी आदि जुनी भई फेरि मत्र्यलोक आएका हुन् । चाल्नीबाट ८ जना भुइँमा झरेकाहरू मत्र्यलोकमका सावा येत्हाङ् भनियो । यसैका शाखा सन्तानहरू विभिन्न मानव पशुपंछी जति भई जन्म भयो । यिनै सुहाम्फेमा र लाहादोङ्ना मरेपछि सुहाम्फेना (सेरि) आकाश भयो । लाहादोङ्ना (लराङ्) पृथ्वी भइन् (आङ्देमबे २०६६, पृ. ५) ।”

क्रमशः

(नेपाल प्रज्ञा–प्रतिष्ठान तथा दमक नगरपालिका, दमक प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा आयोजित प्रदेश १ स्तरीय त्रिदिवसीय बृहत् वाङ्मय संगोष्ठी–२०७५ मा नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ सभा सदस्य हरिचन्द्र लावतीले प्रस्तुत गरेको ‘किराँत मुन्धुमको दार्शनिक चिन्तन’ विषयक कार्यपत्रलाई आलेखको रूपमा प्रस्तुत गरेका छौं । यसै कार्यपत्रको पहिलो भागका रूपमा यसअघि ‘किराँत लिम्बूका मौलिक संस्कृति र परम्परा’  र किराँत मुन्धुम्ः लिम्बू जातिसँगकाे संस्कृति र संस्कारगत सम्बन्ध शीर्षकमा आलेख प्रकाशन गरिएको थियो ।) 

 

याे पनि

किराँत लिम्बूका मौलिक संस्कृति र परम्परा

किराँत मुन्धुम्ः लिम्बू जातिसँगकाे संस्कृति र संस्कारगत सम्बन्ध