हजार पिता बराबर गुरुको स्थानमा आमा: शिक्षकका माग र वार्ताको प्रक्रियामा 'जीवनचन्द्र'को सम्झना !

फर्केलान् र ती दिनहरू

हजार पिता बराबर गुरुको स्थानमा आमा: शिक्षकका माग र वार्ताको प्रक्रियामा 'जीवनचन्द्र'को सम्झना !

हरिविनोद अधिकारी  |  साहित्य  |  जेठ १, २०७८

पढ्ने र पढाउने काम सृष्टिको सुरुवातदेखि नै भएको देखिन्छ । जब मानिस जन्मियो अनि उसले केही सिक्न खोज्यो या सिकाउन थालियो । सर्वप्रथम त आमाले आफ्नो छातीमा रहेको अमृत पान नै गराउनु भयो होला त्यो अबोध बालकलाई समाएर र उसको मुखमा अमृत पानको तरिका सम्झाएर हातले, उसको मुखमा आफ्नो स्तन घुसारेर र उसले पनि घटघट पियो होला बाँच्ने प्राण रस ।

न त त्यो बच्चालाई थाहा थियो म प्राण रस पिइरहेको छु, न त आमालाई थाहा थियो मैले जन्म दिए पनि बचाउन यही प्राण रस नै पिलाउनु पर्छ । तर मानव जातिलाई प्रकृतिले स्वतः आर्जन संवेदनशील भावनाको लागि त्यसो हुनु अनिवार्य रहेछ किनभने अरु स्तनधारी जीवले पनि आफ्ना बच्चालाई जन्मने बित्तिकै स्तनपान गराएको जो देखिन्छ ।  फरक यत्ति हो, अरु जीवहरूले त्यो कार्य स्वतः प्रकृति प्रदत्त कार्य र कर्तव्यका रुपमा गरेको लिएकाे पाइन्छ, मानिसमा मात्र बच्चा आफैँ उठेर आमाको छाती खोज्न सक्दैन र आमाले अचेतन रुपमा नै भए पनि चर्किएको छातीमा त्यो बालोलाई चिम्टाएपछि मात्र शान्ति पाउने भएकाले च्याप्प समाएर छातीमा राख्नु नै मायाको द्योतक मानिएको छ अहिले पनि ।

त्यो आमाको चेतन, अवचेतन र अचेतन जुनसुकै बेलामा पनि आफ्ना सन्तानका लागि लागू भएको पाइन्छ । त्यसैले होल , पहिलो गुरु भनेको नै आमा हुनुहुन्छ । त्यसैले भनियो होला, मातृदेवोः भवः । आमा बराबरीको अरु कोही हुँदैन, अरु कुनै देवता पनि हुन सक्दैन, हुँदैन । पहिलो गुरु मातालाई प्रणाम गरेर मात्र यो अनुभवको पेटारो खोल्न अनुमति चाहन्छु ।

सायद पूर्वीय काव्यहरूमा सुरुमै मङ्गलाचरण मार्फत आराध्यदेवी सरस्वतीलाई वन्दना गरेर मात्र काव्यको प्रारम्भ गरिएको पाइन्छ । साँच्चै नै ती आराध्य देवी आमा नै हुन् किनभने सरस्वती, लक्ष्मी र पार्वतीको रुपमा जीवित देवी या जीवनदायिनी देवी भनेको नै माता अर्थात् आमा हुनुहुन्छ । वाग्देवी भनेकी नै ती देवी हुन् जसले आवाज बोल्न सिकायो र जिभ्रोको टुप्पोमा बसेर बोल्नका लागि उत्प्रेरित गरेकी हुन्छिन् ।

ती त आमा नै हुन् र ती नै गुरु हुन् जसले अन्धकार नष्ट गरेर उज्यालोतिर लम्काउँछिन् । तमसोमा ज्योतिर्गमय अर्थात् निस्पट्ट अँध्याराको बिचमा सानो उज्यालोका किरणले पनि अन्धकार हटाउँछ । आमाबाट नै त्यो अन्धकार हटेको हुन्छ थाहै नपाइकन । त्यसैले पनि पहिलो गुरु आमा नै हो  । स्मृतिमा भनिएको छः माता गुरुणां गुरुः अर्थात् माता नै गुरुहरुका पनि गुरु हुनुहुन्छ । 

