सभा र बैठक भर्चुअल : सञ्चालन संस्कार चाहिँ मञ्चभरि अटेस् मटेस् सभापति र अतिथिकै !

फर्केलान् र ती दिनहरू

सभा र बैठक भर्चुअल : सञ्चालन संस्कार चाहिँ मञ्चभरि अटेस् मटेस् सभापति र अतिथिकै !

हरिविनोद अधिकारी  |  साहित्य  |  असार २६, २०७८

के मानिसहरूको परिचय या पहिचान ध्वस्त भएर नयाँ विश्व प्रणाली कायम हुनसक्छ ? पहिचानको आविष्कार गर्ने पनि मानिस हो -आफैँले आफूलाई प्रश्न गर्न थाल्यो को हुँ, हामी को हौँ ? जे उत्तर फेला पार्‍यो ,  त्यसैलाई समुदायमा प्रसारित गर्‍यो । उसैलाई हामीले दार्शनिक भन्यौँ अनि समाजको अगुवा मान्यौँ । 

जसले उत्तर पाउँछ या उत्तरको आविष्कार गर्छ , मानिसको जसले  पहिचान सुरु गर्छ र त्यसैलाई अरूले पछ्याउँछन्, हामीले पछ्यायौँ । कुनै पनि कुरा सार्वभौम छैन तर हामीले नबनाएका कुराहरू चाहिँ शाश्वत हुन् । के  ठिक या के बेठिक भनेर सीमाबद्ध गर्ने पनि हामी हौँ र हामीले बनाएका विभिन्न समूहहरूका पनि फरक फरक मान्यताहरू छन् । कुनै मान्यताहरू लिखित रुपमा तयार गरेका छौँ त कति मान्यताहरूलाई चल्दै आएको परम्पराको रुपमा ग्रहण गरेर चलन चल्तीमा पाइन्छन् ।

सबैभन्दा पहिले वेद तयार भयो र जीवन जगतका धेरै कुराहरूको रहस्य खोतल्यो । तर पश्चिमाहरूले त्यसको भेउ नै पाएका थिएनन् । जब जानकारी पाए, अनि त्यसमा आफ्नो अस्तित्वको खोजी गरे, त्यसैलाई परिमार्जन गरे र जीवनको मापदण्ड तयार गरे । आज त्यो मान्न पश्चिमाहरू तयार किन भएनन् भने उनीहरूको जीवन र जगतको दृष्टिकोण समसामयिक रुपमा विनिर्माण गर्न सके ।

यसो नियाल्दा कतिपय कुरामा पूर्वभन्दा पनि आफ्ना सनातनी धारणामामध्य भाग र पश्चिमाहरूमा परिवर्तनका पक्षमा देखिँदैनन् र पनि उनीहरूमा विभिन्न समयका पुनर्जागरणको भेल आयो र त्यो भेलमा धेरै विषयहरू कति बगे, कति विनिर्माण भए जसको प्रभाव पूर्वमा पनि परेको स्पष्ट देखिन्छ र आज पश्चिमा दर्शनको बढी नै प्रभावको कुरा गरिन्छ ।

पूर्वमा यति धेरै विनिर्माण भएको छ कि पहिचानको सङ्कट आएको भनेर त्यसलाई कसरी पुरानो अवस्थामा लैजाने भन्ने चुनौती खडा भएको मान्नेहरूले नै विनिर्माणको पनि सीमा तोक्ने कुरा गर्छन् र परिवर्तनको भेललाई पछिल्तिर फर्काउने धृष्टता गर्छन् । तर विनिर्माणको विशेषता नै के हो भने जे जे बाटोमा फेला पर्छ, तिनलाई स्वीकार गर्दै नयाँ पहिचानको आधार खोज्ने हो । 

