राजनीतिक दलहरू कर्तव्यबाट च्युत : जनता नै नरहे किन र केका लागि राजनीति ?

राजनीतिक दलहरू कर्तव्यबाट च्युत : जनता नै नरहे किन र केका लागि राजनीति ?

सञ्जिता आचार्य  |  दृष्टिकोण  |  जेठ २, २०७८

दोस्रो भेरियन्ट सहित फैलिएको कोरोना भाइरसको महामारीले देश आक्रान्त छ । दिनदिनै मृत्युको ग्राफ उकालो लागिरहेको छ । यसरी नागरिकहरू भकाभक मर्नुमा अक्सिजन अभाव मुख्य कारण  रुपमा  स्वास्थ्य विज्ञले ‍औंल्याइ रहेका छन् । सरकारको स्वास्थ्य मन्त्रालयले पनि यसलाई स्वीकार गरिसकेको छ । यति बेला राजनीतिक दलका नेताहरू भने सत्ताको लुछाचुँडीमा व्यस्त भएकोमा जनताको आक्रोश बढ्दो छ ।

कोरोनाका कारण नागरिकको मृत्यु दर बढी रहँदा पनि राजनीतिक दलहरूको गतिविधि भने  हेर्दा लाग्छ मुलुक सामान्य अवस्थामा नै चलिरहेको छ । राजनीतिक दल सरकार बनाउने र गिराउने खेलमा लागि रहेका छन् । सरकार बन्नु र ढल्नुको विषय यो महामारीका समयमा गर्ने विषय थिएनन् । के सत्ता पक्ष के प्रतिपक्ष सबै मिलेर जनताको स्वास्थ्य,भोकमरीबाट जोगाउन सम्पूर्ण शक्तिका साथ लग्नु पर्ने समयमा दलहरु कर्तव्यबाट च्युत भइरहेकाे  अवस्था छ ।

अहिले देशभर अक्सिजनको हाहाकार  भइरहेको छ अर्थात् मच्चाइएको छ । बिरामीले अस्पतालमा उपचार नपाएर मृत्युवरण गरिरहेका छन् । दैनिक दुई सयभन्दा बढीको ज्यान गइरहेको छ । कोरोना नियन्त्रण गर्नका लागि भनेर सरकारले ७३ जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।यसरी गरिएको निषेधाज्ञा उपत्यका लगायतका जिल्लाहरुमा दैनिक ज्याला मजदुरी  गरेर जीवन निर्वाह गर्नेहरू रोगसँगै भोकले मर्नुपर्ने अवस्था सृजना भएको छ ।

महामारीको यस्तो विकराल अवस्थामा पनि सरकार र विपक्षी दलहरू वैशाख महिनाभर सत्ताको जोड घटाऊ मा केन्द्रित भए। दलहरू यसरी सतको लुछाचुँडीमा रुमलिँदा जनतामा चौतर्फी निराशा छाएको छ । यस्तो लुछाचुँडी केन्द्रमा मात्र नभई ,प्रदेश सरकारले पनि महामारीको वास्ता नगरी नाङ्गो रुपमा भइरहेको छ । महामारीका बेला जनताको बाँच्ने आधार बन्नु पर्ने सरकार महामारी फैलिइसक्यो अब हामी केही गर्न सक्दैनौ भन्दै पन्छिएको  अवस्था छ । जनताले सरकार भएको अनुभूति गर्न पाएका छैनन् । 

निजी अस्पतालले अक्सिजन अभावको समस्या देखाउँदै कसैले बिरामी लिन छोडिसकेका छन् भने कसैले नलिने भनेर चुनौती दिइरहेका छन् । देशकै ठुलो र तारे अस्पतालका रुपमा परिचित  मेडिसिटी अस्पतालले अक्सिजनको अभाव देखाउँदै नयाँ बिरामी भर्ना नगर्ने जानकारी गराएको छ । सार्वजनिक सूचना जारी गर्दै अस्पतालले अक्सिजनको माग पूर्ति नभएसम्म नयाँ बिरामीको भर्ना रोकिएको र अस्पतालमा उपचाररत बिरामी पनि जोखिममा रहेको जानकारी गराइसकेको छ । काठमाडौँको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भर्ना भएका कोरोना सङ्क्रमित २२ जना बिरामी अन्तै सारिएको छ । कलेजले अस्पतालमा भएको अक्सिजनले मङ्गलवार साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यस अगावै आआफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई अनुरोध गर्दै सूचना प्रेस विज्ञप्ति नै जारी गर्‍यो ।

अक्सिजनको हाहाकार किन भइरहेको छ ? यसको समाधान कसरी गर्ने  ? सिङ्गो राष्ट्रको ध्यान जान जरुरी भइसकेको छ । यसमा जनशक्तिको अभाव भएको हो भने राजनीतिक दलहरूले यसमा सामूहिक प्रयत्न गर्नुपर्छ । त्यस्तै बजारमा भइरहेको कालोबजारी नियन्त्रणमा पनि सुरक्षाकर्मी र सरकारलाई दलहरूले सघाउन जरुरी छ ।

