सरप्राइज बर्थ डे

सरप्राइज बर्थ डे

जानु काम्बाङ लिम्बू  |  साहित्य  |  असार ५, २०७८

'हेप्पी बर्थडे मम्मी' ढोका खोल्दाखोल्दै बोली नुरिन ।

‘थेङ्क क्यु सो मच बेबी ! हाऊ आर यु ?’ मैले साधारण औपचारिकता पूरा गरेँ । वर्षौंसम्म मनाइएन जन्मदिन । आज छोरीले अचानक 'वीस' गर्दा अचम्म लाग्नु स्वाभाविक थियो ।  
‘यहाँ के–के हुँदैछ हँ ?’ भित्र पस्दापस्दै सोधेँ ।

‘त्यतै उभ्नुस् है, यहाँ अँध्यारो छ । बत्ती नबाल्नू होला ।’ अपरिचित महिलाको आवाज मेरो कानमा ठोकियो । कसको आवाज हो ठम्याउन सकिनँ । भित्रबाट अरु पनि थुप्रै मान्छे बोलेको ल्याङकुलुङ आवाज आइरहेको थियो । सोचेँ– आज हाम्रो घरमा निकै मान्छेहरू भेला भएछन् ।

बिजुली बत्ती बाल्न मनाही गरिएपछि मोबाइलको टर्च बालेर कोठामा छिरेँ । कोठामा बत्ती बालेँ । देखेँ– अचम्मको दृश्य । मेरो बेडमाथि एक अँगालो भन्न सुहाउने रङ्गीचङ्गी फूलको बुके राखिएको थियो । बुकेसँगै एउटा कार्ड । अनि सुन्दर कागजको ब्यागमा आकाशे रङको गाउन । आहा ! सरप्राइज उपहारहरू छाम्दै म भावुक बनेँ । त्यतिञ्जेलसम्म पनि कोठामा कोही आएनन् । अरु बेला त म कोठामा प्रवेश गर्नासाथ छोरी दौडिँदै सँगै आउँथी । तर, त्यसदिन त ऊ पनि आइन । मलाई थाहापत्तो थिएन के भइरहेको छ घरमा ?  बस्, यत्ति त थाहा पाइसकेको थिएँ कि– मेरो सरप्राइज बर्थ डे ।
 

कामबाट थकित भएर घर पुगेकी थिएँ । बेडमा डङ्रङ्ग पल्टेर एकछिन् थकाई मार्न मन लागेको थियो । तर, घरमा भइरहेको चहलपहलका कारण त्यस्तो वातावरण नै बनेन । झोला र कारको चाबी टेबलमा राखेर एकछिन ऐनाअघि उभिएँ । अनुहार हेरेँ । कोठाको भित्तामा झुन्ड्याइएको आफ्नै फोटोसँग आफैँलाई दाँजी हेरेँ ।  ए नि लै लै बुढी पो भइएछ । अनुहारमा विस्तारै चाउरी–रेखाहरू प्रस्टै देखिन थालेछन् । त्यो धपधपाउँदो लालीमय गाला । अनगिन्ती रहरहरू । सुन्दर सपनाहरू ? आफैँले रोजेको बाटोको सहयात्री । खोइ ? जीवनभर साथ दिन्छु भनेर उसले गरेका बाचाहरू ? शान्त तलाऊ जस्तो मनमा अनायासै दर्जनौँ प्रश्नहरू उब्जिए । दिनभरको थकानमा फेरि थकान थपियो । आफ्नै शरीर आफैँलाई भारी लागेर आयो । उफ् ! एकाएक विरहभाव पो उत्पन्न भयो मनमा । टाउकोमा हात राखेर घुम्ने मेचमा आराम गर्दैै सोचमग्न भएँ ।  

मेरो जन्मदिन मनाउने आइडिया कसको होला ? तल यतिखेर को को आएका होलान् ? मनमा खुल्दुली जागिरह्यो । झ्वाट्ट गिफ्टसँगै राखिएको कार्ड हेरेँ । जब मैले कार्ड हेरेँ तब म तीन छक्क परेँ । मलाई विश्वास नै लागेन । अङ्ग्रेजीमा लेखिएको थियो-

