समकालीन भारतीय साहित्य: नेपाली निबन्ध, नाटक, नियात्रा र बालसाहित्य

समकालीन भारतीय साहित्य: नेपाली निबन्ध, नाटक, नियात्रा र बालसाहित्य

रूपेश शर्मा  |  साहित्य  |  जेठ १५, २०७८

समकालीन भारतीय गद्य साहित्य : मूलभूत प्रवृत्तिहरूको सार-सङ्क्षेप

समकालीन भारतीय नेपाली निबन्ध 

भारतमा आधुनिक नेपाली निबन्धको विकासमा पत्र–पत्रिकाको योगदान महत्वपूर्ण मानिएको छ । सन् १९१८ मा पारसमणि प्रधानद्वारा सम्पादित चन्द्रिकाबाट निबन्ध लेखनमा सचेत प्रयास भएको पाइन्छ । पारसमणि प्रधान र उनको चन्द्रिकाबाट आधुनिक भारतीय नेपाली निबन्ध साहित्यको विकासको सूत्रपात भएको समालोचकहरूको ठहर छ । भारतीय नेपाली निबन्धको विकासमा अच्छा राई ‘रसिक’, रामकृष्ण शर्मा, हर्कजङ्गसिंह छेत्री, इन्द्र सुन्दास, सूर्यविक्रम ज्ञवाली, भाइचन्द प्रधान, इन्द्रबहादुर राई, डिल्लिराम तिमसिना, वीरेन्द्र, राजनारायण प्रधान, गणेशलाल सुब्बा, रत्न बान्तवा, जगत छेत्री, नगेन्द्र शर्मा, सूर्यकला थापा, एस.एन. छेत्री, बद्रीनारायण प्रधान, हरिश बम्जन, कमला साङ्कृत्यायन, एम.एम. गुरुङ, गोकुल सिन्हा, कुमार प्रधान, ईश्वर बल्लभ, डा. हर्कबहादुर छेत्री, महानन्द पौड्याल आदिको भूमिका महत्वपूर्ण रहिआएको छ । यद्यपि यी सबै सर्जकका कृतिहरू निबन्धको विधागत स्वरूप र आधारमा संरचित छैनन् । विविध विषयादिका लेख सङ्कलनलाई समेत निबन्ध भनिने प्रचलनले केही अन्योलता ल्याएको पाइन्छ । 

समकालीन भारतीय नेपाली निबन्धका एक अग्ला धुरी हुन्, रामलाल अधिकारी । उनका छओटा निबन्धसङ्ग्रह प्रकाशित छन् ः भोकाएको कुकुरले के भन्छ ? (१९७२), रवि सप्तमी (१९७३), अलौटा र ठेटना (१९७६), निसंस्मरण (१९९५), विविद–अविविद (१९९८) र भैरवको भूत (२००१) । यीमध्ये निसंस्मरणलाई २००० सालको साहित्य अकादमी पुरस्कार प्राप्त भएको छ । रामलाल अधिकारीका निबन्ध बढी आत्मपरक र निजात्मक प्रकृतिका छन् । निजात्मकताभित्र समसामयिक विषयवस्तुको अनुभूतिजन्य प्रस्तुति, व्यङ्ग्य, स्वच्छन्दता, अभिव्यक्तिको तीव्रता, भाषिक सरसता, अनौपचारिक प्रस्तुति आदि यिनका निबन्धका विशेषता हुन् । भारतबाट त रामलाल अधिकारीपछि उत्तिकै जाँगर चलाएर निबन्ध लेख्ने अर्को निबन्धकार कोही देखिएको छैन भनेर समालोचक डा. घनश्याम नेपालले निबन्धमा रामलाल अधिकारीको शिखर व्यक्तित्वलाई रेखाङ्कित गरेका छन् । भारतीय नेपाली निबन्धमा रामलाल अधिकारी नेतृत्वदायी भूमिकामा छन् । 

