कथित अडान, स्वार्थ र दम्भ: दिशाहीन राजनीति, मतिहीन नेता
जेठ ३१, २०७८

नेपाली राजनीतिको पछिल्लो दृश्य साँच्चै टिठलाग्दो बन्दै गएको छ । न सत्तारुढ दलसँग जनताले कुनै राम्रो कुराको अपेक्षा गर्न सकेका छन्, न त प्रतिपक्षसँग नै । सत्तारुढ दल आफैँभित्रको किचलो र लफडामा रुमल्लिइरहेको छ भने प्रतिपक्ष भोको भैँसीले टन्न कुँडो खाएर उघ्राइरहेको अवस्थामा छ ।

लोकले कम्युनिस्ट जोडिएका राजनीतिक दलका उम्मेदवारलाई गत आमनिर्वाचनमा करिब दुई तिहाइ बहुमत दिएर स्थिर सरकार र सुशासनको विश्वासमा सत्तामा पठायो । समृद्धि, विकास र शान्तिको अपेक्षा आमजनको थियो । त्यहीबीच ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीचको एकताको सन्देशले त निकै ठूलो आशा र भरोसा थपियो जनमा ।

तर, जनको आशा, अपेक्षा र भरोसामा क्रमशः तुषारो लाग्न सुरु भयो । नेकपा एकता नसकिँदै विभाजनको बाटोमा हिँड्यो । २ जना पाइलटले उडाएको नेकपाको जहाज बीचमै गडबड भयो । २ जना पाइलटको गन्तव्य फरक भयो, जसले गर्दा जहाज नै २ तिर मोडिने अवस्था आयो । अन्ततः जहाजको नियति त डुब्नु नै थियो तर गर्तमा जाकिनुपूर्व नै जहाजका पाइलटलाई सर्वोच्च अदालतले भनिदियो, तिमीहरु पूर्ववत् आआफ्ना स्थानमा रहनू ।

सोहीअनुसार पाइलट पूर्वावस्थामा फर्किनुपर्ने अवस्था आयो र पाइलटसँगै पाइलटका निकट यात्रुहरु पनि आ-आफ्ना पाइलटसँगै फर्किए । यद्यपि, केही निकट यात्रुहरुले पाइलट परिवर्तन गरे ।

यसमा ओली मात्र दोषी भने छैनन् । उनलाई सजिलोसँग काम गर्न अवरोध गर्ने उनकै पार्टीका 'कामरेड'हरु, गलत मार्गमा हिँड्नबाट रोक्न नसक्ने वा नचाहने तथाकथित सल्लाहकारहरु, सबल र सक्षम अनि रचनात्मक भूमिका निभाउन नचाहेको वा नसकेको प्रमुख प्रतिपक्ष कांग्रेस पनि ओलीको यी कार्यव्यवहारका जिम्मेवार हुन् ।

जब जहाज र पाइलट नै यथारुपमा फर्किने अवस्था आयो, सरकारलाई तब संकट आइलाग्यो । सरकारमा साथ दिँदै आएका २ नम्बरका पाइलट (तथापि, भन्नलाई १ नम्बर पाइलट भनिएको थियो)ले १ नम्बरका पाइलट तथा सरकारको नेतृत्वकर्ताको साथ छाड्ने निर्णय गरे । केही २ नम्बर पाइलटलाई दशकौँदेखि साथ दिँदै आएका यात्रुहरुले कित्ता परिवर्तन गरे अर्थात् १ नम्बरका पाइलटकै छत्रछायामा बस्न रुचाए ।

यस क्रममै १ नम्बरका पाइलटकै यात्रुहरुमध्येको एउटा खेमा निकै ठूलै र सशक्त दलबलसहित पाइलटलाई पार्टीभित्र र सरकारमा समेत असहयोग गर्न थाल्यो । उक्त असहयोग कारबाही, गाली बेइज्जती, अफवाह, भनाभनसम्म पुग्यो । अन्ततः त्यसलाई पनि केही दिनअघिको सर्वोच्च अदालतको फैसलाले साइजमा ल्याइदियो । भन्यो, १ नम्बर पाइलटको आफ्नै सहयात्रीलाई जहाजबाट धकेल्ने नियत गलत छ, अवैधानिक छ ।