अहिले विश्व एउटा गाउँको रुपमा विकसित भएको छ र अन्तर देशीय आवत जावत यति धेरै हुन थालेको छ कि नेपालका मानिसहरू नै विश्वका कति देशहरूमा फिँजिएका छन् भन्ने यकिन गर्न सकिँदैन । कम्तीमा पनि १२० देशहरूमा फिँजिएका होलान् र प्रत्येक देशको आफ्ना आफ्ना विशिष्ट संस्कृतिहरू होलान् , ती संस्कार , प्रचलन अनि ऐन नियमसँग घुलमिल, आफ्नो बाँच्नुपर्ने अवस्थालाई परिस्थितिसँग समायोजन गरेर बस्नु पर्छ ।

तर बाध्यता के छ भने अन्तर मनले भने आफ्ना मान्यताहरूलाई सँगै लगेका हुन्छन्, तिनको पनि जगेर्ना गर्नुपर्छ । मेरो एउटा अनुभव यस्तो छ- २०६४ सालमो तिहारमा म संयुक्त राज्य अमेरिकाको वासिङ्टज राज्यको सियाटल सहरमा थिएँ। धेरै वर्ष भएको थियो कान्छी बहिनी  जगदम्बाको हातबाट टिका लगाएको । अनि कान्छी सानीमाकी छोरी बहिनी वन्दना कोइराला पनि उतै थिई, भाइ रोशनलाई भेट्न सियाटल नै आएकी किनभने भाइलाई टिका लगाउनु पनि जो थियो । 

भाइ टिका लगाउने दिन बहिनी पनि काममा जानु पर्ने, भाइ पनि काममा जानु पर्ने । मैले र बन्दनामात्रले टिका लगाउँदा भाइ पनि छुट्ने, जगदम्बा पनि छुट्ने भइयो । अनि नेपाली तरिकाले बिहान केही नखाई टिका लगाउने सम्भावना नै रहेन । अनि हामीले उनी बहिनी जगदम्बा र भाइ रोशन आएपछि साँझमा टिका लगायौँ । एकातिर प्रचलन पनि हामी छोड्न सक्दैन थियौँ भने प्रचलनअनुसार बिहान केही नखाई बसेर, व्रतालुको रुपमा यम र यमी दाजु बहिनीको पूजा गरेर दाजु भाइको दीर्घायुका कामना गर्नु पर्ने थियो र टिका लगाउनु पर्ने थियो । तर समय सापेक्षको सिद्धान्तअनुसार परिस्थितिको विनिर्माण गरियो । साँझमा नै टिका लगाइयो । न त प्रचलन छोड्न सकियो, न प्रचलनलाई यथावत् नै कायम राख्न सकियो ।

समयमा सुरु नहुने । अनि आफ्नै संस्थाका मानिसहरुलाई पनि अतिथि भनेर सम्मान गर्ने । भर्चुअल माध्यमबाट गर्नु भन्दा पहिले या सभाको व्यवस्थापन गरेको बेलामा कम संस्थाहरुले मात्र आवश्यक ४ या ५ मानिसहरुलाई मञ्चमा राखेर समयमा कार्यक्रम गरेका हुन्छन् । नत्र भने करिब ५० जनाको उपस्थिति छ भने पनि ४० जना जत्तिलाई मञ्चमा बोलाएर राख्ने ।

समय र परिस्थितिअनुसार प्रत्येक चाल चलनमा यस्तै गर्नु पर्ने बेला भएको छ । न्वारनको बेलामा भिडियोमार्फत नेपालमा नै कर्मकाण्ड गरेर नाउँ राख्ने संस्कार गरिएको छ समुद्रपारका परिवारसँग । कस्तो अमेरिका या युरोपको चलन भने बच्चा जन्मने बित्तिकै उसको नामकरण गरिनुपर्छ जन्म दर्ताका लागि । हामीले समय चलन अनुसार र नेपाली परम्परागत चलनअनुसार कसैको ५ दिनमा नामकरण होला, कसैको ६ दिन या ७ दिनमा होला, अनि हाम्रो धेरै जसो खस आर्य परिवारहरूमा छोरीको १० दिनमा र छोराको ११ दिनमा न्वारन गरिन्छ ।

