एउटा आदिम घरको कथा

एउटा आदिम घरको कथा

जानु काम्बाङ लिम्बू  |  साहित्य  |  जेठ १४, २०७८

‘होइन कति रुन सकेकी यो काली ? चुप लाग !’ साम्दुङलाई हप्काउँदै अगेनामाथि डेक्ची बसाल्छे जसेनी बुढी । र, फु...फु...फु... गर्दै आधा डढिसकेको बाँसको सोथेले घोक्रो घाँटी तन्काइ–तन्काइ आगो फुक्न थाल्छे । सिलावरको डेक्ची कालो न कालो भइसकेको छ । मानौँ, डेक्चीले सरसफाई नपाएको वर्षौं भइसकेको छ ।  हेर्दै विरुप । सुकेका दाउरा जसेनी बुढीको अभ्यस्त फुकाइले एकैछिनमा ह्वारह्वारती बल्न थाल्छन् । डेक्ची तातिएर बाफ आउन थाल्छ । 

‘आमा, भोक लाग्यो ।’ साम्दुङ डेक्चीतिर हेर्दै रुन्छे । 

‘होइन भाँडा तातेको देख्दैनस् ?’ बिस्तराबाटै अलिकति टाउको उठाएर कराउँछ जसेबुढा । जसेनीबुढी तातेको भाँडामा अघिल्लो दिनको बासी सिस्नोको खोले खन्याउँछे– छप्लङ्ग । छप्लङ्ग आवाज आएतिर यसो हेर्छे साम्दुङ र रुन छाड्छे ।  

हिउँदे घाम बिस्तारै उकालो चढिरहेको छ । डाँडापाखाहरू घामका कलिला किरण पोतिएर मनमोहक  देखिन्छन् । माथि सल्लेरी डाँडाबाट हेर्दा अझ रमाइलो देखिन्छ तल्लो गाउँ । गाउँलेहरू त्यही सल्लेरीमुनिको ठुलोटारलाई  मधेश भन्ने गर्छन् ।

किम्बदन्ती अनुसार उहिल्यै एक जना परदेशी मधेशको माटो बोकेर उभो हिमालतिर लान्दैथ्यो रे । हिँड्दै जाँदा भारी सारै गह्रौँ लागेर केही माटो त्यहीँ पोखाइराखेछ । पछि त्यै माटो फैलिएर त्यो ठाउँ मधेशजस्तो ठुलो टार बनेको रे ! टारबारीको छेउछेउमा बाँस र ओखरका ठुल्ठुला बोटहरू छन् । त्यही ठुलो टारबारीका मालिक हो, जसे ।  घरमुन्तिर ठुल्ठुला अम्बकका तीनओटा बोट छन् । भदौ–असोजतिर ती बोटहरूमा बोटले थाम्नै नसक्ने गरी अम्बक फल्छन् । माथि बाटोबाट थुक निल्दै अम्बकको फल हेर्ने बटुवाहरू त्यही अम्बकको बोटमुनि पाकेर झरेका अम्बक मान्छेका दिसामाथि गाडिएको देखेर निल्न लागेको थुक पनि बाटोमै थुकिपठाउँछन्– थु....। 

ऐतिहसिक सम्पदा भन्न सुहाउने पुरानो शैलीको त्यस दुर्लभ ढुङ्गेघरले त्यस गाउँको सिङ्गो इतिहास बोकेर बसेको छ । घरको गारो पूरै छ तर छानो छैन । छानोबिनाको त्यस घरमा बाह्रै मास धुवाँ पुत्पुताइरहन्छ । घरको उतरपट्टिको गारो गाउँका सुब्बाको कोदोबारीसँग जोडिएको छ । त्यसैले त्यस घरको भित्री भाग जम्मै माथिको कोदोबारीबाट देखिन्छ । धुरी नभएपछि त्यै बारीको डिलबाट बाँस र काठहरू तेर्साएर चित्रा र खरले छाएर घाम–पानी छेक्ने कोसिस गरिएको देखिन्छ । घरसँगै  जोडिएको त्यो माथिल्लो कोदोबारीमा मादिबुङ र आहाले जाने मान्छेहरू हिँड्छन् । अहिले त्यहाँ मङ्सिरे डल्ले कोदो लटरम्मै पाकेका छन् । त्यही कोदोबारीसँगै जोडिएको त्यस घरमा बस्छन् जसे, जसेनी र छोरी साम्दुङ ।   