Darling,
So grateful that God put you on this earth and in my life. Many Many Happy birthday to you my love.
Thank You.
कार्डको अर्कोपट्टि लेखिएको थियो- 

मेरो उपहार त्यो ड्रेस लगाएर लिभिङ रुममा आयौ भने म आभारी हुनेछु ।

मैले कार्डमा लेखिएका अक्षरहरू पढिसकेर ढोकातिर हेरेँ । ढोकामा नुरिन उभिरहेकी थिई, प्रशन्न मुद्रामा । उसलाई खुसी देखेर अनायासै मेरा आँखा । उसका आँखामा नाचिरहेका खुसीका तरङ्गहरूले मलाई पनि स्पर्श गरे । 

‘मम्मी !’ अँगालो हाल्दै नुरिनले भनी, 'मैले पापा देखेँ आज । आईएम भेरी हेप्पी मम्मी ।'

मेरो मुखबाट अनायास आवाज निस्कियो– 'कहाँ ?'
'तल, हजुरलाई पर्खेर बस्नुभएको छ । हजुर छिट्टो तयार भएर आउनू रे !' ऊ यति भनेर फटाफट मेरो कोठाबाट निस्की । मैले ऊ गएको हेरिरहेँ । म सम्हालिएँ । अतीतका नागबेली सम्झनाहरूबाट वर्तमानमा फर्किएँ । ‘हजुर छिट्टो तयार भएर आउनू रे !’ नुरिनको आवाज कानमा गुञ्जिरह्यो । गाउनलाई मिल्ने रङको समिज खोज्न थालेँ दराजमा । विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण बाहिर कतै पनि जानु नपरेको हुँदा लुगाहरू दराजमा थन्किएको पनि महिनौँ भइसकेछ । एउटा समिज खोज्न पनि झन्डै बिस मिनेट लाग्यो ।

दिनभरको कामले थकित थिएँ । अनुहारमा मेकअप गर्ने जाँगर नै चलेन । त्यत्तिकै हतार–हतार ड्रेस लगाएर तल झरेँ । भर्‍याङबाट ओर्लंदै गर्दा खालिफ आयो र मलाई जुरुक्क बोकेर लिभिङ रुममा पुर्‍यायो । नवदुलहीजस्तो लाजले मेरा गाला राता–राता भए । मुटुको ढुकढुकी बढेर आयो । रुमको छेउकुना हेरेँ । मान्छे त थुप्रै जस्तो लागेको थियो तर कोही देखिनँ । थाहा पाएँ, मलाई झुक्याउँन खालिफले महिलाहरूको आवाज निकालेको रहेछ । थुप्रै महिलाहरूको कल्याङ मल्याङ त उसको मोबाइलमा पो रहेछ । उसले मलाई सोफामा थपक्क राख्नु पनि कोठामा झलमल बत्ती बल्यो । टेबुलमा रङ्गीवरङ्गी मैनबत्ती बलिरहेका थिए । मैनबत्तीका बिचमा सुन्दर र आकर्षक डिजाइनमा केक सजाइएको थियो । कोठाको भित्तामा लेखिएको थियो-Happy Birthday Dear Sonia.

मैले खालिफको अनुहारमा हेरेँ । ऊ अलि दुब्लाएछ । अनुहारमा झ्याप्प दाह्री–जुँगा थिए । झ्वाट्ट हेर्दा कुनै गुफामा वर्षौं बसेको जोगीजस्तो देखिन्थ्यो । खालिफ र छोरीले मलाई केक काट्न कर गरे । केक काटेँ । ‘हेप्पी बर्थ डे टु यु’ बाउ–छोरीले ताली बजाए । दुवैलाई पालैपालो केक खुवाएँ । उनीहरूले मेरो गालाभरि केक दलिदिए । हाँस्दै–रमाउँदै फोटो खिच्यौँ । धेरै वर्षपछि मेरो जीवनमा उमङ्ग छायो । खुसीयाली आयो । त्यो रात मेरो जिन्दगीकै एक अविस्मरणीय रात बन्यो । मैले फेरि एकपल्ट खालिफलाई पाएँ ।