खस आर्य परिवारहरूकै वैदिक रीतिअनुसार अन्य समूहको पनि नामकरण हुन थालेको छ यदि हिन्दु परिवारका हुन् भने । बौद्ध धर्मावलम्बीहरू पनि विविधता छ । इस्लाम धर्म र इसाई धर्म मान्नेहरूको पनि आफ्नै आफ्नै चलन छन् र खास गरी अस्पतालहरूमा या इसाई धर्मका मानिसहरूले जन्मँदै के नाम राख्ने भन्ने निर्णय गरेका हुँदा रहेछन् जसले गर्दा अस्पतालहरूमा नामकरण राखेपछिमात्र बच्चा जन्मेको प्रमाणपत्र दिने होला । मेरा परिवारका पनि भाइ श्रीवत्स र बुहारी सुनिताको छोराको जन्मने बित्तिकै नामकरण गरिएको रहेछ पछि वैदिक विधिअनुसारको न्वारन गरिएको थियो ।

मेरी बहिनी जगदम्बा र ज्वाईँसाहेब कोविद दाहालका छोरा छोरीहरूको मेरा भान्जी आर्या र भानिज आश्विनको पनि अस्पतालमै हुँदै नामकरण गरिएको रहेछ । अझ भानिज आश्विनको त कस्तो भयो भने उनी सियाटलमा जन्मिएपछि मेरो पिताजीको नेपालमा देहावसान भयो नेपाली चलनअनुसारको न्वारन नभएर नै । सूतक र मृत्यु परम्परामा ठुलो मानिसको जुठो समाप्त नभई न्वारान या अन्य कुरा गर्न नपाइने हुनाले पिताजीको १३ दिनको काम सिद्धिएपछि मात्र न्वारन भयो । एकातिर परम्परा हामीसँगै हुन्छ र समय पनि हामीसँगै टाँसिएर बसेको हुन्छ । परिस्थितिजन्य अवस्थाको कसरी समाधान गर्ने ? आपद् धर्मलाई कसरी सम्बोधन गर्ने भन्ने पनि हाम्रै सबै संस्कृतिले सिकाएका हुन्छन् किनभने संस्कार जहिलेदेखि सुरु भएको भए पनि त्यसको विनिर्माण परिस्थितिले गराइसकेको हुन्छ । समाज शास्त्रीय व्याख्याले पनि भन्छ- मानिस सामाजिक प्राणी हो र उसले समाजका कसरी घुलमिल हुने र समाजलाई कसरी नेतृत्व गरेर चलेको चलनलाई विनिर्माण कसरी गर्छ भन्ने पनि दर्साएको हुन्छ । 

चलेको चलनमाथि प्रश्न गरिँदैन किनभने त्यसको उत्तर खासै पाउँदैनन् जिज्ञासुहरूले । जसले प्रश्न गर्न सुरु गर्छन् र चलनको विवेचना गर्न थाल्छन्, तिनले या त त्यो चलन मौनता साथ मान्दैनन्  या चित्त बुझेमा झन् मान्न थाल्छन् । तर औसतमा प्रश्न उठाउने र स्पष्टीकरण माग्नेहरूलाई के समस्या पर्छ भने खासै जबाफदेही पक्ष नै हुँदैन । केही कुरामा सीमित जबाफ दिएपछि भन्ने के हो भने खोइ ,मैले पनि सुनेको हो, मानिरहेको छु । अनि जब चेतनशील मानिसले कारण बुझ्न खोज्यो, अनि लिखित प्रमाणहरू तयार गर्न थालियो । समाज र त्यसका सदस्यहरूका लागि जीवन बाँच्ने मापदण्ड तयार पारियो अनि त्यसैलाई कसैले पालना गरे नगरेका स्वतः अनुगमन गर्नका लागि समाज नै तयार भयो ।

