पीपलसँगै बर, पीपलुको छायामुनि मायालुको घर

पीपलसँगै बर, पीपलुको छायामुनि मायालुको घर

यमबहादुर दुरा  |  लोकरञ्जन  |  बैशाख २०, २०७६

समय प्रवाहमय छ । समयको सतत् प्रवाहमा लोकजीवनका धेरै पाटा ओझेलमा पर्दैछन् । सँगसँगै नवीनतम् पाटाहरू नयाँ रूपरंगमा दृष्टिगोचर हुँदैछन् । अहिले डिजिटल चौतारीको उभार आएको छ । डिजिटल चौतारीमा थकाइ मार्ने, गफगाफ गर्ने, नयाँ साथीसंगी–दौंतरीहरूसँग भेटघाट गर्ने क्रम बढ्दो छ । अहिले सोसल मिडिया डिजिटल चौतारीका रूपमा देखा परिरहेका छन् । 

डिजिटल चौतारीले बलवान् समयको साथ पाएर स्वर्ण युगतर्फ उन्मुख छ । तर, हाम्रा बाउबाजेले बनाएका वास्ताविक चौतारी अधपतनतर्फ उन्मुख छ । माकुराको जालो जस्तो गरी बनेका मोटरका बाटोले चौतारीलाई बिरानो बनाउँदै लगेको छ । अब नयाँ चौतारी बन्ने सिलसिला धेरै हदसम्म अन्त्य भएको छ । भएका  धेरैजसो चौतारी मर्मत–सम्भार अभावमा जीर्ण हुँदै गएका छन् ।  भएका चौतारी पनि बटुवा, खेताला–गोठाला र भरियाको अभावमा शून्य र निष्प्रण बन्दैछन् । 

विगतमा चौतारी लोकजीवनको अभिन्न अंग थियो । ‘चोरलाई चौतारो साधुलाई सूली’ भन्ने उखानले सामाजिक मनोविज्ञानका साथै चौतारीको महत्वलाई दर्साउँछ । चौतारीमै कहचरी बसिन्थ्यो, त्यही न्याय–निसाफ छिनिन्थ्यो । चौतारी भेटघाट र जमघटको उर्वर थलो थियो । ‘यो मायाले गरेन वास्ता, चौतारीको छेवैमै बस्दा’ जस्ता गीतले यही वास्तविकतालाई प्रष्ट पार्छ ।

देउरालीमा पीपलु चौतारी, पाइनँ मैले हितैको दौँतरी’ । यो गीतमा पीपलु चौतारीको प्रसंगलाई ‘पाइनँ मैले हितैको दौँतरी’ भन्ने सन्देश प्रवाह गर्नका लागि मात्र अघि सारिएको देखिन्छ । धेरैजसो नेपाली लोकगीत अन्त्यानुप्रासयुक्त हुनाले अन्त्यानुप्रास मिलाउनका लागि मात्र यहाँ ‘देउरालीमा पीपलु चौतारी’ को प्रसंग आएको छ । 

विगतमा चौतारी बहुउद्देश्यीय जमघट–स्थल थियो । बटुवा, खेतला–गोठाला र भरियाले चौतारीमा थकाइ मार्थे । उनीहरूबीच एकआपसमा वार्तालाप हुन्थ्यो । एकआपसमा मनको वह पोखिन्थ्यो । स्थानीय जनजीवनसँग जोडिएका घटनाक्रमबारे सूचना आदानप्रदान हुन्थ्यो । विगतमा चौतारी विश्रामस्थल वा आश्रयस्थलमात्र नभएर सूचना केन्द्र पनि थियो ।  अल्लो गाउँ पल्लो गाउँका बासिन्दा र चेलीबेटी माइतीको सूचना आदान–प्रदान गर्नमा चौतारीको भेटघाटले ठूलो भूमिका खेल्थ्यो । 

धर्मभीरु नेपाली समाजमा चौतारीको बेग्लै महत्व छ । बनाउँदा पूण्य मिल्छ भन्ने आममान्यता छ । विगतमा पूण्यात्माहरूले ठाउँ ठाउँमा चौतारी बनाउँथे । त्यसमा वरपीपलको बोट सार्थेे । वरलाई बेहुला र पीपललाई बेहुली बनाएर विवाह गरिदिन्थे । सानोतिनो भोजभतेरको चाँजोपाँजो मिलाइन्थ्यो । चैत–वैशाखको याममा बटुवाका तिर्खा मेट्न घैंटामा चिसो पानीको व्यवस्था गरिन्थ्यो । चौतारी संस्कृतिमा जोडिएको वरपीपलको प्रसंगलाई लिएर अनेकन् लोकगीत रचिएका छन् । ‘पीपलसँगै वर, पीपलुको छायामुनि मायालुको घर’ गीतलाई दृष्टान्तको रूपमा लिन सकिन्छ । गीतको यो हरफले चौतारी र ग्रामीण जीवनको अन्तरसम्बन्धबारे जीवन्त तस्बिर उतारेको छ ।  

