सुध्रिँदैनन् नेता : नेतृत्व परिवर्तन मात्र कि वर्तमान प्रणालीको विकल्प
असार ९, २०७८

राज्य संचालनको मूल नीति मानिन्छ राजनीति । त्यही भएर राजनीतिलाई बडो चासोका साथ लिइन्छ, हेरिन्छ । कुनै पनि राज्यको शासन प्रणालीलाई कसरी व्यवस्थित गरिएको छ भन्ने आधारमा त्यस राज्यको राजनीतिक व्यवस्थाको आँकलन गरिन्छ । यसर्थ पनि राजनीति हरेकको चासोको विषय बन्छ ।

राजनीतिमै जोडिएका हुन्छन् सामाजिक, आर्थिक, सांस्कृतिक जीवनका हरेक पक्ष । राजनीतिक व्यवस्थाले नै निर्धारण गरेको हुन्छ राज्यको समग्र जीवन प्रणालीको खाका । 

संसारमा आजसम्म अनेक नामका राजनीतिक व्यवस्था वा प्रणाली चलनमा आएका छन् । तथापि, मूलतः सारमा २ प्रकारका बढी प्रचलनमा देखिन्छन् । कि त निरंकुश वा तानाशाही प्रणालीबाट मुलुक चलेका छन् वा उदारवादी, जसलाई लोकतान्त्रिक, गणतान्त्रिक वा अन्य यस्तै केही नाम दिइएको छ ।

तानाशाही वा निरंकुश प्रणालीबाट चलेका मुलुकमा कि त राजा वा सम्राटहरु शासक छन् वा सैनिक वा कुनै शक्तिशाली व्यक्ति । तर, उदारवादी शासन प्रणालीमा कुनै राजनीतिक दल वा समूहले निश्चित संवैधानिक, वैधानिक प्रक्रियाबाट जनमतबाट चुनिएर आएर शासन गर्छ । 

पहिलो प्रकारको व्यवस्थामा शासक नै सर्वेसर्वा हुन्छ अर्थात् शासकले आफ्नो तजबिजीमा वा स्वविवेकमा आफूअनुकूलका कानुन र प्रावधान बनाएर जनमाथि शासन गर्छ । उसको खिलाफमा जान कसैलाई अनुमति हुँदैन । यसर्थ निरंकुश वा तानाशाही प्रणालीप्रति मानिसहरु वितृष्णा जनाउँछन् । आफ्ना अधिकारमाथि बन्देज लगाइएका कारण स्वतन्त्रता भन्ने कुरा शासकका विवेकमा भरपर्ने हुँदा त्यस्तो प्रणालीप्रति विद्रोह गर्छन् ।

अन्ततः यस्तो विद्रोह लोकतन्त्र नामको व्यवस्थाका लागि हुने गर्छ, जुन व्यवस्थामा जनताका अधिकारलाई संवैधानिक हिसाबले नै मौलिक हकका रुपमा व्यवस्थित गरिएको हुन्छ ।आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक, व्यापारिक आदि विभिन्न क्षेत्रमा नागरिकलाई यथेष्ट अधिकार सुनिश्चित गरिएको हुन्छ । व्यक्तित्व विकासका अनेकौँ संभावनाहरुलाई सुनिश्चित गरिएको हुन्छ ।

हो,  हामीकहाँ अर्थात् नेपालमा पनि इतिहासदेखि आजसम्म हेर्ने हो भने यी दुवै खालका शासन प्रणाली चलनमा आएका छन् । विगतमा अर्थात् जब आधुनिक समाजको आधार निर्माण हुन थाल्यो, कृषि युगसँगै सामन्तवादी युगतिर जब समाज लम्किन थाल्यो, तबदेखि नै नेपाली समाजमा पनि सम्पन्न र विपन्नको अवस्था सिर्जना भयो । यसै क्रममा समाज निर्माणको औपचारिक रुप विकसित हुँदै जाँदा समाजको मुखिया वा नाइके बन्न, बनाउन थालियो ।