संविधान बने, कानुन बने, नियम बने र कतिपय कुरामा त दण्डको समेत व्यवस्था गरियो । तर समयको अन्तरालमा धेरै कुराहरूमा विनिर्माण हुँदै गएको देखिन्छ जसलाई हामीले समसामयिक परिवर्तन भनेर मानेका छौँ र स्वीकार पनि गरिरहेका छौँ । ती चलन कसरी तयार भए भन्ने त अहिले कुनै प्रमाण नपाइएला तर विनिर्माण हुने बेलाचाहिँ हाम्रो बेलामा आयो भन्ने प्रत्येक पुस्ताले भन्ने गरेका छन् किनभने समाजमा प्रत्येक पुस्ताले आफूलाई परिवर्तनको बाहक मान्ने गर्दछन् ।

संसारमा ईश्वरको अस्तित्व मान्नेहरूको सङ्ख्या अत्यधिक छ भनिन्छ तर त्यो सत्ताका लागि कुनै ठोस आधार छैन र पनि त्यो अदृश्य शक्तिको सत्ताका लागि हाम्राबिचमा युद्धसमेत भएका छन् र आज पनि ईश्वरीय शक्तिमा कसको ईश्वरलाई कसले बढी मान्यता दिने भन्ने कुरामा पनि विवाद देखिन्छ जबकि ईश्वरीय सत्ताको बारेमा भने विवाद त हुन्छ तर त्यसलाई नकार्न कसैले सक्दैन । सामान्यतः चल्दै आएका चलनहरू प्रकृति पूजकहरूका लागि समेत ईश्वरीय आधारमा उभिएको पाइन्छ किनभने त्यहाँ पनि प्रकृतिको शक्तिप्रति नतमस्तक हुँदै अत्यन्त विश्वास गरिएको हुन्छ । 

संसारमा जहाँ पनि भूत प्रेतप्रति आफ्ना आफ्ना तरिकाले विश्वास गरिएको छ, त्यसलाई निशा चरको रुपमा गणना गरिएको छ । हाम्रा कतिपय लोककथाहरूमा भूत र प्रेतले लखेटेको हुन्छ र बिहान पख भन्छ-ल आजलाई बाँचिस्, उज्यालो हुन लागेकोले आजलाई छोडेँ । अझ भनिन्छ आगोसँग ती निशा चर डराउँछन् । महाभारतमा धेरै त्यस्ता प्रसङ्गहरू आउँछन् जस्तो कि रातको बेलामा नै हिडिम्बासुर र भीमको विवाद भएको थियो र उसले भन्थ्यो- यो हामी विचरण गर्ने एकान्त वनमा, त्यो पनि हाम्रो समय राती किन आएको ? विवाद यसरी अघि बढ्यो कि हिडिम्बासुरलाई भीमले मारे । पछि महाभारतमा पनि जब रातको समयमा कौरव फौजले आक्रमण गरे, रातका लागि युद्ध गर्ने कला राक्षसमा मात्र हुने हुनाले घटोत्कचलाई आह्वान गरियो र उसले अदम्य साहसका साथ लडेकोले र कौरव सेनाको तह नहस पारेकाले कर्णले कौरव सेना र युवराज दुर्योधनसमेतको इहलीला समाप्त हुने देखेर अमोघ अस्त्र प्रयोग गरी मारेका थिए । 

स्मरणीय के छ भने आफ्नो जन्मसिद्ध कबच र कुण्डल दान दिए पछि इन्द्रले वर माग्न भने । कर्णले पनि ५ ओटा अमोघ अस्त्र मागेका थिए पाण्डवहरुलाई मार्नका लागि । पछि कुन्तीले त्यो थाहा पाएर छोरा कर्णलाई आफ्नो परिचय दिँदै आमाको इच्छा पूरा गर्नका लागि अनुरोध गरिन् र ती अमोघ अश्त्र मागिन् । तर  कर्णले तिम्रो छोराहरुमध्ये अर्जुन मरे पनि या म मरे पनि पाँचको पाँच बाँच्ने छन्, त्यसैले अर्जुनलाई मार्नका लागि एउटा अस्त्र राख्नु भनेर राखेको थियो । तर दुर्योधनको आदेश पाएपछि बाध्य भएर घटोत्कचलाई त्यो अस्त्र प्रयोग गरियो ।

