प्यास

प्यास

राजबाबु श्रेष्ठ 'सागर'  |  साहित्य  |  असार २६, २०७८

'ऐय्या... ।'

बुढीऔँला नङैनेर प्याट्ट फुटेर रगत बग्यो । मलाई दुख्नसम्म दुख्यो । किन नदुख्नु पनि ? औँला फुटेर नङ् वाप्याक्क भएपछि कस्लाई हो र ? नदुख्ने भनेको ।

कथा, कहानी लेख्ने र खोज्ने सुरमा म कताकता हिँड्दाहिँड्दै आफैँ टोलाएछु क्यारे । आफू अगाडिको ढुङ्गा देखिनँ । त्यही ढुङ्गामा गएर नराम्रो गरी ठोकियो मेरो दायाँ खुट्टाको  औँला ।
वरपर हेरेँ । यौटा फार्मेसी खुलेको देखेँ । म तेही फर्मेमसीमा गएँ र देखाएँ आफ्नो घाउ । डिटल्ले मजाले साफ गरी मेरो फुटेको औँलामा ब्यान्डेज गरिदियो उसले ।

मलाई सहनै नसक्ने गरी दुख्यो । दुखिरह्यो । मैले पेन किलर पनि माँगे । पत्ताबाट यौटा ट्याबलेट् झिकेँ र मुखमा हालेँ र टेबुलमा राखिएको मिनिरल वाटरको बोत्तलको पानी पिएँ । पानीले धकेलेपछि रुद्रघण्टी घुटुक्क चल्यो र दबाईलाई ठेलिपठायो भित्र ।

म त्यसपछि आफ्नो कोठामा आएँ । 'ऐय्या'  कोठाभित्र छिर्नैलाग्दा चौखुटमा घाउ भएको औँला फेरि त्यही ठाउँमा ठोकियो र भुतुक्कै बनायो मलाई ।

हो, यही 'ऐय्या' शब्दले मलाई चौलिखा पुर्यायो । यो चौलिखा महोत्तरी जिल्लामा लाग्ने यौटा सानो बजार हो । गाउँघरमा लाग्ने सानो बजार । त्यो पनि हप्तामा आइतबार र बुधबार गरी दुई चोटी लाग्ने बजार ।

त्यही बजारमा यौटा पीपलको ठुलो रूख थियो । जुन रुखको जराको वरिपरि बजार समितिले मान्छे बस्नका लागि चौतारा बनाइदिएका थिए ।

हो, त्यही चौतारामा एउटा पागल प्रायजसो कालो बर्को ओडेर घोरिएर बसिरहको देखिन्थ्यो । जसको नाम अशोक थियो । कुनै दिन ठेस् लागेर रगताम्मे भएका खुट्टाका औंलाहरूमा झिङ्गा भन्किरहेका पनि देखिन्थ्यो ।

लामालामा दाह्री, जिङ्ग्रिङ्ङ परेका कपाल, फोहर, मैला र च्यातिएका कपडा उसका दैनिकी पोशाक बनिसकेका थिए । कहिले पुरानो फित्ता चुटेको चप्पल लगाएर हिंड्थ्यो भने कहिले नाङ्गै पाउ हिंड्थ्यो ऊ ।

सडकको कुनै पेटीमा बसेर झिङ्गा धपाई बस्थ्यो त कहिले खोन्च्याङ्खोन्च्याङ् गर्दै एकोहोरो हिंडिरहेको भेटिन्थ्यो उसलाई । निर्जन चौतारामा कहिलेकाहीँ 'ऐय्या ! ऐय्या ! दुख्यो मलाई, दुख्यो' गर्दै टाउको तल पारेर दुई हातले छेक्दै आफूलाई बचाउ गरिरहको देखिन्थ्यो उसलाई । मानौँ उसलाई एकहुल भिडले कुटिरहेझैँ । तर त्यहाँ कोही हुँदैनन् थिए ।

म उसको यस्तो पीडादायक दृश्य देखेकि बुझिहाल्थेँ, ऊ फेरि नोस्टालजिक दुनियाँमा फर्क्यो भन्ने ।

घरीघरी आकाशतिर फर्केर हातको औंला भाच्दै एक, दुई र तीन गरी मनमनै गन्थ्यो अशोक । खै के गन्थ्यो कुन्नि ऊ आकाशतिर फर्केर । कोही केटी देख्नै हुँदैनथ्यो उसले, 'उसा, काँ गाथ्यो मलाई छाडेर । आऊ हिंड घर ।' भन्दै च्याप्पै नारी समाउन गैहाल्थ्यो ऊ ।