भर्खर सकिएको तिहारको रौनक गाउँको मुहारबाट अझै हटिसकेको छैन । तिहार गएपनि गाउँमा मखमली, सयपत्री, गोदावरी र लालुपाते फूलहरू अझै फुलिरहेछन् । ढिकीसार ओर्तिर अँगालोभरि दाउरा बोकेर घरतर्फ आउँदै गरेकी दुई जिउकी माइली बुहारीलाई देखेर सुब्बेनी बुढी भन्छिन्– ‘तिमी खाना बनाऊ ! अरू सबै मेलो निस्कनु पर्छ ? कता गयो त्यो खोमे ?’ उनी टाट्नामा भर्खर ब्याएको बाख्राको बच्चालाई माउले किल्चेला है भनेर सम्झाउँछिन् । 

‘गुहार ! गुहार ! म जाँदिन । मलाई छाडिदेऊ’ भन्दै सेप्मा कराइरहिन् । गुहार माग्दै चिच्याइरहिन् । तर घरविहीन त्यस एकलास बेनाम गाउँमा उनको पुकार कसैले सुनेनन् । टाउको छिनालिएको मल्लुम सुतेकै ठाउँमा निस्लोट रगतको आहालमा लडिरहेथ्यो । आधारातमा ढुकेर काटिएको थियो उसलाई । बाउको लास हेरेर ग्वाँ...ग्वाँ कहालिँदै रोइरहेको थियो नाबालक सिम्दरे । उसकी आमालाई बोकेर लैजाने तयारीमा थिए ज्यानमारा केटाहरू ।

आमाको उर्दी सुनेपछि कपाल कनाउँदै माइली र कान्छी छोरी कोदो टिप्ने खुर्मी र थुन्चे बोकेर लाग्छन् मेलोतिर । खोमे बोजुको स्वर सुनेर पनि नसुनेझैँ गरी ढिकीसार पर्तिरको कोदोबारीमा गाउँका केटाकेटीहरूसँग धुरिएर भदौरे मकैको सुकेको ढोँड बालेर तापिरहेको छ । बिहानको जाडो । आँगनमा घाम नआइञ्जेलसम्म यसै गरी ढोँड ताप्छन् केटाकेटीहरू । 

खोमे सुब्बेनीबुढीको नाति । ठुली छोरीकी छोरो । ऊ मावलमै जन्मेर हुर्केकोले उसलाई खोमे भनेर मामा–छेमाहरूले गिज्याउँछन् । लिम्बू भाषामा खोमेको अर्थ हुन्छ–आमा–बाउबिनाको सन्तान । अर्थात्–बेवारिसे । सुब्बेनी ठुली आमा–बाउले मागी बिहे गरिदिएको लोग्ने मन नपराएर लामो समयसम्म माइती बस्दा जन्मेको थियो, खोमे । ऊ जन्मेको बेला सुत्केरी हेर्न र न्वारान गर्न घरपट्टिका कोही पनि नआइदिँदा बच्चाको नाम राखिदिएका थिए, खोमे । 

उतरतर्फ मुरिङ्ला डाँडा, पूर्वतर्फ कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल । तिनै हिमालका फेदीबाट रिसाएर दौडिएझैँ गड्गडाउँदै झर्छ तमोर नदी । त्यही तमोरले छुँदै झरेका जम्मै गाउँहरूलाई तमोरखोला फाँट भन्ने गरिन्छ । यो भेगमा लिम्बूहरूको बाहुल्य रहेको छ । लेपेपदेखि उभो लागेपछि भने ओलाङ्चुङगोलासम्मै भोटे बस्तीहरू भेटिन्छन् । फाँटभरि मङ्सिरमा कोदो र धान लहलह झुलिरहेका हुन्छन् । 

