करुणा राई | साहित्य | जेठ २२, २०७८
त्यस दिन-
गाउँ ब्युँझिएकै थिएन
परदेशी कुहिरो झुन्डिएको थियो
गम्लङ्ग पाठ ओढेर आकाशमुन्तिर
रक्तिम सपना कोरली रहेको थियो नदी
उज्यालोको कठघरामा ठिङ्रिने तालिका
पढिरहेका थिए जून–ताराहरू ।
यही बेला-
माटोको एक निधार टीका पोतेर
परिवर्तन खोजी ल्याउने
अदम्य साहस बोक्दै घर छाड्छ–आइते !
बुढो आयु बोकेर अँध्यारो
अजङ्गको पहाड उभिन्छ
छिप्पिएको ठिही बोकेर हावा
उसको कन्चट भत्काउन खोज्छ
तर ऊ तुसारोको चम्पा बजाउँदै
आफ्नो बाटो तय गर्छ ।
यस बेलासम्म -
बजेको हुँदैन समय भालेको लुर्कामा/कण्ठमा
बाँसझ्याङमा लाप्पा खेल्दैनन् रुपीहरू पनि
खन्युको बोटको टोड्काबाट
चियाउँदैन कुनै लाटोकोसेरो
फोप्रोप्मा कराउँदैन सधैँझैँ
सायद-
आइतेले गाउँ छाड्ने खबर थाहा पाएर
स्तब्ध छन् उनीहरू ।
गाउँ छाड्न यसरी हतारिएको थियो आइते
जसरी शीतस्नान गरेर
मन्दिरमा बलि चढ्न हतारिन्छन् फूलहरू ।
वर्षौंपछि-
आइते हिँडिगएको बाटोमा
बनाइएको छ नयाँ चौतारा
राखिएको छ शीलालेख
र खोपिएको छ-
महान् सहिद आइतबहादुर ।