निबन्धमा अर्को एक महत्वपूर्ण नाम हो सानुभाइ शर्मा । उनका भालुलाई पुराण (१९९३), अवकाशको क्षण (२००८) प्रमुख निबन्धसङ्ग्रह हुन् । शर्माका निबन्धहरू हास्यव्यङ्ग्य र कटाक्षले भरिएका हुन्छन् । हास्यव्यङ्ग्य निबन्धकार मिङ लिवाङका एकैछिन ल (१९९४), छिमेकीको छोरी (१९९५), ज्यान्टलमेन (१९९८) र दि गोर्खाज (२०००) गरी चार निबन्धसङ्ग्रह प्रकाशित छन् । हास्यव्यङ्ग्य निबन्धमा भारतबाट कृष्ण प्रधानको नाम उल्लेखनीय छ । उनका आइमाईको रिस (१९९२), चारो (२००४), डरको हाउगुजी (२००९) र दार्जिलिङ कमेन्ट्री (२०१६) निबन्धसङ्ग्रह प्रकाशित छन् । साहित्य अकादमी नयाँ दिल्लीबाट प्रकाशित भारतीय नेपाली साहित्यमा हास्यव्यङ्ग्य निबन्ध (२०१०) एक उल्लेखनीय प्राप्ति हो । हास्यव्यङ्ग्य निबन्धमा हीरा छेत्री, परसात राई, सुदर्शन ‘अम्बटे’, आइ.के. सिंह, दीप प्रधान ‘गान्तोके’, समिरण छेत्री ‘प्रियदर्शी’ आदि प्रमुख नाम हुन् । समकालीन भारतीय नेपाली निबन्धमा केदार गुरुङका आफ्नै पक्षहरू (१९८३), समुद्रको पानी र बगरका बालुवाहरू (२००१), अस्रोत स्रोतहरूका प्रतिस्रोतहरू (२०११), विजयकुमार सुब्बाको जीवनको निम्ति (२०१०), वीरू वाङ्देलका सोझो बाङ्गे हस्ताक्षर (१९९६), पुर्पच्छे बकितम (२०१२), कुमार नेपालीको मनले चाहेका यथार्थहरू (२०१२) आदि प्रमुख कृति हुन् ।

समकालीन नेपाली निबन्धमा नयाँ पुस्ताका प्रतिनिधि निबन्धकार हुन् अजय खड्का । डुवर्सका आफ्ना अग्रजहरू बद्रीनारायण प्रधान, कितापसिंह राई, एस.एन. छेत्री, जनार्दन थापा आदिका निबन्ध लेखनभन्दा भिन्न यिनले विधागत स्पष्टता र आधारमा नै पखेटा चलुञ्जेल (२०१५) निबन्धसङ्ग्रह प्रकाशित गरेका छन् । समालोचक डा. कविता लामाले यिनलाई देवकोटा अनि रामलाल अधिकारीपछिको दीर्घकालीन रिक्ततालाई पूर्ण गर्ने प्रयाससहित आएका एकजना सक्षम निबन्धकार मानेकी छन् । निजात्मकता, विचारात्मकता र अनौपचारिकता यिनका निबन्धगत वैशिष्ठ्य हुन् भने सैद्धान्तिक स्पष्टता, बौद्धिक पुट, तार्किक विलक्षणता अनि समकालीन चेतनाद्वारा यिनका निबन्धहरू लेस छन् । पूर्वोत्तर भारतबाट चन्द्रकुमार शर्मा र हेमलाल कश्यप प्रतिष्ठित निबन्धकार हुन् । यसै गरी, विष्णुलाल उपाध्याय, तारापति उपाध्याय, विद्यापति दाहाल आदिले निबन्ध विधाको विकासमा उल्लेखनीय योगदान दिएका छन् । नेपाली निबन्ध लेखनमा एउटा नयाँ पुस्ता प्रभावशाली लेखनका साथ अघि बढिरहेको छ, जसमा राजेन दौर्बल्य, टीका ‘भाइ’, राजा पुनियानी, मनोज बोगटी, विशाल राई ‘टिस्टे’, अनिल तैलेजा, छुदेन काविमो आदि प्रमुख छन् । 

