'दास'हरूले राखेनन् प्रश्न गर्ने हैसियत, 'बा'हरूले सोचेनन् सन्ततिको भविष्य

असतो मा सदगमय

'दास'हरूले राखेनन् प्रश्न गर्ने हैसियत, 'बा'हरूले सोचेनन् सन्ततिको भविष्य

कैलाशकुमार सिवाकोटी  |  दृष्टिकोण  |  श्रावण ६, २०७८

गाली गर्दैन सारङ्गी
झूटो बोल्दैन बाँसुरी 
छ सङ्गीत तिमीभित्र 
मीठो बोल सधैँभरि ।
- राष्ट्रकवि माधवप्रसाद घिमिरे

अहं र स्वाभिमान, निरङ्कुशता र अनुशासनबीच ठूलो खाडल छ । यी दुई विपरीत धु्रव हुन् । आपसमा फरक छुट्याउन असमर्थ हुँदा अहंले विजय हासिल गर्छ । त्यतिखेर उडान त्यहाँ हुन्छ, सुरक्षित अवतरणका लागि धर्ती मासिइसकेको हुन्छ । यही हो सनकी शासकहरूको समाप्तिको बाटो । त्यतिखेर इमान, जमान, नैतिकता निख्रिसकेको हुन्छ, रहन्छ एउटै हतियार-गालीगलोज, सत्तोसराप ।

सुनेको, कतै पढेको थिएँ- पुष्पलाल श्रेष्ठ खाना खाँदा एक सितो पनि खेर जान दिँदैनथे । खाना पस्कनुपूर्व र खाना खाइसकेपछिको थाल छुट्याउन हम्मेहम्मे पथ्र्यो उनको । समकालीन र सहयोद्धा ‘कामरेड’हरू भन्ने गर्थे- ‘कामरेड, तरिका त यस्तो पो त, खाना एक सितो पनि फ्याक्नुहुन्न, कति किफायती ! हामीले उहाँको यो असल बानीलाई अनुकरण गर्नुपर्छ ।’

समय खेल हो, विचारमा भिन्नता, स्वार्थमा धक्का आदिको कारण पार्टी पनि बरमझियाको पेडा पसल जस्तै बन्दै गयो । कामरेडहरूले व्यवहारमा मासुभात शैली अपनाए पनि सिद्धान्तमा माक्र्सवादको नाममा आआफ्ना दुकान दर्ता गरी चलाउन लागे  । हिजोको भलाद्मी, सञ्जन, इमान्दार पुष्पलाल अन्ततः दुर्जन, खन्चुवामा अनुवाद भए, लालगद्दारको पगरीले सुशोभित बन्न पुगे । ‘एक सितो भातसमेत नछाड्ने यस्ता लोभीले पनि पार्टी चलाउँछन् ? अझ देश अर्थात् सत्ताकै बागडोर यिनको हातमा गयो भने झन् कति, कसरी हसुर्लान् ?’ यी र यस्तै टिप्पणी हुन थाले ।

अहिले पनि विशेषतः ‘देब्रे’ पार्टीका नेताहरूले यस किसिमको  व्यापार÷व्यावसाय गर्न खप्पिस छन् । स्वार्थ पाउलिञ्जेल अकल्पनीय आकाशका तारा झार्ने मायाप्रीति अनि स्वार्थमा चिसोपना आएपछि दाह्रा झार्ने सनातन धर्ममा कुनै परिवर्तन छैन । हिजो जुन मूल्य, मान्यता चाहियो भन्दै बाहरू लडे, लडाए, आज त्यही आदर्श क्षतिविक्षत भएको छ । बाहरू नवराणा, नवराजामा अनुवाद भएका छन् । जायज तर्कहरू गालीको भाषाबाट घाइते बन्ने क्रम जारी छ । 

गाइदेऊ, पाइदेऊ, खाइदेऊ जमात त आउँछ, बा भन्छ, फकाउँछ, चिप्लोचाप्लो धस्छ, मख्ख पार्छ, फुस्ल्याउँछ, आफ्नो स्वार्थ कुम्ल्याउँछ अनि बाटो लाग्छ । त्यति गर्नु तिनको धर्म नै हो तर यसो अलिअलि आस गरेका, थोरबहुत अनुहार परेका पनि बासँग प्रत्येक पाइलामा सती जानु विडम्बना नै हो । के विवेक, बहस, छलफल गर्ने परिपाटीको मृत्यु भएकै हो ? तर्क र प्रश्नको युग समाप्त भएको हो ? चन्द्रशमशेरले भनेको दासयुगको अन्त्यको कथा झूठा हो ? व्यवहारले भन्छ- धेरै हदसम्म सही हो ।

