अन्तरिक्ष पर्यटन र व्यापारको ढाेका खुल्याे : पहिलो सैरको जस ब्रिटिस अरबपति ब्रेनसनलाई

अन्तरिक्ष पर्यटन र व्यापारको ढाेका खुल्याे : पहिलो सैरको जस ब्रिटिस अरबपति ब्रेनसनलाई

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  असार २८, २०७८

 थ्री इडियट फिल्ममा प्रोफेसर वीरू सहस्रबुद्धे (वमन इरानी)  क्लासमा सोध्छन् -चन्द्रमामा पुग्ने पहिलो मानिसको नाम के थियो ?

समवेत स्वरमा जबाफ आउँछ- नील आर्मस्ट्रांग र बज एल्ड्रिन।

प्रोफेसर पुनः सोध्छन् - चन्द्रमामा पुग्ने दोस्रो तेस्रो व्यक्तिको थिए ?

क्लासबाट कुनै उत्तर आउँदैन।

सहस्रबुद्धे जीवनमा पहिलो हुने आवश्यकता बारे प्रवचन दिन्छन्। आफ्नो किसिमको लाजबाब फिल्म थियो 'थ्री इडियट' भन्नुमा अतिशयोक्ति हुन्न ।

एवं रूपले मैले तपाईँ पाठकहरूसँग अन्तरिक्षमा पुग्ने पहिलो व्यक्ति को थिए भन्ने प्रश्न गर्ने हो भने अधिकांशले जबाफ दिनु हुनेछ रसियन यूरी गागरिन (Yuri Alekseyevich Gagarin )।  तर फिल्मका प्रोफेसर झैँ दोस्रो तेस्रो व्यक्तिका बारे सोध्ने हो भने शायद अधिकांश पाठकको हालत क्लास झैँ हुनसक्छ।

तर यही प्रश्न कुनै अमेरिकनलाई सोध्ने हो भने उसले हठात् जबाफ दिन्छ एलन शेपर्ड  (Alan Shepard )।  अमेरिकनले जान ग्लेन (John Glenn)  को पनि नाम भन्छ यिनी अन्तरिक्षमा पुगेर पृथ्वीको परिक्रमा गर्ने पहिलो मानिस जो थिए। एलन शेपर्ड अन्तरिक्षमा पुग्ने दोस्रो मानिस थिए।

कुनै भारतीयलाई यूरी गागरिन र एलन शेपर्डको नाम थाहा नभए पनि राकेश शर्मा र कल्पना चावलाको नाम थाहा हुन्छ। राकेश शर्मा अन्तरिक्षमा पुग्ने पहिलो भारतीय थिए भने कल्पना चावला अन्तरिक्षमा पुग्ने भारतीय मूलको पहिलो भारतीय महिला थिइन।

अक्टोबर  ४, सन १९५७ पृथ्वीका लागि विशेष दिन थियो। शायद पृथ्वी वासी होमोसेपियन्सको जीवनमा आगोको खोज अथवा उत्पत्ति भए यता भएका केही महान् खोज अथवा आविष्कार मध्येको एक (वाष्प इन्जिन, बिजुली, पदार्थ-ऊर्जा रूपान्तरण, टेलिस्कोप आदि 'लिप जम्प' थियो मानव निर्मित कुनै वस्तु पृथ्वीको गुरुत्वाकर्षणको प्रबल आकर्षणबाट मुक्त भई अन्तरिक्षमा पुगेको ।

रुसको स्पुतनिक १  यसै दिन अन्तरिक्षमा पुग्न सफल भएको थियो। त्यस यता अन्तरिक्ष विज्ञान अथवा अन्तरिक्ष यात्रामा अनेकौँ माइल स्टोन स्थापित भएका छन्।  मानिस पृथ्वी बाहेक अन्य कुनै सेलेस्टिकल बडी (चन्द्रमामा पुगेको ) मा मात्रै पुगेको छैन।  उसका यान  सौर्य मण्डलका अनेकौँ अन्य ग्रह-उपग्रह-क्षुद्र ग्रहको धरातलमा ओर्लिसकेका छन् ।  सुरको निकट मात्रै होइन इन्टरस्टेलर स्टेट भन्दा पारी-२२ अर्ब किमी टाढा भोयगार १ र भोगयर २) पुगी सकेका छन्।  करोडौँ  किमी टाढा रहेका क्षुद्र ग्रहमा ओर्ली त्यहाँबाट नमुना सामाग्री पृथ्वीमा ल्याउने सफलता प्राप्त भई सकेको छ।