यसमा पनि के बुझिन्छ भने अर्जुनलाई बचाउनका लागि त्यो बाध्यता उत्पन्न गराइएको थियो रे । अनि युधिष्ठिरलाई राज्य सञ्चालनको ज्ञान दिँदा भीष्म पितामहले भनेका थिए-रातीको पहिलो प्रहर र अन्तिम प्रहर मानिसहरुका लागि हो , बाँकी बिचको दुई प्रहर निशाचरहरुका लागि विचरण, शिकार र मनोरञ्जनका लागि । त्यो बेलामा उनीहरुलाई कुनै अवरोध नगर्नू । यक्ष , गन्धर्व, राक्षस, भुत, प्रेत जस्ता निशाचरहरुको समयमा पनि राजाको आफ्नो भूमिमा हुने अपराधका वारेमा निष्पक्ष न्याय गर्ने हक हुने बताएका थिए भीष्म पितामहले ।

हाम्रा लोककथाहरुमा भुतले जे पनि गर्न सक्छ, तीमध्ये वीर मसान बलबान हुन्छ , अरु भुतहरु पनि बलबान हुन्छन् भन्ने छ । कसैले देखेको छ कि छैन तर भुत प्रेत पिशाचको अस्तित्व समाजमा व्याप्त छ । डर लाग्छ राती हिँड्दा । छैन भन्ने विश्वास दिउँसभरि मात्र रहन्छ उज्यालोबेलामा तर जब रात पर्छ किन हो नयाँ ठाउँ होस् कि पुरानो ठाउँ डर लाग्न थाल्छ । झन आफ्नो स्थानीय ठाउँमा, या गाउँमा त पहिले सानादेखि नै तर्साउनको डर त्रास देखाइकोले एक्लै हिँड्नु पर्दा डर लाग्छ । यो परम्परागत त्रास हो , देखिएको हुँदैन । मलाई लाग्छ संसारमा प्रत्येक समाजमा यसप्रकारको भय हुन्छ अव्यक्त भय । परम्परागत भय । संस्कारजन्य भय । त्यसको वस्तुगत आधार त हुँदैन तर डर कता कता लागिरहेको हुन्छ । यो सामाजिक मनोविज्ञानलाई चेतनाले मात्र हुँदो रहेनछ भन्ने आजको समाजमा अनुमान गर्न सकिन्छ । 

प्राचीनकालमा जब लिपि नै थिएन , सबैकुराहरु श्रुतिका आधारमा, स्मृतिका आधारमा निरन्तरता दिइन थालियो, विभिन्न ठाउँमा विभिन्न समूहरु थिए र उनीहरुका बिचमा पनि कुनै सम्पर्क थिएन । जो जहाँ छ, उनीहरुले के थाहा पाएका थिएनन् भने अरु पनि हामीजस्तै मानिसहरु कतै होलान् , अरु ठाउँको समेत अस्तित्वका वारेमा जानकारी थिएन जस्तो कि हामी अहिले धेरै विकासक्रम छिचोलेर एक्काइसौँ शताब्दीमा आउँदा पनि हामीलाई अरु ग्रहमा कोही प्राणी छन् या छैनन् , उनीहरुको अस्तित्वका वारेमा जानकारी छैन ।