अशोक जुनसुकै केटीलाई पनि आफ्नै उसा देख्थ्यो । तेसैले, भर्खरकी युवती केटीहरू ऊ आईरहेको बाटोछाडी डराएर परपर भएर हिंड्थे ।

अशोकको मस्तिष्कमा आफू र उमाथि भएका घट्नाका दृश्यहरू बारम्बार ताजा भएर आइरहन्थ्यो । अशोक फेरि उही घट्ना, उही अतीत, उही चोट, उही उसा अर्थात तृप्ति सिनेमाको दृश्यझैं सम्झिरहन्थ्यो –
 

+++  +++   +++  

एकदिन अशोकले नराम्रो सपना देखेको दृश्य फेरि सम्झियो –

कताकता अँध्यारो सुरुङ्हुँदै बिलकुलै कठिनसित नीलडामे आँखा, फुकेको मैलो कपाल अनि हातमा चाँदीको डब्बामा सिन्दूर बोकी अशोकनेर आई र भनी– 'अशोक मलाई सिन्दूर हाली आफ्नो बनाऊ न ।'

अशोकले उसाको सिउँदोमा सिन्दूर हाली आफ्नो बनायो । फुलैफूलले सजिएको पलङ्मा सुती सुहागरात मनायो । फेरि कता हो कता जङ्गलको लामो नि लामो सिङ्भएको कालो अर्नाले उनीहरू दुवैजनलाई लखेट्न थाल्यो ।

अशोक एकातिर र उसा एकातिर भागी । कता हो कता उत्तरतिरबाट उर्लेर आएको धमिलो खोलाले उसलाई अशोककै आँखाको समुन्ने बगायो ।

बग्दै गरेकी उसा अशोकलाई हेर्दै चिच्याइरही । चिच्याइरही । ऊ डुङ्गाजस्तै बाढीमा माथिमाथि सलल बग्दै थी । अशोक उसलाई बाढीबाट निकाल्न भनेर उसको हात समाउन गयो । फेरि कताबाट हो,  हो, लामालामा दाह्रा भएका बँदेल देखा पर्यो र खेद्न थाल्यो अशोकलाई ।

ऊ भाग्दै गयो । बँदेलले लेखेट्दै गयो उसलाई , भेट्टाउलाभेट्टाउलाजस्तो गर्यो । कता हो कता बाटो नै नभएका पहाड्हरूमा भाग्दै थियो ऊ । भाग्दाभाग्दै गहिरो गल्छीमा झ्वाम्म खस्यो अशोक ।

अशोक झस्याङ्ग भई चिच्याउँदै ब्युँझ्यो डरलाग्दो सपनीबाट । ऊ निकै डराइरहेको थियो । थर्थर काँपिरहेको थियो ऊ । असिनपसिन भएको पायो उसले आफूलाई । उसलाई आफ्नो कट्टु चिसोचिसो भएको अनुभूति भयो । उसले गुप्ताङ्गमा हातले छुयो । उसले वीर्यले आफूलाई लपक्कै भिजेको पायो ।

+++  +++   +++

ब्ल्याक्बोर्डको चकले लेखेका अक्षरहरू डस्टरले मेटाएझैं तेति सजिलो कहाँ थिए र अशोकका अतीतहरू मेटाउनलाई ।

उसाका बाआमा सम्पन्न परिवारका थिए भने अशोकका बाआमा साधारण थिए । पहिलेदेखि नै उसा र अशोकका बाआमाका बिच सम्बन्ध तेति राम्रा थिएनन् । उनीहरू आआफ्नै पर्द थिए । हाडका नाता भने थिएनन् उनीहरूका बिच ।

उसका बा चलाख अनि धुर्त थिए भने उसकी आमा नरवती निकै धनाढ्यकी छोरी थिइन् । तेसैले पनि उनको फुर्तीफार्ती अलि बढी नै थिए गाउँमा ।

यसैपनि वीरबहादुर के.सी भनेपछि मान्छे अलि हिच्किचिन्थे । गाउँमा पनि प्रशस्तै जग्गाजमीन भएका । सहर बजारमा पनि नेताहरूलाई पैसाले सहयोग गर्ने गर्थे ।

त्यही भएर उनका राजनीति पकड् पनि बलियो थियो । नेताहरू पनि प्रायजसो आइरहन्थे वीरबहादुरको घरमा ।

अझै, उसकी आफ्नै मामाले लात्तैलात्तले भकुर्दा ऊ लाचार भई रुदै र विलाप गर्दै भन्थी– 'अशोक मलाई बचाऊ न । अशोक मलाई बचाऊ न । मलाई मार्न लाग्यो कुटेर । तिम्सँग छुट्टिएर कसरी बाँच्नू म ।'