वर्षौंपछि अचानक खालिफ कसरी मेरो जीवनमा फर्केर आयो ? त्यसदिन सोध्ने मन हुँदाहुँदै पनि सोध्न सकिनँ । गम्भीर हुँदै सोनियाले भनी । 

अनि त्यो रात खालिफ तिमीसँगै बसेन त ? मैले बिचैमा सोधेँ ।

सोनियाको बर्थ डेमा सपनाजस्तो आएको  खालिफ फेरि कहाँ गयो होला ? उसले कसरी सोनिया र छोरी नुरिनलाई त्यसरी एक्लै छोड्न सकेको होला ? के सोनियाको प्रेमी खालिफ साँच्चै आतङ्कवादी नै भएको हो त ? यदि आतङ्कवादी नभएको भए उसले कसरी आफ्नो हुलिया त्यस्तो डरलाग्दो बनाएको होला ? फेरि बर्थ डेमा खिचिएका आफू भएका फोटाहरूले उसले किन त्यसरी सोनियाको मेबाइलबाट डिलिट गरेर हिँडेको होला ?


अर्को कोठामा सुतेकी छोरी म ब्युँझिँदा मेरै छेउमा सुतिरहेकी थिई । कतै सपना न होइन ? मोबाइल तानेर हेरेँ । मोबाइलमा राति खिचिएका कुनै पनि फोटोमा खालिफ थिएन । तर, केक, क्यान्डल, ड्रेस अनि छोरीले केक खुवाउँदै गरेका जम्मै तस्बिर थिए । मात्र खालिफ भएका फोटाहरू थिएनन् । शायद उसैले डिलिट गरिदिएर गयो कि ! मनमा चिसो पस्यो । के के आशङ्का उठ्यो । छोरीलाई छामेँ । छोरी मस्त निदाइरहेकी थिई । उसको मुटुको ढुकढुकी र श्वास–प्रश्वास चलिरहेको थियो । लामो श्वास फेरेँ । खालिफले धन्न नुरिनलाई मसँगै छाडेछ । बस्यो तर वातावरण नै यति रमाइलो थियो कि मलाई अतीत कोट्याउन मन लागेन । रातभर मलाई अँगालो हालेर सुतेको खालिफ बिहान उठ्दा मसँग थिएन । ऊ जसरी आएको थियो उसैगरी अलप भइसकेको थियो । गए रातिका सम्पूर्ण घटनाहरू मेरा लागि फेरि सपनाजस्तै भइसकेका थिए । 

तिमीहरू छुटिनुको मुख्य कारण के थियो र ? आखिर एकअर्कामा प्रगाढ माया भएकै रहेछ ? मैले ऊ बोल्दाबोल्दै बिचमै सोधेँ । सोनिया म एउटै अफिसमा सँगै काम गर्ने स्टाफ हो । ऊ र म सँगै काम गर्न थालेको दुई वर्ष पुग्यो । ऊ पहिले आफ्नो प्रेमी खालिफसँग ग्लोस्टरमा बस्थी । हामी नाइट ड्युटीमा थियौँ । विमारीहरू निदाएका थिए । मध्यरात भइसकेको थियो । विरामीहरू निदाएपछि हाम्रै खासै काम हुँदैनथ्यो । जीवनका दुःखसुखका कुरा गर्नेक्रममा उसले मलाई आफ्नो जीवनको कथा सुनाइरहेकी थिई ।

