मानिसको जीवन दर्शन: भौतिकवाद, अध्यात्मवाद कि ब्यक्तिवाद
असार ११, २०७८

मानिस जानेर वा नजानेर एउटा न एउटा विचार, सिद्धान्त र दर्शनबाट चलिरहेको हुन्छ। अनपढदेखि शिक्षितसम्म र सामान्यदेखि विशिष्टसम्मको मानिस कुनै न कुनै दर्शनको राप र तापमा गुज्री रहेको हुन्छ। यो कुरा उसले चाहे बुझेको होस् वा नबुझेको होस्, सत्य यही हो।

मानिसलाई चेतनशील, विवेकशील र बुद्धिमान् प्राणीको तक्मा वैज्ञानिकहरूले दिएका छन्। तसर्थ गर्वले भन्छौँ-'हामी अरू जीवभन्दा धेरै फरक र विशिष्ट छौँ '। यस धरतीमा मानिसले जङ्गली जीवन सुरु गरेदेखि नै 'विशिष्ट प्राणी' को दर्जा हामीलाई सित्तैमा प्राप्त भएको छ। यो दर्जा हामीले पाउनुमा दर्शनको महत्त्वपूर्ण हात रहेको छ। तथापि हाम्रो व्यवहारिक जीवन भने विशिष्ट प्रकारको हुन वा नहुन पनि सक्छ ।

प्राचीन कालदेखि आधुनिक कालसम्मका हामी जस्तै केही खास मानिसहरूले चिन्तन मनन गरी अनेक प्रकारका दर्शनहरूको प्रतिपादन गरेका थिए। तिनै दर्शनहरूबाट बुझ्दै सिक्दै मानिस जङ्गलदेखि चन्द्रमा हुँदै मङ्गल ग्रहसम्म पुगी सकेको छ। अब चाँडै शुक्र ग्रह जाने योजना पनि बनाइरहेको छ। तर कतिपय कारणहरूले गर्दा केही मानिसहरू अझै जङ्गलमै जीवन बिताइ रहेका छन् ।

चन्द्रमा, मङ्गल र शुक्र ग्रहमा अनेक नवीन कामहरू भई रहेकै बेला मन्दिर, चर्च र मस्जिदमा पूजा, पाठ, ध्यान, प्रार्थना र नमाज पनि चली रहेकै छन्। अर्थात् मानिस भौतिकता र आध्यात्मिकताको आपसी विरोधाभास र सामानजस्यताको लट्ठी टेकेर हिँडी रहेकै छ। दर्शनका अनेक रूपहरू मानिससँग धेरै पहिलेदेखि प्रत्यक्ष रूपमा जोडिएका छन्। कुनै खास सम्प्रदाय, शाखा, प्रशाखा र अर्थहीन विभाजनहरू बाहेक मूलतः दर्शनशास्त्र भौतिकवाद र अध्यात्मवादका नामले स्थापित छन्। सदियौँदेखि मानिसहरू बिचमा ठुलो वैचारिक लडाइँ यिनै दुई किसिमका दर्शनको कारणले भई रहेको छ। यस्तो लडाइँ वैचारिक मात्र नभई सशस्त्र र निश्शस्त्र दुबै किसिमको पनि हुन्छ। यी दुबै दर्शनको बिचमा व्यक्तिवाद नामको अर्को  'दर्शन' जबरजस्त लुकेर बसेको हुन्छ। यो व्यक्तिवादी दर्शन घरी भौतिकवाद र घरी अध्यात्मवादको वरिपरि सलबलाइ रहेको हुन्छ। यहाँ यसै बारेमा चर्चा गरिने छ।

मूलतः दर्शनशास्त्रका दुई वटा बाटोहरू हुन्छन्। भौतिकवादी बाटो र अध्यात्मवादी बाटो। सुरुमा भौतिकवादको कुरा गरौँ, यो दर्शनशास्त्रको आधुनिक र वैज्ञानिक बाटो हो। भौतिकवादी दर्शन तत्वशास्त्रीय सिद्धान्त पनि हो । जड्तत्व वा पदार्थलाई नै विश्व जगतको मूल आधार मान्ने दर्शनलाई भौतिकवादी भनिन्छ। यो भौतिक रूपमा देखिने, हेरिने र बुझिने जुन जगत् छ, त्यो नै वास्तविक विश्व दुनियाँ हो भन्ने विचारलाई भौतिकवाद भनिन्छ। भौतिकवादी दर्शनले परम तत्त्व भनेर खास स्वरूपमा देखिने जड्तत्वलाई मान्दछ। यही जड्तत्वबाट नै हरेक वस्तुको सृष्टि र निर्माण भएको हो भन्ने विचार भौतिकवादी दर्शनको विशेषता हो ।

