युट्युबे आभासी जगत्‌मा सेना उचाल्ने धृष्टता: राजतन्त्र र हिन्दु धर्मको चाहनामै तुषारापात

युट्युबे आभासी जगत्‌मा सेना उचाल्ने धृष्टता: राजतन्त्र र हिन्दु धर्मको चाहनामै तुषारापात

ज्ञानमित्र  |  दृष्टिकोण  |  असार २१, २०७८

कैयौँ प्रतिष्ठित व्यक्ति, कैयौँ सामान्य चिनजानसम्म भएका धुरन्धर विद्वान् र मित्रपंक्तिमा गणना हुने अनेकन प्रभावशाली  वाकपटु विचारशील एवं स्वप्नद्रष्टा महोदयहरू अचेल युट्युबे संसारको सेलिब्रेटी बनेका छन् । प्रायः हरेक दिन यिनीहरूका आत्मप्रलाप कुनै न कुनै युट्युबर भाइहरूले अपलोड गरिरहेका हुन्छन् ।  

‘न्युरोलोजिकल डिसअर्डर’बाट अवसादग्रस्त रोगीझैँ यिनीहरू एकहोरो प्रलाप गरिरहेका हुन्छन्–मुलुक खत्तम भयो, सेना र राजाले आएर देश जोगाउनु पर्‍यो ।

पूर्वराजाले पुकार, अरण्यरोदन र विन्तीमिश्रित  युट्युबे चर्तिकलाका  यी सबै (अथवा कुनैकुनै) मनोरञ्जक दृश्यावली नजर गर्ने परंसौभाग्य पाउनुभयो अथवा अझै पाउनुभएको छैन, यसबारे म जस्तो सामान्य व्यक्तिलाई थाहा हुने अवसर नै हुँदैन । मलाई यो पनि थाहा छैन कि युट्युबमा रमिता देखाउने वर्गलाई कहीँ कतैबाट ‘इंडिकेसन’ र ‘मोटिभेसन’ प्राप्त भएर यी स्तरहीन नाटिका संयोजित भइरहेका छन् अथवा स्वतः संज्ञानले प्रेरित भई यो वर्ग अनर्गल प्रलाप गरिरहेको छ । 

राजाले पनि त भूटानको राजाझैँ जनतामा लोकप्रिय हुने गतिविधि गर्नुपर्‍यो नि ? नेपालमा राजतन्त्र समाप्त हुनुभन्दा पहिला ज्ञानेन्द्र शाह सर्वेसर्वा बनेकै थिए । तत्कालीन नेकपा एमाले र कांग्रेसलाई पेलेर नै जानुपर्छ भन्ने परामर्श दिने एक जना व्यक्ति यिनै राजप्रासादका अधिकारी हुनुहुन्थ्यो भन्ने सर्वविदित नै छ ।

सबैलाई त भन्नु अप्राकृतिक हुन्छ तर यस्ता गतिविधिमा लिप्त केही व्यक्तिलाई चरित्रको धरातलसम्म बुझेका कारण भन्न सक्छु–यिनीहरूबाट मञ्चन भइरहेका प्रहसन कुनै सूत्रधार नभईकन हुन सम्भव छैन । त्यो सूत्रधार को हो ? यसको छिद्रान्वेषण गर्नु आवश्यक छैन ।

तुलसीदास  सुन्दरकाण्डमा लेख्नुहुन्छ–
सचिव वैध गुरु तीनि जो प्रिय बोलही भय आश,
राज्य धर्म तन तीनि कर होइ बेगहीं नास ।  

आशय–राजाको सचिव, वैद्य र गुरुले यदि राजाको भय अथवा राजासँग आफ्नो इच्छापूर्ति हेतु मधुर (चाकडीको भाषा) बोल्ने कार्य गरे भने द्रुत वेगले राज्य, धर्म र राजाको शरीर (स्वास्थ्य)को नास हुन्छ ।

कुनै राजालाई यस कुराको स्मरण कसले गराइदिने ? आधुनिक सचिव, वैद्य र गुरु वर्गको ‘सफ्टवेयर’मा यो ‘अपडेट’ कसरी र कसले गरिदिने ?