काठमाडौँको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले बुधवार एक सूचना जारी गरी अक्सिजन अभाव भएकोले भन्दै नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गरायो । उता रुपन्देहीमा आधा घण्टा अक्सिजन आपूर्ति हुन नसक्दा एउटै अस्पतालमा ५ जना सङ्क्रमितको मृत्यु भएको समाचार आइरहेको छ ।  नेपाल भारतमैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर, हेल्पिपङ हेन्ड्स सामुदायिक अस्पताल, अलका अस्पताल लगायत काठमाडौँ उपत्यकाका थुप्रै अस्पतालले अक्सिजन अभाव भएको भन्दै नयाँ बिरामी लिन आनाकानी गरिरहेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको यही वैशाख २७ गतेको विज्ञप्ति अनुसार ठुला साना गरी देशभर कुल १ लाख ८ हजार १६४ वटा अक्सिजन सिलिन्डर छन् । काठमाडौँ उपत्यकाका १० वटा उद्योगमा ठुला ४७ हजार र साना २९ हजार ९१० वटा गरी ७६ हजार ९१० वटा सिलिन्डर उपलब्ध छन् । उपत्यका बाहिर १९ वटा उद्योगमा ठुला २२ हजार ३५० र साना ८ हजार ९०४ गरी ३१ हजार २५९ वटा सिलिन्डर रहको जानकारी गराएको छ ।  

कोरोना महामारीका कारण सरकारले गत वर्ष करिब ७ महिना देश लकडाउन गर्‍यो। आर्थिक गतिविधि ठप्प भयो विगतबाट केही पाठ सिकेर महामारी नियन्त्रणको उपाय अपनाउनु पर्ने सरकारले यति बेला त्यस तर्फ ध्यान दिन सकेको छैन । केही दिन अगाडिसम्म छिमेकी मुलुकमा अक्सिजन अभावले अस्पतालमा मरेका सङ्क्रमित हेर्दै बसेको सरकार हालसम्म कुनै वैकल्पिक उपाय अपनाउन सकिरहेको  छैन । अझ अक्सिजन खोज्ने जिम्मा समेत बिरामीका  आफन्तलाई लगाएर अझ पिडा  दिइरहेको छ ।  विश्व स्वास्थ्य सङ्गठनले २०२१ अझ भयावह स्थिति आउन सक्ने आकलन गरिरहेको छ भने सरकार र स्वास्थ्य मन्त्रालयका प्रवक्ता  झुट बोल्यो भन्दै बसेको थियो । यस्तो अवस्था आउन नदिन सरकारले पहिलाको गल्तीबाट पाठ सिकेर अगाडी बढ्नुपर्ने थियो । सत्ता र कुर् सी छोडेर जनताको स्वास्थ्य जोगाउन लाग्नु पर्ने  थियो ।   

अक्सिजनको हाहाकार किन भइरहेको छ ? यसको समाधान कसरी गर्ने  ? सिङ्गो राष्ट्रको ध्यान जान जरुरी भइसकेको छ । यसमा जनशक्तिको अभाव भएको हो भने राजनीतिक दलहरूले यसमा सामूहिक प्रयत्न गर्नुपर्छ । त्यस्तै बजारमा भइरहेको कालोबजारी नियन्त्रणमा पनि सुरक्षाकर्मी र सरकारलाई दलहरूले सघाउन जरुरी छ ।

अघिल्लो लकडाउनका बेला काठमाडौँ उपत्यका र बाहिरी जिल्लाका मजदुर एवं विपन्न वर्गलाई राहत वितरणका कार्यक्रम हुने गरेका थिए । यस्तो राहत वितरणमा स्थानीय सरकार र राजनीति दलका कार्यकर्ताहरू पनि सक्रिय देखिएका थिए । तर, यसपालि निषेधाज्ञाको मारमा परेर छटपटाइरहेको यो वर्गप्रति कसैको ध्यान जान सकिरहेको छैन । तीनै तहका सरकारको पहलमा यो समस्या समाधान गर्न जुन स्तरको पहलकदमी लिनुपर्ने हो । त्यो भई रहको छैन ।

महामारीका बेला जनताको सुरक्षा र बचाऊ गर्नु सरकारको मूल दायित्व हो । यस्तो बेला अन्तर्राष्ट्रिय समुदायसँग खोप सहायता माग्नुपर्नेमा सरकार सत्ताको बचाउमा हारगुहार माग्दै हिँड्नुपर्ने परिस्थिति निर्माण हुनु विडम्बनापूर्ण स्थिति हो । तर, अबको एक महिना ओली सरकारलाई जनताको सेवा गर्ने अवसर प्राप्त भएको छ । यो समयको सदुपयोग गर्दै खोप एवं अन्य स्वास्थ्य सामग्रीको आयातका लागि कूटनीतिक पहल तीव्र बनाउन जरुरी छ । यसका लागि विपक्षी दलहरूसँग पनि सरकारले आवश्यक सहयोग लिनुपर्छ । महामारीका बेला जनताको सुरक्षा पहिलो प्राथमिकताको विषय बनाइनुपर्छ । मानिस नै बाँचिएन भने राजनीति कसका लागि, केका लागि गर्ने ? विश्व भरी फैलिएको महामारी रोकथाम गर्नका लागि सरकार प्रतिपक्ष र जनताक जुट भएर लाग्न जरुरी छ ।