वरपीपलको गाथा यतिमै सकिँदैन । हिन्दू धर्ममा वरपीपलको निकै महत्व छ । पूजापाठमा वरपीपलको पात अनिवार्य मानिन्छ । देवात्मा, अश्वत्थ, वृक्षराज आदि नामले परिचित पीपलको वृक्षमा देवताको बास हुन्छ भन्ने मान्यताले गहिरोसँग जरो गाडेको छ । यही मान्यतामा आधारित भएर कतिपय देवीदेवताका थान पीपलमुनि स्थापित छन् । पीपलको बिरुवा सार्दा र पीपलको वृक्षलाई दाहिने पारेर घुम्दा शुभ घडी आउँछ मान्यता पनि उत्तिकै बलियो छ । ‘डाँडैमा पीपल सारेर, भेट हुन आउनू है मायालु त्यही पीपल दाहिने पारेर': यो गीतले यही वास्तविकता उजागर गर्छ । 

चेतनशील प्राणी हुनुको नाताले मृत्युचेत मानिसमा प्रबल छ । मृत्यु उसका लागि सबैभन्दा ठूलो सत्य पनि हो । हरेक व्यक्तिमा मृत्युचेत भए पनि कसै यो चेत धेरै नै बढी हुन्छ । हाम्रा बूढापाकाहरूले आफ्नो मृत्युको तिथिमिति मिलाउँथे भन्ने भनाइ पनि गाउँघरमा सुनिन्छ । चौतारीमा सारिने पीपलको पीपलको वृक्षलाई बिम्ब बनाएर मृत्युचेतबारे गीत रचिएका छन् । ‘अहिले साल मरिन्छ क्यारे ओइलायो राम्दीमा पीपलु’ लाई यसैको दृष्टान्त मान्न सकिन्छ । 

चौतारी संस्कृति र यससँग जोडिएका विविधबारे असंख्य गीत भेटिन्छन् । तर, ती गीत सग्लो रूपमा छैनन् । चौतारी संस्कृतिलाई मात्र केन्द्रमा राखेर गीत रचिएको भने त्यति पाइँदैन । अहिलेसम्म भेटिएका गीतले आंशिक रूपमा मात्र चौतारी संस्कृतिलाई छोएको पाइन्छ, जस्तै: ‘देउरालीमा पीपलु चौतारी, पाइनँ मैले हितैको दौँतरी’ । यो गीतमा पीपलु चौतारीको प्रसंगलाई ‘पाइनँ मैले हितैको दौँतरी’ भन्ने सन्देश प्रवाह गर्नका लागि मात्र अघि सारिएको देखिन्छ । धेरैजसो नेपाली लोकगीत अन्त्यानुप्रासयुक्त हुनाले अन्त्यानुप्रास मिलाउनका लागि मात्र यहाँ ‘देउरालीमा पीपलु चौतारी’ को प्रसंग आएको छ । 

धेरैजसो अंग्रेजी गीत कुनै खास विषयमा मात्र केन्द्रित भएर बनाइएका हुन्छन् । उदाहरणका लागि कुनै हिमाल, नदी, ताल आदिमा सिंगो गीत समर्पित हुन्छन् । नेपाली लोकगीतमा यस्तो परम्परा नभएको होइन । तर, एकदम कम छ । कुनै निश्चित विषयमा केन्द्रित भएर गीत बनाउने परम्परामा वृद्धि हुन आवश्यक आवश्यक छ । यसो भएमा चौतारीलगायत असंख्यमा विषयमा गाथामूलक गीत तयार हुन सक्थे । 

चौतारी संस्कृति कति पुरानो हो, यसको लेखाजोखा गर्न सहज छैन । यतिसम्म भन्न सकिन्छ, यो हजारौं वर्ष परम्परा हो । यसलाई नेपाली लोकगीतले कति गहिराइका साथ समेटेको छ, यसबारे विशद् अध्ययन हुन बाँकी नै छ । गहन खोज अनुसन्धानपछि मात्र लोकगीत र चौतारी संस्कृतिको अन्तरसम्बन्धबारे धेरै पक्ष पटाक्षेप हुन सक्छ । अहिलेलाई यति नै ।