एमालेभित्रको वितण्डाको मूल जड: कसले राख्छ अक्षम अध्यक्ष ‘शान्त’ राख्ने हैसियत ?

एमालेभित्रको वितण्डाको मूल जड: कसले राख्छ अक्षम अध्यक्ष ‘शान्त’ राख्ने  हैसियत ?

अनुरोध शर्मा  |  दृष्टिकोण  |  श्रावण ४, २०७८

करिब दुई तिहाइ बहुमतको शक्तिशाली प्रधानमन्त्रीका रूपमा ३ वर्षअघि सत्तारोहण भएका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ५ वर्षे कार्यकाल पूरा हुन नपाई सत्ताबाट बहिर्गमन भएको छ । 

गत आमनिर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेर निर्वाचनमा झण्डै दुई तिहाइ मत हासिल गरेपछि यी २ पार्टीबीच एकता घोषणा भई एकताको प्रक्रिया सुरु भयो । पार्टीलाई २ अध्यक्ष प्रणालीमा लगेर दुईवटै पार्टीका ‘लोभीपापी’ नेतृत्वले नेकपा नामको जहाज उडाउने घोषणा गरियो । जहाज त उडाउने तर २ अध्यक्षले २ तिरै मोड्न खोज्ने भयो लामो समयसम्म । हुँदाहुँदा प्रधानमन्त्रीमा आधाआधा समयको भागबण्डा पनि अघोषित रूपमा ‘भद्र सहमति’मार्फत गरिएको रहेछ ।

खड्गप्रसाद ओली ‘म त तमोरको पानी पूर्व फर्किएर खाएको पो हुँ त’ भन्ने अनि प्रचण्ड ‘मैले पनि देशका धेरै मूलको पानी चाखेको पो छु त’ भन्ने भयो । दुवैका जुँगाले ‘स्वाभिमान’ खोज्न थाले । पार्टी सत्ता र राज्य सत्ता दुवै आफैँले राखेर ‘लौ यहाँ बस शान्तले’ भनेर अर्का अध्यक्ष प्रचण्डलाई गुन्द्री ओछ्याइदिएपछि यतिका वर्ष भूमिगत राजनीति गरेर, १० वर्ष मारमुङ्ग्री गरेर आएका प्रचण्डको स्वाभिमानले कसरी सहन सक्थ्यो ?

आखिर प्रचण्ड ओलीलाई ‘पछार्ने’ खेलमा लागे । करिब डेढ दशक एमाले सत्तामा हालिमुहाली गरेका माधव नेपाल पनि जोडिए प्रचण्डसँग ‘ओली पछारौँ’ अभियानमा । यसको परिणाम (दुष्परिणम ?) राम्ररी कसिनै नपाई विभाजित बन्यो नेपाल कम्युनिस्ट पार्टी । नेकपा विभाजनले खासै ठूलो माने राख्दैनथ्यो ओली सत्तालाई तर जब माधव नेपालको नेतृत्वको असन्तुष्ट भनिएको एमालेभित्रकै शक्तिशाली खेमाले नै टेको हल्लाउन थालेपछि भने ओलीको केही जोर चलेन ।

यसका लागि ओलीसँग हारगुहार गर्ने होइन, ओलीकै खेमाका अन्य जिम्मेवार नेताहरूले अब ओलीलाई शान्तसँग बस्न सुझाउनुपर्छ, सुझावले नमाने दबाब दिन सक्नुपर्छ तर तिनमा ओलीलाई दबाब त के सामान्य सुझाव दिने हैसियतसम्म छ जस्तो लाग्दैन ।

अन्ततः यदुवंशीको नियतिमा पुग्यो एमाले । लामो समयदेखि पार्टीमा लगानी गरेका, नेपाली राजनीतिका विभिन्न कालखण्डका आन्दोलन र अभियानमा पाकेका नेताहरूलाई ओलीकै शब्दमा ‘पुक्क लात्ताले हानेर’ ओलीले एमाले र सरकार पनि संकटमा पुर्‍याए । यसमा माधव नेपाल खेमाका नेताको अहं र प्रतिशोध त थप ऊर्जा बनिहाल्यो ।