देशमा व्याप्त राजनीतिक भद्रगोलका कारण राजाको प्रासंगिकताबारे सामान्य आवाज उठ्नु अस्वाभाविक होइन तर यी सामान्य स्वरले महत्त्वाकांक्षाको वैतरणी तरेर शिखर आरोहण गर्न  सकिन्छ  भन्ने  स्वप्निल अपेक्षा गर्नु ‘मुंगेरीलाल के हसीं सपने’ जस्तै हुन्छ ।

संन्यासी भएका कारण एवं हरिद्वारको महाकुम्भमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट भएका कारण राजा र नेपालमा राजतन्त्रको औचित्य–प्रासंगिकता–आवश्यकता–अपरिहार्यता–उपयोगिता र उपादेयताबारे सोधिन्छ । यसका साथै गुहार पुकार गर्दै राजालाई पुनः गद्दीनसीन गराउने प्रयासका सारथिहरूलाई लाग्छ, म पनि उनीहरूको टोली सदस्य हुँ ।

केही वर्ष पहिला कमल थापाज्यूको तत्कालीन दल (गाई छाप)को कार्यालयमा हिन्दू धर्म विषयक चर्चा गर्न निमन्त्रणन पाई पुगेको थिएँ । उहाँको कार्यकक्षमा दलको अन्य कुनै पदाधिकारीले राजा  नभए हिन्दू धर्म कसरी हुन्छ ? भन्ने मूर्खता पोख्नुभयो ।

‘जसरी एउटा संन्यासी योद्धा (परशुराम)ले १७ पटक राजाको दमन गरे पनि हिन्दू धर्मको ध्वजा अक्षुण्ण रह्यो । राजाले धर्मको उत्पत्ति गर्ने होइन, धर्मले राजालाई प्रतिनिधिका रूपमा स्थापित गर्ने हो ।’

मेरो आशय बुझेर कमलजीले  तत्कालै ती  मित्रलाई चुप गराउनुभयो । म अझै दृढ विश्वस्त छु कि देशमा हिन्दु धर्म पुनर्प्रतिष्ठित  भएको खण्डमा राजतन्त्र कुनै किसिमको भूमिकामा पुनर्स्थापित हुने सम्भावना हुन्छ तर राजा र राजतन्त्रका मतियारहरूलाई यदि बिधर्मीहरूले हिन्दु धर्मको एजेण्डा छाड र यो भूमिकामा आएर बस भन्ने प्रस्ताव गरे भने ज्ञानेन्द्र शाहले किंचित पनि विलम्ब अथवा विचार गर्ने संभावना छैन ।

व्यक्तिगत रूपमा म  राजाको समर्थक होइन बरु केही प्रतिशत विरोधी नै हुँ  । म फगत हिन्दु धर्म स्थापना हेतु प्रयासरत एउटा स्वप्नद्रष्टा हुँ, सिपाही अथवा आन्दोलनकर्ता पनि होइन । हिन्दु धर्म स्थापित हुने क्रममा उछिट्टिएर राजा फर्किन्छन् भने उनको भाग्य, उनको भाग्यसँग मलाई इर्ष्या हुँदैन ।

‘जस्ट’ केही दिन पहिला रोहितज्यूसँग भेट भएको थियो । बडो मननीय र तार्किक कुरा गर्नुभयो उहाँले । उहाँको आसय थियो– राजा आउने कथं कदाचित वातावरण बन्यो भने पनि ज्ञानेन्द्र शाहले अफगानिस्तानका राजालेझैँ धन्यवाद दिँदै अस्वीकृत गर्नु नै बेस हुन्छ । हदै भए उहाँको भूमिका संवैधानिक हुन सक्छ । उहाँको दाइले १२–१३ वर्ष यो भूमिका निर्वाह गरेकै हो । उहाँले त झन् केही समय यो भूमिका निर्वाह गर्नुका साथै सक्रिय राजाको भूमिका पनि अदा गर्ने मौका पाउनुभयो । उहाँको क्षमता त परीक्षण भई नै सकेको छ । तपाईंले हेर्नु/सुन्नुभएकै होला–बेला मौकामा उहाँको सट्टा नातिलाई राजा बनाउने चर्चा यसै कारणले बजारमा ल्याइन्छन् ।

साँचो कुरा के हो भने भारतको मोदी सरकार नेपालमा हिन्दु  धर्म स्थापना गर्न त इच्छुक छ तर राजा र राजतन्त्रबारे उसको कुनै स्पष्ट अभिरुचि प्रस्ट भएको  छैन ।  हो, यहाँका नेताहरूलाई बेलाबेला तर्साउन उसले राजा ‘ल्याइदिऊँ’ भन्ने ‘स्लोगन’ प्रयोग गर्छ ।

गणतन्त्रलगायतका आफूलाई मन नपरेका फोहोर मैला सफा गर्न इच्छुक व्यक्ति केपी ओली मात्र हो । भारतको हिन्दु धर्म स्थापित गर्ने भगीरथ प्रयासको नौका चढेर ओली यसै मौकामा आफ्नो अभीष्ट पूरा गर्न चाहान्छन् ।

सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको परिणाम यदि ओलीको मुताबिक (भंग सदर) आयो भने एक वर्षकै अवधिमा हिन्दु धर्म स्थापित हुन्छ र यदि परिणाम ओलीको चाहना विपरीत आयो भने यो हुन २ वर्ष पर्खिनुपर्ने हुन्छ । 

अहिले ओलीजीलाई एउटा हिन्दी उखान (उहाँ यस विधाको मर्मज्ञ नै हो) खुबै सम्झना आउँछ होला– ‘बद अच्छा बदनाम बुरा ।’  हिन्दू धर्म राजतन्त्रका लागि दुई तिहाइको सरकारबाट झण्डै एउटा गुटको नाइके र असहाय सरकारको वारिस हुन पुगे पनि न हिन्दु धर्मका बिचौलियाहरूको र नत दरबारिया एवं मण्डलेहरूकै विश्वासिलो हुन सक्नुभएको छ । 

केपी ओलीले गणतन्त्र र धर्म निरपेक्षताका दलालहरूका साथै धर्मका बिचौलिया गण र दरबारिया एवं मण्डलेहरूको प्रहार सहिरहनु परेको छ । ओलीजी विगतले मानिसलाई छाड्दैन भनेको यही हो ।

केही  मित्रहरू अहिले युट्युबे आभासी जगत्‌कोको बजारु र बिकाउ  अनुहार बनेका छन् । मित्र नभएको भए नवमण्डलेमा रूपान्तरित भएको भन्न सहज हुन्थ्यो यस्ता मित्रहरूलाई । यस्ता मित्रहरूमध्ये अन्यको नाम उल्लेख नगरी प्रतिनिधि पात्र स्वरूप एउटा मात्र नाम उल्लेख गरौँ श्री भरत जंगमज्यूकाे  । 

व्यक्तिगत कुण्ठा, नैराश्य, विषाद् र वितृष्णाले उत्तेजित बनी यस्ता मित्रहरू केपी ओली र भारतलाई तथानाम गाली गर्दै सेनासम्मलाई उचाल्ने धृष्टतामा तल्लीन छन् । यिनीहरूलाई राजा पनि चाहिएको छ हिन्दू धर्म पनि चाहिएको छ तर यसबारे भइरहेका प्रयास योजना र रोडम्याप विषयक भाङ, धतुरो केही नबुझी  आफू भाइरल हुने उन्मादमा यत्रतत्र मूत्र विसर्जन गरी सल्केको अग्निलाई मत्थर पार्ने काम भइरहेको छ यिनीहरूबाट ।झनै अचम्मको कुरा त के भने दरबार र दरबारिया गण यिनै मूर्ख टोलीको महामण्डलेश्वर बनेर करतल ध्वनि गर्दै छन् ।

सायद मोदी पनि अब केपी ओलीको राजा स्थापित गर्ने चाहनाले दिक्क भइसके । मूर्खमण्डली र यसका महामण्डलेश्वरका चरित्र र गतिविधिले सुनमा सुगन्धको काम गरेको छ । सर्वोच्च अदालतले संसद स्थापित गरेको खण्डमा पनि ओलीजीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने उपाय नभएका होइनन् तर यदि ओलीले गद्दी छाड्नुपर्‍यो भने स्पष्ट हुन्छ कि भारतका लागि अहिले ओलीको उपयोगिता समाप्त भयो । ओलीको गमनसँगै राजा र राजतन्त्रको पक्षमा उठेका मसिना स्वर विलुप्त हुन्छन् । ओलीलाई सत्ताच्युत भएपछि आफू कम्युनिस्ट कित्तामै रहने अथवा दक्षिणपन्थी कित्ताको सशक्त हस्ताक्षर हुने निर्णय/चुनाव गर्न सजिलो हुन्छ ।

अन्त्यमा

केही दिन पहिला राजप्रसादको सेवामा रहेका एक जना उच्च पदस्थ अधिकारीसँग भेट हुँदा उहाँले भन्नुभयो– ‘भारतले हामीलाई भूटान सादृश्य हेरे हुन्थ्यो । उसले हाम्रा लागि यति त गरिदिए हुन्थ्यो !’ 

मनमनै हाँस्नबाहेक केही भन्न सकिनँ उहाँको कुरामा । राजाले पनि त भूटानको राजाझैँ जनतामा लोकप्रिय हुने गतिविधि गर्नुपर्‍यो नि ? नेपालमा राजतन्त्र समाप्त हुनुभन्दा पहिला ज्ञानेन्द्र शाह सर्वेसर्वा बनेकै थिए । तत्कालीन नेकपा एमाले र कांग्रेसलाई पेलेर नै जानुपर्छ भन्ने परामर्श दिने एक जना व्यक्ति यिनै राजप्रासादका अधिकारी हुनुहुन्थ्यो भन्ने सर्वविदित नै छ ।