मङ्सिर लागेपछि गाउँमा चिसो बढ्छ । ‘आच्छुछुछु...कस्तो जाडो हाउ...’ भन्दै जसेबुढो आफ्नै जिन्दगीजस्तै धुजा फाटेको, ठाउँ–ठाउँमा टालेको मैलो धुसा तानेर ओढ्दै असाधारण तरिकाले कुक्क्रुक्क परेर खुम्चिन्छ । ‘ला खा....नखाई नसक्ने भइस् के गर्नु ?’ आमाले आफ्नो अगाडि बटुकोमा राखिदिएको सिस्नोको खोले चिस्याउन फु...फु...गर्दै फुक्छे साम्दुङ । खाँदाखाँदैको सिस्नोको तातो  खोलेले पोलेर ऊ कराउँछे– ‘आमा !’ ‘अहिले खोले होइन कुटाइ पो खालास् है ! आफैँ सेलाउँदै खा ।’ आमाको गाली पाएर साम्दुङ खोले खानु छाडी रुन थाल्छे ।    

‘होइन ! यो बाटोमुनिको झुपडीमा एकाबिहानैदेखि किन रुन सुरु गर्छन् । के सारो अलच्छिन जनाउँछन् हँ ?’ सुब्बेनी आमै माथिल्लो डिलमा कोदो टिप्दाटिप्दै झुपडीतिर फर्केर कराउँछिन् । जसेनी श्वास बन्द गरेर सुब्बेनीको कुरो सुन्छे मात्रै । केही प्रतिउत्तर जनाउँदिनँ । गाउँभरिका मान्छेका लागि अनौठो बनेको छ–यो परिवार । उनीहरू दिनरात उसै गरी बिताउँछन् । केही काम गर्दैनन् । खेतबारी बाँझै छ । मेलापात कहीँ जाँदैनन् । वनजङ्गल नजिकै छ, भोकले मरिँदैन भन्छ जसेबुढो । उनीहरू धेरै समय सुतेरै बिताउँछन् । गाउँमा भने यतिबेला बालीनाली थन्काउने चटारो छ । गाउँका केटाकेटीहरू कोही डोको बोकेर घाँस काट्न हिँडिरहेका छन् ।कोही बारीमा कोदो टिपिरहेका छन् । कतै धान काटिरहेका छन् । तर जसेको परिवारलाई कुनै कुराको केही मतलव नै छैन । 

‘होइन कति सुत्न सकेको हो यो बाउचाहिँ ? एकाबिहानै माथि बाटोसम्मै सुन्नेगरी कराउँछे जसेनी बुढोलाई । जसेनीलाई सुब्बेनीको अलच्छिना भन्ने शब्दले उधुम रिस उठेको छ । तत्कालै माथि बारीमा उक्लेर उसले कोदो टिप्दै गरेको खुर्मी खोसेर उसैको थुतुनो ठुङ्दिनुझैँ भएको छ । तर ऊ रिस मारेर बस्छे ।  

‘उठ् खाइसकिस् भने’ ऊ छोरीलाई हप्काउँछे, आगो फुक्ने सोथे टिपेर हानौँला झैँ गर्दै । लोग्नेलाई पनि उसै गरी हेर्छे । जसे झन् मुख लुकाएर सुत्छ । अगेनामाथिको ह्वाङ्ग छानोबाट घाम घरभित्र छिरिसकेको छ । जसे नउठेपछि रिसले भुतभुतिँदै मलबाँसको लामो ढुङ्ग्रो बोकेर पानी भर्न खोल्सीतिर हिँड्छे जसेनी । साम्दुङ रुँदै पछ्याउँछे । चुपचाप अघिअघि गइरहन्छे ऊ । घरको छानोजस्तै ढाडतिरको भाग ह्वाङ्ग फाटेर पेटतिरको भाग मात्र छोपिएको अर्धानो भोटो भिरेकी साम्दुङ खाली खुट्टै दौडिन्छे आमाको पछिपछि । कोदो टिप्न छाडेर सुब्बेनी दयाको भावले हेरिपठाउँछिन् जसेनीका आमा– छोरीलाई ।