 

हाम्रा वर्तमानका राजनीतिक नेतृत्व र शासकहरु सुध्रिँदैनन् । उनीहरुलाई आफू खराब छु, गलत छु भन्ने महसुस नै छैन, जसका कारण सुध्रिनुपर्छ भन्ने पनि लागेको छैन । मुख्य कुरा उनीहरुलाई आफू खराब र गलत भएको महसुस गराउन सक्ने अवस्थै भएन । जो उनीहरुका निकट छन्, ती उनीहरुका खराब कर्ममा सहयोगी बनेर आफ्ना हित पूरा गर्नतिर लागेका छन् । 

शिक्षाको विकाससँगै जनचेतनामा परिवर्तन आयो । आफू निरीह र अधिकारविहीन भइरहेको, आफ्ना अधिकारमाथि शासकले अन्याय गरिरहेको जब जनले थाहा पाए, तब सुरु भयो स्वतन्त्रताको आन्दोलन । त्यही स्वतन्त्रता आन्दोलनको फलस्वरुप भए ठूलाठूला क्रान्ति ! यही मुखिया वा नाइकेको चरित्र र स्वरुप क्रमशः सम्राट वा राजामा परिणत हुँदै गयो । राजा वा सम्राट शक्तिशाली र आमजन निरीह बन्ने परम्परा चल्न थाल्यो । बिस्तारै शक्तिको पूजा, निरीहमाथि दमन सुरु भयो । यही क्रममा निरंकुशता र तानाशाही जन्मियो ।

अनि जनले भोगे स्वतन्त्र र अधिकारसम्पन्न जीवन । तथापि, त्यो अनेक कारणले सफल बन्न सकेको छैन । निरंकुश शासकपछिका लोकतान्त्रिक भनिएका शासकहरुका अहं, सत्तामा पुगेपछि उनीहरुले गरिरहेका निरंकुश र तानाशाही प्रकृतिका हर्कत आदिका कारण जनले ज्यान बाजी थापेर गरेका परिवर्तन, निरंकुश र तानाशाहीबाट खोसेको सत्ताबाट पनि सुखभोग र शान्तिको अनुभूति गर्न पाएका छैनन् ।

निरंकुश राजाहरुले शासन गरेको समय, १९०३ असोज २ गतेपछिको जंगबहादुर राणाले शासन सत्ता हातमा लिएपछिको १०४ वर्षको जहानियाँ शासनको समयको सन्दर्भ इतिहासले बोलेकै छ । राणाकालपछिको समय अर्थात् २००७ सालपछिको समयलाई हेर्दा पनि थाहा लाग्छ कि प्रणाली वा व्यवस्था प्राथमिक वा महत्त्वपूर्ण कुरा होइन रहेछ, प्रमुख कुरा त नेतृत्व रहेछ । मुलुकको, समाजको नेतृत्व गर्ने व्यक्ति कस्तो छ ? उसको चरित्र, व्यवहार, सोच र इमान अनि विवेकको स्तर के छ भन्ने कुराले प्रणाली वा व्यवस्थाको अवस्था निर्धारण गर्ने रहेछ ।

१०४ वर्षे जहानियाँ राणा शासनको अन्त्यका लागि नेपाली जनताले बलिदानी गरेका होइनन् र ? जेलनेल र देश निकाला भोगेका होइनन् र ? अनि त्यसरी ल्याएको प्रजातन्त्र १० वर्ष नपुग्दै मासियो, किन ?

यदि जिम्मेवार थिए ऊबेलाका प्रजातान्त्रिक भनिएका शासक, विवेक थियो तिनमा, सही ढंगले देश र जनताका लागि काम गरेका थिए भने तत्कालीन महत्त्वाकांक्षी राजा महेन्द्रले शिर उठाउने अवसर पाउँथे होला र ?

