बौद्ध धर्ममा जातीय विभेदको उछितो: आत्मसात् गर्न नसकेको दर्शनभित्रको समानता

बौद्ध धर्ममा जातीय विभेदको उछितो: आत्मसात् गर्न नसकेको दर्शनभित्रको समानता

कैलाशकुमार सिवाकोटी  |  दृष्टिकोण  |  असार २२, २०७८

सामान्य अर्थमा कुनै पनि व्यक्ति, वर्ग, समूह वा समुदाय विशेषमा अवलम्बन गरिने सामाजिक अवस्था, प्रथा, परम्परा आदि आधारमा अवलम्बन गरिने व्यवहार वा अवस्था नै भेदभाव हो । समानताले विभेदलाई स्थान दिँदैन । जात, धर्म, वर्ण, लिङ्ग वा जुनसुकै आधारमा गरिने भेदभावलाई अस्वीकार गर्दछ । यस परिप्रेक्ष्यमा बुद्धले परिकल्पना गरेको समाज विभेदभन्दा बाहिर थियो । समाज विकाससँगै विभेदको समस्या थप जटिल बन्दै गएको छ । यसै परिप्रेक्ष्यमा यस सम्बन्धी बुद्ध दर्शनका मान्यतालाई पस्कने प्रयत्न गरिएको छ । 

समानता र अविभेद 

बौद्ध दर्शन कुनै जात, धर्म, वर्ण लिङ्गमा आधारित थिएन । सबैप्रति समान हेराइ वा दृष्टिकोण थियो । जसरी ठुला नदीहरू गङ्गा, यमुना, अचिरवती आदि समुद्रमा प्रवेश गर्दछन् र आफ्नो पहिचानको नाम छोड्छन्, समुद्रकै नामले चिनिन्छन् । त्यस्तै सबै जातिहरू यस विनयमा आएर शिक्षित भई प्रवजित हुन्छन् । (न्यौपाने डा. काशीनाथ, बौद्ध उपदेशमा प्रतिबिम्बित समाज दर्शन, (कार्यपत्र)...पृ. १४)

-सबैका लागि सङ्घ
बुद्धका सङ्घमा सबै जाति–जातिलाई निर्वाध प्रवेश थियो । त्यहाँ शूद्र, चाण्डाल, स्त्री एवम् अस्पृश्यबिच कुनै भेदभाव थिएन 'यस सङ्घमा संसारका धनी–गरीब,  ठुला–स्याना, राजा–प्रजा, मन्त्री–भारदार, स्त्री–पुरुष, उच्च–नीच सबै प्राणीको लागि दैलो खुलेको छ ।' पछि विशेष अवस्था अर्थात तत्कालीन समाजको सामाजिक संरचनाको कारण केही अपवादहरू राखिएका थिए । सेना, अपराधी, चोर, ऋणी, दासलाई प्रव्रज्या निषेध गरिएको थियो ।

बुद्धले भनेः हाम्रो सद्धर्म मार्गमा जातिपातिको आधारमा कुनै भेद छैन । तिमी पनि हामीजस्तै मानिस हौ । हामीलाई अपवित्र होइएला भन्ने कुनै डर छैन । लोभ, घृणा, इष्र्याले मात्र हामीलाई अपवित्र बनाउन सक्छ । सम्बोधीको मार्गमा जातिको कुनै स्थान छैन । तिमी चाहन्छौ भने अरूजस्तै भिक्षु बन्न सक्छौ ।

'न भिक्खवे राज भटो पब्बाजेतब्बो'  अर्थात् भिक्षुहरू/राज्यका फौजहरूलाई प्रव्रजित गर्नुहुँदैन । 'न भिक्खवे दासो पब्बाजे तब्वो' अर्थात् हे भिक्षुहरू/दास (नोकरहरू) लाई भिक्षु गर्नुहुँदैन ।'न भिक्खवे इणायिको पब्बाजे तब्बो' अर्थात् हे भिक्षुहरू/ऋण भएकालाई भिक्षु गर्नुहँदैन । ( भिक्षु अश्वघोष र भिक्षु कुमार काश्यप, बुद्धको अर्थनीति, २०६८, भिक्षु अश्वघोष संघाराम विहार ढल्को, काठमाडौं पृ.६३)

-ब्राह्मण हुने योग्यता

कसको कोखमा जन्म लिएको छ ? गोत्र कुन छ ? कुन धर्म अवलम्बन गरेको छ ? जस्ता सवालको आधारमा कोही पनि ब्राह्मण हुन सक्दैन । ऊ धार्मिक मार्गबाट विमुख भएको छ–छैन ? रीस, राग, द्वेष, घुणालाई आत्मसात गर्छ–गर्दैन ? लगायतका आधारमा ब्राह्मणको मापन गरिन्थ्यो । यसबाट स्पष्ट हुन्छः असल कार्यमा संलग्न जो–कोहीलाई ब्राह्मण बन्न छेकबार थिएन ।

