टेनिस स्टार ओसाकाको ओलम्पिक यात्रा रोकियो

टेनिस स्टार ओसाकाको ओलम्पिक यात्रा रोकियो

एजेन्सी  |  खेलकुद  |  श्रावण १२, २०७८

जारी ३२औँ टोकियो ओलम्पिकमा विश्व नम्बर २ जापानी टेनिस स्टार नाओमी ओसाका प्रतियोगिताबाट बाहिरिएकी छन् ।

टोकियो ओलम्पिक, २०२० अन्तर्गत महिला एकलतर्फको स्पर्धामा तेस्रो चरणबाट ओसाका बाहिरिएकी हुन् । उनी चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोसोभासँग पराजित भइन् ।

विश्व वरीयतामा ४२औँ स्थानमा रहेकी मार्केटाले दोस्रो वरीयताकी ओसाकालाई ६-१,  ६-४ को सोझो सेटमा हराएकी हुन् । हारसँगै स्वेदशी भूमिमै टोकियो ओलम्पिक, २०२० मा स्वर्ण पदक जित्ने ओसाकाको सपना समाप्त भएको छ ।

टोकियो ओलम्पिकको उद्घाटन समारोहमा ओलम्पिक फ्लेम प्रज्वलन गरेकी उनले त्यसयता कोर्टमा पुनरागमन गर्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

३२औँ ग्रीष्मकालीन ओलम्पिकको तेस्रो दिन अरियके टेनिस पार्कको सेन्टर कोर्टमा उत्रिएकी ओसाकाले स्विट्जरल्यान्डकी भिक्टोरिया गुलुबिचलाई ६-३, ६-२ ले पराजित गर्दै तेस्रो चरणको यात्रा तय गरेकी थिइन् ।

मिडियाको दबाबका कारण मानसिक तनाव भएको भन्दै फ्रेन्च ओपन छाडेकी उनी ४ पटक ग्रान्डसलाम जित्न सफल छन् ।