यसपछि पुनः जहाज निकाला गरिएका वा अपहेलित यात्रुहरुले जहाजभित्रै बस्ने अवसर पाएका छन्, तथापि, उनीहरुलाई १ नम्बर पाइलटका तुच्छ बचन, दुर्छे व्यवहार तथा तिनका निकटका आसेपासेका हेपाइ सहन भने निकै सकस पर्नेछ ।

यसैबीच सरकार नामको जेट पनि उडाइहेका केपी शर्मा ओली नामक पाइलटमाथि एकपछि अर्को प्रहार भइरहेका छन् । ओलीको म नै सर्वज्ञानी, म नै सर्वस्व र म नै शासक हुँ भन्ने दम्भका कारण यसबीचमा अनेक भ्रष्टाचारका काण्ड, हत्या, हिंसा र अराजकताका शृंखलाले फल्ने फुल्ने मौका पाए । ओलीले न आफ्नै पार्टीलाई सहज र स्वाभाविक ढंगले चलाउन सके न त सरकार नै । 

उनले न आफ्ना विगतका सहयात्री र सहयोगीलाई खुसी र सन्तुष्ट पारेर पार्टी नेतृत्व गर्न सके न त सरकारका सहयोगीहरुलाई नै । यसकै परिणति ओली क्रमशः एक्लिँदै गएका छन् । र, ओलीकै सर्वसत्तावादी सोच र व्यवहारका कारण देश र जनता झनै निराशा, बेथिति र अव्यवस्थाको भासमा परिरहेका छन् ।

एकपछि अर्को गलत निर्णय गर्दागर्दै प्रधानमन्त्री ओली आमजनका आशाका केन्द्रबाट टाढिँदै गएका छन् । पार्टी र सरकारमा आफ्नो कुर्सी जोगाउन जुनकुनै अवैधानिक, असंवैधानिक निर्णय गर्न उनी पछि परेनन् । कहिले पार्टी फुटाउने अध्यादेश रातारात ल्याउने त कहिले रातारात प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिलाई बाध्य पार्ने उनको गलत कर्मको परिणाम आज ओली स्वयं र उनले नेतृत्व गरेको नेकपा एमालेसमेत संकटमा परिरहेका छन् ।

वास्तवमा गत आमनिर्वाचनमा नेपाली जनताले जुन विश्वास र भरोसाका साथ मत दिएर ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई सत्तामा पठाएका थिए, त्यो भने पूरा हुन सकेन । 

यसमा ओली मात्र दोषी भने छैनन् । उनलाई सजिलोसँग काम गर्न अवरोध गर्ने उनकै पार्टीका 'कामरेड'हरु, गलत मार्गमा हिँड्नबाट रोक्न नसक्ने वा नचाहने तथाकथित सल्लाहकारहरु, सबल र सक्षम अनि रचनात्मक भूमिका निभाउन नचाहेको वा नसकेको प्रमुख प्रतिपक्ष कांग्रेस पनि ओलीको यी कार्यव्यवहारका जिम्मेवार हुन् ।

लामो समय हिंसा, हत्या, अराजकता, अस्थिरताका कारण अविकास, अव्यवस्था मात्र भोगिरहेका देश र जनताले बल्लतल्ल शान्तिको स्वास फेर्न वातावरण बनिरहेका बेला पछिल्लो समय देशमा बढ्दो राजनीतिक अन्योल र अस्थिरताबाट त्राण दिन सम्पूर्ण सरोकारवाला राजनीतिक दल, तिनका नेतृत्व, नागरकि समाज र सरोकारवाला पक्षहरुले जिम्मेवारीबोधसहित कार्य गर्नुपर्ने बेला भएन र ?

यसका लागि सम्बन्धित पक्षहरुले आफ्ना तथाकथित अडान, स्वार्थ र दम्भलाई त्याग्नुपर्ने शर्त भने रहनेछ । 
 


शर्मा समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।