हामी छुट्नुको मुख्य कारण त मलाई थाहा छैन । तर, मलाई थाहा भएको एउटा कारण चाहिँ म क्याथोलिक अनि ऊ मुस्लिम हुनु हो । म क्याथोलिक भएकै कारण उसको परिवारले मलाई स्वीकार गरेको थिएन । खालिफसँग मलाई छुटाउनका लागि हात धोएर मेरो पछि लागेका थिए उसका आफन्तहरू । खालिफ बेपत्ता भएको केही महिनापछि अचानक एकदिन एउटा पत्र खसेको थियो मेरो कोठामा । त्यसबेला म सुत्केरी बिदामा बसेकी थिएँ । अपरिचित व्यक्तिले ढोकाभित्र फ्यात्त खसालेको उक्त चिट्ठीलाई टिप्ने जाँगर मसँग थिएन । 

उसले सुनाई– त्यो चिट्ठीले कुनै अशुभ खबर ल्याएको हुनुपर्छ भन्ने डर मनमा लागिरह्यो । चिट्ठी भित्र खसालेर भाग्दै गरेको एक जना अपरिचित मान्छेलाई मैले भित्रैबाट देखेकी थिएँ । खालिफ हराउनु र मेरो जीवनमा त्यस्ता खाले घटनाहरू घट्नु सँगसँगै सुरु भएका थिए । भुइँमा लडिरहेको त्यो चिट्ठीलाई हेरेर म निकैबेर घोरिइरहेँ । मनमा अनेक कुराहरू खेलिरहे । बाहिर निकै साँझ परिसकेको थियो । डाक्टरले दिएको बच्चा जन्मिने 'डेट' दस दिन बाँकी थियो ।

खालिफले छाडेर जाँदा म तीन महिनाकी गर्भवती थिएँ । मेरो पेटमा आफ्नो नासो हुर्किंदै गरेको थाहा पाएर खालिफ एकदम खुसी थियो । तर, केही दिनमै फर्केर आउँछु भनेर हिँडेको खालिफ छोरी जन्मिएर ठुली भइसक्दा पनि फर्केर आएको थिएन । उसले मलाई छुट्टै फ्ल्याटमा राखेको थियो । नन्द, देवरसँग र सासु–ससुरा मूलघरमै बस्थे । खालिफले कहिल्यै लगेन मलाई उसको घरमा । ऊ एकदम राम्रो मान्छे थियो । हामी स्कुल लेभलदेखिका साथी थियौँ । कलेज पनि सँगै पढ्यौँ ।  युनिभर्सिटी पनि एउटै क्याम्पसमा जोइन गरेका थियौँ । 

खालिफले डाक्टरी पढ्यो । मैले नर्स पढेँ । सुरुवाती दिनहरूमा हामी मिल्ने साथी मात्र थियौँ । तर, पछि युनिभर्सिटी पुगेपछि खोइ कुन्नि ! कुन बेला हाम्रो मायाप्रीति बस्यो । एकदिन अचानक उसले ‘बेबी आई लभ यु सो मच’ भन्ने मेसेज सेन्ड गर्‍यो ।  मैले जवाफमा छक्क परेको कटुन पठाउँदा ऊ डराएको थियो रे ! 

हामी एकअर्कालाई मन नपरेको त होइन । तर, ऊ मुस्लिम, म क्रिस्चियन । यही कारण हामी एकअर्कामा नजिक हुन चाहदैन्थ्यौँ । तर, प्रेम भन्ने कुरो नचाहँदैमा कहाँ हुँदो रहेछ र ? त्यसपछिका दिनहरू न हाम्रो धर्म संस्कारले छेक्यो, न परिवारको डरले । हाम्रो प्रेमिल यात्रा अगाडि बढिरह्यो  ।

म पढाई सकेर काम गर्न थालिसकेकी थिएँ । खालिफको भने एक वर्ष अझै बाँकी थियो कोर्ष सकिन । हामी लिभिङ टुगेदरमा बसन थालेको कुरा उसको परिवारलाई थाहा थिएन । मुस्लिमहरूको कट्टरपन्थी व्यवहार जानेर खालिफलाई घर जानबाट रोक्दिन थेँ म । ऊ मसँगभन्दा धेरै जसो घरै बस्थ्यो । यसरी नै हाम्रो जीवनयात्रा अगाढि बढिरहेको थियो । हामीले धेरै कुराहरू भोगाइबाट सिक्दै अघि बढिरह्यौँ। खालिफले डाक्टर पढिसकेर बिहे गर्ने बेला मात्र परिवारलाई थाहा दिने सोँच राखेको थियो । हामीले हाम्रो सम्बन्धलाई ओढारमा झुण्डिएको चमेराझैँ मुस्लिम समाजदेखि लुकाएरै राखिरह्यौँ । उज्यालोमा साथीझैँ र अध्याँरोमा चाहिँ पति–पत्नी । 