मानव निर्मित टेलिस्कोप अन्तरिक्षमा जडान गरिएर (हब्बल टेलिस्कोप) अरबौँ प्रकाश वर्ष टाढाको अध्ययन अनुसन्धान भइरहेको छ । अर्को अति उन्नत अन्तरिक्ष टेलिस्कोप जेम्स वेभ (James Webb Space Telescope) प्रक्षेपण हुने चरणमा छ। चन्द्रमा र मङ्गल ग्रह त  मानौँ विकसित देशको फुटबल मैदान नै बनी सकेका छन्। पृथ्वीदेखि झन्डै ४०० किमीमाथि अन्तरिक्षमा स्थापित 'इन्टरनेसनल स्पेस स्टेसन' प्रत्येक ९० मिनटमा पृथ्वीको परिक्रमा गरिरहेको छ।  विभिन्न किसिमका, विभिन्न उद्देश्यका साथ अन्तरिक्षमा पठाइएका हजारौँ भू उपग्रह (सेटे लाइट) अन्तरिक्षबाटै पृथ्वीवासीको  मनोकाङ्क्षा पूर्ति गरिरहेका छन् ।  अब एक दुई दिन प्रेमिका बिना बिताउन त सकिन्छ होला तर सेटे लाइट बिना बिताउन सम्भव छैन। तपाईँले हेर्ने टिभी, प्रयोग गर्ने इन्टरनेट-मोबाइल-नेभीगेसन-मौसम सम्बन्धी सटीक अनुमान-फेसबुक ट्विटर आदि सबै सेट लाइटकै वरदान र महिमा हुन।

हिजो ११ जुलाई सन २०२१ पृथ्वीवासीका लागि यस्तै एउटा अपूर्वभुत दिन बन्न पुग्यो। ब्रिटिस अरबपति व्यापारी तथा इन्टरप्रेनर रिचर्ड ब्रेनसन (Sir Richard Charles Nicholas Branson -born 18 July 1950) आफ्नै स्पेस कम्पनी  भर्जिन गलेक्टिक  (Virgin Galactic) द्वारा निर्मित रकेट तथा यानबाट अन्तरिक्ष यात्रा गरी फर्के। पृथ्वी, समुद्र, हवामा पहिलादेखि नै परिवहनको कार्य गर्दै आई रहेका ब्रेनसन ले ११ जुलाई देखि स्पेस ट्रैभेल को व्यावसायिक श्री गणेश गरे।

नेपाली समयानुसार ११ जुलाई सन  २०२१ आइतबारका दिन ब्रेनसनले  राति ८ बजेर २५ मिनेटमा पृथ्वीबाट अन्तरिक्ष यात्रा सुरु गरी १ घण्टा १२ मिनेटसम्म अन्तरिक्ष यात्रामा रही राति ९ बजेर २७ मिनेटमा पृथ्वी फर्के । उनको यो यात्रा झन्डै ८८ किमी माथि अन्तरिक्षसम्म पुगेको थियो। यस उचाइमा भारहीनता को अनुभव (झन्डै झन्डै जिरो ग्रेभिटी)  हुन्छ।

खोलियो अन्तरिक्ष पर्यटनको ढोका-ब्रेनसनको अन्तरिक्षमा पुग्नु कुनै नौलो कुरा होइन।  उनीभन्दा पहिला ४१ देशका ५७० जनाले अन्तरिक्ष यात्रा गरिसकेका छन्। यी ५७०  मध्ये १२ जनालाई पृथ्वीको सिमाना पारी चन्द्रमासम्म पुग्ने सौभाग्य मिल्यो भने २४ जनालाई पृथ्वीको तल्लो सिमाना (लो अर्थ आर्बिट) पार गर्ने सौभाग्य मिलेको छ।  'लो अर्थ आर्बिट' को सिमाना पृथ्वीदेखि झन्डै २ हजार किमी माथिसम्म रहेको छ। अहिलेसम्म अमेरिकन बाहेक अन्य कुनै पनि देशका नागरिक ले 'लो अर्थ आर्बिट' पार  गरेका छैनन् । अमेरिकी अभियान अपोलोका एस्ट्रोनाट बाहेक कसैले पनि 'लो अर्थ आर्बिट' पार गरेका छैनन्। अर्थात् अहिलेसम्मका ५७० जनामा २४ जना अमेरिकन बाहेक अन्य सबै अन्तरिक्ष यात्रीले बढीमा ४०० किमीमाथि सम्मको यात्रा मात्रै गरेका छन्।