तर्क जे पनि गर्न सकिएला तर वास्तविकता त फरक नै हुन्छ । ऊबेलाको सत्ताधारी, दुई तिहाइ मत प्राप्त नेपाली कांग्रेसभित्रको खिचातानी, जुँगाको लडाइँ, पद र कुर्सीको लुछाचुँडीकै कारण देश र जनताका काममा कांग्रेसले ध्यान दिन सकेन, जसका कारण जनअपेक्षा मात्र पूरा भएन, राजा महेन्द्रले त्यसैबीच खेल्ने सुवर्ण अवसर पाए । अन्ततः १०४ वर्षको निरंकुश राणा शासनको मार खेपेका नेपाली जनताले पुनः ‘महेन्द्रमार’मा परे । 

यो झन्डै ३ दशक कायम रह्यो । यसबीच पटक पटक नेपाली जनताले पुनः लोकतन्त्र प्राप्तिका लागि संघर्ष गर्नुपरेको थियो । र, २०४६ सालमा पुनः प्रजातन्त्र फिर्ता त भयो तर त्यसपछिको शासन संचालनको तौरतरिका, शासकको प्रवृत्ति र व्यवहार आदिका कारण एक दशकबीचमै मुलुक राजनीतिक अस्थिरता र अराजकताको दलदलमा फस्यो । यसै मेसोमा सुरु भएको माओवादी आन्दोलन, दरबार हत्याकाण्ड, राजा ज्ञानेन्द्रको स्वेच्छाचारी अहंले मुलुक जर्जर बन्दै गयो ।

यी सबको कारण व्यवस्था वा प्रणालीको गलत प्रयोग अनि शासक वा राजनीतिक नेतृत्वको खराब मनोवृत्ति नै हो भन्न हिच्किचाउनुपर्छ जस्तो लाग्दैन ।

यदि शासक वा राजनीतिक नेतृत्व गतिला, इमान्दार, जिम्मेवार र विवेकी थिए भने न २०१७ साल आउँथ्यो, न त २०४६ सालपछिको जर्जर अवस्था नै सिर्जना हुन्थ्यो । यसर्थ कुनै पनि समाजको, राज्यको समग्र अवस्थाको सुधार, विकास, समृद्धिको मूल आधार त्यस समाज वा राज्यको राजनीतिक व्यवस्था र समाज वा राज्यको नेतृत्व गरिरहेका नेताको मनोवृत्ति, विवेकशीलता, इमान र नैतिकता नै हो ।

यी माथिका सबै पृष्ठभूमि बाँध्नुको तात्पर्य यही हो कि हामी बाँचेको समाज, हामीले भोगेको परिवेश, हाम्रो राजनीतिक प्रणाली र हाम्रा शासक वा राजनीतिक नेतृत्वकै कारण आज हामी र हाम्रो देश, समाज यस्तो हविगतमा पुगेको हो ।

हाम्रो देश प्राकृतिक, सांस्कृतिक, जैविक हरेक हिसाबले सम्पन्न हुँदाहुँदै पनि किन यति कमजोर छ ? किन निरीह छौँ हामी ? किन हामी समृद्ध हुन सकेनौँ ? किन हाम्रो आर्थिक स्तर उठ्न सकेन ? किन अविकासको जर्जर अवस्थामा छौँ ? 

यी सबैको कारण फेरि पनि हाम्रो नेतृत्व, हाम्रा शासक, हाम्रा राजनीतिक दलहरुमा जिम्मेवारी बोध नहुनु, विवेकशीलता नहुनु, दूरदृष्टि नहुनु नै त हो ।

उसो भए के यी नेतृत्व वा शासक सुध्रिने कल्पना गर्न संभव छ ?