आमाको काख नै पहिलो सिक्ने ठाउँ हो । त्यहीँ मान्छे चिन्ने, हाँस्ने, खेल्ने, बोल्ने, माया ममताको प्राथमिक सिकाइ हुन्छ ।  जसले जीवनका लागि ठुलो सिकाइको आधारशिला तयार गरेको हुन्छ । जीवनको त्यो समय नै शिशु अवस्था हो  । जुन बेलामा केही थाहा हुँदैन र पनि बच्चाको विकास क्रमलाई बाधा नपुर्‍याई उसलाई मानव बनाउने क्रम जारी रहन्छ विना स्वार्थ, विना कपट र विना लोभलालच सेवा, आखिर त्यसो भोलिका लागि कुनै सर्त नराखी गर्ने भनेकी त आमाले नै हो । त्यसैले सबै आमाहरूलाई  नमन गर्दछु ।  आमाको तुलना पृथ्वीसँग गरिएको कुरा महाभारतको वन पर्वमा युधिष्ठिर र यक्षरूपी धर्मराजका बिचको प्रश्नोत्तरमा स्पष्ट पारिएको छ । 

भनिन्छ, सबै कुरा सिकाउन घरमा सम्भव नभएको र जीवनका धेरै पाटोहरूलाई सिकाउनका लागि अन्य पथप्रदर्शकको आवश्यकता पर्ने रहेछ । सिकाउने ठाउँको परिकल्पना गरियो र ती सिकाउने ठाउँलाई पाठशाला, शिक्षालय,  विद्यालय र गुरुकुल भनियो । आफ्ना आफ्ना  सजिलाका लागि जे भने पनि भनियो तर कामचाहिँ सिकाउने हो जीवनका विभिन्न पाटाका बारेमा । अनि त्यहाँ पथप्रदर्शन गर्नेलाई गुरु भनियो, शिक्षक भनियो, अध्यापक भनियो, उपाध्याय भनियो, आचार्य भनियो ।

मनु स्मृतिमा भनिन्छः १० उपाध्याय बराबर एक आचार्य हुन्छन्, १०० आचार्य बराबर एक आचार्य हुन्छन् अनि १०० आचार्य बराबर एक पिता हुन्छन् भने एक हजार पिता बराबर एक जना आमा हुन्छिन् । त्यसैले आमालाई आमालाई गौरवपूर्वक गुरु, अध्यापक, उपाध्याय, आचार्य अनि पिता भन्दा पनि माथि मानिएको छ । अनि आमाकै इच्छामा बच्चाको शिक्षाको व्यवस्था गरिन्छ, त्यसको अभिभारा अन्यलाई दिइन्छ, हामीले अहिले संस्थागत रुपमा औपचारिक विद्यालय-विश्वविद्यालय खोल्छौँ र त्यहाँ शिक्षण गर्ने शिक्षकलाई गुरु, शिक्षक, प्राध्यापक भन्ने नाम दिएका छो । 

पहिले, पूर्वीय शिक्षा प्रणालीमा गुरुकुलहरू थिए जसलाई आचार्य, प्राचार्यहरूले सञ्चालन गर्थे र धेरै आचार्यहरूको रेखदेखमा शिक्षार्थीहरुले शिक्षा ग्रहण गर्थे । कुलपतिको अभिभावकत्वमा गुरुकुलहरू हुन्थे भने तिनको सम्पूर्ण व्ययभार सरकारले बेहोरेको हुन्थ्यो । गुरुहरूले कमाउन थाले भने शिक्षार्थीहरूलाई ६० घडी नै निगरानीमा राखेर सिकाउनु पर्ने प्रयोगमार्फत जीवनमुखी ज्ञानका कुराहरू अहोरात्र खटेर सिकाइन्थ्यो । धेरैजसो गुरुकुल प्रकृतिको काखमा अर्थात् वनभित्र त्यो पनि नदीका नजिक तयार गरिन्थ्यो र पनि कतै कतै राजाले दरबारमा राखेर त्यो स्वतन्त्रता उपभोग गर्न पाउने गरी गुरुकुलको व्यवस्था गरेको हुन्थ्यो । त्यहीँ परा र अपरा विद्याको सिकाइ हुन्थ्यो । 

सचिवजीले हामीलाई सम्झाउनु भएको रहेछ - अडान राख्नु भयो भने मलाई यी मागहरू यही अवस्थामा पूरा गर्न सहज हुनेछ । अनि हामीले पनि छलफल गर्‍यौँ समूहमा अनि देवेन्द्र दाइले भन्नुभयो वार्ताको सुरुमै- यी मागहरू पूरा नहुन्ज्यालसम्म अब हामी यो कोठाबाट बाहिर जाँदैनौँ । वार्ता मन्त्रीजीको रोहबरमा उहाँकै कार्यकक्षमा भएको थियो । राजाको प्रतिनिधि भए पनि डाक्टर रायमाझी उदार हुनुहुन्थ्यो र सचिवजीलाई भन्नुभयो- प्रधानमन्त्रीजीले भन्नुभएको छ मागहरू सकारात्मक तरिकाले पूरा गर्दिनू । 