एकदिन खालिफको घरबाट दिउँसैदेखि आमाको फोन आइरहेको थियो । उसले फोन उठाएर ‘आमा के भो ? किन कल गर्नु भएको यतिबेला ?’ भनेर सोध्यो । उताबाट आमाले भनिन्, ‘ छोरा ! आज साँझ तँ चाँडै घर आइज । यहाँ केही काम छ ।’ उसको घरमा लण्डनबाट पाहुनाहरू आएका रहेछन् । खालिफ अञ्जान थियो घरमा के खिचडी पाक्दैछ भन्ने कुरामा । किचनतिर आमा र आमाका साथीहरू खाने कुराहरू पकाइरहेका थिए रे ! उसले बहिनीलाई सोधेछ– घरमा के कार्जे हुँदैछ भनेर । बहिनीले भनी रे–थाहा छैन ।

केहीबेरपछि खालिफलई लिभिङ रुममा बोलाइएछ । उसलाई त्यबेलासम्म पनि केही थाहा थिएन रे घरमा के हुँदैछ भनेर । लन्डन निवासी आफन्तहरूको उपस्थिति रहेको उक्त भेलामा खालिफ पनि उभिएछ । केहीछिनमै कुरो निस्कियो खालिफ र सुहानाको बिहेको । सुहाना खालिफकी फुपूकी जेठाजुकी छोरी । ऊसँग एकाध भेट भएबाहेक खासै चिनजान थिएन रे खालिफको । ऊ छक्क परेछ । उसले आमाको कुरालाई काट्दै भनेछ– ‘मेरो कोर्ष सकिन अझै एक वर्ष बाँकी छ । किन बिहेको हतार अहिले ?’

‘बिहेले के गर्छ र तेरो पढाईलाई ? झन् सहयोग हुन्छ । सुहाना एकदम राम्री छिन् । तँलाई पढाईमा दखल होइन अझै सहयोग गर्छिन् ।’ आमाले रिसाउँदै भनिन् रे ! छोराको बिहेको हतार पनि बाउलाई भन्दा आमालाई नै धेरै थियो रे !

सबै पाहुनाहरूका सामु खालिफ परिबन्धमा परेछ । अन्त्यमा बिहेका लागि ऊ राजी हुनै परेछ । त्यस दिन ऊ त्यहीँ बस्यो । ऊ लन्डनबाट आएका सबै भोलिपल्ट फिरेछन् । भोलिपल्ट शनिबार थियो । दिनभर तनावले केही सोच्नै सकिरहेको थिएन रे ऊ ! आइतबार पनि ऊ घरमै सुतिबसेछ । मलाई पनि फोन मेसेज केही गर्न मन लागेन । छट्पटीले मलाई पनि अत्यन्त तनाब दिइरहेको थियो । अघिल्लो दिन उसले ‘घरमा काम पर्‍यो । म घर गएँ है ।’ भनी गरेको मेसेज नै अन्तिम मेसेज थियो । 

थाहा छैन घरमा के के भयो ? मेरो बारे पनि कुरा पक्कै उठ्यो होला । तर, मलाई त्यसबारे खालिफले केही पनि सुनाएन । उसले घर पनि छाड्यो । हामीलाई पनि छाड्यो । छोरी जन्मिई । नुरिन । ऊ हेर्न पनि आएको थिएन । ऊ कहाँ होला ? के गर्दै होला ? कुनै खुटखबर आएन । सपनाजस्तो ऊ मेरो जीवनबाट हरायो । वसन्तबहार छाइरहेको मेरो जीवनमा अन्धकार सुरु भयो । 