ब्रेनसन शायद ५७१ (६ जनाको ग्रुप, ५७१ देखि ५७६ नम्बर सम्मका अन्तरिक्ष यात्री) नम्बरको अन्तरिक्ष यात्री हुन पुगेका छन्। थ्री इडियट फिल्म का प्रोफेसर सहस्रबुद्धेको भनाइ मान्ने हो भने पहिलो नम्बर पछि दोस्रो नम्बरमा हुनेलाई त इतिहासले याद राख्ने जमर्को गर्दैन भने ५७१ नम्बरका ब्रेनसनलाई कसले र किन याद राख्छ होला ? जीवन र जगतको गणित सहस्रबुद्धेले भने झैँ सोझो सरल र सूत्रबद्ध हुने भए सजिलो हुन्थ्यो तर क्वान्टम फिजिक्सको उत्पत्ति भए पश्चात् आइडेन्डिटी भन्ने कुरा नै गौण भयो।

ब्रेनसन व्यापारी हुन इन्टरप्रेनर हुन।  ५७१ नम्बरका अन्तरिक्ष यात्री बनेका उनी केही दिन भित्रै ७१ वर्षका हुन गइरहेका  छन् । यो पनि गजब कै संयोग हो उनी विश्वको ५८९ नम्बरमा पर्ने अरबपति हुन । तर ब्रेनसन ५७१ नम्बरका अन्तरिक्ष यात्री भए पनि मानव इतिहासले उनलाई बिर्सन सक्दैन।  कारण व्यावसायिक रूपमा अन्तरिक्ष यात्राको ढोका खोल्ने व्यक्ति बन्न पुगेका छन् ब्रेनसन। उनको 'स्पेस'  कम्पनीले अन्तरिक्ष यात्रा गराउने व्यापार गर्न गइरहेको छ।  विश्वका ६०० भन्दा बढी व्यक्तिले उनको कम्पनीसँग अन्तरिक्ष यात्रा गर्ने बुकिङ गराई सकेका छन्। अनुमानित ४-५ करोड खर्च गरेर जो कोही पनि उनको कम्पनीको फ्लाइट मार्फत अन्तरिक्षको सैर गर्न सक्छ।

विश्वका एक र दुई नम्बरका धनाढ्य अरबपति जेफ बोजेस र एलन मस्क पनि अन्तरिक्ष यात्राको व्यापारमा छन् ।  बोजेसको कम्पनी ब्लू ओरिजिन  र एलनको कम्पनी स्पेसएक्स यस प्रतिस्पर्धामा सामेल छन्।  बोजेस आफै आफ्नो कम्पनीको फ्लाइटबाट २० जुलाईमा अन्तरिक्षको सैर गर्न जाँदैछन्।  तर ब्रेनसनले ९ दिन अगावै अन्तरिक्षमा पुगेर बेजोसलाई पछि पारिसकेका  छन्।

महत्त्वाकाङ्क्षी एलन मस्क चन्द्रमासम्म कै यात्रा गर्ने र गराउने तैयारीका साथै मङ्गल ग्रहको यात्राका निमित्त लागिपरेका छन्। अर्का जापनिज अरबपति  Yusaku Maezawa विश्व भरीबाट ७-८ जनालाई आफ्नै खर्चमा चन्द्र यात्रामा लाँदैछन्।  

अन्तरिक्षलाई पर्यटनको क्षेत्र र व्यापार क्षेत्र बनाउने कार्यका लागि ब्रेनसनलाई लामो समयसम्म याद गरिन्छ। ११ जुलाई सन २०२१ देखि अन्तरिक्ष  पर्यटनका लागि -व्यावसायिक उडानका लागि खोलिएको छ । सन्  २०२२ देखि प्रत्येक साता ८-१० जना व्यक्ति अन्तरिक्ष यात्रामा जाने छन्। बिस्तारै यो सङ्ख्या बढ्दै जाने छ।  अन्तरिक्ष पर्यटनका अनेकौँ ढोका खोलिने छन्।