जीवनका लागि देखिने तत्कालै आवश्यक पर्ने शिक्षा र जीवनभन्दा माथि उच्च चेतना र भावी जीवनको समेत परिकल्पना गरिएको शिक्षालाई बहसमा ल्याइन्थ्यो । वेदलाई शिक्षा वा ज्ञानको श्रोत मानिन्थ्यो र त्यही वेदलाई नै परा र अपराको रुपमा विभक्त गरेर सिकाइन्थ्यो । उच्च अनुभूतिको र ब्रह्मका बारेमा सिकाइने परा विद्याको रुपमा लिइन्थ्यो भने अन्य जीवन र जगतका विषयमा दैनन्दिनी शिक्षालाई अपरा भनेर मानिन्थ्यो । श्रुति र स्मृतिलाई अपरा भनियो भने  त्यही वेदमा रहेका कतिपय ज्ञानबाट ब्रह्म र आगामी दिन अनि हिजोका दिनहरूका बारेमा(पूर्व जन्म तथा पुनर्जन्मका बारेमा समेत) सिकाइन्थ्यो । 

आज गुरुकुलको त्यो परिपाटी ठ्याक्कै रहेन तर विद्यालयको रुपमा, विश्वविद्यालयको रुपमा विकसित भएर आजको अवस्थामा आएको छ । शिक्षालयहरूमा प्राध्यापन गर्नेहरूलाई कतै सरकारले सुविधा दिन्छ भने कतै जनताको कमाइबाट शिक्षार्थीको सिकाइका लागि अनुदान दिइन्छ । आखिर शिक्षा दिने सबै गुरुहरू हुन् र शिक्षा उपलब्ध गराउने सबै स्थान शिक्षालय हुन्, पाठशाला हुन्, विद्यालय हुन्, विद्यापीठ, विश्वविद्यालय हुन् । आवश्यकताअनुसार तिनीहरूको श्रेणी विभाजन गरिएको भए पनि परा र अपरा शिक्षाका लागि तिनै स्थानहरू तोकिएका छन् र सिकाउनेहरू सबै गुरुहरू हुन् ।

आधुनिक कालमा शिक्षालाई र विद्यालाई उस्तै उस्तै रुपमा ग्रहण गरिएको छ । गुरुहरुका पनि समस्याहरू हुन्छन् । विद्यार्थीहरू युवा हुन्छन् र आफ्ना आवश्यक कुराहरूको माग राखेर युवा जोसका साथ पूरा पनि गराउन तदारुकता देखाउन सक्छन् तर नमुनाको जीवन बाँच्नु पर्ने शिक्षकहरू, गुरुहरूको पनि समस्याहरू हुन्छन्- ती कक्षामा देखिने सिकाइसम्बन्धी, जीवन बाँच्नका लागि चाहिने आवश्यक सामग्री र भविष्यका लागि तयार गर्नुपर्ने असल नागरिकका लागि आवश्यक तयारी पनि शिक्षकका आवश्यकता हुन् । 

मैले यसभन्दा पहिले पनि विद्यालयका शिक्षकहरूका बारेमा सङ्गठित हुने कुराको केही जानकारी मैले थाहा पाएसम्म निवेदन गरेको थिएँ । काम गर्दै जाँदा आउने समस्याले र आवश्यकताले प्रजातान्त्रिक देशहरूमा विभिन्न विचारका मानिसहरूको जमात तयार हुन्छ, त्यस्तो जमात कतै विचारका आधारमा, कतै उमेरका आधारमा, कतै क्षेत्रीय आधारमा, कतै व्यावसायिकताका आधारमा त कतै लैङ्गिक आधारमा पनि तयार गरिन्छ । त्यस्तै भएको  थियो नेपाल राष्ट्रिय शिक्षक सङ्गठनबाट अरु सङ्गठनहरू बन्नमा ।