जो पायो उही ब्राह्मणको लागि योग्य हुँदैन । उच्च जात, वर्ग, कुलघराना वा ब्राह्मणीको कोखमा जन्म लिनेलाई बुद्धले ब्राह्मणको कोटीमा राख्न अस्वीकार गरेका छन् । विशेषतः प्रज्ञा, शील, करुण, मैत्री लगायतका पक्षलाई आधार बनाई व्यक्तिको मूल्याङ्कन गरेको देखिन्छ ।उनले कर्मलाई ब्राह्मण हुने योग्यताको मापन मानेका छन् । बुद्धले केही जातिलाई विशेष प्राथमिकता दिएर कुनै जातिलाई बेवास्ता गरी समाजको निर्माण गर्न चाहेको देखिँदैन । 

विशेष गुण, कर्म र ब्राह्मण

यस्स पार अपार वा पारांपारं न विज्जति ।
वीतद्दरं विसंयुक्त- तमहं ब्रूमि ब्राह्मणं ।।३।।

जसको पार (आँखा, कान आदि छ इन्द्रिय) अपार (रूप, शब्द आदि छ विषय) र पारापार (म, मेरो) भन्ने छैन, जो भयरहित भएर अनाशक्त हुन्छ, उसैलाई म ब्राह्मण भन्दछु ।।३।। ( भिक्षु अमृतानन्द (नेपाली अनुवाद), धम्मपद २०७०, आनन्दकुटी विहार संस्था, काठमाडौँ, पृ.१७२)

न जटाहि ने गोत्तेहि-न जच्चा होति ब्राह्मणो ।
यम्हि सञ्चञ्च धम्मो-च सो सूची सो च ब्राह्मणो ।।११।।

जटा भएर, गोत्र भएर तथा जन्म भएर मात्रै ब्राह्मण हुँदैन, जसमा सत्य र धर्म छ, उही पवित्र ब्राह्मण हुन्छ ।।११।। ( ऐ.पृ. १७५)

नचा हं ब्राह्मणं ब्रुमि-योनिजं मतिसम्भवं ।
भोवादी नाम सो होति-सचे होति सकिञ्चनो । 
अकिञ्चनं अनादानं-तमहं ब्रुमि ब्राह्मणं ।।१४।।

ब्राह्मणीको कोखबाट जन्मदैमा ब्राह्मण भन्दैन, उसलाई केवल ‘भो’ मात्र भन्नुपर्छ किनभने त्यसमा राग, द्वेष र मोह छ, राग, द्वेष र मोह नहुनेलाई नै म ब्राह्मण भन्दछु ।।१४।। (ऐ.पृ..१७६)

न जच्चा वसलो होति, न जच्चा होति ब्राह्मणो ।
कम्मना वसलो होति, कम्मना होति ब्राह्मणो ।।

जन्मले मात्रै चण्डाल हुँदैन, न जन्मले कोही ब्राह्मण नै हुन्छ । कर्मले नै मानिस चण्डाल हुन्छ, कर्मले नै ब्राह्मण हुन्छ ।

आमाको कोखबाट जन्मदैमा कोही ब्राह्मण हुदैन । अपरिग्रही र त्यागी जो छ त्यो ब्राह्मण हो । एक पटक एकजना ब्राह्मणले बुद्धलाई सोधेः हे गौतम, तिमी आफ्ना श्रावकहरूलाई ब्राहमण भनेर किन सम्बोधन गर्दछौ ? बुद्धले उत्तरमा भन्नुभयो-हे ब्राह्मण, म जाति या गोत्रका आधारमा ब्राह्मण भन्दिन, केवल उत्तम गति अर्हत्व प्राप्ति गरेकालाई मात्र ब्राह्मण भन्दछु । जसले ध्यान, निर्भयता, स्थिरता, कृतकृत्यता, आश्रवरहितता र निर्वाणको प्राप्ति गरेको छ त्यही ब्राह्मण हो । ( शाक्य धर्मरत्न (अनु.), सुत्तनिपात (ललितपुर, शाक्य, कुलनरसिंह, २०४९), पृ.३०)