बिचरो अशोकका बा नरबहादुर के.सी एक साधारण किसान थिए । उनी सोझासाझा अनि खेतीबारी जोती आफ्नो गुजारा चलाउँथे । सिचाइँ थिएनन् उनका खेतहरूमा लाग्ने । आकाशको भर, पानी परेको साल ठिकठिकै उब्जा हुन्थ्यो । पानी नपरेको साल उब्जा हुँदैनन् थे र धौधौ हुन्थ्यो आफ्नो परिवार धान्नलाई पनि उनलाई ।

तर उनी कसैसँग हात पसार्न भने जान्दैनन् थिए । जस्तो जे छ, आफ्नै हिसाबले चल्थे उनी गाउँमा । 'घाँटी हेरी हाड् निल्नु पर्छ' भन्ने कुरा उनी राम्ररी जान्दथे ।

दुई भाइ छोरा र एक छोरीकी पिता थिए उनी , नरबहादुर । जेठी छोरी पहिले नै बिहेगरी दिइसकेका थिए बजारमा ।

छोरी राम्री भएकीले गतिलै घरबाट माग्न आएका थिए । जेठो छोरोको पनि बिहे भैसकेको थियो । अशोक उनको माहिलो छोरो थियो ।

+++ +++ ++++ 

अशोकले फेरि स्कूलका दिनहरू सम्झियो –

अशोक पढ्नमा साह्रै जेहेन्दार थियो र हेर्नमा पनि राम्रा एक्दमै हिस्सी परेको थियो । ऊ सबैसँग मिल्दथ्यो । ऊ पढ्दा जहिल्यै प्रथम भएर आउँथ्यो ।

शालीन र शान्त स्वभावको थियो ऊ । झट्टै कसैसँग हेलमेल् भने भै नहाल्ने स्वभावको थियो ऊ । केटीहरूसँग भने धेरै नै लजाउँथ्यो ऊ । केटीहरूले बोलाई हाल्यो भने बोलिदिने नभए उआफैँ केटीलाई बोलाएर नजिक हुनु भने कहिल्यै जान्दैन थ्यो ।

यही स्वभावका कारणले पनि प्रायजसो सबैका प्यारा हुन्थे ऊ । केटीहरू तछाड्मछाड् गर्थे अशोकसँग नजिक हुनलाई । केके बहानाहरू बनाई आउँथे उनेर  केटीहरू ।

कहिले हिसाब सिक्ने बहानामा त कहिले ड्रवाइङ् गरिदिनू भनी बहाना बनाएर आउँथे केटीहरू उनेर । यसरी, अरू केटीहरू आफूले मन पराएका मान्छे अशोकसँग नजिकिँएका मन पर्दैन थियो उसलाई ।

अशोक ड्र्वाइङ् गर्नमा पनि खप्पिस थियो । ऊ जस्तोसुकै जनावरहरूका चित्र पनि बनाइहाल्थ्यो । मान्छेका पनि दुरूस्तै तस्बिर बनाउन जान्दथियो । कहिले केटा साथीहरू तस्बिर बनाइदिनू भनेर फोटा छाड्थे त कहिले केटीहरू पनि आफ्ना फोटा बनाइदिनू भनी धुरूक्कै पार्थे दुःख दिएर उसलाई ।

तर ऊ भने अलि फरक थी । ऊ अरूले जस्तोगरी दुःख दिदैन थी अशोकलाई । भित्रभित्रै उसले कसरी आफूलाई मनपराउला भनी युक्ति सोंचिरहन्थी ऊ ।

ऊ अशोकजतिको सुन्दर नभए तापनि सिल्की कपाल, गहुँगोरो, ठिक्ककी ज्यान्, झन्डै ५'२" उचाइँ भएकी हिप चौडा अनि मझ्यौला खालको भोगटेझैं पोटिलो वक्षस्थल उसको एक छुट्टै आकर्षण थियो ।

ऊ श्रृङ्गार भने खासै गर्न रूचाउँदैन थी । केवल ऊ अधरमा साइनिङ् लिपिस्टिक र नयनी गाजली भएर बस्न मन पराउँथी ।

उसा र अशोकको सामीप्य स्कुल निमाविदेखि बढ्दै गएका थिए । निमावि पास भैसकेपछि पनि उनीहरू चौलिखा बजारको हाइस्कुलमा सँगसँगै पढ्न  जान्थे ।