माउ संस्था त नेराशिसं नै थियो तर समयानुकूल आफूलाई तयार गर्न नसक्दा र नेतृत्वदायी वर्गबाट समानताको व्यवहार हुन नसक्दा अनि वैचारिक धरातलमा उभिँदा पनि अनेक सङ्गठनहरूको जन्म भएको पाइन्छ । हाल आएर त्यस्तो दर्जनभन्दा बढी शैक्षिक संस्थाहरूको समायोजन गर्दै नेपाल शिक्षक महासङ्घको स्थापना गरिएको त छ तर त्यसको परिणाम त्यति सुखद देखिएको छैन भन्ने संलग्न संस्थाहरूकै प्रतिनिधिहरूको बुझाइ रहेको पाइन्छ ।

म प्रत्यक्ष कुनै पनि संस्थामा संलग्न किन पनि छैन भने म विद्यालयबाट निवृत्त भइसकेको छु तर नेपाल शिक्षक सङ्घको स्थापनाकालको एउटा कार्यकर्ता भएकाले र त्यसको सङ्गठनात्मक प्रारम्भिक अवस्थामा सक्रिय रहेकाले मेरो चाहना भनेको सबैभन्दा सक्रिय र पेसागत संस्था भनेको नेशिसं नै हो तर अचेल त्यसको पनि खासै जरुरत नभएकोले हो कि सबैको चाहना पूरा गर्नका लागि हो, सरकारसँगको वार्ता र सहमतिका लागि महासङ्घको झन्डाको प्रयोग भएको रहेछ । हुन त त्यहाँ महत्त्वपूर्ण ठुला संस्थाका रुपमा नेपाल शिक्षक सङ्घ र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नै रहेछन् अनि त्यसको सङ्गठनात्मक संरचनालाई भागबन्डाको रुपमा सङ्गठित गरिएको रहेछ भन्ने मैले बुझेको छु । सुरुमा त्यो अवस्था त आउने हो तर संस्थाले गति लिन सकेन भने सधैँ त्यो संस्था शिशु अवस्थामै रहने हुन्छ ।

वैशाख ३० गतेले मलाई एउटा अपनत्व दिन्छ जस्तो कि आफ्नो जन्मदिन या आफ्ना नजिकका मानिसको, बच्चा बच्चीको जन्मदिनको सम्झनाले मन पुलकित बनाउँछ । यस पटक वैशाख ३० गते नेपाल शिक्षक सङ्घको ३२‍औं (२०७८साल वैशाख ३० गते) स्थापना दिवस मनाइयो । अहिलेको कोरोना कहरको निषेधाज्ञाका बिचमा विद्युतीय माध्यमबाट ल्यापटप, मोबाइल आदिबाट मुलुकभरका नयाँ नेतृत्व गर्ने साथीहरूसँग भेटघाट भयो । अनि प्रदेश नं १ का साथीहरूसँगको अन्तर्क्रियामा आफ्ना पुराना सम्झनाहरू साटासाट गर्ने अवसर प्राप्त भयो। 

वैशाख ३० गते स्थापना गरे पनि हामीलाई नेपाली शिक्षकहरूको सबैभन्दा ठुलो समस्या भनेको अस्थायी रहेका हजारौँ शिक्षकहरूलाई स्थायी हुनुपर्ने समस्या टड्कारो थियो । अहिले त्यो समस्या विकराल छैन तर पनि अझै राहतका नाममा रहेका शिक्षकहरूको समाधान भएको जस्तो लाग्दैन । म सम्झन्छु त्यो बेलाको अवस्था र माग तत्कालै राखेर सरकारलाई सम्झौता गर्न बाध्य पारेको अवस्था ।

नेपाली काँग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुभएको थियो २०४७ वैशाख ६ गते अनि हामीले शिक्षक सङ्घको स्थापना गरेका थियौँ वैशाख ३० गते अनि हामी जेठको पहिलो हप्ता नै सरकारसमक्ष शैक्षिक तथा पेसागत माग लिएर शिक्षा मन्त्रालयमा गएका थियौँ । हाम्रो अध्यक्ष हुनुहुन्थ्यो देवेन्द्रप्रसाद उपाध्याय र शिक्षा मन्त्री हुनुहुन्थ्यो डाक्टर केशर जङ्ग रायमाझी । उहाँलाई राजाको कोटामा मन्त्री बनाइएको भन्थे तर हामीलाई शिक्षा मन्त्रालय आफ्नो तालुकी मन्त्रालय भएकाले त्यहाँ नै जानु जरुरी थियो । शिक्षा सचिव हुनुहुन्थ्यो रमेशजंग थापा । 