मानिस स्वार्थी हुन्छ र त्यसलाई पूरा गर्न उसले अनेक उपायहरू अपनाउँछ। यस्तै उपायहरूको सिद्धान्त नै व्यक्तिवादी दर्शन हो । सायद, भौतिकवाद र अध्यात्मवादको अवाञ्छित गर्भबाट व्यक्तिवादको जन्म भएको हो । कुनै पनि दर्शन अङ्गाले पनि मानिसको जीवनबाट व्यक्तिवादलाई बिदा गर्न निकै कठिन छ र कठिन भई रहनेछ।

विश्व जगतका सबै पदार्थहरूको रूप भौतिक हुन्छ। अर्थात् यस दुनियाँ र सन्सारमा अभौतिक भन्ने कुनै बस्तु हुँदैन। भौतिकवादले चेतना, प्रत्यय वा अध्यात्मलाई पनि जड्तत्वकै आधारबाट उत्पत्ति भएको मान्दछ। यस दर्शनले विकासको व्याख्या प्राकृतिक नियमहरूको सिल सिलात्मक पद्धतिबाट गर्दछ। यस अनुसार विश्वको निर्माण, विकास र पतन पनि प्राकृतिक नियमहरूबाट नै हुन्छ। कुनै अलौकिक र अदृश्य शक्तिको अस्तित्वलाई भौतिकवादले अस्वीकार गर्दछ। अर्थात् अदृश्य शक्ति र स्रोतको आवश्यकता यो जगत् विश्वलाई पर्दैन भन्ने कुरा भौतिकवादले मानेको हुन्छ। 

सोझो अर्थमा भौतिकवादले कुनै ईश्वर, परमात्मा, शक्ति र अलौकिक कुराको अस्तित्वलाई मान्दैन। यो विश्व जगत् र ब्रह्माण्ड आफैमा स्वतन्त्र छ र यस भन्दा पर अर्को कुनै अतिरिक्त शक्ति छैन भन्ने कुरा भौतिकवादी दर्शनको निष्कर्ष हो। यस दर्शनलाई यथार्थवादी, विश्लेषणात्मक, यन्त्रवादी र वैज्ञानिक दर्शन पनि भनिन्छ। जड् तत्त्व भनेको कुनै वस्तु विशेष नभई सबै वस्तुहरूमा हुने सार्वभौम र सर्वव्यापी तत्त्वको इकाई हो। सामान्यतया यसको ज्ञान इद्रिन्यबाट हुन्छ तर यसको व्याख्या र विश्लेषण बौद्धिक र वैज्ञानिक तरिकाले मात्र गर्न सकिन्छ। 

पहिलो पश्चिमी भौतिकवादी दार्शनिक थेलिज (इ। पू। ६२४ ‐ ५५०) ले पानीलाई परम तत्त्व मानेर 'पानीबाट संसारका सबै बस्तुहरूको उत्पत्ति र विकास भएको हो ' भनेका थिए। अर्का दार्शनिक एनोक्जिमेनिजले हावा, हेराक्लिसले आगो र इम्पोडाकिल्जले हावा, पानी, आगो र माटो जस्ता चार वटा भौतिक तत्त्वलाई परम तत्त्व मानेका थिए। यसै गरी पूर्वीय भौतिकवादी दार्शनिक चार्वाक अर्थात् बृहस्पतिले हावा, पानी, माटो र आगो जस्ता चार वटा तत्त्वलाई परम तत्त्व मानेर ईश्वर र आत्माको अस्तित्वलाई अस्वीकार गरेका थिए। यिनै चार तत्त्वबाट चेतन र अचेतन सबै वस्तुको निर्माण भएको हो भन्ने विचार पूर्वीय भौतिकवादी चार्वाक दर्शनमा पाइन्छ।

बौद्ध र वैशेषिक दर्शनले पनि भौतिकवादी विचारलाई स्वीकार गरेको पाइन्छ। प्रसिद्ध दार्शनिक कार्ल मार्क्सले भौतिकवादलाई अझ परिष्कृत गरL प्रकृति र जीवको विकास द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादको नियमबाट हुन्छ भनेर तीन वटा नियमहरू अगाडि सारेका थिए। त्यस्ता नियम अनुसार परिमाणबाट गुणात्मक परिवर्तनको नियम, विरोधी तत्त्वहरूको एकता र सङ्घर्षको नियम र निषेधको निषेध हुने नियम। उनको यो नियम जगत्, प्रकृति, जीव, समाज र समग्र मानव जीवनमा लागू हुन्छ भनिएको छ। उनले यो नियमबाट समाज परिवर्तनको बाटो पनि देखाएका थिए।

अब कुरा गरौँ अध्यात्मवादको । दर्शनशास्त्रको अर्को बाटो अध्यात्मवाद हो। यसलाई आदर्शवाद र प्रत्ययवाद पनि भनिन्छ। अध्यात्मवादले विश्व जगत् र ब्रह्माण्ड खास जड् तत्त्वबाट निर्मित, सञ्चालित र व्यवस्थित नभई एउटा अदृश्य शक्तिबाट भएको मान्दछ। यसले मन,आत्मा, परमात्मा, परम चेतना र अलौकिक ईश्वरीय शक्तिलाई ब्रह्माण्ड वा विश्व जगत् निर्माणको स्रोत मान्दछ।