समकालीन भारतीय नेपाली नाटक 

भारतीय नेपाली नाट्यसाहित्यमा दार्जिलिङ निवासी नन्द हाङ्खिमकृत युद्धहरू (१९७३) लाई पहिलो आधुनिक नाटक मानिएको छ । यथार्थवादी नाटकको रूपमा वस्तुसङ्गठन र संयोजनका दृष्टिमा पनि यो नाटक उच्च रहेको समालोचक डा. केशवप्रसाद उपाध्यायको ठहर छ । उनका एकाङ्कीसङ्ग्रह मृत्युदिवस (१९७६) अनि अभिषेक (१९९५) महत्वपूर्ण नाट्यकृति हुन् । अभिषेक किराती पुराकथामा आधारित पूर्णाङ्की नाटक हो । २००९ मा उनको लीला–अ–लीला एकाङ्कीसङ्ग्रह प्रकाशित भएको पाइन्छ । सामाजिक यथार्थवादी उनका नाटकहरूमा नवीन वस्तुसङ्गठन र नाट्यसंयोजन अनि वैचारिक गाम्भीर्यता पाइन्छ । दार्जिलिङे नेपाली नाट्यमञ्चमा हलचल मच्चाउने व्यक्ति हुन् मनबहादुर मुखिया । उनको अनि देउराली रून्छ (१९७३) नाटकले दार्जिलिङ मात्र होइन, काठमाडौँसमेत थर्काएको थियो सत्तरी र असीको दशकमा ।

भारतीय नेपाली साहित्यमा कोलकाताले विभिन्न प्रकारले योगदान दिएको पाइन्छ । नेपाली साहित्यका चर्चित उपन्यासकार लैनसिंह बाङ्देलले कोलकातामै बसेर लङ्गडाको साथी उपन्यास लेखेका थिए । उनले यहाँबाट १९५० को दशकतिर विद्यार्थी छँदा प्रभात प्रत्रिका सम्पादन गरेको पाइन्छ । कोलकाताले साहित्यको क्षेत्रमा सिर्जनात्मकभन्दा बढी साहित्यिक गतिविधि र प्रवद्र्धनका कामहरू गरेर महत्वपूर्ण योगदान दिइरहेको छ ।

नेपाली जनजीवनमाथिका शोषण र अन्यायलाई मार्मिक ढङ्गमा प्रस्तुत गर्ने यो दुःखान्त नाटकको चर्चा अहिले पनि हुन्छ । उनका अन्य बहुचर्चित नाटकहरू हुन्: अँध्यारामा बाँच्न चाहनेहरू (१९७२), फेरि इतिहास दोहोरिन्छ (१९७५), असत्यम, अशिवम्, असुन्दरम् (१९७५) र क्रसमा टाँगिएको जिन्दगी (१९७७) । उनी स्थायी रूपमा काठमाडौँ गएर बसे पनि नाटक क्षेत्रमा उनको प्रतिष्ठा दार्जिलिङमै कायम भएको हो । नाट्य क्षेत्रका यस्तै अर्का प्रतिभा हुन् अविनाश श्रेष्ठ । गुवाहाटी छँदा नै उनले आफूलाई एक सफल नाटककारका रूपमा स्थापित गरिसकेका थिए । नेपाल गएपछि उनका दुईओटा नाट्यकृति प्रकाशित भएको पाइन्छ: समय, समय अनि समय र अश्वत्थमा हतोहतः (१९९३) । अश्वत्थमा हतोहतः बहुचर्चित नाट्यकृति हो । दार्जिलिङका एक प्रतिभाशाली नाटककार हुन् शरद छेत्री । उनका अतिक्रमण (१९८०) र खुब नाच्यो कठपुतली (१९९३) गरी दुईओटा नाट्यकृति प्रकाशित छन् । दुवै नाटक प्रयोगधर्मी र विनिर्माणवादी प्रकृतिका रहेका छन् । दोस्रो नाटकले कठपुतली जस्तै भएर अर्काको इसारामा नाच्नुपर्ने जीवनप्रति तीव्र व्यङ्ग्य गरेको छ । 