कुर्सीभन्दा बाहिर रहन नसक्ने ‘बानी’ लागेका माधवलाई यतिका वर्ष पार्टी र सरकारका कुर्सीबाट अलग भएर बस्न कसरी संभव हुन्थ्यो र ? अनि निकै लामो समय माधव पार्टी नेतृत्वमा रहँदा किनारबाट हेर्दै र्‍याल चुहाएर चित्त बुझाउनुपरेको नियति ओलीले कसरी भुल्न सक्थे ? हो, यिनै हुन् एमालेभित्रको वितण्डाका मूल जड ! 

यिनै जडलाई व्यवस्थापन गर्न नसक्नु ओली र नेपालको पनि समस्या हो र यही समस्याका कारण प्रस्ट बहुमतको आफ्नै सरकार पनि गुम्यो, पार्टी पनि तहसनहस भयो ।

यसबीच दुवै पक्ष आफूलाई ‘भद्र’, ‘इमान्दार’, ‘पार्टीभक्त’, ‘एकताका पक्षधर’ देखाउन सक्दो प्रयास गरिरहेका छन् । तर, लोकले दुवैका कोखमा दाह्रा देखिसकेको छ भने दुवैका लगौँटीमा परेका प्वाल पनि नियालिरहेको छ ।

वास्तवमा यी दुवै खेमा, ओली र नेपाललाई न पार्टीको माया छ, न देशप्रतिको जिम्मेवारीबोध अथवा न त जनताप्रतिको दायित्वबारे नै ज्ञान छ । यिनीहरूका काम, सोच, अभिव्यक्ति र व्यवहार हेर्दा गाउँघरमा विशेष चाडपर्वमा लाग्ने मेलामा जाँडले मातेर जुवा खेलिरहेका २ पक्षबीचको विवादमा हुने संवाद र व्यवहार जस्तो लाग्छ ।

र, यस्ता नेताहरू देखेर उनीहरूका कार्यकर्ता, एमालेमा आस्था राख्ने जनसाधारणहरू समेत चकित छन् । मर्ने विकल्प नभएर बाँचिरहेको जस्तो नियतिमा छन् एमालेका कार्यकर्ता आज । एमालेका साधारण मतदातामा समेत वितृष्णको पहाड उठेको छ । ‘५ वर्षका लागि ढुक्कले सरकार चलाउँछन्’ भन्ने सोचेर दिएको मतको अपमान नेताहरूबाट भएको गुनासा आइरहेकै छन् ।

यिनै पृष्ठभूमिमा कहिले ओली खेमाले माधव खेमालाई त कहिले माधव खेमाले ओली खेमालाई ‘कारबाही’को नाटक गर्ने, फेरि कारबाही ‘फुकुवा’को नौटंकी गर्ने क्रम जारी छ ।

आज बसेको एमाले केन्द्रीय कमिटीको १०औँ (१३औँबाट फर्किएर १०औँमा झरेको) बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा विश्वासको मत हाल्ने माधव नेपाललगायत २२ जना सांसदलाई २४ घन्टे प्रस्टीकरण सोध्ने निर्णय गरेको छ । यो प्रष्टीकरण, कारबाही र चेतावनी त केटाकेटीको ‘आन, पान, सुपारी, अड्डी, हड्डी, कट्टी’ जस्तै मात्र देखियो । यसको न कुनै माने छ वा न कुनै महत्त्वपूर्ण प्रभाव नै रहन्छ तर पनि यस्तो ‘खेल’ दुवै पक्षले खेल्दै आएका छन् ।