यसले सम्पूर्ण जीव तथा निर्जीव कुराहरूको सृष्टि, सञ्चालन र विनाश कसैले देख्न नसकिने अभौतिक दैवी शक्तिबाट भएको हो भन्ने दृष्टिकोण राख्छ। यस दर्शनले प्रकृतिभन्दा माथि उच्च दैवी चेतनाको शक्ति वा परमात्माको अस्तित्व मात्र स्वीकार गर्दछ। पूर्वीय परम्परामा प्राचीन ऋषिमुनि, वेद, पुराण, उपनिषद र शास्त्रहरूले यसलाई पुष्टि गर्न खोजेका छन् भने अनेक पश्चिमी दार्शनिकहरूले पनि यस मान्यतालाई प्रमाणित गर्न खोजेका छन्।

अध्यात्मवादले भौतिकवादको भन्दा ठिक उल्टो कुरा गर्दछ। ब्रह्माण्ड वा विश्व जगत् कुनै जड्तत्वको कारणबाट निर्माण नभई उच्च चेतनशील, असांसारिक, मानसिक वा आदर्श शक्तिबाट भएको हो भन्ने धारणा राख्दछ। पश्चिमी दार्शनिक हेगेलले पनि 'एउटा परम विचार'  को अस्तित्वलाई स्वीकार गरेका थिए। उनले भनेको यो परम विचार पूर्वीय परम्पराका ऋषि मुनीहरूले धेरै पहिले भनेको सर्व शक्ति मान् ईश्वरीय शक्ति वा विचार नै हो, जसले विश्व जगतको निर्माण र सञ्चालन गर्ने सामर्थ्य राख्दछ। पूर्वीय दर्शनको मुख्य स्रोत वेद र उपनिषदले ब्रह्म र आत्मालाई परम तत्त्व मानेको छ। शरीर वा जड्तत्व दुईचार दिनको घाम छाया र आत्मा स्थायी चेतन शक्ति हो भन्ने कुरा अध्यात्मवादको निष्कर्ष हो ।

व्यक्तिवाद पनि एउटा उप‐दर्शन जस्तै हो। यसलाई दर्शनशास्त्रमा विशेष महत्त्वका साथ हेरिँदैन। तर यो भौतिकवाददेखि अध्यात्मवादसम्म जताततै जबरजस्ती घुमी रहन्छ। यसले जसरी पनि आफ्नो व्यक्तिगत स्वार्थ, हित, इच्छा र मनोगत चाहनाहरूलाई बढी महत्त्व दिन्छ। यसले सबैको सर्वोपरि हित, सामूहिक स्वार्थ र सौदा बाजीलाई स्वीकार गर्दैन । व्यक्तिगत स्वार्थ र फाइदाका लागि मात्र यसले काम गरिरहेको हुन्छ।

व्यक्तिगत र सामाजिक जीवनमा व्यक्तिवादी उप दर्शन बढी सक्रिय हुन्छ। मानव जीवन सुरु भएदेखि नै यो धारणा अस्तित्वमा आएको थियो र अहिले झन् बलियो भएर जीवन दर्शनकै रूपमा सन्सार घुमी रहेको छ। शास्त्र, ग्रन्थ, शिक्षा, विचार र आदर्शको घैँटोमा व्यक्तिवाद सर्पको विषको थैली जस्तै लुकेको हुन्छ। व्यक्तिवादको विष आफूले अरूलाई र अरूले आफूलाई पिलाइ रहनु नै जीवनको वास्तविकता हो। 

कवि तुलसीदासले भनेका थिए, 'सुर नर मुनि सब कै यह रीतिः स्वारथ लागि करहिं सब प्रीति ' अर्थात् 'देवता, मानिस र ऋषि मुनि सबै आफ्नो स्वार्थको लागि प्रेम गर्दछन् '। यसरी प्रेममा त व्यक्तिको स्वार्थ निहित हुन्छ भने अरू कुरामा स्वार्थ हुँदैन भनेर कसरी भन्न सकिन्छ ? मानिस स्वार्थी हुन्छ र त्यसलाई पूरा गर्न उसले अनेक उपायहरू अपनाउँछ। यस्तै उपायहरूको सिद्धान्त नै व्यक्तिवादी दर्शन हो । सायद, भौतिकवाद र अध्यात्मवादको अवाञ्छित गर्भबाट व्यक्तिवादको जन्म भएको हो । कुनै पनि दर्शन अङ्गाले पनि मानिसको जीवनबाट व्यक्तिवादलाई बिदा गर्न निकै कठिन छ र कठिन भई रहनेछ।