भारतीय नेपाली नाट्यमञ्चमा लोकप्रियताको सोपान उक्लिएका अर्का प्रतिभाशाली नाटककार हुन् सि.के. श्रेष्ठ । केही वर्षअघि उडिसाबाट नाट्यभूषण उपाधिद्वारा विभूषित उनी नाट्य मञ्चका कुशल संयोजक पनि हुन् । उनका हाम्रो लभस्टोरी (१९८८), अनि भालेमुङ्ग्रो रून्छ (१९८१), मुगल साम्राज्यमा एक दिन (१९८१), मलाई सब थाहा छ (१९९५), सलाम रेलीमाइ, ऐनामा हेर्दा रामसाइँली आदि बहुचर्चित नाटकहरू हुन् । नाट्य प्रदर्शन र दर्शकमा प्रभावोत्पादकताका दृष्टिले यिनी मनबहादुर मुखियापछि सर्वाधिक सफल नाटककार हुन् । यिनका नाटकहरूमा सामाजिक विसङ्गति, व्यङ्ग्य, राजनैतिक भ्रष्टाचार, दुराचार र कमिसन तन्त्रप्रति तीव्र प्रहार गरिएको पाइन्छ । जातीय एकता, भारतमा गोर्खाहरूको अस्मिता र चिनारीको संघर्ष अनि जातीय मेलमिलाप र एकताबद्ध संघर्षको आह्वान यिनका नाटकहरूका केन्द्रिय भावभूमि हुन् । यद्यपि यिनका अधिकांश नाटकहरू अहिले पनि अप्रकाशित नै रहेका छन् । 

इन्द्रबहादुर राई एक प्रयोगधर्मी नाटककार हुन् । उनको पहेँलो दिन (२००२) यस्तै एउटा नाटक हो । यो नाटकलाई समालोचकहरूले अधियथार्थवादको श्रेणीमा राखेको पाइन्छ । नारीवादी दृष्टिविन्दु र सैद्धान्तिक चेतनाद्वारा नाटक लेख्ने एक चर्चित नाटककार हुन् इन्द्रमणि दर्नाल । उनका ययाति (१९९५) र कृष्णा ! कृष्णा !! (२००९) बहुचर्चित नाट्यकृति हुन् । दुवै नाटकका आधार स्रोत पौराणिक कथा रहेका छन् भने उपेक्षित नारी पात्रहरूलाई केन्द्रमा ल्याएर उनीहरूबाट विद्रोही स्वर मुखर गराउनु उनको नाट्यकृतिको उद्देश्य रहेको देखिन्छ । नेपाली नाटकमा केही प्रयोग गर्ने स्रष्टा हुन् सूर्यकुमार सुब्बा । उनका समयभित्रका समयहरू (१९९५) र तन शाखा उपशाखा (२००७) मा यस्तै प्रयोगधर्मी विशेषता पाइन्छ । समकालीन नेपाली नाटकमा प्रभावशाली व्यक्तित्वको रूपमा सफल छन् लक्ष्मण श्रीमल । उनको नाटक कफ्र्युले पहिलोपल्ट नाट्य विधामा २००७ मा साहित्य अकादमी पुरस्कार प्राप्त गरेको छ ।