वर्तमानकै अवस्थामा हाम्रा शासकमा, हाम्रा राजनीतिक नेतृत्वमा चामत्कारिक सुधार आउने संभावना शून्यप्रायः छ । 

यसको कारण छ, हाम्रा वर्तमानका शासक र नेतृत्व त्यही पुरानो सामाजिक, राजनीतिक पद्धतिबाट निर्देशित, प्रशिक्षित र प्रवाहित छन् । उनीहरु सत्तामा पुगेपछि आफूलाई जंगबहादुरको प्रतिलिपि ठान्छन् । महेन्द्रका अनुयायी सम्झिन्छन् । हुँदाहुँदा लुई चौधौँ बन्ने सुर चल्छ उनीहरुलाई । उनीहरु आफू जनताका सेवक होइन, जनतामाथि शासन गर्ने ठान्छन् आफूलाई ।

यही कारण सत्तामा पुगेकाहरु रातारात अवैधानिक, असंवैधानिक कार्य गर्न अघि सर्छन् । देश र जनताका समस्याप्रति आँखा चिम्लिएर आफ्ना स्वार्थ सिद्ध गर्न उद्यत बन्छन् । राज्य दोहनलाई अवसरका रुपमा लिन्छन् । उता, आफ्नो समग्र हैसियत भने गुमाउँदै जान्छन्, अलोकप्रियता बढाउँदै र जनप्रियता गुमाउँदै जान्छन् । स्वाभिमानलाई तिलान्जलि दिएर अभिमानलाई बढावा दिनु उनीहरुको नियमित कर्म भएको छ ।

यिनै कारणले गर्दा हाम्रा वर्तमानका राजनीतिक नेतृत्व र शासकहरु सुध्रिँदैनन् । उनीहरुलाई आफू खराब छु, गलत छु भन्ने महसुस नै छैन, जसका कारण सुध्रिनुपर्छ भन्ने पनि लागेको छैन । मुख्य कुरा उनीहरुलाई आफू खराब र गलत भएको महसुस गराउन सक्ने अवस्थै भएन । जो उनीहरुका निकट छन्, ती उनीहरुका खराब कर्ममा सहयोगी बनेर आफ्ना हित पूरा गर्नतिर लागेका छन् । गलत गरेका छौ, खराब काम गरेका छौँ, यसो नगर भनेर सल्लाह सुझाव दिनुको साटो उल्टै ठीक गरेका हौ, सही काम गरेका छौ भनेर झनै खराब कामका लागि उत्साहित बनाइरहेका छन् ।

र, हाम्रो समग्र राजनीतिक, सामाजिक प्रणाली पनि उस्तै भइदियो कि जो शक्तिमा छ, जोसँग सम्पत्ति छ, जोसँग डनहरु छन्, त्यो सधैँजसो आसेपासेको केन्द्रमा रहने भयो, उही सत्ताको हालीमुहाली गर्नेमा रह्यो । 

यस कारण अब वर्तमानको नेतृत्वबाट कुनै नयाँ कुराको अपेक्षा गर्नु हाम्रो कमजोरी हुनेछ बरु नयाँ सोच, नयाँ विचार र नयाँ संकल्पसहितको नयाँ पुस्ताको नेतृत्व राजनीतिक रुपमा र सत्तामा पनि अपरिहार्य भएको छ । यसका साथै राजनीतिक प्रणालीका बारे पनि पुनर्विचार आवश्यक छ । कतै हामीकहाँ प्रचलनमा रहेको बहुदलीय राजनीतिक प्रणाली नै पो हाम्रो विकास र समृद्धि अनि शान्ति र स्थिरताको बाधक त बनिरहेको छैन ? के यसको विकल्पमा लोकतान्त्रिक नामकै कुनै अर्को प्रणाली स्थापित गर्न संभव छैन ? धेरै बिरालाले मुसा मार्न सकिँदैन भनेजस्तो धेरै राजनीतिक दलका कारण हुने अस्थिरता वा बहुमत नपुग्ने अवस्थाले निम्त्याइरहने गन्जागोलप्रति पनि पुनर्विचार जरुरी भएन र ?
 


शर्मा समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।