कैलाशकुमार सिवाकोटी | साहित्य | असार ५, २०७८
हो बा/हो आमा !
मुलुकको मूल शास्त्रमा म हाँसेको छु
सार्वभौमसत्ता सम्पन्न भई बाँचेको छु ।
शास्त्रमा अरूजस्तै म पनि
कसैद्वारा किचिएको छैन
अरूसरह समान र स्वतन्त्र छु,
कसैबाट थिचिएको छैन ।
शास्त्रअनुसार अरूजस्तै
प्रस्तावना र मौलिक हकका धाराहरूमा
मैले पनि गरिखान पाएकै छु
भोको छैन टन्न अघाएकै छु
नाङ्गा आङ्हरू सिला खोजे पनि पाइदैँन
अनपढ र गवाँरहरू चाहरे पनि भेट्याइँदैन ।
हो बा/हो आमा ! तपाइँले नै भनेको
सबैभन्दा माथि शास्त्र हुन्छ,
त्यसलाई मान्नुपर्छ
भूगोल साझा हुन्छ,
सबैले आफ्नै ठान्नुपर्छ
अविभावक सबैको हो,
उसलाई पनि मान्नुपर्छ
अधिकारमात्र होइन,
सँगै कर्तव्य पनि जान्नुपर्छ ।
खोई बा, खोइ आमा !
शास्त्रले भनेजस्तै अनि हजुरजस्तै
म पनि मानिस हुँ र !
मलाई त शङ्कै छ
नत्र किन हजुरको शीरपाउबाट
भ्रष्ट्राचारजस्तो मगमग वासना आउँछ ?
यता मेरो भने
मिहनेतको चिनो भकारो बनेर किन गन्हाउछ ?
हजुर घरभित्र र बाहिर बिना पर्खाल
जहिले पनि छिर्न र निस्कन सक्नुहुन्छ
दुब्लो रुघामर्कीले यसो सुङ्दा पनि
बाहिर गई मेरै हिस्सा लाग्ने मेरै जिल्लासरह
सुको पनि तिर्न सक्नुहुन्छ ।
तर न म हजुरजस्तो
उन्मुक्त रूपमा छिर्न सक्छु/
म थलिँदा न फिर्न नै सक्छु !
जन्म, बर्तबन्ध, विवाह र मृत्युजस्तै
सभासम्मेलनमा सगरमाथा देख्दा
हजुरको मुहारभरि चन्द्रमा आउँछ
उसैसँग सधैँ अङ्कमालमा रमाउने
मलाई भने सदाबहार औँशीले समाउछ ।
पटक–पटक बिसञ्चोले ज्यान थलिँदा पनि
यस भूगोललाई शेर्पा दाइभाइको भारीसँगै
मैले पनि नाङ्गा आँखा र खुट्टाले नापेको छु
लाज र अवगालबाट बच्न
हेलिकप्टरबाट दुरविनले चियाउदा
हजुरको सुरक्षित अवतरणको लागि
यही ज्यान पनि पटकपटक च्याँखेमा थापेको छु ।
अक्षरहरूको बीउ र बाली लगाउने
कतिपय ब्याड र बारीमा
अझ पनि पस्न मलाई मनाही छ
पस्न पाइहाले पनि सँगै बस्न मनाही छ ।
भगवान सबैका साझा रे !
आफैँले उनका लागि बनाएको घरमा
उनलाई मैले छुन पाउदिन
मनभरि गुजुल्टिएका वेदना फुकाएर
उनीसँगै बसेर रुन पाउँदिन ।
मेरी बहिनीको फुल बिक्दैन
तर ऊ बिक्छे ।
हजुरलाई जिताउन दोहोर्याई तेहर्याई हालेका
मेरा सबै मतहरू सदर भए
सीप र श्रमले सिञ्चित
कुवा र धारो पनि सदर भए
तर त्यही कुवा र धारोमा
पानी पिउने मेरा चाहना र रहरहरू
सभ्यहरूको हुलबाट बदर भए ।
हजुर मालिक नै विज्ञ होइसेला
आफैँले जन्माएको भूगोलमा
विशे नगर्ची त अझै पनि बेपत्ता छन् ।
जसोतसो अलेली हात जोडिए पनि
थाहा छैन, यसरी खोई कहिले र कसरी
जोडिएलान् अछुत बनाइएका यी मन ?
खोई म मा शास्त्रमा झैँ मानिस हुने योग्यता
खोई तपाइँजस्तो महामानवताको क्षमता,
समानता अनि स्वतन्त्रता
कतै झुक्किनु भएको त होइन
साँच्ची भन्नुहोस् हजुर
के म पनि मानव हुँ र !
के म धनबहादुर सार्की
भूगोलको नक्सा, मुल शास्त्र र
हजुरकै सरकारी बजेटभित्र पर्छु र !