अहिलेसम्मको तस्बीरले समग्रमा नेपाललाई राजनीतिको प्रयोगशाला वा खेल मैदान बनाइयो भन्नुमा अन्यथा नहोला । मुहानलाई फोहोर राखेर हामीले राजनीतिमा यतिविघ्न प्रयोग वा अभ्यास गर्‍याँै, सायद यस्ता खेल विरलै देख्न पाइन्छ । 

पटकपटकका अभ्यासबाट पनि मुलुकमा अपेक्षित र गुणात्मक विकास, उन्नति, प्रगति फलेन । जनताको फुस्स मुहार हरियालीमा अनुवाद हुन सकेन । किन ? सहायक कारणको लस्कर नै होला तर मूल कारण हो- परिवर्तनको आधार गाली संस्कृति !

अर्कालाई ताछेपछि वा खुइल्याएपछि आफू उत्तम ताछिएको पात्र खत्तम भन्ने मनोवृत्ति बडो जब्बरसाथ हामीसँग टाँसिएको छ । हामीले आफूबाहेक बाँकीलाई धारे हात लगाउन बाँकी छैन । पृथ्वीनारायण शाहले त सुख पाएनन्, बाँकीको के गति होला र ! 

यसको अर्थ काम नलाग्ने पात्रहरू र प्रवृत्तिलाई शिरमा बोक्नुपर्छ भन्ने आसय होइन । जे छ, जस्तो छ, त्यही आकृतिमा उतारी असल पक्षलाई स्थापित र दुर्जन प्रवृत्तिलाई बिस्थापित गर्न सकेको भए आज मुलुक र मुलुकवासीको अनुहार र पहिचान पृथक् हुने थियो । 

राजनीतिक परिवर्तनको चक्रलाई हेर्दा छोरा, नाति, पनाति जन्मँदै श्री ३, जर्नेल, कर्नेल...का अंशियार, अतः राणा शासन मूर्दावाद ! प्रजातन्त्र अशान्ति, असुरक्षा, लुटपाट, आन्तरिक कलह उब्जाउने कारखाना, अस्थिरताभित्र मुलुकको राजनीति ! त्यसपछि पंचायत र राजाको पालो, सराप्न थालियो- ‘जहाँ राजा, त्यहाँ सबै स्वाहा !’

फरक विचारलाई जन्मन, हुर्कन र खेल्न निषेध, वंशीय परम्परामा छोरा, नाति, तिनका भाइभारदारको मात्र भविष्य ! अब बहुदलीय शासन प्रणालीले गज्जब गर्छ । पुनः २०४६ सालको परिवर्तनपछि भनियो- ‘यो व्यवस्थाले खसीको टाउको झुण्ड्याउँछ र कुकुरको मासु बेच्छ ।’ यी र यस्तै भाका हाल्दै देशको नयाँ नक्सा कोर्न तत्कालीन नेकपा (माओवादी) सशस्त्र युद्धको खेतीतिर प्रवेश गर्‍यो । ओडार र भण्डारबीचको लखड्याम बोलीवचनमा सीमित रहेन, सक्नेले भौतिक रूपमा नै सिध्याउने दिशामा रूपान्तरित भयो । यसको थप पुराण हालिरहनु नपर्ला । 

वंशविनासपछि ‘खोपीमा बस्नू’ भनी बनाइएका राजालाई लाग्यो- ‘बिगार्ने, भत्काउने यिनै दल हुन् । मैले नसम्हालीकन उपाय छैन ।’

जनतालाई भने- ‘जहाँ दल, जहाँ नेता, त्यहाँ मनलाग्दी रजाइँ, दाइँ । यो पाराले चल्दैन, म टुलुटुलु हेरेर बस्न सक्दिनँ । जे गर्छु, म गर्छु ।’ 

अन्ततः उही पुराना, म्याद गुज्रिसकेका, परीक्षण भइसकेका पात्रलाई पछाडि लगाए र आफू अगाडि सरे । अब आफ्नै खैरियत धरापमा पर्ने भएपछि यता ओडारे र भण्डारे एउटै जुवामा नारिँदै गर्जिए- ‘देशको हरिबिजोगको सम्पूर्ण जिम्मा अढाई सय वर्षको राजतन्त्रको थाप्लोमा जान्छ ।’