यी सबै कुराका पछाडिको सन्दर्भ भने अबको केपी ओलीको यात्राको हो ।

केपी ओली आजका मितिमा नेपाली राजनीतिमै निरीह पात्र बनेका छन् । २०५० सालयता कुनै न कुनै रूपमा नेपाली राजनीतिमा चर्चा बटुल्दै आएका ओली २०७२ सालमा नयाँ संविधान जारी गरेपछि रिसाएको भारतले लगाएको नाकाबन्दीताका निकै चर्चित र प्रिय पनि बने । उनको ‘भारतविरोधी’ अडानलाई आमनेपालीले समर्थन गरे । उनी ‘राजनेता’सम्म भनिए । ‘राष्ट्रवादी’को पगरी त अझै गुथिरहेकै छन् ।

तर, यो ४ वर्षको अवधिमै केपी ओली टुप्पाबाट भुइँमा झरे । नराम्ररी पछारिए र बचेखुचेको साख अनि इमान पनि सिध्याए ।

ओली प्रधानमन्त्रीबाट त अवधिभन्दा डेढ वर्षअघि नै बाहिरिए तर अबको परिदृश्यले उनलाई एमाले पार्टी अध्यक्षका रूपमा पनि सजिलो छैन । पार्टीलाई यसरी छिन्नभिन्न बनाउनुको दोष आखिरीमा आउने ओलीलाई नै हो । अध्यक्ष भनेको अभिभावक हो, नेता हो, अध्यक्षले पार्टीमा सबैलाई मिलाएर राख्न नसक्नु अक्षमता हो । यही अक्षमताले उनको नेतृत्वको सरकार त ढल्यो नै, अब पार्टीको हविगत पनि धरासायी हुने अवस्था आउन दिनुहुँदैन ।

यसका लागि ओलीसँग हारगुहार गर्ने होइन, ओलीकै खेमाका अन्य जिम्मेवार नेताहरूले अब ओलीलाई शान्तसँग बस्न सुझाउनुपर्छ, सुझावले नमाने दबाब दिन सक्नुपर्छ तर तिनमा ओलीलाई दबाब त के सामान्य सुझाव दिने हैसियतसम्म छ जस्तो लाग्दैन ।

लामो समयको इतिहास बोकेको र नेपाली राजनीतिमा धेरै घामपानी सहेर, लडेर, जुधेर आएको एमालेको सशक्तता, सक्रियता, एकता र प्रभावकारिता देश र जनताका निम्ति अझै आवश्यक छ । एमाले कमजोर हुनु देश र जनता कमजोर हुनु पनि हो । पटक पटक सत्ताको अनुभव लिएको, नेपाल र नेपालीको आवश्यकता र अवस्था थाहा पाएको एमाले आन्तरिक किचलोमा रुमलिएर अहिले मूलमार्गभन्दा बाहिर गइरहेको छ । यसलाई पुनः सही मार्गमा, लिकमा हिँडाउनुपर्ने आवश्यकता छ । यस्तो आवश्यकता अब केपी ओली र माधव नेपालका बुताबाट संभव छैन । 

नयाँ सोच, नयाँ अवधारणा, नयाँ संकल्प र योजना भएका पुराना, नयाँ पुस्ताको बल र करबाट मात्र अबको एमालेले पुनर्जीवन पाउन सक्छ । तर, विष्णु रिमाल, विष्णु रिजाल, सूर्य थापा जस्ता ‘पिँध नभएका लोटा’ तथा अवसरवादी अनि अनियमितताका धुरन्धरहरूलाई भने अब पार्टीमा स्थान दिँदा एमालेले सोच्नुपर्नेछ ।

अबको एमाले शुद्धीकरण अभियानमा जानुपर्छ । शुद्धीकरणभित्रै आफैँभित्रका ‘फोहोर’ फाल्ने, दूषित र प्रदूषित मानसिक विकारयुक्त तत्त्वहरूलाई पाखा लगाउने, असल, भद्र, इमान्दारहरू, जो किनारीकृत भएर अपमानपूर्ण जीवन बिताइरहेका छन्, उनीहरूलाई मूलधारमा ल्याएर सम्मानसाथ स्थान दिने काम एमालेको अबको नेतृत्वले गर्न जरुरी छ ।

र, पुनः हेक्का राख्न जरुरी छ कि यी काम केपी ओली र मात्रव नेपालबाट भने संभव छैन ।