उनीहरू यतिखेर कक्षा १० मा अध्यन गरिरहेका थिए । उनीहरूका घरदेखि करिब ५ किलोमिटर टाढा पर्थ्यो उनीहरू पढ्ने हाइस्कुल । उनीहरू हिंडेरै जान्थे स्कुल तर साथ भने कहिल्यै छुट्दैनन्थे उनीहरूका बिच ।

हाइस्कुलजाँदा उनीहरू प्रायजसो गोरेटोबाटो प्रयोग गर्थे । त्यो गोरेटो बाटो नै झन्डै आधाघण्टाजति लाग्थ्यो उनीहरूलाई पार गर्नलाई । अनि बल्ल अर्को गाउँको ठुलो फराकिलो ग्र्याबल मोटर हिंड्ने सडक भेटिन्थ्यो ।

त्यहाँबाट पनि झन्डै आधाघण्टा लाग्थ्यो हाइस्कुल पुग्न उनीहरूलाई । उनीहरू फराकिलो ग्र्याबल सडक आइपुगेपछि भने अलगअलग भएर छुट्टिएर हिंड्थे, ताकि कसैले लख नकाटोस् भनेर । अनि एकर्कामा नचिनेझैं गरी हिंड्थे नबोलिकन स्कुल नपुगुन्जेल ।

तर वरपरका उखुँबारीमा घाँसकाट्न जाने चिनेजानेका बुढीहरू उनीहरूका पछाडि यसरी कुरा काट्थे– 'लौ सकिएछ । लोप परेच, यिनीहरूका । हैन, केटा त कलिलै पो देख्चु त । केटी छिप्पिएकी रै'चे । केटीले पो सिकाएजस्तो छ, लोप अर्नलाई ।

अर्कीले भन्थी – 'हैन, यो चितुवा लुक्ने जङ्गलजस्ता उखुँका घनघोर घारीमा एकेक घण्टा हराउँदा रै'चन् केटाकेटीहरू । केके अर्दो हो, अर्दो हो । कसैकसैले त सुतेकै पनि देखेरे भन्चन् । आफूले देख्या होइन बरै । नदेख्या कुरो, आ... जे सुकैहोस् ।'

फेरि अर्कीले थप्थी – 'आ काखमा सुतेकी त कत्तिले देखेरे देखेरे भन्चन् । केटी नै उस्ती रै'चे, कैं नभाकी ।

केटा त बिचरा सोझा रै'चन् । केटी नै पो पात्तिएकी रै'चेनि हौ । केटा नमान्दा त जब्बरजस्ती तानेर लग्ने रे उखुँबारीतिर । घाँस अर्न आउँदा देखेकी रे माइली घर्तिनीले पनि । छ्या .., मर्न नसकेकी नकचरी ।

फेरि अर्कीले थप्थी – 'कुनदिन भाँडभेलो हुन्चन्, त्यो कार्की गाउँमा । वीरबहादुरले था पाए भने, बिचरा सोझा नरबहादुरका बासै उठ्चन् भाइ, बासै ।'

फेरि अर्कीले थप्थी –' वीरबहादुरको बुद्धि नभाकै हो । छिप्पेकी छोरीलाई कुमारी राखेर छोरोको बिहे अराउन के हत्तार भा हो कुन्नि ।'

'दाजुभाउजूकै कोठा छेउमै छन् रे, उनको पनि कोठा ।'

'होला ! होला ! काठको टाँड, काठैको खाट रातभरि बजेका सुन्दी हुन् । अमिलो देखेसी मुखमा पानी किन नआओस् । मुखमा मात्रै आए हुन्थ्यो नि, काँकाँ आउँचन् आउँचन् नि ।'

यसरी नै, उनीहरूका पछाडि कुरा काटेर मजाकको  बेलुन उडाइरहन्थे हावामा त्यो गाउँकी पात्तिएका बुढीहरू ।

+++  +++  +++ 

ऊ यसै  पनि पढ्नमा कमजोर थी । खासगरी म्याथ् र इङ्लिसमा निकै कमजोर थी ऊ । तेसैले पनि म्याथ् बनाउने बहानामा उ अशोकको घर आइरहने गर्थी । अनि अशोकले सकेको र जानेको मदत गरिदिन्थे उसलाई ।

उसलाई कुनै रोकटोक थिएन, उसको घरबाट अशोक घर आउनलाई । यसै पनि, उसको घर र अशोक घर डगर वारिपारि थियो । गाउँमा सबैलाई थाहा थियो, अशोक पढ्नमा एक जेहेन्दार विद्यार्थी हो भनेर । यो कुरा उसको बाआमालाई पनि थाहा थियो ।