बाहिर कडा देखिए पनि सुब्बेनी दयालु छिन् । उनी ती बालख साम्दुङलाई असाध्यै माया गर्छिन् । साम्दुङ खेल्न आउँदा कहिल्यै भोकै पठाउँदिनन् । घरमा मिठो–मसिनो जे पाके पनि ‘ए साम्दुङ, यता आइज’ भन्दै बोलाएर खाने कुरा दिन्छिन् । भन्छिन्, ‘साम्दुङ, तँ त ठुली भएपछि काम गरिखा है, तेरो आमा–बाउ जस्तो अल्छी नहुँ बुझिस् ?’ साम्दुङ टाउको कन्याउँदै भन्छे, ‘हुन्छ तुम्मा ।’

थुन्सेभरिको कोदो हेर्दै सुब्बेनी बुढी सम्झिन्छिन्, छानो हराएको त्यो पुरानो घरको कथाः

त्यो घरको मुख्य मालिक सिम्दरे जन्मिँदा सल्लेरी गाउँ घना जङ्गल मात्र थियो । जङ्गल फडानी गरेर सानो घर बनाएर बसेका थिए सिम्दरेका बाबु मल्लुम । मल्लुम उस जमानाको मान्छे थियो । जुन बेला मान्छे कम थिए, गाउँघर रित्तो थियो । घरबार बसाउन, सन्तान बढाउन छोरी मान्छेहरू पाइँदैथ्यो । मल्लुमको बिहे पारि हेल्लोक बस्ने सेम्मा नामकी केटीसँग भएको थियो । यान्ग्माक खोलाको देब्रेपट्टि र तमोर खोलाको दाहिनेपट्टि कुइनेटोमा पर्ने हेल्लोक गाउँ विकट भए पनि सुन्दर थियो ।  

एकदिन बिहान ‘जा...जा कान्छोरे, माथि साम्बा बाजेलाई बोलाएर ले त । तेरो आमा सारो भो ?’ भन्दै कुवापानी बुढी बाहिरको लागो नलागोस् भनी थाङ्ना बालेर बुहारी मङ्गलीको वरिपरि घुमाउँछिन् । कान्छोरे लौरो लिएर आज्ञाकारी परेवाझैँ भुर्र उड्छ, मिकताक्के कुकुर उसको पछि–पछि भुक्दै दौडन्छ ।

साम्बा बाजेको घरमा पुगेर कान्छोरे स्याँ...स्याँ हुँदै भन्छ, ‘बाजे...बाजे हाम्रो आमाले भन्नुभाको छिट्टो हाम्रो घर जाऊँ अरे ?’ केटाको स्याँ...स्याँ...आवाजले आँगनमा खेलिरहेका कुखुरा र परेवाहरू तर्सिंदै भुर्र उड्छन् । बिहानको कलिलो घाम हत्केलाले छेक्दै गुन्द्रुक फिञ्जाउँदै गरेकी कोल्बोटेनी बुढी कराउँछिन्– ‘होइन कन्छोरे बिस्तारै गर न के सारो दौडेको ? यहाँ कुखुराहरू तर्सेर भाग्दा जम्मै बिस्कुन पोखियो ।’  

‘लु, एकछिन सास फेरेर बिस्तारै भन् ? कसलाई के भो रे ?’ बोजु–बोजु ! ठुल्दिदी सारो बिमारी छ रे ! तेसैले कोल्बोटे बाजे बोलाएर ले भन्नुभाको छ आमाले । एकै श्वासमा भन्यो कान्छोरेले । ‘ए, आमालाई बेथा लागेको होला नि ? कोल्बोटेनीले सोधिन् । ‘खोई होला ?’ कान्छोरेले भन्यो । हुनपनि सुत्केरी व्यथा लागेको कुरो केटा–केटीलाई के थाहा ? कान्छोरे सेप्माको पनाती सिम्दरेको नाती थियो । ऊ आमालाई ठुल्दिदी र बोजुलाई आमा भन्थ्यो । ‘किन आमालाई दिदी भन्छस् हँ ?’ भनेर सोध्दा ऊ भन्थ्यो, ‘अनि कान्छी काकीले ठुल्दिदी भन्दा हुने मैलेचाहिँ भन्दा नहुने ?’ यसरी कलह गरेपछि उसलाई सबैले आमालाई ठुल्दिदी नै भन्न दिएका थिए ।   