माग राख्यौँ, केही दिनसम्म केशर महल भित्र रहेको मन्त्रालयको भित्रैको मन्त्री जाने कोरिडरमा नै धर्ना दियौँ । मन्त्री बडो सज्जन हुनुहुन्थ्यो, उहाँले हामीलाई पुलिस लगाएर हटाउनु भएन, बरु आफ्नो आउने जाने बाटो नै परिवर्तन गरेर हामीसँग वार्ताका लागि आह्वान गर्नुभयो । हामी पनि मन्त्रीबाट हुने सम्भावना के के हुन् भनेर आङ्कलन गर्थ्यौँ अनि प्रधानमन्त्रीको तहमा पुग्नुपर्ने भए के हुनसक्छ भनेर आपसमा छलफल गर्थ्यौँ । अन्तमा वार्ताका लागि जेठको हामी तयार भयौँ र सरकार पनि तयार भयो ।

हामीलाई धेरै मागहरु पूरा गराउनु थियो जसरी पनि । प्रधानमन्त्री किसानजीलाई हामी मनाउन सक्थ्यौँ तर कर्मचारी तन्त्र पुरानै थियो अनि हामीलाई उनीहरूले जसरी पनि पन्छाउलान् या टार्लान् भन्ने ठानेर आफ्ना पेसागत र मागहरू जसरी पनि पूरा गराउन लागेका थियौँ । त्यो असल कामका लागि हामीले पहिलो दिनको वार्तापछि सघनरुपमा प्रधानमन्त्रीजीसँग प्रत्यक्ष वार्ता गर्ने विचार गर्‍यौँ तर किसानजी पनि त भर्खरजस्तो प्रधानमन्त्री हुनु भएकाले उहाँले एक पटक अर्थमन्त्री र गृहमन्त्रीसँग छलफल गर्ने अनि शिक्षामन्त्रीजीलाई भन्छु भन्नुभयो ।

अनि हाम्रो कोर समूह अर्थात् देवेन्द्र दाइ, म अनि अरु केही साथीसहित नेपाली काँग्रेसका महामन्त्री गिरिजाबाबुको निवासमा गयौँ । हामीलाई देख्ने बित्तिकै गिरिजाबाबुले भन्नुभयो- के भए मागहरूका बारेमा ? पूरा भएका छैनन् ? अनि मैले र देवेन्द्र दाइले गिरिबाबुलाई भन्यौँ -अर्थमन्त्री देवेन्द्रराज पाण्डेले सहयोग गरेमा हाम्रा आर्थिक मागहरू पूरा हुने थिए अनि रायमाझी मन्त्रीजीलाई छिटै पूरा गरिदिन दबाब पनि दिनु पर्ने जस्तो छ ।

गिरिजाबाबुले तत्कालै फोन गर्नुभयो । त्यो फोन तत्कालीन शिक्षा सचिव रमेशजंग थापालाई गर्नुभएको रहेछ । भन्नुभयो- आजै किसानजी र योगप्रसादजीसँग लामै कुरा भएको छ ।  तपाईँहरूका मागका बारेमा, तत्कालै रमेशसँग गएर कुरा गर्नुस् र तत्काल पूरा गर्नुपर्ने मागहरू पूरा गराई हाल्नुस् । म गिरिजाबाबु भन्थेँ, हरिहर रिसाल दाइ पनि गिरिजाबाबु भन्नुहुन्थ्यो अनि देवेन्द्र दाइचाहिँ गिरिजा दाइ भन्नुहुन्थ्यो ।

अब को को जाने त रमेशजीकोमा भन्ने छलफल हुँदा अध्यक्षलाई अनौपचारिक वार्तामा लानु हुँदैन किनभने अन्तिम हस्ताक्षर गर्नुपर्छ उहाँले । अनि म र ज्ञानोदय माविका तत्कालीन शिक्षक डिल्लीराम रिमाल हरिहर रिसाल दाइसँग जाने, रिसाल दाइ बिरामी भएकाले उहाँले विषय प्रवेश गराउने अनि मैले सबै मागहरूका बारेमा सचिवजीसँग सम्भावित परिणामका बारेमा निर्क्योल गर्ने ।

रमेशजीले बडो सौहार्द तरिकाले उहाँको निवासमा नै हामीलाई स्वागत गर्नुभयो । हरिहर दाइको घर नजिकै हुनाले उहाँले सबै कुराको प्रस्ताव गर्नुभयो र हरिले यसबारेमा व्यापक छलफलगर्नेछ र आजै राती यसबारेमा टुङ्गो लगाएर भोलि बिहान गिरिजाबाबु र प्रधानमन्त्री किसानजीको निवासमा योगप्रसादजीलाई लिएर गएर त्यहीँबाट शिक्षामन्त्रीजीलाई फोन गराउने कुरा भयो । साँच्चै रमेशजीले हाम्रा मागहरूप्रति अत्यन्त सकारात्मक रुपमा पूरा गर्ने र भावी दिनमा शिक्षकहरूका धेरै समस्याहरू समाधान हुने विषयमा हामीलाई ढुक्क पार्नुभयो ।