एक पटक बुद्ध श्रावस्तीमा भिक्षाटनको निम्ति यज्ञ चलिरहेको बेला अग्नि भारद्वाज ब्राह्मणकोमा पुग्दा बुद्धलाई 'वही मुण्डक ! वही श्रमणक ! वही वृषलक ! ठहरो ।' भनेपछि प्रत्युत्तरमा बुद्धले ती ब्राह्मणलाई जवाफ दिनुभयोः वृषल (नीच) को हो ? हे ब्राह्ण जो व्यक्ति क्रोधी,  इष्र्यालु, मिथ्या दृष्टिवाला, मायावी हुन्छ त्यो वृषल हो । जसले कुनै पनि प्राणीको हिंसा गर्दछ, जसलाई प्राणीहरूप्रति दया छैन...। जसले गाउँ, नगर आदि नष्ट गर्दछ, अत्यचारीको रूपमा प्रख्यात छ...। जसले अर्काको सम्पत्ति चोरी गर्दछ ... । ऋण लिएर जसले मैले ऋण लिएकै छैन भन्दछ र तिर्दैन, भाग्छ... । जो कुनै चिजको इच्छा राखी अर्काको ज्यान लिन्छ...। अर्काको धन प्राप्तिको लागि झुठो साक्षी बन्छ...। अहर्त नभई अहर्त हुँ भन्छ, सबैतिर चोरी गर्छ ...। जो समर्थ भएर पनि बाबुआमाको भरणपोषण गर्दैन ...। ( भिक्षु डा. धर्मरक्षित (अनु./सं.).सुत्त निपात,२०१४, मोतीलाल वनारसी दास, दिल्ली, पृ.२९—३३) यसैगरी बाबुआमा, भाइबहिनी सासू...मार्ने, खराब वचन बोल्नेलाई पनि वृषलको कोटीमा राखिएको छ । बुद्धको मत छ...... कोही पनि जातिले वृषल पनि हुँदैन र जातिले ब्राह्मण पनि हुँदेन, कर्मले वृषल र कर्मले नै ब्राह्मण हुन्छ । (ऐ.ऐ.३५)

जातीयताको प्रसङ्गमा बुद्ध र सुजीतको कथा विशेष चर्चित मानिन्छ । एक पटक बुद्ध उनका अनुयायीहरूका साथ भिक्षाटनका लागि गङ्गा किनारस्थित एक गाउँमा गइरहेका थिए । बाटोमा बाल्टीमा मलमूत्र लिएर सुनीत नाम गरेको व्यक्ति आइरहेको थियो । बुद्धलाई देख्नेबित्तिकै ऊ नदीकिनारतिर लाग्यो । बुद्ध पनि ऊ गएतिर लागे । एकाएक साथमा बोकेको बाल्टिन फाली सुनीत नदीमा पस्यो । उसलाई आफूले अपराध गरेको महसुस भयो । आफू अछुत भएको कारण बुद्ध र भिक्षुहरू अपवित्र नहुन् भन्ने उसको चाहना थियो ।

बुद्ध उसको नजिक गएर भनेः मित्र, मेरो नजिक आऊ, ता कि हामी आपसमा कुराकानी गर्न सकौँ । सुजीतले जवाफ दियोः प्रभु, म यस्तो साहस कसरी गर्न सक्छु ? म एक अस्पृश्य हुँ । तपाईं तथा भिक्षुहरूलाई म अपवित्र पार्न चाहन्नँ । बुद्धले भनेः हाम्रो सद्धर्म मार्गमा जातिपातिको आधारमा कुनै भेद छैन । तिमी पनि हामीजस्तै मानिस हौ । हामीलाई अपवित्र होइएला भन्ने कुनै डर छैन । लोभ, घृणा, इष्र्याले मात्र हामीलाई अपवित्र बनाउन सक्छ । सम्बोधीको मार्गमा जातिको कुनै स्थान छैन । तिमी चाहन्छौ भने अरूजस्तै भिक्षु बन्न सक्छौ ।

तत्काल उसलाई यस कुरामा पत्यार लागेन । निकैबेरको कुराकानीपछि ऊ बुद्धको कुरामा सहमत भई प्रवज्याको लागि राजी भयो । बुद्धले उसलाई प्रवज्या दिए र भिक्षु बनाई सङ्घमा प्रवेश गराए । यो खबर सनसनी रूपमा विहारभर फैलियो । उच्च वर्ण भनिएका मानिसबिच यस घटनाले खल्बली ल्याइदियो । बौद्ध भिक्षुहरू पनि आपसमा विभक्त भए । अन्ततः आफूले गरेको साधनामाथि विश्वास गर्नुपर्छ भन्नेमा उनीहरूको मत मिल्यो । सापेक्ष दृष्टिकोणबाट हेर्ने हो भने त्यो अवस्था अकल्पनीय र अविश्वसनीय हो । सारमा भन्ने हो भने बौद्ध धर्मले जातीय विभेदलगायतका अन्य विभेदको उछितो काढेको पाइन्छ । यी उजागर पक्षलाई व्यवहारमा उतार्नु नै बुद्धप्रतिको सम्मान हो ।