एकदिन, सिम्दरेको बाबु मल्लुम सिकार खेल्दै जाने क्रममा खक्सेवा खोल्सा तरेर लेप्चुङतिर पुगेछन् ! लेप्चुङ गाउँ सुनसान थियो । सुई...सुई..पारेर सुरिलो सिटी मार्‍यो मल्लुमले । जवाफमा अर्को खसुरो खालको सुई....सुत् भन्ने आवाज आयो । ऊ छेलिँदै उतैतिर लाग्यो । कतै बन मान्छे पो हो कि भनि निक्कै बेर अनुमान लगायो, होइन भन्ने थाहा पाएपछि बाटो खोज्दै उकालो लाग्यो । केहीबेर उक्लेपछि सानो गोठ भेट्टायो, गोठमा केही भेडा र चौरीहरू थिए । 

अगेनामा ठुलो कराहीमा दुध तात्तिँदै थियो । छेउमा पुगेर दुध चलाउने डाबिलो सामाउँन लाग्दा एउटा बडेमानको मान्छे फुत्त निस्केर झन्डै काट्यो, ‘ए....ए....म मान्छे हुँ वन मान्छे होइन ?’ अतालिँदै भन्यो । कुरै नमिल्ने तिब्बतीयन भाषा बोल्ने त्यो भोटेले खुकुरी दाबमा हाल्यो र गर्लाम्मै अँगालो हाल्यो । खुसीले गदगद भो ऊ । उसले सोचेको मान्छे उसलाई हरेक दिन तर्साउने वनमान्छे नभएर आफूजस्तै मान्छे भएकोले खुसी भएको थियो । भाषा नमिले पनि केहीबेर बात गरे इसारा, इसाराले उनीहरूले । मल्लुमले आफू सिकार खेल्नेक्रममा उहाँ आइपुगेको बतायो ।  

तिब्बततिरबाट आएर बसोबास गरिरहेका दुई घर भोटेहरू थिए त्यस बेला लेप्चुङ्गमा । त्यहाँदेखि लेलेप पुग्न तीन  माइल जति हिँड्नु पर्दथ्यो । त्यो दिन लेपेपमा  पहिलो पल्ट धान खेती भित्रायाउने, सोनाम लामाको खेतमा रोपाईं थियो । ती नयाँ साथीको लहैलहैमा मल्लुम पनि पुग्यो लेलेप सोनामको खेतमा धान रोपेको हेर्न । खेतमा धान रोप्ने रोपाहार सबै पारि हेल्लोक गाउँका केटीहरू थिए । हिलो खेल्दै धान रोपिरहेकी औधी राम्री सेप्मालाई उसले त्यहाँ त्यहीँ दिन देखेको थियो । 

सोनाम भोटे त्यस समयको महाजन थियो । त्यो भेगमा सिकार नखेली, वनजङ्गलका तरुल–भ्याकुर खोजेर नखाई बर्खा काट्ने महाजनमा गनिन्थे उनी । त्यहाँ  पुगिसकेपछि सोनाम बुढोले मल्लुम र उसको साथी दुवैलाई छाडेन । अन्त्यमा पसे दुई भाइ हिलोमा । मास्तिर हिलो सम्याउने र बाउसे गर्ने चार जना लाठेहरू असारे गीत गाउँदै थिए, आफ्नै भाषामा । तल्लो डिलमा सेप्मासँगै धान रोपिरहेकी अधबेँसे महिलाले पनि हाक्पारे गाउन थालिन् । खेतमा काम गरिरहेका सबै खेतालालेआ–आफ्नै भाषा–लयमा विभिन्न भाकाका गीतहरू गाए ।

साँझ सोनाम भोटेको आँगनमा सेप्माको हात समातेर पालाम गाउन थाल्यो मल्लुमले । पालाम गाउँदै जाँदा केटीहरू हारेको ठहरियो । त्यसबेला बेला, यदि केटी राम्री र बिहे गर्न मन भए केटीले हार्नुपर्ने या जसरी पनि हराउनु पर्ने चलन थियो । त्यस साँझ पनि त्यस्तै भयो । केटा पक्षले केटी पक्षलाई हराएरै छाडे । देखेदेखि नै मल्लुमलाई सेप्मा औधी मन परेकी थिई । ऊ हिलोमा पस्नु र साँझ पालाम गाउन तम्सिनुको पछि गहिरो स्वार्थ त्यही नै थियो । आफू हारेपछि सेप्मा पनि म बिहे गरेर गएँ भनिदिनू बाउ–आमालाई भनेर रुँदै बाटो लागेकी थिई ।  