श्रीमलका एक दर्जनभन्दा बढी पूर्णाङ्की नाटक प्रकाशित छन्, जसमा यसरी घर भत्कन्छ (१९७४), तीन दिशा (१९९२), यो पनि हाम्रै एउटा कथा हो, प्रणयवेदना (१९९२), कफ्र्यु (२००३) आदि प्रमुख छन् । पूर्ण गुरुङ ‘निरूपण’ एक सफल नाटककार हुन् । उनका आधा दर्जनभन्दा बढी नाट्यकृति प्रकाशित छन् । बन्धकी राखिएको सिन्दुर (१९८७) यिनको बहुचर्चित नाटक हो जसमा भारतीय नेपालीहरूले देशको निम्ति दिएको बलिदानको गौरवपूर्ण योगदान साथसाथै उनीहरूले भोग्नुपरेका पीडादायी जीवनलाई कथावस्तु बनाइएको छ । समकालीन नेपाली नाटकमा पि. अर्जुन, जगत् छेत्री, मुक्ति उपाध्याय बराल, जस योञ्जन ‘प्यासी’, कृष्ण प्रधान, चुनिलाल घिमिरे, ध्रुव लोहागण, आइ.के. सिंह, राजु प्रधान ‘हिमांशु’, थमन नौवाग, जगदीश शर्मा, विश्वमणि हिङ्माङ, किरण ठकुरी, मोहन विष्ट, पुकार गुरुङ, कर्ण थामी, मधुसुधन लामा, ललित गोले, महेन्द्र वागदास आदिले सक्रिय योगदान दिइरहेका छन् । यीमध्ये कतिपय नाटककारहरू मञ्चीय प्रदर्शनमा धेरै सफल रहिआएका छन् । असमका प्रेमसिंह सुवेदी, मिजोरमकी लक्ष्मी ‘मिनु’ समकालीन नेपाली नाटकमा उल्लेखनीय नाम हुन् । डुवर्सबाट टीका पराजुली, नरेन्द्र खड्का, कितापसिंह राई, इन्द्रबहादुर गुरुङ, कृष्णभक्त खड्का आदिले नाट्य क्षेत्रमा योगदान पु¥याउँदै आएका छन् । 

समकालीन नेपाली नियात्रा 

भारतमा नेपाली यात्रासाहित्य लेखनको थालनी भाक्सुका शेरसिंह रानामगरको मेरो लन्डन राजतिलक यात्रा (१९९३) बाट भएको मानिएको छ । १ र ४ गोर्खा राइफलमा रहेका उनी १९११ मा ब्रिटिस सरकारको निम्तोमा पाँचौँ जर्जको राजतिलकमा सहभागी हुन लन्डन पुगेका थिए । प्रस्तुत यात्रा अवधिका विवरण र लन्डनका परिवेश, विकास, जीवनशैली र प्राकृतिक सुन्दरताको वर्णन यसमा पाइन्छ । भारतमा नियात्रा लेखनको प्रारम्भिक कालमा एलिसा राजमति प्रधानको स्कोटल्यान्डको बखान (१९२९), लैनसिंह बाङ्देलको युरोपको चिट्ठी (१९५७) र स्पेनको सम्झना (१९९३), पारसमणि प्रधानको मेरो काठमाडौँ यात्रा (१९५७) आदिले नियात्राको जग बसाउन महत्वपूर्ण योगदान दिएका छन् । 

नियात्रा लेखनलाई व्यवस्थित र बलियो बनाउने काम भने सलोन कार्थकबाट भएको पाइन्छ । उनको सम्पादनमा पहिलोपल्ट समुद्रवारि–समुद्रपारि (१९७६) नियात्रा सङ्कलन प्रकाशित भएको थियो, जसमा उनका दुई नियात्रासहित कुल पाँचजनाका नौओटा नियात्रा यसमा सङ्कलित रहेका छन् । समुद्रवारि खण्ड अन्तर्गत पूर्ण राई, जय धमला र सलोन कार्थक अनि समुद्रपारि खण्डअन्तर्गत जोन डिक खवास र ज्ञानेन्द्रकुमार रोङगोङका नियात्राहरू सम्मिलित रहेका छन् । यसपछि कार्थकका तीनओटा नियात्रा सङ्कलन प्रकाशित भए: विदेशतिर रिङ्दै जाँदा (१९९१), पदयात्रा गाउँको फन्को विदेशको (२०००) र विश्व एउटा पल्लो गाउँ (२०१३) । सलोन कार्थक सम्बन्धित ठाउँका प्राकृतिक छटा र प्राविधिक विकासलाई दर्शाउन जति खप्पिस छन् उत्तिकै खप्पिस छन् त्यस क्षेत्रको सामाजिक यथार्थको चित्रणमा पनि । आफ्ना नियात्रालाई पत्यारिलो बनाउन उनले तथ्यगत प्रस्तुतिमा विशेष ध्यान दिएको पाइन्छ । उनले विदेशमा नेपाली भाषा, साहित्य, संस्कार, संस्कृति र रीति–रिवाजहरूप्रति पनि आफ्ना नियात्राहरूमा चासो र चिन्ता जताएका छन् । भारतीय नेपाली निबन्धका उनी एक सबल र सफल खाँबो हुन् । 