जब जब हामी ती ग्रहमा पुग्यौँ या पुग्ने क्रममा अनुसन्धान भइरहेको छ, केही पुराना मान्यतामा परिवर्तन भएको त छ तर खासै कुरा थाहा पाउन हामी विचरण गर्न सकिरहेका छैनौँ । जहाँ पानी हुन्छ , वादल हुन्छ , त्यहाँ हामीले पृथ्वीमा भन्ने गरेको अक्सिजनको मात्रा हुनुपर्छ भन्ने अनुमान गरेका छौँ तर कसैले पनि प्रमाणित वा अप्रमाणित गर्न सकेका छैनौँ । अर्थात् खगोलका वारेमा पनि हामीले कतिपय कुरामा मिथककै आधार लिइरहेका छौँ । सूर्य ग्रहण वा चन्द्र ग्रहण हुने अवस्थाका वारेमा त केही वैज्ञानिक आधार समेटेका छौँ । ग्रहहरुको वा ताराका नामहरु कसरी कुन आधारमा राखियो होला भन्ने हाम्रो पूर्वीय मान्यता र आधुनिक खगोलशास्त्रीहरुको अनुसन्धानसंग खासै मिल्दैन तर हिजो कुनै समयको खगोलीय गणना, अनुसन्धान र गणनाका कुराहरु वा वृहस्पति या शुक्रको उदयका  वारेमा जुन किंवदन्ति छन् , हामीले अहिले पनि मानेका छौँ र प्रकृति पूजाका लागि पूर्णिमाको ब्रत लिन्छौँ , ग्रहणका बेलामा खासगरी सूर्य ग्रहणका बेलामा हामी राहुलाई गाली गर्दै भन्थ्यौँ - छोड्दे राहु सूर्यलाई ।

अनि सूर्य ग्रहण र चन्द्र ग्रहणमा सुतक लाग्छ भने खानपिन बन्द गरिन्थ्यो र घरमा भएको पानी घरमा पकाएका खानेकुराहरु फालिन्थ्यो । त्यो परम्पराबाट आएका हामीहरुले अब थाहा पाएका छौँ ग्रहणका बेलामा आउने विकिरणले पृथ्वीको पर्यावरण र मानव स्थास्थ्यलाई प्रत्यक्ष हानि गर्छ । त्यसबाट बच्नु पर्छ । हाम्रा पुर्खाले भने-यो यो राशिका मानिसहरुले ग्रहण हेर्नु हुँदैन । यदि हेर्न मिल्नेले हेर्न पनि कुवामा हेरेर वा बाक्लो लुगाले आँखामा बेरेर हेर्नू । पछि अहिले त विभिन्न उपायद्वारा त हेरिन्छ र टेलिस्कोपको माध्यमबाट पनि हेरिन्छ । 

संस्कार र समाजका वारेमा पछि पनि आफ्ना अनुभवहरु राखौँला । अहिले मेरो मनमा लागेको एउटा कुरा हो सभाको सञ्चालन प्रक्रिया । सामान्यतया अहिलेको कोरोना कहरमा दृश्यका आधारमा सभा सञ्चालन गर्न थालिएको छ र प्रख्यात तरिका भएको छ जुम माध्यम । भर्चुअल भेटघाटको व्यवस्था । कसैले मेसेन्जरमार्फत् त कसैले गुगल मिटिङ्मार्फत् । त्यसमा पनि सभापतिको आसन, अनि अतिथि आसन ग्रहणको बोझिलो पारा ! कार्यक्रममा समयमा नआउने अनि त्यो मानिस यदि कार्यक्रम समापन हुने बेलामा कम्प्युटर वा मोबाइलको स्क्रिनमा देखियो भने आसन ग्रहण गराइहाल्ने ?