मल्लुमले केटी घर भित्राएपछिको कुरा वारिपारि गाउँभरि फैलियो । दुलहीलाई हेर्न मान्छेहरू आउन थाले । आज भन्दै भोलि भन्दै वर्ष दिन बित्यो । मल्लुमले ठुलो घर पनि बनायो । घर बनाएर नयाँ घरमा भित्रिएपछि छोरो जन्मियो । नाम रहन गयो– सिम्दरे । । हर्क बढाई मनाए । गाउँमा मान्छे त थिएनन् घरको के कुरो ? टाढा–टाढा गोडा दुईएक गोठहरू थिए । जताततै जङ्गल र जङ्गलमा बस्ने बनमान्छेहरू भेटिन्थे । वनमान्छेसित लाप्पा खेल्न मल्लुम बहादुर थियो । उसले धेरै वनमान्छेहरू पछारेका किस्साहरू सुन्थे गाउँलेहरू । 

सिम्दरे दुई वर्ष पूरा भएर तीन टेक्दै थियो । खुसी थिए मल्लुम र सेप्मा । मान्छेबिनाको गाउँमा सन्तान जन्माउने आइमाई भेट्न बडो मुश्किल भएको बेला मल्लुमको सन्तान जम्मिएको कुरो वारिपारि भएका गाउँसम्म फैलिएको थियो । मल्लुम मेलापात गएको बेला तमोरपारिका केटाहरू आएर सेप्मालाई जारी गरिजाउँ भन्थे । एकदिन त्यसैगरी पारिका केटाहरू आएर सेप्मालाई अनेक लोभ देखाउँदै फकाए । उनले नमानेपछि जबरजस्ती बोकेर लैजान खोजे । तर सेप्माले रुँदै उनीहरूको खुट्टा समातेर भनिन्– ‘म मेरो छोरा र लोग्ने जिउँदो हुँदै त कहीँ पनि जाँदिनँ । कृपया, मलाई छादिनुस् ।’ उनको कुरो सुनेर केटाहरूले भने, ‘ए, तेसो हो ? ल तेसो भए पछि आउँछौं ! जाउँ केटा हो हिँड ।’ भन्दै समातिरहेको सेप्माको पाखुरा झड्कार्दै एउटाले भन्यो । सेप्मा रुँदै उठेर घरभित्र पसिन् । 

भित्र कुनामा बालक सिम्दरे डरले काप्दै लुकिरहेको थियो । उनले रुँदै छोरोलाई अँगालो हालिन् र छोरो बोकेर तलामाथि पसेर स्यालले तर्साएर छाडेको कुखुराझैँ लुकिरहिन् । साँझ निक्कै छिप्पिएपछि मल्लुम सिकारमा मारेको एउटा कालिज बोकेर आइपुग्यो । घर सुनसान देखेर अचम्भित भो । बोकिरहेको कुखुरा भुँइमा फ्यात्त फालेर कराउन थाल्यो– ओई सेप्मा ? ओई सिम्दरे ? लोग्नेको बोली सुनेर छोरो बोकेरै निस्किन् सेप्मा । उनले दिउँसो आफूमाथि भएको घटनाको बेलिबिस्तार लगाइन् । ‘को हो मेरो स्वास्नीलाई जारी गर्छु भन्ने ? म अहिले छिनाउँछु त्यसलाई !’ भन्दै खुकुरी उज्याएर जान खोज्यो मल्लुम तर सेप्म्माले तातो रिस गर्न हुँदैन भन्दै सम्झाइन् । कुनै पनि गाउँमा स्वास्नी मानिस नभएको समयमा सेप्माजस्ती राम्री रुपैली स्वास्नी जोगाउन मुस्किल भो मल्लुमलाई । 