समकालीन नेपाली नियात्रामा दिलबहादुर नेवारको यात्रा सङ्कलन, शान्ति छेत्रीको अरब सागरको सूर्यास्त (१९८६) र युरोप भ्रमण ः केही संस्मरण (१९९६), जयनारायण लुइँटेलको दुबई हुँदै अमेरिकासम्म, सानु लामाको आँगन परतिर (२००१), सानुभाइ शर्माको यात्रा संस्मरण (१९९८), प्रद्युम्न श्रेष्ठको मेरा केही यात्रा संस्मरण (१९९६), सूर्य लोवाको नथुलाको सिँढी चढ्दा (२००४) कुमार घिसिङको दुनघाँटी र नालापानी, चन्द्रकुमार राईको भ्रमण र जीवनयात्रा, के.पी. मल्लको यात्रा, एम. ‘पथिक’ को एम. ‘पथिक’ का पाइलाहरू र एम.बि. प्रधानको मनका लहर र रहर (२०११) आदि प्रमुख छन् । मनका लहर र रहरले २०१३ मा साहित्य अकादमी पुरस्कार प्राप्त गरेको छ । यस सम्बन्धमा दिवाकर प्रधानद्वारा सम्पादित ग्रन्थ यात्रा साहित्यमा एम.बि. प्रधान ः एक विवेचनात्मक अध्ययन (२०१४) पनि प्रकाशित भएको छ । 

 समकालीन नेपाली बालसाहित्य 

रोङ्गोङ भारतमा नेपाली बालसाहित्यको लिपिबद्ध आधारशिला राख्ने श्रेय पादरी गङ्गाप्रसाद प्रधान र पारसमणि प्रधानलाई जान्छ । पारसमणि प्रधानले त नेपाली मातृभाषामा पठनपाठनका लागि भाषा–साहित्यको विकास अभियानकै रूपमा बालोपयोगी साहित्य सिर्जना गरेका थिए । भारतीय नेपाली बालसाहित्यलाई समृद्ध बनाउने स्रष्टाहरू बाबुलाल प्रधान, देवकुमारी थापा, राजनारायण प्रधान, प्रकाश ‘कोविद’, नैनसिंह योञ्जन, शरद छेत्री, महानन्द पौड्याल, राधाकृष्ण शर्माको योगदानलाई हामी भुल्न सक्दैनौँ । अन्य भाषाका ज्ञानवद्र्धक, नैतिक उपदेश र प्रगतिशील चेतनाले भरिएका बालसाहित्य अनुवाद गर्ने स्रष्टाहरूमा प्रकाश ‘कोविद’, सम्पूर्णा राई, मोहन ठकुरी, महानन्द पौड्याल, आर.पि. लामा, कर्ण थामा, बाबुलाल प्रधान, सिद्धार्थ राई, सुवास दीपक आदि प्रमुख छन् । 