सोनियाले आँखाबाट अनायासै अविरल बगिरहेका आँसु पुछी । मैले उसलाई अँगालो हालेर कुममा थप्थपाएँ । सम्झाएँ– जीवन भनेको यस्तै हो । जिउन सिक्नुपर्छ । असल छोरी छे । तिमी आफ्नै खुट्टामा उभिएकी छौँ । यति राम्रो जागिर छ । किन दुःखी हुन्छ्यौ ? मन दह्रो बनाऊ । जिन्दगी अझै लामो छ । अनि उसले घर छाडेको खबर चाहिँ कसरी थाहा पायौ त ? मैले सोधेँ ।

थेम्स नदीझैँ गाला भएर बगिरहेका आँसु दायाँ हातले पुच्दै ऊ बोली–उसले घर छाडेर हिँड्ने बेला मलाई इमेल लेखेको थियो । त्यै इमेल नै पछि मलाई निर्दोष सावित गर्ने प्रुफ बन्यो । 

कसरी ? मैले सोधेँ । 

उसले भनी– मेरो कोठाभित्र त्यो अपरिचित व्यक्तिले फालेको चिट्ठी उसको परिवारले पठाएको रहेछ । चिट्ठीमा उसको परिवारले मलाई 'हेरेस्मेन्ट' गरेर लेखेका थुप्रै कुराहरू थिए । मलाई धम्कीपूर्ण तरिकाले आरोप लगाइएको थियो । खालिफलाई मैले नै गायब गरेको आरोप लगाइएको थियो । केस गर्ने, कोर्टसम्म पुर्‍याउने धम्की दिइएको थियो । म सुत्केरी बिदामा बसेकी एउटी नारीले के नै पो गर्न सक्थेँ र ! चुपचाप सहेर बसेँ । पुलिस आए सबै कुरा सोधपुछ गर्‍यो । मैले खालिफको इमेल देखाइदिएँ । पुलिस गयो । त्यो घटनापछि म छोरी लिएर ग्लोस्टरबाट अक्सफोर्ड सरेँ । 

उज्यालो हुन लागिसकेछ । बल्ल आँखामा निद्रा महसुस हुन थाल्यो । सोनिया भावुक बनी । उसको गला अवरुद्ध बन्यो । ऊ आफ्नो जीवन कहानी सुनाइसकेर लामो श्वास तानी र निकैबेर मौन रही । 

‘दुःखी नहोऊ सोनिया ! यदि खालिफले तिमीलाई साँचो प्रेम गरेको छ भने एकदिन जसरी पनि ऊ फर्केर आउनेछ । साँचो प्रेममा शक्ति हुन्छ भन्छन् । तिमी प्रेमलाई विश्वास गर सोनिया ।’ मैले अँगालो मारेँ । ढाडस दिएँ ।  ‘थ्याङ्क यु’ यति भनेर ऊ आँसु पुछ्दै ड्युटीतिर लागी ।

सोनियाको बर्थ डेमा सपनाजस्तो आएको  खालिफ फेरि कहाँ गयो होला ? उसले कसरी सोनिया र छोरी नुरिनलाई त्यसरी एक्लै छोड्न सकेको होला ? के सोनियाको प्रेमी खालिफ साँच्चै आतङ्कवादी नै भएको हो त ? यदि आतङ्कवादी नभएको भए उसले कसरी आफ्नो हुलिया त्यस्तो डरलाग्दो बनाएको होला ? फेरि बर्थ डेमा खिचिएका आफू भएका फोटाहरूले उसले किन त्यसरी सोनियाको मेबाइलबाट डिलिट गरेर हिँडेको होला ? मनमा अनेक प्रश्नहरू उब्जिरह्यो । केही वर्ष पहिले बर्मिंग हामको आत्मघाती बमकाण्ड र लण्डन ब्रिजको छुरी काण्ड लगायतका अनेक घटनाहरूको सम्झनाले मन गरुङ्गो भइरह्यो ।