समयमा सुरु नहुने । अनि आफ्नै संस्थाका मानिसहरुलाई पनि अतिथि भनेर सम्मान गर्ने । भर्चुअल माध्यमबाट गर्नु भन्दा पहिले या सभाको व्यवस्थापन गरेको बेलामा कम संस्थाहरुले मात्र आवश्यक ४ या ५ मानिसहरुलाई मञ्चमा राखेर समयमा कार्यक्रम गरेका हुन्छन् । नत्र भने करिब ५० जनाको उपस्थिति छ भने पनि ४० जना जत्तिलाई मञ्चमा बोलाएर राख्ने ।

कार्यक्रम समापन हुँदा सम्म आधाभन्दा बढी मानिसहरु हिँड्ने । आफ्ना कुरा राख्ने अनि हिँड्ने । अरुका कुरा नसुन्ने । कस्तो परम्परा देखियो भने विषयमा समेत प्रवेश नगरी आफ्ना मनोगत कुराहरु राख्ने अनि हिँड्ने । यसमा कसरी सुधार गर्ने होला ? थाहा छैन । मैले अन्तराष्ट्रिय सम्मेलनहरुमा त्यस्तो देखिन । तोकिएका व्यक्तिहरुको मात्र उपस्थिति हुन्छ, कसले के बोल्ने पहिले नै जानकारी हुन्छ । हुन त नेपालमा पनि त्यो अभ्यास गर्न थालिएको छ तर पनि नेपाली पारा देखिन्छ अनि मञ्चमा बोलाएर आसन ग्रहण गराउने चलन अत्यधिक छ ।

मैले २०११को अक्टुबरमा भारतको राजधानी दिल्लीमा सूचनाको हकसम्बन्धी भारतको राष्ट्रिय सूचना आयोग र प्रादेशिक सूचना आयोगहरुको संयुक्त रुपमा आयोजना गरिएको वार्षिक समारोहमा भाग लिने मौका पाएको थिएँ । उद्घाटन सत्रको प्रमुख अतिथि हुनुहुन्थ्यो तत्कालीन भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंह । र समापन समारोहमा हुनुहुन्थ्यो तत्कालीन लोकसभाकी सभामुख मीरा कुमार । मञ्चमा जम्मा ५ जनामात्र थिए ।  प्रमुख अतिथि, अध्यक्षता गर्ने राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त, कार्यपत्र प्रस्तोता , समीक्षक अनि कार्यक्रम सञ्चालक ।

समय तोकिएको थियो कार्यक्रम प्रस्तोतालाई २० मिनेट, समीक्षकलाई १० मिनेट, प्रमुख अतिथिलाई १० मिनेट, अध्यक्षता गर्ने सभापतिलाई ५ मिनेट । समारोहको मुख्य काम सम्पन्न ।अनि बन्द सत्रमा पनि पहिले नै नाम दिनु पर्ने र कार्यपत्रका वारेमा केन्द्रित हुने । आफ्नो प्रदेशका प्रतिवेदनहरु पहिले नै केन्द्रमा पठाइएको थियो र त्यसको संक्षिप्तरुपमा वितरण गरिएको थियो ।

हामी पर्यवेक्षकहरुले कुनै जिज्ञासा छ भने कुन प्रदेश वा केन्द्रका वारेमा सोध्ने हो, बढीमा १ मिनेटमा आफ्ना जिज्ञासा सोध्नु पर्ने थियो । कार्यक्रम प्रस्तोताले र कार्यक्रम सञ्चालकले ती प्रदेशका प्रमुख आयुक्त या आयुक्तलाई इंगित गरेर संक्षिप्त उत्तर दिन लगाउँथे । अनि मलाई लाग्यो, मञ्चभरि अटेस मटेस अतिथि बोलाएर राख्नु त नपर्ने रहेछ त । बेलैमा उद्घाटन सत्र र समापन सत्र सम्पन्न भएको थियो समयमा नै सुरु भएर, तोकिएको  समयमा नै । हामी त अहिले भर्चुअल बैठकमा पनि आसन ग्रहण गराउन थालेका छौँ । अझ अन्तराष्ट्रिय समारोहमा त तोकिएको  व्यक्तिले मात्र बोल्ने, आफ्नो केही  कुरा छ भने  च्याटमा सोध्ने   । बस भयो अनि ।  
क्रमशः