समकालीन भारतीय नेपाली बालसाहित्यमा योगदान दिने स्रष्टाहरू हुन्ः  मुन्नि सापकोटा, नैनसिंह योञ्जन, खिरोदा खड्का, गीता उपाध्याय, स्नेहलता राई, डा. शान्ति छेत्री, मुक्ति उपाध्याय बराल, बद्रीनारायण प्रधान, वेगवसन्त थापा, भीम प्रधान, वसन्ती शाह, मिना सुब्बा, जीवन राणा, साङ्मु लेप्चा, शिशुपाल शर्मा, एडोन रोङ्गोङ, भविवाल लामिछाने, भोटु प्रधान, शङ्करदेव ढकाल, नरबहादुर दाहाल, गुप्त प्रधान, डा. कविता लामा आदि ।

बाल गद्य साहित्यमा मुक्ति उपाध्याय बरालको बालोपन्यास मालती र हिमाली (२००६) महत्वपूर्ण कृति हुन् । यी उपन्यासहरूमा केही स्वैरकल्पना भए पनि विज्ञानका प्राप्तिहरूमा सम्भावित भविष्यको आँकलन र परिकल्पना बुनिएको छ । मुक्ति उपाध्याय बरालका कृतिभन्दा अघि भारतबाट पाँचओटा नेपाली बालउपन्यास प्रकाशित भएको पाइन्छ: लक्ष्मण श्रीमलकृत घामफूल (१९७९), सुवास दीपककृत अभिषेक (१९८०), राधाकृष्ण शर्माकृत भन्न नसकेका कुराहरू (१९८१), गीता उपाध्यायकृत आमा म फस्र्ट भएँ (१९९७) र साङ्मु लेप्चाको वनसंसार (२०१२) । समालोचक जस योञ्जन ‘प्यासी’ ले मुक्ति उपाध्याय बराललाई विज्ञान विषयक बालोपन्यास लेख्ने प्रथम भारतीय नेपाली बालोपन्यासकार मानेका छन् । 

यसै गरी बालकथा लेखनमा देवकुमारी थापाको नाम अग्रपङ्क्तिमा आउँछ । उनका एकादशी, झझल्को र सेतो बिरालो बालकथा सङ्ग्रह प्रकाशित छन् । एडोन रोङ्गोङको मायाका फूलहरू (२००६), शङ्करदेव ढकालको बाल सुधार सागर (२०१२), मुन्नि सापकोटाका कथा फूलबाली (२००३) र बल्ल बुद्धि पलायो (२००५), गीता उपाध्यायको एन फ्रान्को बाल्यकाल (२००८), स्नेहलता राईको स्नेहोद्गार (२००९), भीम प्रधानको बालकोसेली आदि उल्लेखनीय बालकथा सङ्ग्रह हुन् । 

बालनाटकको क्षेत्रमा थमन नौवाग सक्रियताका साथ लागिपरेका स्रष्टा हुन् । उनका दुईओटा बालनाटक सङ्ग्रह प्रकाशित छन्( लेठेप्रो छात्र (१९८३) र मनुष्यत्व (२०१३) । इन्द्रमणि दर्नाल र मनबहादुर गुरुङले पनि केही बालनाटक मञ्चित गरेर यस क्षेत्रमा योगदान दिएका छन् । बालसाहित्यको विकासमा सक्रियतापूर्वक लागिपरेका छन् भीम प्रधान । उनीद्वारा सम्पादित बाल दर्पण यस क्षेत्रमा उल्लेखनीय पहल बनेको छ । २००० सालदेखि बाल दर्पण नियमित रूपमा प्रकाशित गर्दै आएका यिनले यसको ८५ औँ अङ्क लोकार्पित गरेर हीरक जयन्तीसमेत पालन गरिसकेका छन् । 

बालसाहित्यको मूल्याङ्कन र विकासमा कविता लामाको भारतीय नेपाली बालसाहित्यमा नारी स्रष्टा (२०१४) एक उल्लेखनीय प्राप्ति हो । यसै गरी, दीपक तिवारीकृत सिक्किमको नेपाली साहित्यिक इतिहास परम्पराः स्वरूप र प्रवृत्ति (२०१३) मा बालसाहित्यको विकासमा सिक्किमका साहित्यकारहरूको योगदान महत्वपूर्ण अध्याय र उपलब्धि बन्न पुगेको छ । 