एकरात–
‘गुहार ! गुहार ! म जाँदिन । मलाई छाडिदेऊ’ भन्दै सेप्मा कराइरहिन् । गुहार माग्दै चिच्याइरहिन् । तर घरविहीन त्यस एकलास बेनाम गाउँमा उनको पुकार कसैले सुनेनन् । टाउको छिनालिएको मल्लुम सुतेकै ठाउँमा निस्लोट रगतको आहालमा लडिरहेथ्यो । आधारातमा ढुकेर काटिएको थियो उसलाई । बाउको लास हेरेर ग्वाँ...ग्वाँ कहालिँदै रोइरहेको थियो नाबालक सिम्दरे । उसकी आमालाई बोकेर लैजाने तयारीमा थिए ज्यानमारा केटाहरू ।

अन्त्यमा साहस गरेर सेप्मा बोलिन्, ‘मलाई तिमीहरूले छाडेपनि, लगेपनि कुरो एउटै हो–आखिर मेरो लोग्ने त मारिहालेऊ तर मेरो छोरालाई केही पनि नगर । बरु म तिमीहरूसँग बिहे गर्न तयार छु । मेरो यो नाबालक छोरालाई पनि तिमीहरूले उसको बाउ मारेपछि पाल्नु पर्छ, हुर्काउनु पर्छ । मसँगै यसलाई पनि लैजानु पर्छ । मेरो सर्त मन्जुर छ भने म जान्छु ।’ उसलाई तान्दै गरेका केटाहरू हेराहेर गरे र एकछिन रोकिए । अनि सोचेझैँ गरे र भने– ‘ल हुन्छ ।’ सिम्दरे पनि आमासँगै बिरानो गाउँमा पुग्यो । 

यता मल्लुमको सतगत गोठालाहरूले गरे । मल्लुम मारिएको  खबर सुनेर लेप्चुङ्गको भोटे साथी धेरै रोयो । मलामी बनेर आयो, सेप्मा र छोरा बेपत्ता भएको सुनाए गाउँलेहरूले । उनीहरूको बारी र घर एक्लो भो । दिनहरू बित्दै गए, एकदिन होइन दुई दिन होइन कति दिन शोकमा बस्नु ? समयले ठगेको कर्म, फुटेको खप्पर कति धिकार्नु ? फेरि साथमा प्यारो लोग्नेको चिनो सिम्दरे पनि थियो । उसकै निम्ति पनि जिउनु थियो सेप्माले । त्यसपछि ती आदिपुरुषकी विधुवा नारी सेप्माले समयसँग सम्झौता गरिन् । केही वर्षमा तीनभाइ छोरा र दुई बहिनी छोरी पाएर त्यस गाउँको पनि वंश बढाउने काम गरिन् । तर जति गरे पनि उनले पहिलो लोग्ने र उसको गाउँघर भुल्न सकिनन् ।

सिम्दरे पनि ठुलो भैसकेको थियो । एकदिन उसले बोलाएर छोरालाई जम्मै कथा सुनाइन् अनि भनिन्– ‘छोरा, जाऊ तिम्रो आफ्नो घरमा । त्यहाँ गएर आफ्नो घर र जग्गाजमिन सम्हाली खाऊ । तिमी यस गाउँमा भन्दा त्यस गाउँमा धनी हुनेछौ । पारिको गाउँतिर देखाएर भनिन्, ‘ऊ त्यो देखिएको गाउँ जम्मै तिम्रो हो । त्यहाँ गएर बिहे गरेर आफ्नै वंश वृक्ष हुर्काऊ । तिमीलाई आशीर्वाद छ’ सिम्दरेको शिरमा हात राखेर बिदा दिइन् ।

आमाले त्यसो भनिरहँदा पारिको गाउँमा एकदिन अचानक घटेको त्यस घटना र रगतले लत्पतिएको बाउको वीभत्स लास उसले झल्झल्ली सम्झ्यो । वर्षौं निदाएर ब्युँझिए जस्तो सबै घटना आँखा वरिपरि नाच्न थाले । ऊ 'फ्ल्यास ब्याक'मा पुग्यो । ‘तर आमा, म तपाईंलाई यहाँ एक्लै छाडेर म कसरी जाऊँ ?’ धुरुधुरु रुँदै प्रश्न गर्‍यो आमालाई । ऊ आमालाई सारै माया गर्‍थ्यो । उसले सजिलै आमा छाड्न सकेन । झ्वाट्ट आमाको मनमा एउटा उपाया आयो– तीन भाइ छोरा मध्ये माइला चाहिँ छोरा सारै मिल्थ्यो सिम्दरेसित ।  उसको नाम थियो जङ्गवीर । सेपमाले भनिन्, जङ्वीर ! तिमी सिम्दरे दाजुको मिल्ने भाइ । दाजसँग तिमी ऊ त्यो पारि गाउँमा जाऊ । त्यहाँ एउटा ठुलो घर छ । धेरै जग्गा जमिन छ । तिमी दुई भाइलाई पुगिसरी हुन्छ । यहाँ त तिमेरको बाउको अंश बाँड्दा एक एक टुक्रा पनि पुग्दैन ।’ आमाको कुराले जङ्गवीर लोभियो । उसले भनिहाल्यो– ‘हुन्छ आमा ! म त्यहाँ जान तयार छु ।’ 