त्यो साँझ डिल्लीजी र मैले रमेशजीकै घरमा खाना खायौँ र राती १ बजेसम्म छलफल गरेर भोलि नै माग पूरा गरेको पत्रका हस्ताक्षर गर्ने परिणामको तयारी गर्‍यौँ । डिल्लीजीको साधन सायद स्कुटर थियो, हामीले भोलिपल्ट बिहान सबै तयारी गरेर दिउँसो अरु भन्दा पनि अस्थायी शिक्षकहरूको तत्काल प्रक्रिया पुर्‍याएर स्थायी गर्ने कुरामा समाधान निकाल्यौँ । अरु धेरै मागहरू थिए तर खासमा यसमा अर्थको पनि काम पर्ने हुनाले देवेन्द्रराज पाण्डेले बडो सकारात्मक रुपमा शिक्षकहरूका लागि दरबन्दी थप्न र स्थायी हुँदाको सञ्चय कोषको थप रकमसमेतका लागि स्वीकृति दिनु भएछ ।

रमेशजीले हामीलाई सिधा रुपमा भन्दा अडान राखेर कुरा गर्नुहोला वार्तामा बस्दा र मसँग राती छलफल गरेको कुरा प्रधानमन्त्री, गृहमन्त्री र गिरिजाबाबुलाई मात्र भन्नुहोला भनेर सतर्क गराउनु भएको थियो । सायद त्यही भएर होला गिरिजाबाबुले तत्कालै जानु भन्नुभयो अनि देवेन्द्र दाइले पनि मलाई सबै कुराको जानकारी भोलि बिहान गराउनु भन्नुभयो । 

एउटा कुरा सरकार बहुदलीय आयो, प्रधानमन्त्रीदेखि मन्त्रीहरू सबै परिवर्तन भए पनि कर्मचारीतन्त्र उही रहेकाले सचिवजीले हामीलाई सम्झाउनु भएको रहेछ - अडान राख्नु भयो भने मलाई यी मागहरू यही अवस्थामा पूरा गर्न सहज हुनेछ । अनि हामीले पनि छलफल गर्‍यौँ समूहमा अनि देवेन्द्र दाइले भन्नुभयो वार्ताको सुरुमै- यी मागहरू पूरा नहुन्ज्यालसम्म अब हामी यो कोठाबाट बाहिर जाँदैनौँ । वार्ता मन्त्रीजीको रोहबरमा उहाँकै कार्यकक्षमा भएको थियो । राजाको प्रतिनिधि भए पनि डाक्टर रायमाझी उदार हुनुहुन्थ्यो र सचिवजीलाई भन्नुभयो- प्रधानमन्त्रीजीले भन्नुभएको छ मागहरू सकारात्मक तरिकाले पूरा गर्दिनू । 

यसरी नेपाल शिक्षक सङ्घले आफ्नो स्थापनाकालको एक महिनाभित्रमा आधारभूत मागहरू पूरा गराएर शिक्षकहरूका बिचमा सङ्गठन गर्नका लागि पुगेको थियो । त्यसपछि मात्र नेराशिसंले पनि माग राख्यो अनि हामीले पूरा गराएका मागहरू दोहोर्‍याएर पूरा गरायो, सरकारलाई पनि के भयो र पूरा भएकै मागहरू थिए । त्यो बेलामा सायद देवी ओझाजीले अनसन पनि बस्नुभएको थियो । त्यहाँ संगठनको निर्वाचन हुँदै थियो खुला तरिकाले चौथो कार्यकालका लागि । हामी तदर्थ समितिमै थियौँ र हामीले सङ्गठनमा देखिएका कमीलाई पटक्कै न दोहोर्‍याउने गरी विधान बनाउँदै थियौँ । 

मेरो आग्रह छ, अनुरोध छ ती शिक्षक साथीहरूलाई जो जो नेतृत्वमा हुनुहुन्छ चाहे सङ्घ, सङ्गठन या महासङ्घमा हुनुहोस्- आत्मादेखि नै शिक्षकका हक हितमा लाग्नुस्, तपाईँहरूका मागहरू पूरा गराउन सरकार बाध्य हुनेछ । सरकारलाई पनि बाटो देखाउनुस् र आफू पनि त्यो बाटोमा स्पष्ट भएर लाग्नुस् । अरु अनुभवका कुराहरू पछि पनि लेखौँला । 