तेसैले, ऊ म्याथ् सिक्न जाने बहानामा घरबाट आमालाई भनेर आउने गर्थी । ऊ घण्टौं बिताएर जाने गर्थी । यसरी घण्टौं बिताएर जाने क्रम्मा उसले आफ्नो यौनराप पनि सेलाएर जाने गर्थी अशोकसँग ।

अशोक पनि बाध्य हुन्थ्यो र उसको तिर्खा मेटाउनमा मदत् गर्ने गर्थ्यो । अगेनाछेउको सिसीमा राखेको नौनीघिउ न हो, नपग्ली रहन कहाँ सक्थ्यो र बिचरो ऊ पनि । उसले आफ्नो दाजुभाउजू सुतेको कुरा प्रायजसो अशोकलाई सबै सुनाउने गर्थी –

'हेरन, अशोक ! मेरो दाजु त अति नै गर्छ । म त सप्पैसप्पै थाहा पाउँछु । मलाई त निद्रै लाग्दैन । क्या टेन्सन् भएर आइसक्यो मलाई त । अनि म तिम्लाई सम्झिन्छु । तिमी त तेस्तो छैनौ है । छ्या ..., तिमी त स्लो छौ स्लो । साँच्चै स्लो । केटा मान्छे त यति स्लो हुनु राम्रो हैन नि, बुझ्यौ ।'

यसरी नै, उसा उत्तेजित् हुने कुराहरू सुनाएर, अशोकलाई उत्तेजित् गराई झ्याप्पै अँगाल्थी र उसको प्राइभेट् पार्ट्स् सुम्सुमाउन थाल्थी । आरनमा फलाम तातिएझैं अशोक तातिदै जान्थ्यो । अशोक तातिएपछि आफ्नो मतलबको गरम हतौडा हान्न लगाउँथी उमाथि ।

+++ +++ +++ 

अशोक वाक्क भैसकेको थियो । उसका यस्ता हरकतहरूदेखि ।

ऊ अशोकसँग म्याथ् सिक्न आएकी कुरा अशोकको बाआमालाई पटक्कै मन परिरहेका थिएनन् । कतिचोटी पछि हुन आउने संकटका बारेमा उसका बाआमाले अशोकलाई सम्झाइसकेका थिए ।

अशोक पनि यी कुरादेखि डराउँथे र सम्झाउँथ्यो उसलाई । तर ऊ एउटा कानले सुन्थी र अर्को  कानले उडाउँथी ।

ऊ पढाई पनि गर्थी र जिब्रोले स्वादलिएजस्तै गरी आफ्ना यौनस्वाद लिएर फर्कने गर्थी र भन्थी – 'अशोक किन तिमी संसारकै यति प्यारो लाग्छ मलाई । जब तिमी मलाई छुन्छौ तब आफू स्त्री हुनुको बोध हुन्छ । जब म आफू अस्तित्व हुनुको अनुभूति गर्छु । तब कताकता भित्र मनैदेखि कामवासनाको भोक लागेर आउँछ । त्यो भोक केवल तिमी मेटाउन सक्छौ मलाई ?' किन हो किन म संतुष्ट हुन्छु र तृप्त हुन्छु तिम्सँग । तेसैले, तिमी अबदेखि मलाई उसा होइन तृप्ती भनेर बोलाऊ है, अशोक ।'

साँच्चै भन्ने हो भने उसा अशोकभन्दा ३ वर्षले एजेड् थिई । यतिखेर अशोक १६ वर्षको थियो भने ऊ १९ वर्षकी एकमस्त पाकेकी गुलियो सलिफाझैं भएकी थी । तेतिखेर गाउँघरमा अझै खुलेर छोरीजात पढाउने संस्कारको विकाश भैसकेको नहुँदा उसले ढिलै स्कुल ज्वाइन् गरेकी थी ।

आफू कान्छो भएकै कारणले अशोकले जहिल्यै उसलाई दिदी भनेर बोलाउँथ्यो । तर उसले भने कुनै साइनो लगाउँदैन थी र नाम पनि काट्दैन थी ।

केवल, 'याँ आउनू, त्यो गर्नू, यो गर्नू, उ गर्नू' जस्ता शब्दहरूले सम्बोधन गरेर बोलाउने गर्थी अशोकलाई । तर अशोकले भने तपाइँ नै भन्ने गर्थ्यो उसलाई ।

एकदिन उसले अशोकलाई भनी – 'मलाई अबदेखि दिदी नभन्नू है ।' तेसदिनदेखि अशोकले पनि उसलाई उसा भन्न थाल्यो ।