वारि गाउँमा आएर बाउको नासोको रुपमा रहेको घरमा बस्न थाल्यो सिम्दरे भाइ जङ्गवीरसँग ।  केही वर्षपछि सिम्दरेको विहे भयो । भाइ जङ्गवीरको पनि विहे गरिदियो र सल्लेरीदेखि माथिको जम्मै जग्गा अंश दियो । दुई भाइले मिलेर त्यस बेनाम गाउँमा बसाले सुन्दर बस्ती । सल्लेरिदेखि माथि डाँडाकाँडा भाइका सन्तानले ढाके । तल दाजु सिम्दरेका सन्तान दरसन्तान फैलिए । सिम्दरेको जेठो छोरो थियो सुकवीर । सुकवीरका दुईभाइ छोरा थिए कान्छोरे र मनाहाङ । उही कान्छोरेले मगरनी विहे ग¥यो । मगरनीपट्टि दुई भाइ छोरा जन्मिए । मगर्नीपट्टिका सन्तान भनेर दाजुभाइले पनि हेला गर्न थाले । उनीहरू पनि भएका जग्गाजमिन जोतभोग गरिखान अल्छी भए । बाउबाजेले बनाएका पुराना दरबार भन्न मिल्ने घर पनि भत्किएर समयक्रममा छानाविहीन बने । 

मल्लुमले जङ्गल फाँडेर बसाएको बस्ती आज ठुलो व्यापारिक केन्द्र भन्न मिल्ने सहर नै बनेको छ । कञ्चङ्जङ्गा जाने बटुवाहरू त्यहीँ बाटो भएर हिँड्छन् । गाडी गुड्ने सडक करिब–करिब नजिकै आइपुगेको छ । तमोर करिडर त आइनै पुग्यो भन्दा पनि हुन्छ । जताततै अलैँची, गहुँ, मकै, कोदो बेस्सरी उब्जनी हुन्छ । पुरानो पीपलबोटमुनि लहरै तीनओटा दोकान खोलिएका छन् । हिजोका सोझासाझा गाउँले आज ठुल्ठुला व्यापारी बनेका छन् । तर, त्यो छानो उजाडिएको पुरानो घर र त्यसमा बस्ने तीन जनाको जीवनमा भने कुनै परिवर्तन आएको छैन । पुस्तौँ बितिसक्दा पनि उनीहरूको जीवनशैली उही जङ्गली पारामै रहिरहेकाले गाउँलेहरू भन्छन्, ‘कान्छोरेका अल्छी सन्तानहरू ।’ 

पुर्खाहरूबाट सुनेको किम्बदन्तीजस्तै लाग्ने त्यो घरको कहानी सम्झेर लामो खुई काड्छिन् सुब्बेनी बुढी । सबैका घरआँगनमा पिउने पानीको धारा, घरघरमा बिजुली र घरैछेउ मोटरबाटो पुगिसकेको छ । मान्छेका हात–हातमा छ मोबाइल फोन । गाउँ कहाँबाट कहाँ पुगिसक्यो तर जसेबुढाको परिवार अझैसम्म पनि खोल्सीबाट बाँसको ढुङ्ग्रोमा पानी बोकेर पिइरहेको छ । गिठ्ठाभ्याकुर र सिस्नुको भरमा जीवन धानिरहेको छ । ऊफ् ! 

ताप्लेजुङ, नेपाल । हालः अक्फोर्ड, बेलायत ।