र अन्त्यमा भाइ जीवनचन्द्र कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली । एउटा निष्काम कर्मप्रति सधैँ समर्पित एउटा जुझारु सक्रिय समाजसेवी जीवनचन्द्रले यही २०७८ साल वैशाख २९ गते परमधामतर्फको महायात्रामा प्रस्थान गरेछन् । म सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूका सन्देश तथा विचारहरू हेर्दै थिएँ, त्यही बेलामा भाइ दीपक कोइरालाको एउटा फेसबुक स्ट्याटसमा आँखा पर्‍यो- काका जीवनचन्द्र कोइराला रहनु भएन । मलाई एकै पटक हजारौँ बिच्छीले डसेजस्तो भयो ।

साँच्चै मेरा आँखामा अचानक आँसु भरिएछन् र हात खुट्टा लगलग काम्न थालेछन् । यसबिच भाइ दिनेश दाहालको पनि निधन भयो, मलाई साह्रै नै शोक पर्‍यो । मैले बारम्बार नानुको अनुहार र बच्चाको अनुहार मात्रै सम्झेँ दिनेशको त्यो हँसिलो अनुहारसँगै । जीवनचन्द्र कोइराला भनेको धेरै कुरामा सामाजिक आड भरोसको एउटा धरोहर थियो ।

कसैको संस्मरण प्रकाशित गर्नुपर्‍यो भने जीवन चाहियो, साहित्यिक अनुसन्धान गर्नुपर्‍यो जीवन चाहियो, ऐतिहासिक सामग्री चाहियो, जीवन चाहियो, योग र प्राकृतिक चिकित्साका लागि केही गर्नुपर्‍यो जीवन नै चाहियो । ऊ कुलचन्द्र कोइराला काका र कमला काकीको साहिँलो छोरो मात्र थिएन, ऊ हामी सबैका आँखामा हाले पनि नबिझाउने सामाजिक प्राणी थियो, परिवारको सदस्य थियो र जसका लागि पनि जुनसुकै बेलामा पनि खट्ने एउटा स्वयंसेवी थियो जन्मसिद्ध ।

मसँग उसको कुरा भएको थियो वैशाख १२ गते दिउँसो । म डेस्कटपमा बसेर समाचार हेरिरहेको थिएँ, केही लेख्दै थिएँ, भाइले फोन गरेर सोधे- दाजु भीमबहादुर अधिकारीजीको स्मारिका तयार गर्नुपरेको छ, दाजुको संस्मरण देखिन, छिटै पाउँ न । मैले भनेँ-मैले डाक्टर विष्णुबहादुर भण्डारीजीलाई दिएको छु, उहाँसँग माग न । उनले भने-उहाँले दिएकै सामग्री केलाउँदा पनि दाजुको संस्मरण देखिन, त्यही पहिले दिएको फरवार्ड गर्दिनुस् एक पटक अहिले नै मिल्छ भने । मैले भनेँ-भाइ, पठाई हालेँ , अनि एउटा कुरा नि तिमी अध्यक्ष रहेको प्राकृतिक चिकित्सालयमा १० ओटा जति बेड अक्सिजनका सिलिन्डर सहितका र ५ ओटा जति बेड भेन्टिलेटर तयार गर न हामी कोही बिरामी पर्‍यौँ भने अस्पतालको कमी हुने भनेर भन्न थाले ।

स्वास्थ्य मन्त्रालयले पनि दिनकै करिब ११ हजार जति सङ्क्रमित हुने अनुमान गरेको छ । उनले मलाई आश्वस्त पार्दै भने-अक्सिजनको त व्यवस्था गर्न सम्भव छ दाजु, तर भेन्टिलेटरका लागि दक्ष जनशक्ति पनि चाहियो र किन्नका लागि पनि तत्कालै के होला र ? त्यही पनि म साथीहरूसँग छलफल गर्छु । सकारात्मक उत्तरभित्र प्रश्न पनि देखेँ । अनि उनले मेरो बा रामप्रसाद अधिकारीको संस्मरणमा आगामी कर्मयोगी बद्रीविक्रम स्मृति दिवसमा स्मारिका निकाल्नका लागि सामग्रीहरू जुटाउन थाल्नुस् है दाजु भने । म खुसी भएँ र भनेँ छिटै  सम्पर्कमा आउँला । 