'उसा हैन, आजदेखि म तिम्रो तृप्ति बनेकी छु । म तिम्रो जिब्रोबाट तृप्ति उचारण सुन्न चाँहन्छु । प्लिज, मलाई तृप्ति भनन अशोक" उसले अशोकलाई आफ्नो बाफिलो छातीमा कस्दै भनी ।

तेस दिनदेखि ऊ उसाबाट तृप्ति बनी ।

+++ +++ +++

एक दिन बाटोमा, अचानक उसले आफू गर्भवती भएकी कुरा सुनाई अशोकलाई । अशोकको सातोपुत्लो उड्यो ।

अशोक जे कुरामा डराइरहेको थियो, तेही भो आखिरीमा । अशोकको हातखुट्टा गल्न थाल्यो । शरीर तातेर आयो भरखरै आरनको फलाम झरिलो भई तातेजस्तै गरी ।

के गर्ने, कसो गर्ने भयो उसलाई । उसका आँखाहरूले राताराता आगोको फिलिङ्गो आकाशमा उडेझैं उडेको देख्न थाल्यो । पुर्पुरोमा हात राखेर खुइय्य गर्दै थुचुक्कै बस्यो आलीमाथि र भन्यो तृप्तिलाई –

'अब के गर्ने ?'

'इन्डिया भाग्ने ।'

'अहँ, नजाने इन्डिया ।'

घरमै बस्ने तेसो भए, जे होला होला । आजराती, आउँछु म भागेर । भाउजूलाई सप्पैसप्पै था'छ । मेरो पेट्मा बसेको बच्चा तिम्रै हो भनेर । अनि मैले, तिमीसँग भाग्ने कुरा पनि गरिसकेकी छु, भाउजूसँग ।'

यसरी तृप्तिले सासेस्वरमा, एकैसासमा आफ्ना सबै कुराहरू सकाई ।

अशोकले भने–'अनि, तिम्रो बाआमालाई नि ?'

'अहँ, दाजुभाउजूलाई था'छ, मात्रै ।'

 'उफ् ! लौ बर्बादै भो ।'

' केही हुन्न, तर बाआमादेखि डर छ मलाई । ऐले छुट्टिन्छु तिम्सँग अनि राती सँधै तिम्रै हुन आउँदै छु ।'

यतिभन्दै, अशोकको गालामा दुईहातले मुसार्दै मिठो चुम्बन् गरी उसले र तुरुक्क मायाको आँसु झारी  र छुट्टिए उनीहरू, बाइबाइ टाटा गर्दै ।

निकैबेरसम्म बाइबाइटाटा गरिरहे एकर्कामा । फर्किदै हेर्दै, उही बाइबाइ टाटा दोहरिइरह्यो । दोहरिरह्यो, केही बेरसम्म ।

बिस्तारैबिस्तारै उसका पाइलाहरू पछिपछि सर्दै ओझेल भई अशोकदेखि । जसरी गगनबाट धूमकेतु झरेर ओझेल हुन्छ । अशोक टोलाउँदै चारदोबाटोको पीपलको फेंदमा गएर टुसुक्क बस्यो । हजारौं प्रश्नहरू आफ्नै विरुद्ध उभिइरहेका देखे उसले आफ्नै अघिल्तिर ।

तर कुनै प्रश्नको उत्तर थिएन उसँग । चौतारा भएर हिंडिरहेका हावाले प्रश्न गर्दै थिए उसँग । सिङ्गो सर्पजस्तै बाङ्गिएका बाटाहरूले प्रश्न गर्दै थिए उसँग ।

पीपलका पातहरू हाँगाबाट छुट्टिएर उसका आँसु पुछिरहेका अनुभूति भयो उसलाई । दिउँसै निस्पट्ट अँध्यारोले छोपेका थिए उसका आँखाहरू । ठ्याम्मै देख्नै छाड्यो, उसका आँखाहरूले । अहँ, देख्दै देखेन केही पनि । उ केवल शून्य भयो र शून्यमा हरायो ।

बिलकुलै अँध्यारो दृष्टिविहीनझैं भएर ऊ थचक्कै बस्यो । केवल परेलीहरू खुला थिए उसका निला आकाशझैं ।

+++  +++  +++ 

तृप्ति त्यही दिन भाउजूसँग बिदा भएर अशोकको घर रातको ११ बजे पछाडिको ग्वालीहुँदै छायाँजस्तै गरी आई । अशोक पर्खिएर बसिरहेको थियो, उसलाई ।

अशोक र ऊ भेट्हुनेबित्तिकै अङ्कमाल गरे यसरी जसरी विपरीत ध्रुवका चुम्बकहरू एकर्मा टाँसिन्छन् ।

