कैलाशकुमार सिवाकोटी | साहित्य | जेठ १, २०७८
गोरु
बर्खा, जाडो, गर्मी याम नभनी समयमा मैले जोतेकै छु
सकी–नसकी हिलाम्य खेतको लुँडी पनि बोकेकै छु
ज्यान खियाएर पनि बयल गाडा पनि तानेकै छु
अर्काकोमा पर्म लगाउँदा पनि खुरुक्क मानेकै छु
न मैले घुस खाएको छु, हो भुसचाहिँ खाएको छु
खाएको भुस जोतेर वा गाडा तानेर सदाएको छु ।
गधा
भिरालो, ओरालो अनि समथर कहिल्यै भनिन
अप्ठयारा, ढुँगे, नागबेली मोडमा अल्छी बनिन
दुई वर्षको भारी छ वर्षमा पनि नबोकी खाएर मात्रै बसिन
आफूलाई चर्न मन लाग्दा काम ठगेर कहिल्यै चौरतिर पसिन
बिरामी हुँदा पनि काम छोडिन, ठगठाग गर्ने भनी सोच मोडिन
सङ्कटमा पनि धर्म छोडिन/विपतमा पनि बाचा तोडिन ।
कुकर
दिनरात, जाडोगर्मी नभनी घरको रखबारी गरेकै छु
घरमुली आउँदा पुच्छर हल्लाउदै पाउ परेकै छु
फरक–फरक शैलीमा सलाम गरेकै छु
गति छोडेर पराइसँग झुकेको छैन
आफ्नो कर्तव्यबाट चुकेको छैन ।
हामी
न हामीले आफ्नो तनाखा आफैँ बढायौँ
न गरिबको पसिना उपचारमा चढायौँ !
न हामी सीमा सार्दा चुपचाप बस्यौ
न दिउँसो उग्र राष्टवाद रोपी राति लैनचोर नै पस्यौँ !
के बिगार्यौँ हजुर हामीले ?
किन हामीलाई तारन्तार नेतासँग जोखिन्छ ?
हाम्रो नाममा किन उसलाई गाली ठोकिन्छ ?
हो हाम्रो मिहनेतले घरमुली पालिएको छ ।
घरमुलीबाट हामी पालिएका छौँ ।
नास गर्छ एउटा बात किन अर्कोलाई
नाङ्गै बस्ने आफू चिसोको दोष बर्कोलाई !
हाम्रो आफ्नै धर्म छ, त्यहीअनुसारको कर्म छ
भन्नुहोस् हजुर !
कतै हामीले हाम्रो कसम तोड्यौँ कि,
कतै धर्मै पो छोड्यौँ कि !
अब जवाफ चाहियो ए हाम्रा गजुर,
हाम्रो/मेरो इज्जतको क्षतिपूर्ति कसले तिर्छ हजुर !