दिन त कोरोना कहरले नै बितिरहेका थिए डर, त्रास र सम्भावित अप्रत्यक्ष डरले । अनि मलाई लागेको थियो , यो लेख समाप्त गरेपछि आज धेरै दिन भयो जीवनसँग कुरा नभएको । भन्दै थिएँ त्यस्तो समाचार या दुःखद सन्देश दीपकको वालमा देखेँ । मलाई अहिले पनि विश्वास त लागेको छैन तर धुलिखेल अस्पतालमा तीन दिन अघि मात्र भर्ना हुन गएको भनेर हरि मञ्जुश्रीले आफ्नो वालमा लेखेपछि विश्वास गर्नै पर्‍यो ।

अहिले करिब १०० वर्ष पुग्नु भएको काकी हुनुहुन्छ जीवनका आमा, अनि दुइवटी छोरीहरू अनि बुहारीको अनुहार सम्झन्छु र आफैँ शोकमग्न भएको छु । साँच्चै नै परिवारको एउटा अभिन्न अङ्गको रुपमा रहेको भाइलाई यो कोरोनाले हामीसँगबाट चुँडेर लग्यो । अनि भन्नुपर्ने हुन्छ-आयो टप्प टिप्या लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ......। दर्जनौँ संस्थाको सञ्चालक भाइ जीवनको त्यो प्राकृतिक चिकित्सालयमा म पहिलो पटक यही हिउँमा साझा प्रकाशनको अध्यक्षको निर्वाचनका लागि छलफल गर्न डाक्टर कुलप्रसाद कोइराला र भाइ डीपी अर्यालसहित जम्मा भएका थियौँ र मलाई थाहा भयो जीवन त संस्थापना कालदेखि नै त्यो संस्थाको अध्यक्ष रहेछन् । 

म उनको सम्झना तरेली तरेलीमा जेहेनमा आउँदै छ र कुलचन्द्र काकालाई समाजमा फेरि चिनाउने काम जीवनले नै गरेका हुन् । काकाको परमधाम गमनपछि उनले सपूतको रुपमा काकालाई यो समाजमा साहित्यकार मात्र होइन, सांस्कृतिक विज्ञ पनि हुनुहुन्थ्यो भनेर चिनाएका हुन् र प्रत्येक वर्ष काकाका कृतिहरू छापेर नेपाली साहित्यको भण्डारमा श्रीवृद्धि पनि गरिरहेका थिए । काकाको वहु प्रतिभाको जानकारी हामीलाई त थियो तर समाजलाई जीवनले नै गराएका हुन् , त्यही नै काकाप्रतिको उनको महालय श्राद्ध मान्थेँ म । 

२०१७ साल असार १६ गते जन्मिएका जीवनले आफ्नो यही छोटो समयमा नै हजारौँ वर्ष बाँचेर गर्न नसकिने कामहरू गरेर गएका रहेछन् । उनका हलका रुपमा कार्यक्षेत्रमा तदारुकताका साथ डटेर लागेका भाइ हरि मञ्जुश्रीसँग मैले कुरा गर्दा उनका आँखामा आँसु थामिएका थिएनन् । त्यो कालजयी पुरुष पनि काल कलसित हुँदो रहेछ भनेपछि यो संसार साँच्चै मृत्यु लोक नै रहेछ, अन्तिम सत्य त कालको मुखमा पस्नु नै रहेछ ।

भाइ जीवनप्रति श्रद्धाञ्जली लेख्न पनि यी हातहरू लरबराई रहेका छन् तर यो सत्य हो । त्यसैले भन्नुपर्छ -सत्य भनेको मृत्यु रहेछ । काल नै सत्यको पर्याय रहेछ । काल भनेको समय हो । समय नै सत्य हो । काल नै सत्य हो । भाइ जीवन कृतिमार्फत अमर भएका छन् । एउटा साहित्यिक, सांस्कृतिक, अन्वेषक तथा सक्रिय प्रजातन्त्रवादीको जुन स्वच्छ परिचय बनाएर तिमीले हाम्रालागि प्रतिविम्ब छोड्यौँ, त्यसैलाई जीवनका प्रतिकृति मानेर रहनेछौँ । रहनेछु । यदि स्वर्ग छ भने तिमी धर्मात्मा हौ स्वर्गमा बास गर्नेछौँ । परमधाम बासी हुनेछौ ।  हाम्रा मनमा सदैव अमिटरुपमा रहनेछौ । भाइ बिदा त कसरी भन्न सकिएला र तिमीले नै हामीलाई बिदा भनेर विलीन भयौँ ।