अशोकले उसलाई बिस्तारै बिरालोको चालमा टाँडमाथि आफूसुत्ने कोठामा लिएर गयो । अशोकका बाआमा, दाजुभाउजू सबैजना सुतिसकेका थिए । कसैले चाल पाएनन् ऊ आएकी ।

रातभरी गन्थन् गरे उनीहरू । यौवनको प्यास मेटाए यो चोटी भने तृप्तिले निर्धक्क भएर अशोकको अर्धाङ्गिनी बनेर । उनीहरूले पटकपटक मेटाए प्यास ।

त्यो पनि त यौटा प्यासै त त थियो । त्यो पनि त यौटा तिर्खा नै त थियो । त्यो पनि यौटा भोक नै त थियो । हो, भोकाएपछि खानुपर्छ । तिर्खाएपछि पिउनुपर्छ । उनीहरूले त्यही गरे । तिर्काएका थिए, पिए । भोकाएका थिए, अघाउन्जेल खाए ।

उनीहरू भोली कालीमाको मन्दिरमा गएर सिन्दूर हाल्ने योजना बुनिरहेका थिए । योजना के भन्नु वास्तवमा उनीहरू सपना बुनिरहेका थिए । त्यो पूरा हुनेवाला थियो भोली बिहानै ।

हुन त सम्भोगजस्ता चिजहरू कुनै नौला कुरा थिएनन् उनीहरूका लागि । उनीहरू पहिल्यैदेखि नै लोग्नेस्वास्नीजस्तै भैसकेका थिए । थिए त केवल वैधानिक, ऐन, कानुन र समाजबाट लोग्नेस्वास्नी हुन मात्रै बाँकी थिए ।

वश ! सपना, सपना नै रहे उनीहरूका । योजना योजनै रहे उनीहरूका ।

+++ +++ +++ 

भोलिपल्ट गाउँलेका एकहुल फौज आए ।

सिलौटोमा मसला पिसिरहेकी एक्कासी भान्साघरबाट छसातजना महिलाहरूले उसाको चुल्ठो बाबियोझैं समाती घिसार्दै बाहिर आँगनमा ल्याई भकुरेर नीलडामे र रगताम्मे पारे । जुल्फे र मुन्द्रे केटाहरूले पनि अशोकलाई भकुर्नु भकुरेर बेहोस् बनाए ।

मुन्द्रे र जुल्फे केटाहरू यसोभन्दै कुट्दै थिए – 'साला ऐ होइन तेरो, गरिखाने हतियार । ऐ, केटा हो ! फोर् यसको अण्डा ।'

गुण्डाहरूका बुट्का प्रहारले अण्डामा लागेका चोट्का झस्काले सपनीझैं झल्यास्स झस्किन्थ्यो अशोक अतीतका दृश्यहरूबाट । पुनश्चः उही पुरानै नोस्टाल्जिक् दृश्यमा डुब्थ्यो अशोक –

आँगनको बिचको मीयो समाती उसले आफूलाई कम्ति बचाउन कोसिस् गरेकी होइन ती दुष्ट महिलाहरूबाट ।

अझै, उसकी आफ्नै मामाले लात्तैलात्तले भकुर्दा ऊ लाचार भई रुदै र विलाप गर्दै भन्थी– 'अशोक मलाई बचाऊ न । अशोक मलाई बचाऊ न । मलाई मार्न लाग्यो कुटेर । तिम्सँग छुट्टिएर कसरी बाँच्नू म ।'

अशोक बिचोरो उआफैँ विवश थियो । नीलडामे र रगताम्मे भएको थियो ऊ पनि । बेलाबेलामा अशोक घिस्रीघिस्री, 'उसा ! उसा !' भन्थ्यो । उसले पनि फर्किफर्कि, अशोक ! अशोक !' भन्दा कम्ती माया लागेर आउँदैनन् थे ती रमिता हेर्ने गाउँलेहरूलाई पनि ।

हेर्दाहेर्दै उसालाई चितुवाले बाख्रा घिसारेझैं घिसार्दै लगे । उबाट उसा टाढाटाढा हुँदै गई । ऊ फर्कीफर्की लतारिएको शिर उठाउँदै भन्दै थिई, 'अशोक ! अशोक ! अशोकलाई केही नगर । अशोकलाई केही नगर ।'

ऊ केवल अपाइच् भएर रगताम्मे भएर हेरिरह्यो, केवल हेरिरह्यो उसलाई चितुवाले बाख्रालाई झैं घिसार्दै लगिरहेका दृश्य ।