लिखितम् अर्थात् करारका लागि छिमेकी भूमि र उही पात्र हाबी भयो । हेर्दाहेर्दै दाहिने, देब्रेको अगुवाइमा राजतन्त्र झोलीतुम्बीसहित नागार्जुनतिर लाग्न बाध्य भयो । दलहरूले फेरि गीत गाए- ‘अब हामी गतिला आएका छौँ, मुलुक सिङ्गापुर बन्छ, जापान बन्छ, स्विट्जरल्याण्ड बन्छ, दायाँबायाँ नगरी ढुक्क भए हुन्छ । राजतन्त्र अब सदाको लागि नफर्कने गरी बाटो लागिसकेकोले चाउरिएको देश पाउलिन्छ, फल हाल्छ, स्वाद हालीहाली चाख्न पाइन्छ । संघीयताले अहिलेसम्मको देश र जनताको रोग सर्लक्कै निको पार्छ ।’

गाली संस्कृतिबाट स्थापित परिवर्तनलाई पृथक् राख्ने ल्याकत नहुँदा वर्तमान पनि उही नियतिमा जिउन बाध्य छ । परिवर्तन पछाडिको कारण र त्यसपछि के भन्ने प्रश्न हामीसँग भए भए नांगो निजीकरणको सिकार भृकुटी कागज कारखाना, जनकपुर चुरोट कारखाना, बाँसबारी छालाजुत्ता उद्योगलगायतले हुुनुपर्ने थिएन । 

गाली होइन, काम हाम्रो पहिचान बन्थ्यो । मुख चलाएर होइन, हात चलाएर, खुइल्याउने चिन्ताबाट होइन, बनाउने चिन्तनमा सबैको भविष्य थियो र छ । जंगबहादुर भन्यौँ, सराप्यौँ, चन्द्र र जुद्धशमशेर मूर्दावाद भन्यौँ ।  शाह वंशलाई त अहिले पनि बाँकी दच्काइराखेका छौँ । उनीहरूका राम्रा, असल, धारणयोग्य शिक्षा हामीलाई अपच भयो, पच्यो त उही गालीगलोज, काटमार, हत्या, हिंसा । त्यसैले हामी एकातिर नयाँ युगका जंग, चन्द्र, जुद्ध ... हौँ ।  अर्कोतिर भूपीले भनेजस्तै  क्यारेम बोर्डका गोटी हौँ । भाले मेवा हौँ, फल्छौँ भनी झुक्याउँछौँ मात्र तर कहिल्यै फल्दैनौँ । 

गालीगलोज शासन व्यवस्था परिवर्तनको आधार मात्र होइन, पछिल्लो चरणमा प्रायः घरका खराब ‘बा’हरूले आफूलाई सुरक्षित गर्न÷गराउन आफ्नै वा विपक्षीमाथि प्रहार गर्ने अस्त्रको रूपमा पनि विकसित हुन पुग्यो । 

‘लाल गद्दार’, भाषाशैली घुमिफिरी पुनः बार्दलीसम्म आइपुग्दा पनि हामी सन्ततिहरू अनुशासनको नाममा दासको भूमिकामा छौँ । हाम्रो  प्रश्नयुक्त आलोचनात्मक चेतको मृत्यु भइसकेको छ- ‘बा ! अब पनि अगाडिको बाटो यस्तै नै हो भने मुलुक, हाम्रो र सन्ततिको भविष्यमा आगो झोस्ने कार्यमा सहभागी हुन सक्दैनौँ ।’ बडो दुःखका साथ भन्नुपर्छ- ‘माफ गर्नुहोस् बा ! अब हामी साथमा रहन नसक्ने भयौँ !’ भन्ने सामथ्र्य सकिएको छ । 

नांगा बाहरूलाई बोकेर, इमान, जमान, नैतिकता, विश्वासलाई बन्धक राखेर थोरबहुत, पद, सम्पत्ति कुम्ल्याउँला, केही क्षण न्यानो स्वाद पनि आउला तर इमानको अमूल्य निधिबारे आत्माले प्रश्न गरेको दिन अनि भावी सन्ततिले ‘छ्या, बाको यस्तो कर्म !’ भनी सम्झेको दिन के होला ? बाँकी आआफ्नो मर्जी ।