कोलकातामा साहित्यिक गतिविधि

भारतीय नेपाली साहित्यमा कोलकाताले विभिन्न प्रकारले योगदान दिएको पाइन्छ । नेपाली साहित्यका चर्चित उपन्यासकार लैनसिंह बाङ्देलले कोलकातामै बसेर लङ्गडाको साथी उपन्यास लेखेका थिए । उनले यहाँबाट १९५० को दशकतिर विद्यार्थी छँदा प्रभात प्रत्रिका सम्पादन गरेको पाइन्छ । कोलकाताले साहित्यको क्षेत्रमा सिर्जनात्मकभन्दा बढी साहित्यिक गतिविधि र प्रवद्र्धनका कामहरू गरेर महत्वपूर्ण योगदान दिइरहेको छ । हालमा इएफआरमा रहेका साहित्यानुरागी र साहित्यसेवीहरूले सक्रियतापूर्वक साहित्यिक गतिविधिलाई बढाएका छन् । अहिले कोलकातामा अगमसिंह गिरी संस्थान र लैनसिंह बाङ्देल स्मृति प्रतिष्ठान उल्लेखनीय संस्थान हुन् । यी दुवै संस्थानको पहलमा परदेशी र प्रभात जस्ता समसामयिक साहित्यिक पत्रिका प्रकाशन भइरहेका छन्, जसलाई विकास कार्कीले सम्पादन गर्दै आएका छन् । यसबाहेक लैनसिंह बाङ्देल स्मृति पुरस्कार पनि बितेका चार वर्षदेखि नेपाल र भारतका साहित्य सर्जकहरूलाई अर्पण गरिँदै आएको छ । कोलकाताबाट विकास कार्की, सचिन खवास ‘प्रयास’, कमल खवास, सञ्जीव गुरुङ, निमा निष्कर्ष, दावा स्याङ्बो आदि सिर्जनात्मक गतिविधिमा पनि सक्रिय रहेका छन् । मार्च, २०१७ मा कोलकाताको कल्याणीमा कवि भानुभक्त आचार्यको सालिक पनि स्थापना गरिएको छ । 

देहरादुन–भाक्सुमा साहित्यिक गतिविधि 

हिमाञ्चल प्रदेशको भाग्सुबाट मगन पथिकले उल्लेखनीय साहित्यिक योगदान दिएका छन् । सैनिक पृष्ठभूमि भएको यस क्षेत्रमा भारतीय गोर्खाहरूले सिर्जनात्मक रूपमा धेरै योगदान गर्न नसके पनि उनीहरूको प्रयास सत्तरी–असी वर्षदेखि महत्वपूर्ण रहँदै आएको छ । नेपाली साहित्यको विकासमा देहरादुनबाट प्रकाशित गोर्खा संसारको विशिष्ट योगदान रहेको पाइन्छ । अहिले भाग्सुबाट प्रतापसिंह गुरुङले गद्य साहित्यमा सिर्जनात्मक प्रयास गरिरहेका छन् भने देहरादुनबाट भूपेन्द्र अधिकारी साहित्यिक रूपमा निकै सक्रिय छन् । देहरादुनमा गोर्खाली सुधार सभा विगत ८० वर्षदेखि नेपाली भाषा–साहित्य र जातीय संस्कृतिको संरक्षण तथा  प्रवद्र्धनमा सक्रिय रहँदै आएको छ । नेपाली भाषा मान्यताको संघर्षमा पनि यस क्षेत्रको योगदान ऐतिहासिक रहेको छ । हालका दिनहरूमा यस क्षेत्रबाट हामी, हाम्रो भाषा जस्ता पत्रिकाहरू समसामयिक रूपमा प्रकाशित भइरहेका छन् ।

'समकालीन भारतीय नेपाली साहित्यमा गद्य साहित्यको अवस्था' अलेखको अन्तिम भाग 

 

डुवर्स, भारत