चौथो वेभ आएको दक्षिण कोरियामा २४ घन्टामा अहिलेसम्मकै बढी सङ्क्रमित

चौथो वेभ आएको दक्षिण कोरियामा २४ घन्टामा अहिलेसम्मकै बढी सङ्क्रमित

रासस  |  स्वास्थ्य  |  श्रावण ६, २०७८

कोरोना भाइरसको चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा कोभिड- १९ का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँका अधिकारीहरूले मंगलबार यहाँ धेरै जना कोरोना भाइरसका संक्रमितहरू बढिरहेको बताएका समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड- १९ का सङ्क्रमितहरू एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् । दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार यहाँ पछिल्लो समयमा राजधानी सोल महानगरपालिका क्षेत्रमा नै धेरै सङ्क्रमितहरू पाइएको बताइएको छ ।

यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले दिएको जानकारीअनुसार गएको २४ घन्टायता मात्र एक हजार ७८४ जना कोभिडका संक्रमितहरू भेटिएका हुन् ।दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ गएको ६ महिनापछि एकै पटक यति धेरै संख्याका सङ्क्रमित पहिलो पटक देखिएका हुन् ।

यहाँका अधिकारीहरूले दक्षिण कोरियामा गएको हप्तादेखि निरन्तर रूपमा संक्रमितहरू बढ्दै गएको पनि बताएका हुन् । उनीहरूका अनुसार दक्षिण कोरिया कोभिड सङ्क्रमणको चौथो वेभमा प्रवेश गरेको छ, जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्डहरू अपनाउने काममा कडाइ गरेको छ ।

यससँगै दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको संख्या एक लाख ८२ हजार ७२२ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्तायतादेखि कोभिडका सङ्क्रमितहरूको संख्या बढ्दो देखिएको हो । अधिकारीहरूले यही १ जुलाईदेखि देशैभर देखिएको संक्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला ३ हप्ताको तुलनामा हाल त्यहाँ सङ्क्रमितहरू कम्तीमा पनि ५६ प्रतिशत बढेका छन् ।

यसरी प्रत्येक दिन संख्या बढ्दै गएका कारण पनि २ हप्ताअघि नै यहाँका स्वास्थ्य अधिकारीहरूले दक्षिण कोरिया कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए । मंगलबार देखिएका यी संक्रमतिहरूमा आधाभन्दा बढी राजधानी सोलकै रहेका पाइएको छ ।

कोरिया सरकारले यहाँ कोरोनाविरुद्धको खोपको अभियानलाई व्यापक बनाइएको जनाएको छ । पछिल्लो समयमा सङ्क्रमितको संख्या बढ्दै गएपछि खोप अभियानलाई झन् तीब्र बनाइएको छ ।