अशोकका परेलीहरू हुँदै बगेका आँसुका ढिकाहरूले उसका नयनहरू जसरी धमिलो हुँदै गए, तेसैगरी उसा पनि उसका नयनहरूबाट ओझेल हुँदै गई ।

अशोक केही गर्न सक्दैन थ्यो र उसको वश पनि चल्दैन थ्यो । केवल पहाड्झैं उभिईरह्यो ऊ जिउँदो लास भएर । अविरल आँसु झर्नाझैं बगिरह्यो अशोकका दुई आँखाबाट ।

'फोर् यसको अण्डा' यो सम्वाद र अण्डामा लागेका चोट्का झट्का सम्झी अशोक बेलाबेलामा नराम्रो गरी झस्किरहन्थ्यो । ऊ यही सम्झी फेरि पनि झस्क्यो ।

तेसरी नै ऐना टुक्रिएझैं उसा अशोकको मुटुदेखि टुक्रिदै गई । ऊ आधा मुटुलिएर बाँच्न थाल्यो । उसा पनि उसैगरी अशोकसँग टुक्रिएको आधा मुटुलिएर उतै बाले बिहे तय गरेका केटासँग घरजम गरी दिनहरू काट्न थाली ।

यसरी बिहे गराउँदा उसको बाले निकम्मा कामै नलाग्ने जँडिया रोगी केटालाई आफ्नै घमण्डको कारणले आफ्नो तीन बिघा खेत दिई बिहे गराएका थिए ।

त्यस दिनदेखि माइती कहिल्यै आउँदै आईनन् उसा । उसले माइतीलाई पनि बिर्सी । उसले बाआमा सबैलाई बिर्सी । उसले आफू जन्मिने गाउँ बिर्सी । उसले सबैसबै यादहरू बिर्सी । उसले अशोकलाई पनि बिर्सी ।

अशोक अहिले पूरै अपाईच भएको छ । यौटा कानले सुन्दैन उसको । यौटा खुट्ट चल्दैन उसको राम्ररी ।   जहाँ गयो, जता गयो उसकै झझल्को आइरहन्छ उसलाई ।

अझै कहिलेसम्म सम्झिरहने हो, उसलाई ?

लाग्छ, यी घट्नाहरू भुल्नु भनेको अशोक र तृप्तिले उनीहरू आफैँलाई भुल्नु थिए । अर्थात् यो जिन्दगी, जिन्दगीदेखि नै मेटाउनु थिए, उनीहरूले एकले अर्कालाई ।

यसरी, वीरबहादुरको घमण्डलेगर्दा दुवैको जिन्दगी बर्बाद् भए र आफ्नो बदनामी पनि ।

उता वीरबहादुरको अत्याचार सहन नसकेर गाउँ नै छाडेर सर्लाही कर्मैयामा बसाईँ सरे नरबहादुर बिचरा । सुनेको थिएँ, अशोकका बाआमा बाउन्न सालको बाग्मतीले बगाएर लगेरे भन्ने ।

यता तृप्तिकी आमा पनि प्यारालाइसिस् भएर मरिन् । उसलाई कुट्ने मामा पनि सवारी दुर्घट्नामा परेर अकाल मृत्युको प्यारा भए ।

सुन्छु, वीरबहादुरको ज्वाईँ, मोतीलाल के.सी उसलाई बिहेगरेको तीन वर्षमै रक्सीकै कारणले फोक्सो गलेर मरेछ ।

तृप्ति बिचरीको पेट्मा लागेको चोट्को कारणले बच्चा खसाउँदा पाठेघरै फाल्नु पर्ने भएछ । अहिले तृप्ति कहिल्यै आमा बन्न नसक्ने भएकी छे र एक विधुवा रङ्हीन जिन्दगी बाँचिरहेछे ।

यता अशोक पनि कुटाइलेगर्दा वीर्य थैलीको नसा चेपिएर सन्तान जन्माउन नसक्ने भएको छ भने पागल भई उसैको यादमा भौतारिरहेछ । त्यही चौलिखा चौतारामा उसालाई पर्खिरहेछ । त्यो चौतारा उनीहरूका अतीतका तद्गम सङ्गम स्थान थियो । 

सोंचिरहेछु, कुनैदिन तृप्तिलाई भेटियो भने, यी दुवै दुःखीलाई मिलाउन पाए, मर्ने बेलाको पूण्य कमाइन्थ्यो कि, भन्ने सोंचिरहेछु ।

अँ साच्चि ! कसैले उसलाई देख्नु भयो भने, मलाई खबर गर्नूहोला । म अवश्य आउने छु,

यो थियो तप्ति र अशोकका मुटुछुने वियोगात्मक कथा ।